अब ‘आयोजना बैंक’ मार्फत आयोजना सञ्चालन गर्नुपर्ने, असारे विकास नदोहोर्याउन निर्देशन
काठमाडौं । अब सरकारले आयोजना बैंक बनाएर बजेट बाँडफाँड गर्नु पर्ने भएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण सरकारको न्यून बजेट परिचालनको अवस्था रहेको हुँदा आयोजनाहरुको वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्न विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले चालु अवस्थामा रहेका आयोजनाहरुलाई निरन्तरता दिने र पूर्व तयारीका साथ आयोजना बैंक मार्फत आवश्यकताका आधारमा आयोजनाहरु सञ्चालन गर्न र गराउन निर्देशन दिएको हो । समितिकी सभापति कल्याणी कुमारी खड्काले चालु राष्ट्रिय गौरवका आयोजना , रणनीतिक महत्वका सडक, आर्थिक केन्द्र जोड्ने सडक , सुरुङ मार्ग , जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सडक र स्थानीय तहको केन्द्रमा सडक पुर्याउने कार्यलाई आगामी आब २०७७/०७८ को बजेटमा प्राथमिकताका साथ समावेश गर्न निर्देशन दिएकी हुन् । उनले आयोजना छनौट तथा कार्यान्वयनमा देखिएको दोहोरोपना हटाई तीन तहका सरकारको बीच प्रभावकारी समन्वय कायम कार्य गर्नु पर्ने बताएकी छन् । उनले पुराना निर्माण सम्पन्न भई सकेका योजनाहरुको मर्मत कार्य प्रभावकारी बनाउनुका साथै सम्पन्न भईसकेका सम्पूर्ण आयोजनाहरुको समयमै भुक्तानीको व्यवस्था मिलाउने , आर्थिक वर्षको अन्त्यतिर पूर्व तयारी विना हतार हतारमा विकास कार्य गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आगामी वर्षमा यस्ता प्रवृत्तिहरु दोहोरिन नदिन आग्रह गरिन् । आयोजना बैंकले विषय क्षेत्रगत मन्त्रालय, निकाय, लगानी बोर्ड, प्रदेश योजना आयोग र नीजि क्षेत्रसँग समन्वय गरेर आयोजना छनौट गर्ने काम गर्नेछ । आयोजना कार्यान्वयनको मोडल निर्धारण सरकार, नीजि क्षेत्र, सार्वजनिक नीजि साझेदारी मार्फत हुनेछ । कुन आयोजनामा सरकारले कति लगानी गर्ने, नीजि क्षेत्रले कति लगानी गर्ने भनेर आयोजना कार्यान्वयनको मोडल तयार गरिने साे बैंकमार्फत नै हुनेछ । बैंक नहुँदा आयोजनामा देखिएको सुशासनको समस्या पनि हल हुने समितिले विश्वास लिएकाे छ । अब आयोजनामा छनाेट र लगानी बाँडफाँड राजनीतिक पहुँचका आधारमा बजेट छुट्याइने परम्पराको यसले अन्त्य गर्ने गर्नेछ भने प्राथमिकताका परियाेजनाले पनि अवसर पाउनेछन् ।
बाँझो जमिन प्रयोग गरेमा अनुदान
हेटौँडा। पाँच वर्षभन्दा बढी अवधिदेखि बाँझो रहेको खेतीयोग्य जमिनको पुनःप्रयोग गर्न मकवानपुरगढी गाउँपालिकाले भू–उपयोग कार्यविधि कार्यान्वयनमा ल्याएको छ । विभिन्न कारणले बाँझिएका खेतबारीलाई खनजोत गरी प्रयोगमा ल्याउन खेतीको प्रकृति हेरेर अनुदान रकम उपलब्ध गराइने गरी कार्यविधि पास भएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । कोरोनाको जोखिमले गाउँ फर्किएका एवं फर्कन चाहने नागरिकलाई लक्षित गर्दै यसअघि नै निर्माण गरिएको कार्यविधिलाई संशोधन गरेको उनले बताए । उनका अनुसार गाउँपालिकाले युवालाई कृषिमा आकर्षित गर्न तालिमसहित कृषि उद्यम गर्न लाग्ने बीउपूँजीसमेत उपलब्ध गराउने नीति लिएको छ । आर्थिकरुपमा विपन्न परिवारका १०० जना युवालाई पहिलो चरणमा तालिमसहित खेतीपाती तथा पशुपालनमध्येको कृषि उद्यमका लागि प्रोत्साहन