विकासन्युज

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

काठमाडाैं । किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम पोलिमर चेन रियक्सन (आरटी पिसीआर) मेसिन सञ्चालनमा आउन सकेको छैन । गत मङ्गलबार प्रतिष्ठानले पिसीआर जडान गरेको थियो । प्रतिष्ठानका अनुसार प्रयोगशाला सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिको जाँच रोकिन पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावले परीक्षण प्रभावित भएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालासँग ३०० मात्र नमूनाको परीक्षण गर्न मिल्ने किट बाँकी रहेको जानकारी दिए । यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको पिसीआर मेसिन दिएको छ । पशु रोग अन्वेषण प्रयोगशालामा नयाँ आरटी पिसीआर मेसिन जडान भएपछि कम क्षमताको भनिएको उक्त मेसिन पनि थन्किएको छ । कर्णालीको सुर्खेत र जुम्लामा रहेका मेसिनले एकैपटक ९६ स्वाब नमूना परीक्षण गर्न सक्दछन् । तर, प्रदेशमा स्वाब सङ्कलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भाइरस ट्रान्सफर मिडिया (भिटीएम) तथा सङ्कलित स्वाब परीक्षण गर्ने पिसीआर प्रोसेसिङ किट सकिएका छन् । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारीले एक साताअघि नै किट माग गरिएको बताए । ‘कर्णालीका लागि थप एक/एक हजार भिटीएम सेट र प्रोसेसिङ किट माग गरेका छौँ, आएको छैन’, उनले भने, ‘जसले गर्दा आरडिटी र पिसीआर परीक्षण प्रभावित बन्यो ।’ उनका अनुसार कर्णालीमा हालसम्म पाँच हजार ५०० को आरडिटी तथा करिब एक हजार जनाको पिसीआर परीक्षण गरिएको छ । हालसम्म यहाँ भने कोरोना सङ्क्रमण देखिएको छैन । छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । बाँकेमा फैलिँदो सङ्क्रमणको नतिजाले कर्णालीमा पनि त्रास बढेको हो । परीक्षण न्यून भएकाले कोरोना नदेखिएको हो कि भन्ने आशङ्का गर्न थालिएको छ । दुई साता पहिले कर्णाली भित्रिएकाहरुको परीक्षण गरेपछि मात्रै वास्तविकता पत्ता लाग्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किट अभावले भने परीक्षण ढिलाइ हुने भएको छ । कर्णालीमा वैशाखको पहिलो सातादेखि किट अभाव भएको थियो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले परीक्षण किट खरिदको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको बताए । ‘केन्द्रसँग पनि एक हजार थान किट माग गरेका छौँ, किट माग गरेको दुई साता बितिसक्यो, आइपुगेको छैन’, उनले भने । बाँकेसँग प्रत्यक्ष सम्पर्क जोडिएको कर्णालीमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने चौतर्फी आवाज उठेको छ । रासस

