विकासन्युज

ज्योति लाईफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त, सबैकाे रोजाइको कम्पनी बनाउने प्रतिवद्धता

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई वैशाख २१ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । यस अघि नै निजलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतीको लागि नियामक निकाय बीमा समितिमा पठाइएको थियो । जसमा बीमा समितिबाट वैशाख १७ गतेको पत्रबाट स्वीकृती प्राप्त भएकोले सोही बमोजिम संचालक समितिले नियुक्त गरेको हो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गरेका खत्रीले बेलायतको सबैभन्दा ठुलो बैंकमा गनिने बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए । बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक बिताएपछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए । व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामूलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ । कम्पनीको स्थापना देखि कार्यकारी उपप्रमुखको रुपमा सफल नेतृत्व प्रदान गरिरहेका खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न पाएकोमा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई केहि वर्ष भित्रमा नेपालीहरुको पहिलो रोजाइको जीवन बीमा कम्पनी बनाउन आगामी दिनमा अझ बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोरोना विरुद्धको औषधी र खोप पत्ता लगाउने काम कहाँ पुग्यो ?

काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२० सँगै सुरुभएको कोरोना भाइरस (कोभिड १९) माहामारीका कारण यो समाचार तयार गर्दासम्ममा २ लाख भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३० लाख भन्दा धेरै संक्रमित भैसकेका छन् । तर, पनि हालसम्म कोभिड १९ को कुनैपनि औषधी पत्ता लाग्न सकेको छैन । अहिलेको चिकित्सा विज्ञान कोरोनाको विरुद्धमा औषधीको खोजिकार्यमा अहोरात्र लागिरहेको छ । त्यसो भए कहाँ पुग्यो त कोरोना भाइरस विरुद्धको औषधी खोजिकार्य ? अहिलेसम्म विश्वभरमा १ सय ५० भन्दा धेरै प्रकारका औषधीहरुको परीक्षण भैसकेको छ । जसमा धेरैजसो औषधी विभिन्न रोगहरुमा अहिले पनि प्रयोगमा रहेकाहरु नै हुन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) ले परीक्षणलाई उपयोगी बनाउन सोलिडेटरी ट्रायल कमिटी नै गठन गरेर अनुसन्धान सुरु गरेको छ । डब्लुएचओ लगायत अन्य संस्था तथा देशले समेत विभिन्न परीक्षणहरु गरिरहेका छन् । यस्तो परीक्षणमा बेलायत अरुभन्दा केही अगाडि रहेको मानिन्छ । बेलायतले गरेको दाबी पत्याउने हो भने उसको रिकबरी ट्रायल सबैभन्दा धेरै रहेको छ । यो परीक्षणमा ५ हजारभन्दा धेरै बिरामीहरुलाई समावेश गरिएको बेलायतको दाबी छ । अहिलेसम्म तीन प्रकारका औषधीहरुको प्रयोग तथा परीक्षण गरिसकिएको छ । १. प्रतिरोधी औषधी (एन्टिबडी ड्रग) यस्ता औषधीहरुले शरीरमा रहेका भाइरसहरुसँग लडेर भइरसको उत्पादन रोक्ने, निस्कृय बनाउने, शरीरबाट भगाउने कार्य गर्दछ । प्रभावकारिता, प्रयोग तथा त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभाबलाई आधार मान्दा यो प्रविधिको औषधीहरु सुरक्षित मानिन्छन् । भइरसमा हुने तिब्र अनुबांसिक परिवर्तन गर्नसक्ने क्षमताका कारण यस्ता प्रकारका औषधीहरु बनाउन भने अत्यन्त कठिन रहेको जानकारहरुको भनाइ छ । २. रोग प्रतिरोधी क्षमताको उपयोग यस्ता औषधीहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पूर्णरुपमा भाइरसको विरुद्धमा प्रयोग गर्ने गर्दछ, जसबाट रोग प्रतिरोधी क्षमताको उच्चतम प्रयोग भै भाइरस निस्कृय गर्ने गर्दछ । यो प्रकारका औषधीहरुको धेरै ठुलो मात्रामा नकारात्मक असरसमेत रहेको छ । रोग प्रतिरोधात्मक क्षमताको उच्च प्रयोगका कारण प्रतिरोधी क्षमता सिथिल हुने, जसले गर्दा अन्य संक्रमणको जोखिम बढ्ने खतरा रहन्छ । यसैकारण विराबीलाई अन्य गम्भिर प्रकारको रोग समेत लाग्न सक्तछ । ३. प्लाज्मा थेरापी कुनैपनि भाइरसको संक्रमणबाट ठिक भएका व्यक्तिको शरीरले रोग प्रतिरोधात्मक क्षमताका कारण रगतमा विषेश प्रकारको प्रोटिनको उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । कनब्यालेसेन्ट प्लाज्मालाई जम्मा गरेर अन्य बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका चिकित्सक डाक्टर ब्रुश आइल्बडका अनुसार कोरोना भाइरसको विरुद्धमा अहिलेसम्म धेरै किसिमका औषधीहरुको परीक्षण गरिएको छ । मलेरियाको औषधी हाइड्रोअक्सी क्लोरोक्विन, एचआइभीको लागि प्रयोग हुने लोपिनाभिर तथा रिटोनाभिर, कनब्यालेसेन्ट प्लाज्मालगायतको प्रयोगशाला परीक्षणका क्रममा सकारात्मक परिणाम नदेखिए पनि बिरामीको उपचारको क्रममा भने परिणाम निरासाजनक नै रहेको छ । अहिलेसम्म परीक्षण गरिएका औषधीहरु मध्ये एउटा मात्र औषधी इबोला भाइरसको बिरुद्धमा प्रयोग हुने रेमडेसिभिर प्रभाबकारी रहेको आफूले चीनको निरिक्षण भ्रमणका पाएको, रेमडेसिभिरले अन्य खतरनाक भाइरसजन्य सार्स, मर्सलगायतका स्वासप्रस्वाससँग संबन्धित रोगहरुमा समेत काम गर्ने गरेको, इबोला भाइरसको बिरुद्धमा प्रयोग हुने रेमडेसिभिरले जनाबरमा गरिएको परीक्षणमा कोरोना भाइरसको विरुद्धमा समेत प्रभावकारी रहेको भर्खरै वहिरिएको सिकागो विश्व विद्यालयको अनुसन्धानको रिपोर्टबाट समेत थप प्रमाणित भएको डाक्टर ब्रुश आइल्बर्ड बताउँछन् । कोरोना भाइरसको बिरुद्धमा अहिलेसम्म प्रयोग भएका औषधीहरु पहिलेदेखि नै अरु संक्रमणको उपचारमा प्रयोग भएका औषधीहरु हुन् । कोरोना भाइरस कोबिड १९ को लागि भनेर अहिलेसम्म नयाँ औषधी तथा खोपको विकास भने हुन सकेको छैन । नयाँ औषधीको निर्माणमा धेरै परीक्षण भैरहेको भएपनि अहिलेसम्म एउटाले मात्र पहिलो चरणको परीक्षणमा सफल भै दोस्रो चरणको परीक्षण सुरु भएको छ । अझ खोपको कुरा गर्ने हो भने त अहिलेसम्म कोरोना भाइरस बिरुद्धको खोपको निर्माण कार्यको काम सुरु नै भएकै छैन । खोप निर्माणको लागि शून्यबाट काम सुरु गर्नुपर्ने अवस्था रहेको छ । (अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा)

