विकासन्युज

नबिल बैंककाे घरमै बसेर खाता खोल्न सकिने सुविधा सुरु

काठमाडौं। नबिल बैंकले घरमै बसेर खाता खाेल्न सकिने नयाँ सेवा सुरु गरेको छ । बैंकले घरमै बसेर खाता खोलेर सीमित कारोबार गर्ने नयाँ सेवा सुरु गरेको हाे । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाइनमार्फत खाता खोली सीमित कारोबार गर्न सकिने  सुविधा सुरु गरिएको बैंकले जनाएको छ। ग्राहकले घरबाट खाता खोली इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ जस्ता डिजिटल सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन्।

संसदको महासचिवमा भरतराज गौतम नियुक्त

काठमाडाैं । संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ती मार्फत जनाएको छ। राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की निवासी भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरिएको विज्ञप्तीमा उल्लेख छ ।  

धनगढीमा मास्कमा कालाेबजारी र म्याद नाघेका औषधी बेच्ने दुई फार्मेसीलाई जरिवाना

काठमाडाैं । मास्कमा कालोबजारी गर्ने कैलालीकाे  हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। साेमबार आपूर्ती वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो। यस्तै, धनगढीमै म्याद नाघेकाे औषधी बेच्ने एक मेडिकल कारबाहीमा परेकाे छ । धनगढी स्थित चौराहमा रहेको सरोज मेडिकल हलले म्याद नाघेको औषधी पाँच महिनापछि पनि बिक्रि गरेको पाइएपछि जरिवाना गरिएकाे हाे । साे मेडिकल २० हजार जरिवानामा परेकाे हाे। वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले  बजार अनुगमनका क्रममा मेडिकलले कानुन विपरीत म्याद गुज्रेका औषधी बिक्रि गरी विल समेत जारी नगरेको भेटिएपछि जरिवाना गरिएको जानकारी दिइएकाे छ ।  

दुई तिहाई बहुमतको सरकारको विकास खर्च एक चौथाई मात्रै

काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले राखेको आम्दानी र खर्चको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ । आर्थिक वर्ष समाप्त हुन करिब ७० दिन बाँकी रहदासम्म सरकारको आम्दानी र खर्च लक्ष्यको आधा मात्रै भएको छ । सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख २१ गते (हिजो) सम्ममा सरकारले उठाउने भनेर राखेको लक्ष्यको करिब ५६ प्रतिशत मात्रै उठेको छ । यस्तै, खर्च गर्ने भनिएको रकमको पनि करिब ४७ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार २१ वैशाखसम्ममा राजस्व असुली लक्ष्यको ५३.६७ प्रतिशत मात्रै संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५ खर्ब ९६ अर्ब ८६ करोड रुपैयाँ मात्रै उठेको छ । यस्तो, राजस्वमध्ये पनि कर राजस्व लक्ष्यको ५४ प्रतिशत उठेको छ । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ९ अर्ब १६ करोड रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको थियो । वैशाख २१ गतेसम्ममा जम्मा ५ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ मात्रै कर राजस्व उठेको छ । यस्तै, गैरकर राजस्व पनि लक्ष्यको ५० प्रतिशत मात्रै उठेको छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ गैरकर राजस्व उठाउने भनेकोमा ५१ अर्ब ५९ करोड रुपैयाँ मात्रै उठेको छ । अनुदान रकम १८ प्रतिशत मात्रै सरकारले बजेट मार्फत लिएको अनुदान प्राप्तीको लक्ष्य भने भेट्न करिब नसक्ने अवस्था देखिएको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ९९ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त गर्ने भनिएकोमा वैशाख २१ गतेसम्ममा १० अर्ब ४९ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ । यो भनेको लक्ष्यको १८.०९ प्रतिशत मात्रै हो । सरकारले ४४ अर्ब १४ करोड रुपैयाँ अन्य स्रोतबाट प्राप्त गरेको छ । आधा पनि भएन खर्च राजस्व असुलीभन्दा पनि खर्चको अवस्था अझ दयनीय छ । वैशाख २१ गतेसम्ममा सरकारले वर्षभरीमा खर्च गर्ने भनेको कूल रकमको ४७.३१ प्रतिशत रकम मात्रै खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्ने भनेको थियो । यो रकममध्ये वैशाख २१ गतेसम्ममा ७ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ चालु बजेट खर्च गर्ने लक्ष्य राखेको छ । यो रकममध्ये ५ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । सरकारको चालु बजेट लक्ष्यको ५६.३९ प्रतिशत खर्च भएको छ । पुँजीगत बजेट भने लक्ष्यको करिब एक चौथाई मात्रै खर्च भएको छ । करिब दुई तिहाई बहुमत ल्याएर बनेको सरकारले पनि विकास खर्च भने करिब एक चौथाई मात्रै गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख २१ गतेसम्ममा सरकारले १ खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च गरेको छ । सरकारले गरेको यो खर्च कूल विनियोजित बजेटको २७.३ प्रतिशत मात्रै हो । वित्तीय व्यवस्थापनतर्फको बजेट पनि ४४.२३ प्रतिशत मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको लागि राखिएको १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ वित्तीय व्यवस्थापन तर्फको बजेटमा ७४ अर्ब २३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फको बजेटबाट नै विदेशी तथा आन्तरिक ऋणको सावाँ व्याज भुक्तानी गर्ने गरिन्छ ।