बीउपूँजी सहयोग उपलब्ध गराइने उहाँले जानकारी दिए । कार्यविधिअनुसार विगतदेखि बाँझो रहेको जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार, अन्नबाली, तरकारी तथा थोरै सङ्ख्यामा पशुपालन गर्नेलाई प्रतिरोपनी रु तीन हजार तथा कम्तीमा ३० भन्दा बढी बाख्रा, पाँचभन्दा बढी गाई, १० वटाभन्दा बढी बङ्गुर पालन गर्ने किसानलाई रु एक लाखसम्म अनुदान उपलब्ध गराइने छ । त्यस्तै माछा पालन गर्नेलाई पोखरी निर्माणका लागि प्रतिरोपनी रु १५ हजार, मौरी पालन गर्नेलाई प्रतिघार रु पाँच हजार, जडीबुटी खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार अनुदान रकम उपलब्ध गराइने छ । कार्यविधिअनुसार खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई भने भूमिकर वृद्धि, पालिकामार्फत उपलब्ध हुने सेवा रोक्का, बाँझो जग्गा अधिग्रहण गरी भूमि बैंकमा दाखिला तथा मोहीलाई हस्तान्तर गरी दण्डितसमेत गरिनेछ । गाउँपालिकाका अध्यक्ष हुमागाईले स्थानीय नागरिकलाई अनुदान प्राप्त गर्न वडा कार्यालय हुँदै गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे । “गाउँमा फर्कौं गाउँमा नै उद्यमी बनौँ, शहरमा बसाइँ जाने हैन शहरका सुविधा क्रमैसँग गाउँमा ल्याऔँ, जग्गा बाँझो नराखौँ र स्थानीय सरकारले उपलब्ध गराउने प्रोत्साहन प्राप्त गरौँ”, उनले गाउँवासीलाई आग्रह गरे । समृद्धि कृषि पेशा र गाउँबाट मात्र सम्भव हुने उनको भनाइ छ । रासस
पासबाहक गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री…’
काठमाडाैं । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्याउनुहोला ? दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताए । ‘दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।’ विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५ सयकाे हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४ सय सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो । अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो । नागढुङ्गाको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताए । ‘आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ’, श्रेष्ठले भने । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उनले बताए । गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताए । उनले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याए । कोभिड-१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौं उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिन्छन् । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ । रासस
काँठका बासिन्दा भन्छन्- आफ्नो काम गर्यो खायो, लकडाउनले कुनै असर गरेको छैन