थप १० जनामा काेराेना संक्रमण भएकाे पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

काठमाडौं । नेपालमा एकै दिन थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । वीरगञ्ज र नेपालगञ्जमा गरी थप १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले १० जनामा व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए। वीरगञ्जमा १ जना र नेपाल गञ्जमा ९ जनामा कोरोना संक्रमण भएको हो। यो सँगै जम्मा ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप १० जनामा संक्रमण पुष्टी भएको जानकारी दिइयो । यसअघि नेपालमा ५९ जनामा संक्रमण पुष्टी भएको थियो भने १६ जना उपचारपछि घर फर्किसकेका छन् । आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत डा. देवकोटाले बताए। हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जना संक्रमितको उपचार भइरहेको छ।  

सानिमा बैंककाे कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट, साेमबार मात्रै लागू हुने

काठमाडाैं । सानिमा बैंकका ग्राहकले साेमबारकाे दिन दराजबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । सानिमा बैंक र दराज प्रा.लि.बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा उक्त छुट दिने सम्झौता भएको हाे। यससँगै, सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्फत शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम ५ सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भोली बैशाख २२ गते देखि लागू हुनेछ । उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका तर्फबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१-४४४३९०१ बाट प्राप्त गर्न सक्ने छन् । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

