रहेनन् हर्रेबर्रे काण्डका अगुवा रायमाझी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण निधन भएको छ । आज दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उनको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताउनुभएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा गरेका थिए । चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा(एमाले) केन्द्रीय स्कूल विभाग सदस्य हुनुहुन्थ्यो । उनी पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहेका थिए । रायमाझीका श्रीमती र दुई छोराछोरी छन् ।
अनलाइन कक्षाका नाममा अभिभावकबाट रकम नलिनु : सरकार
काठमाडौं । अनलाइन कक्षाका नाममा बैंक खातामा अभिभावकबाट रकम नलिन सरकारले आग्रह गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाबेला अनलाइन कक्षाका नाममा बैंक खातामा अभिभावकबाट रकम नलिन शिक्षा मन्त्रालयले जनाएकाे हाे । कतिपय विद्यालयले अनलाइन कक्षाका नाममा बैंक खातामा अभिभावकबाट रकम लिन थालेको र आफूखुशी भर्ना शुरु गरेको पाइएकाले आज मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो । मन्त्रालयले स्थगन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ र १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइएको छ ।
प्रदेश १ मा कोरोना रोकथामकाे लागी गोर्खाज फाईनान्सको दुई लाख सहयाेग
काठमाडौं । गोर्खाज फार्ईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ । फाईनान्सले कोरोना भाईरस महामारि रोकथाम तथा उपचारका लागी प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ज्यू लाई फार्ईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन राई गोर्खा समुह सदस्य यादप राई, खोटाङ्ग जिल्ला संघिय सांसद बिसाल भट्टराईको उपस्थिीतीमा फार्ईनान्सका प्रमुख कार्यकारी अधिकृतले लाल बहादुर थिङ्ग ले उक्त रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री शेरधन राई ज्यूले कोरोना महामारिको बिषम परिस्थीतीमा फार्ईनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । फार्ईनान्सका संचालक डेकिन्द्र राईले यस्तो संकटमा प्रदेशले सञ्चालन गरिरहेको अभियानलाई वित्तिय संस्थाले सक्ने सहयोग गर्ने बताए ।
सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने जनाएको छ । यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । इमेलमार्फत सरकारी कारोवारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको र सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको बैंकको भनाइ छ । सरकारी कारोवारसम्बन्धी प्रतिवेदन पेश गर्न छुट्टै इमेलको व्यवस्था गरी सोहीमार्फत पत्राचार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । रासस
नयाँ शैक्षिक सत्रकाे लागि विद्यालय भर्ना नलिन आग्रह: शिक्षा मन्त्रालय
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवीरुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ । कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले आज मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो । मन्त्रालयले स्थगन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ ।
स्थानीय स्तरमा रोजगारी सिर्जना र वित्तीय संघीयतालाई प्रभावकारी बनाउने