काठमाडौं । ठेचोका सुन्दर महर्जन केही दिनअघि एउटा हातमा कोदाली र अर्काे हातमा पानीको बोतल बोकेर खेत जाँदै गर्दा भेटिए । उनी गत साता छरेको धानको बीउमा पानी लगाउन जान लागेका थिए । बन्दाबन्दी (लकडाउन) ले आफूलाई खासै असर नगरेको उनको भनाइ छ । शहरी क्षेत्रका मानिसलाई दिन बिताउनै गाह्रो भएको भनिरहेका बेला उनलाई त्यस्तो छैन । उनले भने, ‘आफ्नो काम गर्यो खायो मलाई लकडाउनले कुनै असर गरेको छैन ।’ देशभर ‘लकडाउन’ घोषणा भएको ४२ दिन पुगिसक्यो काठमाडाैंका आसपासका क्षेत्र (काँठ क्षेत्र) का किसानमा भने यसको कुनै असर देखिँदैन । अहिले खेतबारीमा काम गर्ने समय भएकाले होला उनीहरु दिनभर खेतीमै बिताउने गरेका छन् । खेतमा आलु खन्ने, गहुँ रोप्ने र बारीमा मकै छर्ने काममा लागिरहेको देखिन्छ । यस क्षेत्रमा तरकारीखेती व्यावसायिकरुपमा नै गर्ने धेरै छन् । लकडाउनको पहिलो साता तरकारी बेच्न नपाए पनि अहिले तरकारी बजार गइरहेको उनीहरु बताउँछन् । पशुपालन गर्नेहरु पनि दूध नियमितरुपमा बेचिरहेका छन् । शहरी क्षेत्रमा बहालमा बस्ने धेरै भए पनि काँठ क्षेत्रमा बहालमा बस्ने कम छन् । अधिकांश आफ्नै घरमा बस्ने भएकाले होला साविकको जस्तै दिनचर्या चलिरहेको काँठ क्षेत्रमा बस्नेहरु बताउँछन् । आफ्नो घर आँगनदेखि खेतबारीसम्म हिँड्न पाएकाले शहरी क्षेत्रमा जस्तो यहाँ उनीहरुले थुनिएको महसुस गरेका छैनन् । शहरी क्षेत्रमा सबै कुरा किन्न बाहिर निस्कनु परे पनि यस क्षेत्रमा धेरैलाई आफ्नो खेतबारीमै आवश्यक तरकारी फल्ने हुँदा पनि बाहिर निस्कनु परेको छैन । मुख्य सडक क्षेत्रमा बाहेक अधिकांश स्थानमा सामान्य दिनचर्या नै रहेको चापागाउँका विष्णुप्रसाद तिमल्सिनाले बताए । कार्यालय जाने कर्मचारी र व्यापारीलाई असर परे पनि गाउँघरमै काम गर्नेलाई कुनै असर नपरेको उनले बताए । विगतमा यस क्षेत्रमा स्थानीयवासी आफू खेतबारीको काम नगर्ने र ज्याला दिएर अरुलाई काम लगाउने भए पनि त्यसमा भने परिवर्तन आएको छ । यो समयमा सबैले काम गर्नुपर्छ भन्ने मानसिकताका साथ घर वरिपरिका करेसाबारी र बाँझो जमिनसमेत खनेर उत्पादन गरिरहेका छन् । प्लटिङ गरी व्यापारका लागि सम्याएका बाँझो जमिनमा समेत अहिले धमाधम खनजोत भइरहेको छ । उनले भने, ‘एकातिर ज्यालामा काम गर्नेहरु आ-आफ्नो घर फर्किए र अर्कातिर परिवारका सबै घरमै भएकाले परिवारका सदस्य मिलेर काम गरेको पाइन्छ ।’ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ निवासी ७१ वर्षीया लक्ष्मी कुइँकेलले सामाजिक दूरी कायम गरी आफ्ना क्षेत्रमा धमाधम खेतीबारीको काम गरिरहेका बताए । काम नपर्दा घरबाट बाहिर ननिस्कने तर चाहिने कुरा किन्न कुनै अवरोध नरहेको उनले बताए । उनले भने, ‘दिनहुँ चाहिने खानेकुरा किन्न जान कसैले रोकेका छैनन् ।’ ललितपुर जिल्लाका तीन गाउँपालिका वाग्मती, कोञ्जेसोम र महाङ्कालमा पनि दैनिक काममा लकडाउनले खासै असर नगरेको स्थानीयवासीले जानकारी दिएका छन् । देशका अरु जिल्लामा जस्तै शहरी क्षेत्रमा रोजगारी वा अध्ययनका लागि बस्नेहरु घर फर्किएका छन् । यहाँ कृषि र पशुपालनका काममा कुनै अवरोध नभएको महाङ्काल गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र दाहालले बताए । उनले भने, ‘दैनिक उत्पादन हुने दूध, तरकारीलगायतका वस्तु दैनिक व्यापारका लागि बजार ल्याउने व्यवस्था गरिएको छ ।’ गाउँघरमा पशुपालन र कृषिमा लकडाउनको प्रभाव कम रहेको स्थानीयवासी दीपक घिमिरेले बताए । भौगोलिक विकटताका कारण पातलो बस्ती भएकाले दैनिक गर्ने काममा खासै प्रभाव नपारेको उनले बताए । सरकारले भनिरहेको सामाजिक दूरी ग्रामीण क्षेत्रमा सामान्य अवस्था नै पालना भइरहेको उनको भनाइ छ । अरु समयमा गाउँ भनेर हेला गरिए पनि यस्ता सङ्कटको समयमा शहरभन्दा गाउँ नै उपयुक्त हुने उनको भनाइ छ । उनले भने, ‘शहरमा बस्नेलाई पैसा भए पनि किनेर खान पाइएला नपाइला भन्ने चिन्ता छ तर हामीलाई त्यस्तो छैन ।’ पहिले बजारको समस्या हुने गरेको भए पनि अहिले तरकारीका लागि बजारको समस्या नभएको भक्तपुर सुडालकी सरस्वती थापाले बताए । बजारमा अहिले तरकारीको मूल्य भने असाध्यै कम भएको उनको भनाइ छ । लकडाउन शुरु हुनासाथ बेच्ने समय भइसकेको काउली उनी अहिले बेचिरहेका छन् । तर काउलीको भाउ भने प्रतिकिलो रु १० मात्रै पाएको उनले बताए । साग रोप्ने जमिन तयार पार्दै गरेकी उनले यो साग भने आफ्नो परिवारलाई मत्र पुग्नेगरी रोप्ने बताए। उनले भने, ‘दुःख गरेर रोप्यो बेच्ने बेलामा बीउ, मल र ज्याला नै उठ्दैन ।’ चन्द्रागिरि नरपालिका–५ निवासी ७८ वर्षीय विष्णुप्रसाद सिग्देलले पहिले अधिकांशले आफ्नै करेसाबारीसमेत ज्याला लगाएर खन्ने र रोप्ने गरेकामा लकडाउनले त्यसमा परिवर्तन ल्याएको बताए । अहिले कार्यालय बिदा भएर घरमा बस्दा धेरै करेसाबारी हरियोपरियो बनाएको उनले बताए । यो अवस्था अझै कहिलेसम्म हुने हो र भोकै हुनुपर्र्ला भनी बाँझो रहेको जमिन वा छिमेकीकोे जमिनमा पनि अन्न तथा विभिन्न बाली रोप्ने प्रवृत्ति बढेको छ । उनले भने, ‘हिजोसम्म कुटोकोदाली, हँसिया नचिन्ने मानिसले पनि आज खेतीको काम थालेका छन् । विगतमा दैनिक रुपमा बजारबाटै किनेर खाउँला भन्ने कतिपय मानिसकोे मानसिकतालाई आज कोरोेनाले बदलिदिएको उनले बताए । अहिले रोपे केही महिनामा फलेर खान पाइन्छ भनेर कोदाली बोकेर हिँड्ने बढेको उनले बताए । यो समयमा मकैँ भटमास, चिउरा, पुवा, रोटी, गुन्द्रुकको अचार आदिजस्ता पहिलेका खाजामा मानिसको रुची दिनानुदिन बढेको उनले बताए । उनले भने, ‘एकातिर पसलमा कति कुरा आएका छैनन् अर्कातिर पाइन्छ कि पाइँदैन भनेर आफैँ बनाएर खानेहरु बढेका छन् । पहिले पहिले मानिस व्यक्तिवादी बन्दै गए पनि कोभिड–१९ को त्रासका कारण मानिसमा परिवार चाहिन्छ भन्ने भावना पलाएको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् । शिक्षित मानिसले खेती किसानी गर्नु हुँदैन भन्नेमा समेत परिवर्तन आएको छ । बजारका खाद्यान्नभन्दा अधिकांश घरमै खाना बनाएर खान लागेका छन् । काँठ क्षेत्रमा दिनभर यसै कुनै काम नगरी बस्दा दिन काट्न गाह्रो हुने भन्दै जङ्गलमा जाने पनि बढेका छन् । दीर्घरोगीहरु मुख्य सडकमा हिँड्न नपाइने भन्दै जङ्गलमा हावा खान जाने गरेका छन् । अहिले काफल र लालीगुराँसको समय भएकाले त्यो टिप्न र वनमा पाइने जडीबुटी टिप्न पनि परिवारका सदस्यहरु जङ्गल गएको पाइन्छ ।’ लकडाउनको अवधिमा आमाको मुख हेर्ने औँशी र चैते दशैँलगायतका चाडपर्व परेका थिए । सार्वजनिक बिदा नहुने भएकाले विगतका वर्षहरुमा कम महत्व पाउने यी पर्वसमेत धेरैले परिवारसँग मनाए । नेपाल प्रहरीमा महिला हिंसाका घटना कम भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार श्रीमान् श्रीमती दुवै वा एकजना बाहिर हुँदा आशङ्काका कारण झगडा हुने गरेकामा लकडाउनमा सँगै हुँदा यी समस्या कम आएका छन् । नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले लकडाउन जारी राख्दा काँठका कतिपय स्थान र नागरिकबाट यसको उल्लङ्घन भइरहेको पनि देखिन्छ । यस क्षेत्रमा अत्यावश्यकबाहेकका