क्वारेन्टीनमा रहेकालाई मेरो माइक्रोफाइनान्स लघुवित्तकाे सहयाेग

काठमाडाैं । मेराे  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे बारा शाखाले खाद्यान्नका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले क्वारेन्टीनमा रहेका ५७ जनाको खाना तथा आवश्यक सामाग्रीको लागि २५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहाले नगर प्रमुख विजय शंकर यादब तथा उप प्रमुख रिमा देवी कुशवाहलाई हस्तान्तरण गरेका हुन् । उक्त क्वारेन्टीन सिम्रौनगढ नगरपालिकाद्धारा श्री कंकाली माई उच्च माध्यामिक विद्यालयमा बनाइएकाे छ ।

बजेट खर्चमा ठूलो कटौती गर्दै साउदी अरेबिया

काठमाडौं । साउदी अरेबियाले बजेट खर्चमा ठूलो कटौती गर्ने भएको छ । साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल जडानले शनिबार अरेबिया टिभीलाई एक अन्तर्वाताकाे क्रममा वर्तमान स्थितिमा बजेट खर्चमा कटौती गर्ने बताए । साउदीका अर्थमन्त्रीले देशभित्र रहेको मेगा परियोजनाको खर्च पनि कटौती गरिने जानकारी दिए । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरेबियाले ऐतिहासिक रूपमा कम तेलको मूल्यको सामना गरिरहेको छ । कोरोना भाइरस संक्रमणको कारण भएको अर्थव्यवस्थामा हुने क्षतिको सामना गर्न कडा र पीडादायी निर्णय लिनु परेको भन्दै उनले विकल्पबाट बाहिर निस्कनका लागि सबै विकल्पहरू खुला गरेका जनाएका छन् । साउदी अरेबियाको केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चय मार्चको महिनामा गत २० वर्ष यताकै सबभन्दा धेरै गिरावट आएको छ । तेलको मूल्यमा गिरावट भएपछि पहिलो त्रैमासमा ९ अर्ब डलर बजेट घाटा भएको भन्दै गत महिना साउदी अरेबियाले आफ्नो विदेशी विनिमय सञ्चितिलाई सन्तुलित राख्न यस वर्ष २६ अर्ब डलर लिन सक्ने कुरा अर्थमन्त्री जडानले भने । साउदी अरेबियाको मौद्रिक प्राधिकरणले साउदी अरेबियाको वैदेशिक सम्पत्ति मार्चमा ४६४ अर्ब डलरले घटेको जानकारी दिँदै यो पछिल्लो १९ बर्षमा न्युनस्तरमा रहेको साउदीका अर्थमन्त्रीले बताए । (अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा)

लकडाउन कस्तो बनाउने भनेर मंगलबार निर्णय हुने

काठमाडौ। आइतबारको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेपछिको लकडाउनबारे कुनै निर्णय नगरि सकिएको छ । आज बसेको बैठकले २६ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मंगलबार बसने मन्त्रिपरिषद्को बैठकले लकडाउन कस्तो बनाउने भनेर निर्णय गर्ने भएको छ । आज बसेको बैठकले लकडाउन र सीमानाका कडाइ भएकै कारण कोरोना भाइरस नियन्त्रण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सीमानाकामा झन् कडाइ गर्न मन्त्रीहरुलाई निर्देशन दिए । लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने र कम जोखिमयुक्त ठाउँमा लकडाउन सहज पार्दै लैजानेबारे मन्त्रिपरिषद्मा अनौपचारिक प्रस्ताव पनि आइतबार आएको थियो । स्वास्थ्य मन्त्रालयले केही दिनअघि लकडाउनको मोडालिटी परिवर्तन गर्ने । जिल्लाहरुलाई गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउने गरी प्रस्ताव गरेको थियो ।

२०८ च्यानलहरू निःशुल्क गराउँदै डिसहोम

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहाेमको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि  निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५०००  उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा  रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो । यसको अलावा पनि केही ग्राहहरुले रिचार्ज नगरी रहनुभएको हुँदा पनि डिसहोमले यस्तो व्यवस्था गरेको हो । डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् । विश्वव्यापी रूपमा कोरोना भइरहेको महामारीका कारण देश भार  लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपएर रिचार्ज गर्न नपाएका ग्राहकहरुलाई मध्यनजर गरी यो कार्यक्रामहरु घोषणा गरेको हो । यस अघि नै सिनेमाहलहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनामा घरको सुविधा उपलब्ध गराएको थियो भने  डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो । डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ । लकडाउनको बेलामा घरमा बस्नाका लागि डसिहोम एकदमै भरपर्दो साथी बन्दै आएको छ ।