नेपालका कोरोना संक्रमित ५९ जनाकै स्वास्थ्य सामान्य

काठमाडौं । उपचारको क्रममा रहेको ५९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले उपचारको क्रममा रहेका सबै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । हाल १६ जना उपचारपछि निको भएर घरभएसँगै ५९ जना कोरोना संक्रमित उपचारको क्रममा छन् । यि उपचाररत ५९ जनामा बिराटनगरमा ३१ जना, नेपालगंजमा १६ जना, विरगंजमा ९ जना, रुपन्देही, भरतपुर र धनगढीमा एक एकजना रहेका छन् । यि सबैको उक्त क्षेत्रको कोरोना तथा प्रादेशिक अस्पतालमा उपचार भईरहेको देवकोटाले बताए । कुल नेपालमा देखिएको कोरोना संक्रमितको संख्या भने आईतबार ७५ पुगेको छ । एकैदिनमा १६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको नेपालमा संख्या ७५ पुगेको हो । कुल संक्रमितमा ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । कुल संक्रमितमा प्रदेश नं १ मा ३१ जना, प्रदेश नं २ मा १३ जना, बागमती प्रदशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा ० रहेको छ । हालसम्म मात्र १३ हजार ६ सय ४० वटा पिसिआर विधि र ५० हजार ८ सय ७५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टिनमा रहेका छन् भने १ सय ६ जना आईसोलेसनमा रहेका छन् ।

मेगा बैंकका ग्राहकलाई दराजबाट घरघरमै सामान, १० प्रतिशत छुट पनि

काठमाडाैं । मेगा बैंक नेपालका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

काठमाडौंमा तत्काल लकडाउन नखुल्ने, अन्य जिल्लाकाे लागि तयारी यस्ताे छ

काठमाडाैं । काठमाडौंमा तत्काल लकडाउन नखुल्ने भएकाे छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन गरेको छ। ‘लकडाउन खुकुलो बनाउने तयारी छ, ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने , यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ समितिका एक सदस्यले भने। सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो। ‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने र कडा बनाउने तयारी गरेकाे बताइएकाे छ ।  

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउँछाैं- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं । सरकारले कोभिड-१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले साेमबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड-१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए । नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उनको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए । महामारीको बेला आपतमा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै उनले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरेका छन् । ‘हाल अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ, सबैलाई एकै चोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन’, मन्त्री ज्ञवालीले भने, ‘उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याउँछाैं ।’ अहिलेको विषम परिस्थितिमा आपतमा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उनले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताए । ‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुराहरुलाई योजना बनाएर मात्र काम शुरु गर्नुपर्नेछ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गरेका छौँ’, मन्त्री ज्ञवालीले भने । विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उनले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिए । सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको भन्दै उनले नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको बताए । ‘कतिपयको करार अवधि सकिएको छ, भिसा अवधि सकिएको छ, ती देशले तत्काल समाधान गरी भिसा थप गरिदिएका छन्’, मन्त्री ज्ञवालीले भने, ‘सङ्क्रमितलाई आफ्ना नागरिकसरह उपचार सुविधा दिन अनुरोध गरिएको र ती देशले आफ्ना नागरिकसहर नै उपचार गरेका छन् । कहीँकतै असुविधा भएको जानकारी आएको छैन ।’ कार्यक्रममा श्रम आप्रवास विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए । उनले अलपत्र कामदारको उद्धारका लागि संयन्त्र बनाउनुपर्ने साथै गन्तव्य मुलुकमा रहेका नेपालीमा कोरोनाको परीक्षण र उपचारमा ध्यान दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासङ्घ, कतारका अध्यक्ष करिम बक्स मियाँले कोरोनाका कारण धेरै कम्पनी डुब्ने खतरा रहेकाले रोजगार कम्पनीले कामदार निकालेका तर स्वामित्व नलिने कारण तिनको व्यवस्थापन गर्नुपर्ने बताए । महासङ्घ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेले कुवेतमा कामबाट निकालिएका र बिदामा बसेका नेपालीको सङ्ख्या निकै रहेको भन्दै उनीहरुलाई प्राथमिकताका आधारमा नेपाल फिर्ता गर्न आग्रह गरे । ‘साना मझौला कम्पनीमा कार्यरत नेपालीमा समस्यामा रहेका छन् । दूतावासको सहयोग नभएको गुनासो आउने गरेको छ’, उनले भने, ‘कुवेतले आममाफी दिएका तीन हजार ५०० नेपालीलाई तत्काल नेपाल लैजाने प्रक्रिया शुरु गर्नुपर्छ ।’ महासङ्घ युएईका कावा अध्यक्ष मेघराज सापकोटाले कोरोनाका कारण कामदारमा मानसिक समस्याले मनोवैज्ञानिक असर देखिएको बताए । रासस