राष्ट्र बैंकका गर्भनरलाई परिस्थितिमा रहेर बजेट विनियोजन गर्न महासंघको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उत्पादित वस्तुको निर्यात प्रवद्र्धनलाई लक्षित गरि बजेट विनियोजन गर्न लघु, घरेलु तथा साना उद्योग महासंघले पत्र पठाएको छ । कोरोनाको त्राससँगै विश्वको अर्थतन्त्रमा नै ठूलो धक्का परिरहेकाे भन्दै महासंघले आगामी बजेट योजनाको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पेश गरेको हो । लकडाउनको परिस्थितिमा मुलुकको व्यवसाय तथा उद्योगको विकास र आगामी आर्थिक वर्षको बजेट समेतलाई मध्येनजर गरेर महासंघले सो सुझाव पत्र पेश गरेको जानकारी दिएको छ । १. विश्वमा फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणलाई कम गर्न सरकारले देशभर लकडाउन गर्दा सम्पूर्ण उद्योग व्यवसाय तथा आर्थिक गतिविधि ठप्प रहन गएकाले लघु घरेलु तथा साना उद्यमीले लिएको कर्जाको ६ महिनाको किस्ता, व्याज र हर्जाना मिनाहा गरिदिने व्यवस्थाका साथै बाँकी किस्ता तथा व्याज लकडाउन खुलेको एक वर्ष भित्रमा तिर्न सकिने व्यवस्था हुनुपर्दछ । २. कोरोना भाइरसका कारणले गरिएको लकडाउन पछि खुल्ने उद्योगहरुलाई चालु पूँजीको आवश्यकता पर्ने भएकाले कर्जा लिएका उद्यमीहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण पुर्नकर्जाको व्यवस्था गर्दै विगतमा कर्जा नलिएका उद्यमीलाई बढीमा २ प्रतिशत व्याजमा चुक्ता पूँजीको कम्तीमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने । बैंक कर्जा प्रवाहको व्याजदर बढीमा ४ प्रतिशत हुनुपर्ने । लघु, घरेलु तथा साना उद्यमीले उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ लगायतका सामानहरुमा कर छुटको व्यवस्थाका साथै कम्ती २ वर्षका लागि आयकर मिनाहा हुनुपर्दछ । ३. लघु, घरेलु तथा साना उद्यमीहरुको मेशिनरी लगायत स्थिर पुँजीलाई पनि धितो मानी सहुलियतपूर्ण परियोजना कर्जा दिने व्यवस्था हुनुपर्ने । ४. मुलुकका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापित लघु, घरेलु तथा साना उद्योग विकास कोष र महिला उद्यमीहरुलाई सहुलियतदरमा कर्जा उपलब्ध गराएउने उद्देश्यले स्थापना भएको महिला उद्यमशिलता विकास कोषको सान्दर्भिकता र महत्व अहिलेको परिस्थितिमा अझ बढ्न गएको हुँदा यी कोषहरुमा कम्तीमा ५० ५० करोडको रकम विनियोजना गरिनु पर्दछ । ५. मुलुकका लघु घरेलु तथा साना उद्योग संचालनमा प्रयोग गरिने नविनतम प्रविधिका मेशिनहरु ऋायात गर्दा लाग्ने एक प्रतिशत भन्सार कर बाहेक अन्य करहरु पूर्ण रुपमा छुट दिइनु पर्ने । ६. मौद्रिक नीतिले हरेक वर्ष उल्लेख गर्ने गरेको लघु घरेलु तथा साना उद्योगी पुनरकर्जा, महिला उद्यमी पुनरकर्जा तथा निर्यात पुनरकर्जा व्यवस्थालाई बैंक तथा वित्तिय संस्थाहरुले अवलम्बन नगरेको हुँदा कडाइका साथ लागु गर्दै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्दछ । ७. सरकारले लागु गरी विभिन्न बैंकहरुबाट प्रदान गरिदै आएको सहलियत कर्जा अन्र्तगतका महिला उद्यमशिलता कर्जा, कृषि कर्जा जस्ता कर्जाहरु प्राप्त गर्न झण्झटिलो भएकाले यसप्रति उद्यमीहरुमा वितृष्णा छाएकोले यसलाई सहज बनाउने व्यवस्था तथा कार्यविधि बनाइनु पर्दछ । ८. लघु, घरेलु तथा साना उद्योगहरुको कारोबारमा एक करोडसम्मको कारोबार रकममा अडिट नगरी एकमुष्ट कर तिर्ने व्यवस्था गर्नुपर्ने । ९. सामूहिक रुपमा लगानी गर्ने उद्योगहरुलाई प्राथमिकता दिई सहुलियतपूर्ण सामूहिक जमानीको कर्जा उपलब्ध गराइनु पर्ने । महिला उद्यमीहरुलाई ३ जनाको सामूहिक जमानीमा १५ लाख समूहमा दिइदै आएको समूहका तीनै जनालाई प्रतिव्यक्ति १५ लाख गरी जम्मा ४५ लाख रुपैयाँ दिइनु पर्ने । १०. लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले निर्यात प्रवद्र्धन गृह निर्माण गर्न प्रादेशिक रुपमा प्रति प्रदेश ३ करोड र केन्द्रमा ५ करोड विनियोजन गर्नु पर्ने ।

एसईई परिक्षा नलिई प्रमाणपत्र दिन प्याब्सनकाे प्रस्ताव

काठमाडाैं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ । सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरुबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं. २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्याङ्कनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको हो । कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्योल सिर्जना भएको उल्लेख गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी कानूनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकङ्कनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् । रासस

लकडाउन, विकास र टेष्टः सरकार काठमाडौंमै रुमल्लिएको हो ?