पसलसमेत खुल्नाका साथै मानिसहरु समूहमा जम्मा भएको चिया पसल र चौतारीमा देख्न सकिन्छ । दशैँ, तिहारलगायतका चाडपर्वको समयमा जस्तै युवा जम्मा हुने तास खेल्ने वा गफ गरेर समय बिताउने गरेको पाइन्छ । कतिपय भने साथी भेट्न वा आफन्तकहाँ जान भन्दै दिनभर हिँडिरहेको पनि देखिन्छ । प्रहरीको उपस्थिति कम भएकाले पनि यस क्षेत्रमा घरभित्रै बस्ने भन्ने पालना नभएको पाइन्छ । उपत्यकाका तीन जिल्लामा नै भीडभाड पहिलेभन्दा कम भए पनि भीडभाड गर्नु हुँदैन भन्ने नागरिकले नबुझेको पाइएको छ । कतिपयले भने शहरी क्षेत्रमा जस्तो भीड नहुने र बाहिरबाट कोही आउनासाथ जानकारी हुने भएकाले पनि यहाँ बाहिर निस्कन जोखिम नभएको बताउँछन् । खाद्यान्नको पसलसँगै चिया पसल, खाजा घरजस्ता पसलसमेत यो समयमा खुलेको देखिन्छ । रासस
चितवनकाे कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु
चितवन । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उनले बताए । उनले भने, “अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।” केही समयअघि मात्रै भरतपुर महानगरपालिका—१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो । कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो । रासस
लकडाउनले महालेखाको प्रतिवेदन अनिश्चित, विज्ञ भन्छन्ः फरक पर्दैन
काठमाडौं । सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनको कारण सरकारी खर्चको लेखापरीक्षण प्रभावित भएको छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन चैत मसान्तमा नै आउने गरेको भएपनि देशव्यापी लकडाउनको कारण यसपालीको प्रतिवेदन ढिला भएको हो । सरकारले जारी गरेको लकडाउनको कारण कर्मचारीलाई कार्यालयमा गएर काम गर्न समस्या भएकोले ढिलाई भएको महालेखापरीक्षक टंकमणि शर्माले जानकारी दिए । लकडाउन खुलेपछि कर्मचारीहरु कार्यालय गएर बाँकी रहेको काम सक्ने शर्माको भनाइ छ । ‘फिल्डमा गएर लेखापरीक्षण गर्ने काम सकिएको छ, कार्यालयमा बसेर प्रतिवेदन कम्पायल गर्ने, एक अर्काे महाशाखाबीच समन्वय गरेर अन्तिम रुप दिने, अनुसुची बनाउने, फाइलमा तथ्यांक प्रविष्ट गर्ने जस्ता आन्तरिक काम बाँकी छ, लकडाउनको कारण कर्मचारीहरु कार्यालय जान नपाएको ढिलाई भएको हो, लकडाउन खुल्ने वित्तिकै काम सकेर प्रतिवेदन सार्वजनिक गर्छाैं,’ महालेखापरीक्षक शर्माले भने । महालेखाले चैत मसान्तभित्र गत आर्थिक वर्षको सरकारी खर्चको लेखापरीक्षण सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने गरेको थियो । यसबर्षको प्रतिवेदन पनि चैत मसान्तभित्रै सार्वजनिक गर्ने कार्ययोजना बनाइएको भएपनि लकडाउनका कारण काम प्रभावित भएको हो । आफूहरुले वर्षभरी गरेको काम देखाउँने बेलामा लकडाउनको कारण देखाउन नपाएको महालेखाका अधिकारीहरु बताउँछन् । अहिले बाँकी रहेको काम गर्नको लागि कम्तिमा पनि ३ हप्ता समय लाग्ने महालेखाको भनाइ छ । यसको अर्थ वैशाख अन्तिममा लकडाउन खुल्यो भने जेठ अन्तिममा मात्रै प्रतिवेदन तयार हुनेछ । महालेखाले संघीय, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारी खर्चको लेखापरीक्षण गरेर बेग्लाबेग्लै प्रतिवेदन तयार गर्ने गर्छ । यस्तो प्रतिवेदनमध्ये संघीय सरकारका निकाय र कार्यालयहरुको लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति समक्ष र प्रदेशस्तरका कार्यालय र निकायहरुको लेखापरीक्षण प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संबैधानिक व्यवस्था छ । महालेखा परीक्षकको कार्यालयले नियमित र कार्यमुलक गरी दुई प्रकारको लेखापरीक्षण गर्ने गर्छ । नियमित लेखापरीक्षणमा सरकारी कार्यालय तथा निकायहरुले गरेको आम्दानी र खर्च नियम संगत भए नभएको, आर्थिक अनुशासन पालना भए नभएको, विद्यमान विधि, प्रक्रिया र नियम अनुसार खर्च गरे नगरेको, राख्नुपर्ने विलविजक राखे नराखेको जस्ता विषय हेर्ने गरिन्छ । यस्तै, कार्यमुलक लेखापरीक्षणमा कुनै पनि आयोजनाको समयमै काम भए नभएको, ठेक्का प्रक्रिया कानुन अनुसार अघि बढे नबढेको जस्ता विषय पनि हेर्ने गरिन्छ । महालेखाले लेखापरीक्षणको क्रममा आर्थिक अनुशासन र वित्तीय जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता जस्ता विषयमा सरकारी कार्यालय तथा निकायहरुलाई सुझाव समेत दिने गर्छ । महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा कैफियत देखाएकै कारण एनसेलको स्वामित्व खरिद विक्रीमा लाभकर छलिएको विषय सार्वजनिक भएको थियो । यस्तै नेपाल एयरलाईन्सले खरिद गरेको वाइडबढी जहाज खरिदमा अनियमितता भएको, नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भण्डार बनाउनको लागि जग्गा खरिद गर्दा नियमसंगत नभएको जस्ता तथ्यहरु पनि महालेखाले उजागर गरेको थियो । महालेखाले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने वित्तिकै पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । राष्ट्रपतिलाई बुझाइएको प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसदमा आउने र संसदले सार्वजनिक लेखा समितिमा पठाएर प्रतिवेदनमा उल्लेख भएका कैफियत सुधारका लागि सरकारलाई निर्देशन दिने संवैधानिक व्यवस्था छ । ढिलो भएर फकर पर्दैनः विज्ञ महालेखाको प्रतिवेदन आउन ढिला भएपनि त्यसैले तात्विक फरक नपार्ने पूर्वअर्थ सचिव रामेश्वर खनाल बताउँछन् । महालेखाले लेखापरीक्षण गर्न ढिला गर्ने भएकोले प्रतिवेदनमा उल्लेख गरिएका कैफियत सच्याउन पनि गाह्रो हुने गरेको उनको भनाइ छ । ‘गत आर्थिक वर्षको भदौ महिनामा नियमित गर्नुपर्ने बेरुजु यो वर्षको चैत मसान्तमा आएर देखाइन्छ, सामान्य एउटा बिल पेश गर्न छुटेको हुन्छ, महालेखाले त्यसैलाई देखाएर नियमित गर्न भनेको हुन्छ, तर विल पेश गर्नुपर्ने कर्मचारी सरुवा भएर कहाँ पुगिसकेको हुन्छ, अनि नियमित भएन भनेर महालेखाले बेरुजु रकम धेरै देखाउँछ, अहिले कार्यान्वयनमा रहेको लेखापरीक्षण प्रक्रिया नै गलत भएकोले महालेखाको प्रतिवेदन चैतमा आएपनि वा जेठ असारमा आएपनि केही फरक पर्दैन,’ पूर्व अर्थसचिव खनालले भने । उनले लेखापरीक्षण प्रक्रिया सुधार गरेर कन्कुरेन्ट (काम हुदै गर्दा लेखापरीक्षण पनि गर्दै गर्ने) प्रणाली अबलम्बन गर्नुपर्ने बताए । आफू अर्थसचिव भएकै बेलामा पनि कन्कुरेन्ट लेखापरीक्षण प्रणाली लागू गर्न धेरै पहल गरेको भएपनि अहिलेसम्म लागू नभएको खनालको भनाइ छ । ‘आर्थिक अनुशासन र पारदर्शिताको लागि कन्कुरेन्ट लेखापरीक्षण प्रणालीमा जानुपर्छ भनेर म अर्थसचिव भएको बेलामा निकै गृहकार्य गरियो, महालेखालाई बोलाएर तपाईहरुलाई के