काठमाडाैं । अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषद्का अध्यक्ष डा. युवराज खतिवडाले अबकाे बजेट स्थानीय स्तरमा रोजगारी सिर्जना र वित्तीय संघियतालाई प्रभावकारी बनाउनेमा केन्द्रित हुने बताएका छन् । साेमबार सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै उनले सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गर्ने बजेट र कोरोनाले अर्थतन्त्रमा पारेको असरको बारेमा छलफल गरेका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहको मुख्य प्राथमिकता कोभिड स्रक्रमणको जोखिम न्यूनीकरण गर्न चालिएका कदमहरुबाट शिथिल भएको अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र वित्तीय संघीयतालाई प्रभावकारी बनाउनमा आगामी वर्षको बजेट केन्द्रीत हुनुपर्ने बताएका हुन् । सो छलफलमा उनले संघबाट लागत साझेदारीमा संचालन गर्ने गरी घोषणा भई सशर्त अनुदान अन्तर्गत वित्तीय हस्तान्तरण भएका आयोजनामा प्रदेश र स्थानीय तहले प्रभावकारी ढ्रगले कार्यान्वयन गर्नुपर्ने, आगामी वर्षको बजेट तर्जुमा गर्दा संघबाट संचालित कार्यक्रमका अलावा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । साथै उनले सशर्त अनुदान अन्तर्गतका चालु आयोजना मध्ये यस आर्थिक वर्षमा समाप्त भएका आयोजनाको अभिलेख तयार गरी संघमा पठाउनुपर्ने विषयमा प्रकाश पारे । अर्थमन्त्रीले प्रदेश र स्थानीय तहले कर प्रस्ताव गर्दा दाहोरो नपर्ने गरी यकिन गरेर कर प्रस्ताव गर्नुपर्ने, संघले विभिन्न कार्यक्रमका लागि प्रदान गर्ने अनुदानमा प्रदेश र स्थानीय तहले सोही कार्यक्रमका लागि थप अनुदान दिन नहुने पनि बताएका छन् । वैदेशिक स्रोत अन्तर्गत हस्तान्तरित सशर्त अनुदानका आयोजनामा प्रदेश र स्थानीय तहले समेत आन्तरिक स्रोत र वैदेशिक स्रोत छुट्टयाई बजेट विनियोजन गर्नुपर्ने र वैदेशिक स्रोत अन्तर्गत खर्च गरी सोधभर्ना माग गर्ने प्रणाली बसाउनु पर्नेमा उनले जोड दिए ।
लकडाउन अवधिसम्मकाे व्याज मिनाह गर्न बझाङका व्यवसायीको माग
काठमाडौं । उद्योग वाणिजय संघ बझाङले लकडाउन अवधिसम्मकाे व्याज मिनाह गरिदिन सरकारसँग आग्रह गरेको छ । विभिन्न व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋणकाे व्याज मिनाह गरिदिन संघले माग गरेकाे हाे । देशमा जारी लकडाउनले व्यापार व्यवसाय ठप्प भएको बताउँदै संघले लकडाउन अवधिभर व्यवसायीको बैंकमा भएको ऋणको व्याज मिनाह गर्न व्यवस्था मिलाउन माग गरेको हो । संघले एक ज्ञापनपत्र जारी गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौंमा पठाएको हो । संघका अध्यक्ष दान बहादुर सुर्मेलीले व्यवसायीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता र व्याज तिर्न नसकेर समस्यामा परेको बताए । उनीहरूकाे सहजकाे लागि सरकारले लकडाउन अवधिसम्मकाे व्याज मिनाह गर्नुपर्ने उनकाे भनाइ छ । उनले सरकारले व्याज मिनाहको गर्न नसके व्यवसायीको व्यवसाय नै धरापमा पर्ने सक्ने र ठूलो समस्यामा पर्न सक्ने बताए । साथै, संघले सरकारले घरधनीले एक महिनाको घर भाडा छुट दिनु पर्ने निर्णय पनि सरकारले कडाईका साथ लागु गर्ने पत्रमा उल्लेख गरिएको छ ।
सूचनाको अधिकार कुण्ठित हुँदैन: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको उल्लेख गर्दै सुशासन, विकास र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सही सूचना प्रवाह एक महत्वपूर्ण आयाम भएको जनाएका हुन् । उनको सन्देशमा भनिएको छ, “हाम्रो जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव छैन । बरु सूचना प्रवाह र यसका माध्यमको निष्पक्षता, तटस्थता र सन्तुलन रहन सकेन भने नागरिकले सही सूचना प्राप्त गर्न सक्दैनन् । नागरिक सूचनाविहीन हुनु एउटा समस्या हो भने गलत सूचना प्रवाहबाट प्रभावित हुनु त्यो भन्दा ठूलो समस्या हो ।” उनले सूचनाको हकसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको स्पष्ट गर्दै आयोगले हालसम्म खेलेका भूमिकाको प्रशंसा गरेका छन् । कोरोना भाइरस रोकथामका लागि बन्दाबन्दी कायम रहेकाले आयोगले स्थापना दिवसमा आज कुनै औपचारिक कार्यक्रम आयोजना गरेन । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम २०६५ वैशाख २२ गते आयोगको गठन भएको थियो । रासस