काठमाडौं । आज देशमा लकडाउन भएको ४२ दिन पुगिसकेकाे छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिस घरभित्रै छन् । तर, दिनप्रतिदिन कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । आज मात्रै नेपालगञ्जमा सात जना कोरोनाका बिरामी भेटिएका छन् । संघीय राजधानी काठमाडौं उपत्यकाकामा भने कोरोना संक्रमण भएकाहरू पनि घर फर्किसकेका छन् । सरकारले काठमाडौं मा विशेष सतर्कता अपनाएर ती बिरामी निको भएर घर फर्के र नयाँ संक्रमित पनि देखिएनन् । तर, काठमाडौं बाहिर पनि दिनप्रति दिन कोरोनाका बिरामीको संख्या दजनौं बढिरहेको छ । काठमाडौंमा मात्रै लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् । आज आज नयाँ संक्रमित नभेटिएको २३ दिन भइसकेको छ । यदि सरकारले जुन रुपमा काठमाडौं उपत्यकामा नमुना परीक्षण दायरा बढायो र मानिसको आवतवावतमा कडाई गर्यो त्यही अनुरुप अन्य ठाउँमा पनि दायरा बढायो भने यो अवस्था आउने थियो र ? यो भने आम सबैको जिज्ञासाको विषय बनेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पीसीआर विधिबाट ७३५ र ¥यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) विधिबाट ३ हजार ३ सय ७९ मात्र परीक्षण भएको छ । उपत्यकाको जनसंख्याको तुलनामा यो निकै कम हो । सरकारले मानिसको आवतजावत रोकेर र अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरेर विशेष सतर्कताका साथ काम गरिरहेको पनि छ । तर, अझै पनि धेरैले लकडाउन कायमै गर्नु पर्छ भनेर आवाज उठाइरहेका छन् भने धेरैले अब काठमाडौंमा खुकुलो पार्दा पनि हुन्छ भन्ने आवाज पनि उठाइरहेका छन् । ४२औं दिन लामो लकडाउनका कारण व्यपाार व्यवसाय र उद्योगधन्दाहरु ठप्प छन् । कोरोना बाहेकका बिरामीहरु थला पर्न थालेका छन् भने यो अवधिमा खाना नपाएर पनि समस्यामा परेकाहरुको समाचार पनि बाहिरन थालेका छन् । यसले पनि कोरोनाभन्दा पनि मानसिक स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना पनि प्रवल छ । सोमबारै उपत्यकाका नगरपालिकाको छाता संगठन ‘उपत्यका नगरपालिका फोरम’का पदाधिकारीले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर लकडाउन खुकुलो बनाउन माग गरेका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेकोले मानिसहरुको आवत–जावतमा कडाई गर्नुपर्ने बताए । धेरैले काठमाडौंमा लकडाउन खुुकुलो पार्नु पर्ने बताइरहेपनि त्यस्तो गर्दा मानिसहरु लुकेर आउनसक्ने सम्भावना हुने हुँदा खुकुलो पार्न नहुने उनको भनाई छ । ‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्, यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ, लकडाउन अझै कडा गर्नु पर्छ,’ उनले भने । सोमबार बसेको समन्वय समितिको बैठकमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीले रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गरी त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने प्रस्ताव पेश भएको छ । तत्काल काठमाडौं उपत्यका ग्रिन जोन मै परेपनि लकडाउन खुकुलो नबने भने पक्का छ । तर अहिले काठमाडौंमा कोरोनाका संत्रलमित नभएको भन्दै रातारात लुकेर काठमाडौं भित्रिनेहरु पनि बढेका छन् । सरकारले यो तर्फ पनि बढी ध्यान दिनु पर्छ । पुतली सडक पुनर्निर्माण हुँदै विकास निर्माण काठमाडौंमै देशभर लकडाउन भइरहँदा काठमाडौंका सडक भने यतिबेला चिटिक्क बनेका छन् । हिजो धुलै धुलो हुने काठमाडौंका केहस् सडकहरु यो समयमा स्कालोपत्रे गरेर चिटिक्क पारेका हुन् । तर काठमाडौं बाहिरका निर्माण आयोजना र सडकहरु भने उही पहिलकै अवस्थामा छन् । सरकारले विभिन्न आयोजना तथा भौतिक निर्माणका कामलाई निरन्तर रुपमा अगाडि बढाउन निर्देशन दिएपनि ती आयोजनाहरु कामदार र निर्माण सामग्रीको अभाव देखाउँदै ठप्प बनेका छन् । काठमाडौंका लागि हुने निर्माण सामग्री र जनशक्ति के अन्य ठाउँका लागि नभएकै हो त ? यो भने जिज्ञासाको विषय पनि बनेको छ । काठमाडौंका सडकहरु चिप्ला बनाउन तर्फ ध्यान जाने सरकारको अन्य जिल्ला र क्षेत्रका विकास निर्माण आयोजनाहरुमा ध्यान किन गएन ? अन्य समयमा २४सै घण्टा व्यस्त रहने सकडहरु पनि नेपालमा छन् । यो बेला ती सडकहरुको पुर्नर्निर्माण गर्यो उचित नै हुन्छ । तर, त्यसतर्फ भने न कुनै स्थानीय ता, न प्रदेश नत संघको नै ध्यान गएको छ । तर, काठमाडौं भित्रका धेरै आयोजनाहरु भने अझै पनि निर्माण भइरहेका छन् । काठमाडौंमा मुख्य मुख्य सडकहरु भत्काएर पनि सरकार पुनर्निमाणमा जुटेको छ । लकडाउनपछिकाे काठमाडाैंकाे सडक परीक्षण न्युन सरकारले लकडाउन गरेको ४३ दिन भइसकेको छ । तर यो अवधिमा परीक्षण भने न्युन गरेको छ । यो अवधिमा सकेसम्म धेरै परीक्षणहरु गरी कोरोना भए नभएको पुष्टि गर्नु पर्नेमा हालसम्म त्यति धेरै परीक्ष्ण भएका छैनन् । नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ । यो परीक्षणको तथ्याकं ले पनि देखाउँछ की जुन रुपमा कोरोनाका बिरामी देखिरहेका छन् । त्यो अनुरुपको परीक्षण भएको छैन । नेपालमा हालसम्म कुल संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।  सरकारले लकडाउनको समयको सदुपयोग गरी चौतर्फी नाफा हुने काम पनि गर्न सक्छ । नागरिकहरु घरभित्रै रहेको मौका छोपी विकास निर्माणका कामलाई तीव्रता र नमुना परीक्षणको कामलाई प्रभावकारी बनाए कोरोनाबाट छिट्टै नै छुटकारा पाउँछौं भन्ने कुरामा दुई मत छैन ।

