विकासन्युज

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

लन्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए । पर्वत चारभञ्याङमा जमिएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किए र पुनः औपचारिक अध्ययन गरी वि.सं २०२७ मा एसएलसी उत्तीर्ण गरे । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए । बेलायतमा असल समाजसेवीका रूपमा स्थापित गुरुङले थुप्रै सामाजिक काम समावेष थिए । उनको श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्दै आएका छन् भने गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बसेका थिए । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ । रासस

प्रदेश ५ : कृषकलाई मल र बीउको चिन्ता

लमही । यतिबेला दाङका कृषक बीउ र मल जुटाउन लागिपरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएका कारण समयमा मल र बीउ नपाउने चिन्ता कृषकलाई छ । हिउँदे बाली गहुँ, तोरी, मसुरो भित्र्याएका किसान बर्खे खेतीका लागि मल र बीउको अभाव हुने डरले अहिलेदेखि नै जोहो गर्ने तयारीमा लागेका हुन् । समयमै वर्षा भएपछि खेतबारी जोतेर कृषक मकै र तरकारी बाली लगाउने तयारीमा छन् तर लकडाउनका कारण बीउ र मल जुटाउन भने समस्या भएको उनीहरु बताउँछन् । कृषकले बजारका विभिन्न एग्रोभेटमा बर्खे तरकारी बोडी, सिमी, काँक्रा, लौका तथा मकैको बीउ तथा रासायनिक मलको खोजीका लागि दौडधूप गरेका छन् । ‘‘ बारी जोतेर तयार छ, मकैको बीउ किन्न बजार आएको हुँ बजार भने बन्द रहेछ’’, बीउ र मल खोज्न आउनुभएका कृषक सुन्दरकुमार चौधरीले भने । उनले घरमा अदुवा, बेसार र पिँडालु लगाउनाका साथै गोठेमल बोकेर सकिएकाले अब मकै रोप्ने तयारी गरिएको बताए । कृषक आकाश वलीले मकै र धान बालीका लागि मलको जोहो गर्न लागिएको बताएका छन् । ‘‘रासायनिक मल त बजारमा छ भन्छन् तर लकडाउनका कारण कसरी ल्याउने हाे भन्ने समस्या छ’’ उनले भने । उनी जस्तै कृषक माया पुनले पनि बजारबाट मकैको बीउ किनेर ल्याएको र अब मकै लगाउने तयारी गरिएको बताए । पुनले बिहान बजार खुलेका समयमा एग्रोभेटबाट तरकारी र उन्नत मकैको बीउ ल्याएका छन् । लकडाउनका कारण बजारका एग्रोभेट बन्द हुुँदा मकैको बीउ खरिद गर्न नपाइएको कृषक रमेश केसीले गुनासो गरे । बिहान अत्यावश्यक पसल खोल्न दिने निर्णयसँगै एग्रोभेट पसल आंशिक रुपमा खुले पनि धेरैजसो बन्द छन् । जिल्लाका कृषकले जेठको पहिलो सातादेखि मकै छर्न शुरु गर्ने तयारी गरेका छन् । यस वर्ष लकडाउन भए पनि हालसम्म रासायनिक मलको अभाव देखिएको छैन । अनुदानको मल ढुवानी र वितरणको जिम्मा लिएको कृषि सामग्री लिमिटेडले जिल्लामा रासायनिक मल प्राप्त भएको र सहकारीलाई दैनिक मल वितरण गर्दै आएको लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए । मकै बाली लगाउने समय शुरु भएको र कृषकले पनि त्यसको तयारीस्वरुप बीउ र मलको जोहो गर्न थालेको कृषि प्राविधिक माधव केसी बताए । यता स्थानीय निकायमा रहेका कृषि सेवा केन्द्रले पनि किसानका लागि अनुदानमा मकैको बीउ धान वितरणका लागि तयारी गरेका छन् । केन्द्रले कृषकलाई आवश्यक पर्ने बीउका लागि लगत संकलन गरेको र केही दिनभित्र ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको जनाइएको छ ।  रासस

नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को रहेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । भेरी अस्पताल, नेपालगञ्ज प्रयाेगशालामा भएकाे परीगक्षणमा सात जनामध्ये चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हाे । 

आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

काठमाडौं । आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आएका थिए । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताए । उनले भने, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।” कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि ती बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन् । सरकारी क्षेत्रबाट पाउने राहतसमेत निजहरुले पाउन सकेका छैनन् । घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताए । उनले भने, “गाउँमा खेतीपातीको ‘सिजन’ शुरु छ, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन् ।” गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृत्यु भएपछि बिचल्लीमा परेका ती बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने भएका छन । उनले भने “आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ र गर्नेछौं ।” भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि उहाँको अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले जानकारी दिए । घरमा ७५ वर्षीया हजुरआमा भए पनि राम्रोसँग हिँडडुल गर्न सक्ने नभएका कारण झनै समस्या भएको पीडित बालक कर्ण थापाले बताए । उनले भने, “भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने निकै समस्यामा छौँ ।” उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर रहेको बताइएको छ । खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए । हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ । आमाको मृत्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे । श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृत्यु भएको स्थानीयवासी बताउँछन् । आमाको मृत्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका निज बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन् । रासस

लकडाउन पछि पौने तीन अर्ब रूपैयाँको औषधि आयात

काठमाडाैं । लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब  ६९ करोड ५४ लाख ४८ हजार रूपैयाँ बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार रूपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयको तथ्यांकानुसार एक लाख २३ हजार ६ सय २७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १ सय ३१ मेट्रिक टन दलहन, ५२ हजार ४ सय ७९ मेट्रिक टन तरकारी, १६ हजार ८ सय ६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात १ सय १८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ । भित्रिए ७ सय ट्रक बन्दाबन्दीमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २ सय ५६ ट्रक भित्रिएको, २ सय ४७ ट्रक बाहिरिएको र ७ सय १७ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १ सय ८० ट्रक भित्रिएको, १ सय १२ ट्रक बाहिरिएको र दुई हजार ९ सय ४६ ट्रक रोकिएका छन् । भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १ सय ३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १ सय ४६ ट्रक भित्रिएको, १ सय ५ ट्रक बाहिरिएको र १ सय ५४ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् । रासस

बिहार सरकार : १७ लाख आप्रवासीलाई कहाँ राखेर के खुवाउने

काठमाडौं । भारतको बिहारका मात्र १७ लाख प्रवासी कामदार तथा विद्यार्थी रहेका छन् । ठूलो संख्यामा प्रवासी रहेको बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै फर्किने स्थितिमा पुगेको जनाएको छ । पछिल्लो समय गृह मन्त्रालयको नयाँ निर्देशन पछि बिहार सरकार आफ्ना जनतालाई फिर्ता लैजाने व्यवस्थामा लागेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले भने, पञ्चायती स्तरमा क्वारेन्टाइन सेन्टरको विस्तारले बाहिरबाट आउने आप्रवासीहरुलाई क्वारेन्टाइन सेन्टरमा २१ दिनको लागि राख्नु पर्छ । यो पनि भनियो कि जीविका र राष्ट्रिय आजीविका मिशनले चिनाएका व्यक्तिका परिवारलाई प्रति एक हजार रुपैयाँ सहयोग दिनु पर्ने बताए । कोरोनाको संक्रमण फैलिएसँगै त्यति धेरै संख्यामा प्रवासीलाई व्यवस्थापन गर्न बिहार सरकारले के गर्दै छ त भन्ने प्रश्न सबैमा उठेको छ । लाखौं मानिसलाई २१ दिनसम्म खुवाउन के कति खाद्य सामाग्रीको व्यवस्था गरेको छ त भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । गृह मन्त्रालयको निर्देशिका पछि पनि बिहार सरकारका उपमुख्यमन्त्री सुशील मोदीले, ‘यति ठूलो संख्यामा जनतालाई फिर्ता ल्याउन सरकारसँग पर्याप्त स्रोत छैन।’ यसमा विपक्षीहरूले राज्य सरकारको असक्षमतामाथि प्रश्न उठाए उनले एक सञ्चार माध्यमलाई भने । पछिल्लो समय बिहार राज्यमा नै ३ सय ५ क्वारेन्टाइन सेन्टर भने खाने कुरामा सबै व्यवस्थापन गर्ने तथा आवश्यक क्वारेन्टाइन सेन्टरको सूची बनाउने कार्य भइरहेको छ । केन्द्र सरकारलाई बिहार सरकारले खाद्य आपूर्तिको माग गर्दै चिठी पठाएको छ । बिहार सरकारले करिब साढे एक करोड जनता (३० लाख परिवार) लाई खाद्यान्न पठाउन अनुरोध गर्दै पत्र लेखेको थियो । केन्द्रीय खाद्य तथा आपूर्ति मन्त्री रामविलास पासवानले बिहारको तथ्यांकमाथि प्रश्न उठाउँदै कसलाई कति खाद्य सामाग्री दिनु पर्ने हो सूची बनाएर पेश गर्न आग्रह गरेका हुन् । उनले सूची बिना नै खाना दिन सम्भव नभएको जानकारी दिए । काेराेना भाइरसले हालसम्म बिहारमा ५ सयभन्दा बढी काेराेना संक्रमित छन् भने ४ जनाकाे मृत्यु भएकाे छ । (बीबीसीकाे सहयाेगमा)

कोरोना संक्रमितको संख्या ३६ लाख ४१ हजार, निकाे भए ११ लाख ९२ हजार बढी

काठमाडौं । अहिले विहान सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख ४१ हजार ५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५१ हजार ९ सय ३० जनाको मृत्यु भइसकेको छ भने ११ लाख ९२ हजार ९ सय २६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६९ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ११ हजार ७ सय ४५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने अहिलेसम्म १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

केपी ओलीलाई डोनाल्ड ट्रम्पकाे बधाई

(लघु कथा) विश्वको शक्ति राष्ट्र छिमेकी देश चीनको हुवेई प्रान्तबाट एउटा चित्कार आउँछ । त्यो चित्कार भगवानको आकाशवाणी जस्तो ब्रम्हाण्ड नै गुन्जयमान बनाउँछ । त्यो आवाजले विश्व नै स्तब्ध हुन्छ । चीनले सबै राष्ट्रहरुलाई आफू यो समस्याको समाधान गर्न सक्षम छु भनेर आश्वास्त तुल्याउँछ । तर यो यति जटिल हुँदै गयो कि उसको आफ्नो देश मात्र नभएर सारा विश्व नै यसको प्रभावमा आउन थाल्यो । आफूलाई शक्तिशाली भनाउँदा देशहरु पनि महिनौ बितिसक्दा पनि यस कोरोना भाईरसबाट मुक्ति पाउन नसकेर लाखौ मानिसहरुको मृत्यु हुन्छ । यस जटिल समस्या समाधानको लागि सबै ठूला राष्ट्र प्रमूखहरुको बैठक डाकिन्छ । त्यो बैठकको उद्देश्य “कोरोना महामारी र हाम्रो भविश्य” भन्ने नाराका साथ बहस अगाडी बढ्छ । सबै राष्ट्रको आँखा कोरोना भाईरसको उद्गम थलो चीनको छिमेकी सानो राष्ट्र नेपालतिर जान्छ । छिमेकी भएर पनि भाईरसको प्रभाव कम भएको पाउँदा सबै शक्ति राष्ट्र प्रमुखहरु नेपाल आएर जानकारी लिने निधो गर्छन । केही समय पछि प्रमुखहरुको आवागमन हुन्छ । अनी उनीहरुलाई यहाँको वस्तु स्थिति, बहुमत प्राप्त सरकार, संघीयता, लोकतन्त्र तथा समस्या पर्दा सबै राजनितिक दलहरु एकजुट हुने स्वभाव, विश्वको पुरानो इतिहास बोकेको मध्धे एक नेपाली सेना, प्रहरी, प्रशासन, संघीयतामा स्थानीय तह बलियो बनेको, साथै अवसरका लागि केन्द्रमा आएर बसेका जनताहरु स्वतस्फूर्त रुपमा सामाजिक दूरी कायम राख्न आफ्नो स्थानीय थलोमा फर्कि सहयोग गरेका कारणले आज हामी अन्यत्रको तुलनामा सुरक्षित रहेका छौ । साथै हामीलाई कुनै पनि राष्ट्रिय संकटको पूर्व जानकारी हुन्छ भन्ने कुरा जानकारी गराउँदा सबै राष्ट्र प्रमूखहरु आश्चर्य चकित हुन्छन । त्यस पश्चात प्रस्तुतकर्ताले नेपालको प्रदेश नं ३ अन्तर्गत दोलखा जिल्लामा अवस्थित दोलखा भिमसेनको बारेमा इतिहास जानकारी गराउँदा सबै राष्ट्र प्रमुखहरु यथास्थानबाट उठी ताली बजाउछन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल विज्ञानको युगमा अगाडी बढिरहेको भएता पनि आफ्नो धार्मिक मान्यता, तथा प्रकृतिलाई प्राकृतिक रुपमा ज्यूँदो राखि, विगतदेखि नै मानव कल्याणमा ध्यान दिएको स्मरण गराए । साथै, विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसलाई नियन्त्रणमा राख्न सकेकोमा प्रस्तुतकर्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदा तालीको गडगडाहटले ब्रम्हाण्ड नै गुन्जयमान हुँदा म एक्कासी निन्द्राबाट व्यूँजन्छु । आँखा भित्तामा झुन्डिएको क्यालेण्डरमा ठोक्किन्छ ! विक्रम सम्वत् २०७७ बैशाख ५ गते शुक्रबार ।