कस्तो सहयोग गर्यो भने कन्कुरेन्ट लेखापरीक्षण गर्न सक्नुहुन्छ भनेर धेरै पटक छलफल पनि गरियो, त्यो बेलामा त अघिल्लो आर्थिक वर्ष सकिएको दिन पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन आउने चलन थियो, त्यसमा महालेखाका कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेर पुस मसान्तसम्ममा प्रतिवेदन सार्वजनिक गरिसक्ने भन्ने व्यवस्था गरियो, म पनि राजीनामा दिएर हिडें, पछि पुस मसान्तलाई बढाएर चैत मसान्त गरियो, चैत मसान्तमा प्रतिवेदन आउनु र असार मसान्तमा आउनु उस्तै हो, यसले केही सुधार गर्दैन,’ खनालले भने । पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी पनि महालेखाको प्रतिवेदन आउँन ढिला हुँदा केही फरक नपर्ने बताउँछन् । महालेखाले विगतदेखि औल्याएका कैफियत सुधार नभएको र उसले दिने सल्लाह हरेक बर्षजसो नै उस्तै भएकोले यो वर्ष ढिला हुँदा खतमै भयो होला भन्न नसकिने डा. सुवेदीको भनाइ छ । ‘महालेखाले यो वर्ष सार्वजनिक गर्ने लेखापरीक्षण प्रतिवेदन गत आर्थिक वर्षको हो, यो वर्षको होइन, विगतका वर्षहरुमा आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वको अवस्था महालेखाले देखाएकै छ, गत वर्षको अवस्था पनि उस्तै होला, विगतमा महालेखाले औल्याएका कैफियत सुधार भए कि भएनन् भन्ने विषय प्रमुख हो, यसपाली ढिलो भएर खत्तमै भयो होला भनेर चिन्ता गर्नुपर्ने अवस्था म देख्दिनँ,’ पूर्व अर्थसचिव डा. सुवेदीले भने ।
जुम्लामा पिसिआरबाट कोरोना जाँच: सबैको रिपोर्ट नेगेटिभ
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा आठजनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए । उनका अनुसार मुगु खत्याडका एकजना सहित तातोपानी गाउँपालिकाका सातजनाको स्वाब परीक्षण गरिएको थियो । अस्पतालमा सो प्रविधि ल्याइएपछि यहाँ कोरोना परीक्षण गर्न सहज भएको छ । पहिलोे पटक २०० किट पुगेपछि सो जाँचको परीक्षणको काम शुरु भएको थियो । अगामी शनिबारसम्म पुग्ने गरी एक हजार किट प्रतिष्ठानले माग गरेको छ । किट उपलब्ध हुनेबित्तिकै जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परीक्षण हुने जनाइएको छ । जुम्ला, मुगु र कालीकोटबाट पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानले गरेको छ । यो प्रविधिले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको छ । कर्णाली प्रदेश सरकारले पनि तत्कालीन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ । आजदेखि नेपालगञ्ज र भारतदेखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । अस्पतालमा पिसिआर प्रविधिबाट स्वाब परीक्षण कार्य सफल भएपछि स्थानीय उत्साहित छन् । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमण भेटिएको छैन । रासस
कामना सेवाले सञ्चालनमा ल्यायो बीमा सुविधा सहितको बचत खाता
काठमाडौं । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । विकास बैंकले हालको अवस्थामा जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो । संस्थाले नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा यो योजना बजारमा ल्याएको हो । यो खाताको न्यूनतम मौज्दात रकम ५ हजार रुपैयाँ रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।