कर्णाली प्रदेशका सीमाना एक साताका लागि बन्द

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति १२ बजेबाट पूर्णरूपले बन्द गर्ने निर्णय गरेको हो । भारतसहित तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको सम्पूर्ण अवस्था र विवरण सम्बन्धित पालिकाले अद्यावधिक गरी प्रदेश सरकारलाई रिपोर्टिङ गर्ने र त्यस्ता व्यक्तिहरुको पिसिआर परीक्षणको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । “बैठकमा प्रदेशभित्रका महत्वपूर्ण र जिल्लाको भौगोलिक दृष्टिकोणले बढी जनसङ्ख्यालाई सेवा पुग्ने केन्द्रहरुमा सामाजिक विकास मन्त्रालयले कार्ययोजना तयार गरी स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको छ”, मन्त्री भण्डारीले भने, “दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्थामा हेलिकोप्टरको प्रयोग गरिनेछ ।” त्यसैगरी प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी यान्त्रिक उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने, त्यसरी निर्माण कार्यसञ्चालन गर्दा सम्बन्धित निर्माण व्यवसायीले कामदारलाई समूहमा अलग रहने गरी सुरक्षा प्रबन्ध मिलाउने, प्रदेशभित्र प्रवेश गर्ने विशेष सुविधाप्राप्त सवारी साधनलाई समेत प्रवेश नाकामा निस्प्रभावित (किटाणुरहित) गर्ने कार्य सामाजिक विकास मन्त्रालयले नेपाल प्रहरीको समन्वयमा गर्ने/गराउने निर्णय भएको उनले जनाए । त्यस्तै सबै जनसमुदायलाई जन्म र मृत्यु संस्कारका अनिवार्य कार्यबाहेक अन्य प्रकृतिका मानिस जमघट हुने धार्मिक, सांस्कृतिक कार्यहरु नगर्न आग्रह गर्ने, सम्भावित जमघटस्थल र कार्यहरुमा निगरानी तथा नियन्त्रण गर्ने र सम्भावित जमघटका कारण जोखिमको आशङ्का देखिएका व्यक्तिलाई नियन्त्रणमा लिई परीक्षणसमेत गरी क्वारेन्टाइनमा राख्ने, लकडाउनलाई थप प्रभावकारी बनाउन एक गाउँबाट अर्को गाउँसमेतको आवागमनलाई नियन्त्रित गर्ने, भौतिक दूरी कायम गरी स्थानीयस्तरमा हुने कृषि तथा पशुजन्य क्रियाकलाप र स–साना विकास निर्माणका कार्यहरु सञ्चालन हुन दिने निर्णय बैठकले गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको ४ सय क्षमताको क्वारेन्टाइनलाई पूर्ण क्षमतामा सञ्चालन तयारीका लागि र हर्रे वा बबईमा थप एक सय क्षमताको क्वारेन्टाइन स्थापनाका लागि उत्तर–पश्चिम पृतना हेडक्वार्टरले आवश्यक प्रबन्ध गर्ने, वन फडानी, वन र वनजन्य सामग्री तथा पशुपक्षीको सम्भावित चोरी निकासीलाई नियन्त्रण गर्न उच्च सुरक्षा सतर्कता अपनाउने साथै यसका लागि सामुदायिक वन उपभोक्ता समिति र स्थानीय तहलाई सुरक्षा सावधानी अपनाउन आग्रह प्रदेश सरकारले आग्रह गरेको छ । लकडाउनका कारण उत्पन्न असहज अवस्थाको नाजायज लाभ लिने गरी हुनसक्ने सम्भावित कालोबजारीलाई अनुगमन तथा नियन्त्रणको व्यवस्था मिलाउने, मुलुकभित्रकै जोखिमयुक्त क्षेत्र (रेड जोन) र भारतबाट प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्ने/बसाउने व्यवस्था जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले मिलाउने निर्णय गरिएको मन्त्री भण्डारी जानकारी दिए । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोना भाइरस सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालको तर्फबाट विभिन्न ठाउँमा आवश्यक जनशक्ति खटाउने तयारी भइरहेको बताए । “हामीले यतिबेला सीमानाका र आवश्यकीय क्षेत्रका लागि स्वास्थ्य जनशक्ति तयार गरेका छौँ । यो प्रदेशको स्वास्थ्य अवस्था र जनशक्तिका विषयमा थप तयार गरी स्वास्थ्य सेवालाई सशक्तीकरण गर्नेतर्फ हामी जोड दिइरहेका छौँ”, मन्त्री रावलले भने । कर्णाली प्रदेशसँग सिधा नाका जोडिएको प्रदेश नं ५ को बाँके नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरूपमा बढेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाउँदै कोरोनाको सम्भावित जोखिम (सङ्क्रमण) हुन नदिन एक साताका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ । नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म २३ पुगेको छ । रासस

बबरमहलकाे सफ्टवेयर कम्पनीबाट ६३ कार्टुन पिपिई खरिद

काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेटमा लुकाएर राखेको ६३ कार्टुन पिपिई भेटिएको छ । करीब १० लाख रुपैयाँ बराबरको उक्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको सामान आँखु इन्टरप्राईजेज बालाजुको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद गरेको जनाएको छ। पञ्जा, चस्माका सामाग्रीमा लुकाएर राखिएका सो पिपिईको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान रहेको विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्र बताए । उजुरी आएपछि विभागले आँखु इन्टरप्राइजेजले चीनबाट ल्याएको ती सामानको तातोपानी नाकाबाटै ट्रयाकिङ थालेको थियो। ‘तातोपानीबाट सामान ल्याएर सप्लायरले कहाँ राखेको छ ? कसलाई बेच्दैछ भनेर अनुसन्धान गर्दै जाँदा लुकाएर राखेको अवस्थामा भेटिएको हो,’ निर्देशक मिश्रले भने। अनसन्धानका क्रममा पिपिई सामग्री लुकाई भण्डारण गरी बिक्री वितरण गरेको भेटिएपछि ती सामाग्रीहरु सोही ठाउँमा सिलबन्दी गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको हो। लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका विभागले जनाएको छ ।

स्वदेश फर्केका नेपाली हर्षित, आरडिटी किटको अभाव

बैतडी । एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् । कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । “विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ”, उनले भने “विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ ।” भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौं नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताए । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवादसमेत व्यक्त गरे । भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताए । उनले भने, “विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।” झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका ७ सय ९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए । क्वारेन्टाइन अनुगमनमा तीव्रता सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिन सबै ठाउँमा अनुगमन गर्न थालिएको हो । अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ ।” दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेका बताइएको छ । गत बिहीवार सीमानाका झुलाघाट हुँदै एक हजार २ सय ९९ नागरिक स्वदेश फर्किएका थिए । आरडिटी कीटको अभाव बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ । जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उहाँले बताउनुुभयो । जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५ सय ४८ को आरडिटी टेस्ट गरिएका छन् । यस्तै ४ सय ३० को स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो । जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।” एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ । वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । उनले भने, “वडाका प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ ।” टोलमै सामाजिक सुरक्षाभत्ता पाउँदा स्थानीय नागरिक पनि खुशी भएका छन् । रासस

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

काठमाडौं । सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर महिलाले गाउँपालिकासँगै प्रहरी चौकीमा उजुरी दिइएकी थिइन् । उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुँवर सिंहले जानकारी दिए । महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार महिलामाथि गम्भीर चोट लागेको र स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको अध्यक्ष गुरुङले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस