विकासन्युज

कोरोनाभाइरसबाट अफ्रिकी मुलुक नाइजरका श्रममन्त्रीको निधन

नियामे । कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ । मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेका सन्देशहरु प्रशारण गरेको थियो । सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए । नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन् । नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ । नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् । साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ । रासस

मेरो माइक्रोफाइनान्सद्धारा गाेरखामा दैनिक ज्याला मजदुरी गर्नेलाई सहयाेग

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्तले  दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न खरिद गर्नका लागी सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ । बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउपालिकाको पहलकदमीलाई साथ दिन लघुवित्तबाट संस्थागत उतरदायित्व अन्तर्गत २० हजार रकमकाे चेक सहयाेग स्वरुप प्रदान गरिएको संस्थाले जनाएको छ । लघुवित्तका शाखा कार्यालयका शाखा प्रबन्धक दिपक भट्टले सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङलाई उक्त चेक प्रदान गरेका हुन । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

मुलुकभर ६६ हजार नमूना परीक्षण

काठमाडौं । सरकारले हालसम्म मुलुकभर पिसिआर र ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएको छ । मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उनले जानकारी दिए । प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । देशभर कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमध्ये पुरुष ६२ र महिला २१ छन् । प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा सङ्क्रमण देखिएको छ । रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सम्भावित सङ्क्रमितको सङ्ख्या १२० रहेको छ । काठमाडौँ उपत्यकामा २ र उपत्यका बाहिर ११८ जना आइसोलेसनमा छन् । मुलुकभर क्वारेन्टिनमा बस्नेको सङ्ख्या २१ हजार ९९ पुगेको छ । प्रदेश नं १ मा दुई हजार १२४, प्रदेश नं २ मा एक हजार २९०, वागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा आठ हजार ९२२, कर्णाली प्रदेशमा तीन हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षात्देखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । विभागले यअसघि वर्षात्, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्र्दै आएको छ । समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनको भनाइ थियो । “चट्याङबाट हरेक वर्ष एक सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ”, सरोकार भएका निकायसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, “समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।” उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकामा सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । सिँचाइ सचिव रवीन्द्रकुमार श्रेष्ठले कोभिड–१९ महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए । “अरू देशमा यो प्रविधि अहिले पनि छ”, उनले भने, “अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौँ ।” उनले नेपालको चुरे क्षेत्र चट्याङको बढी जोखिममा रहेको उल्लेख गरे । मन्त्रालयमा आज आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिँचाइ सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल र गृह मन्त्रालयका उप–सचिव गणेशविक्रम शाही सहभागी थिए । रासस

तीन चरणमा उद्योग सञ्चालन गराउने सरकारकाे तयारी, निर्णय बुधबार हुने

काठमाडाैं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो बनाउने तयारी थालेको हो । आर्थिक क्रियाकलापमा केही खुकुलो बनाउने र विभिन्न तीन तहमा विभाजन गरी आवश्यक निर्णयको तयारीमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । उनका अनुसार आजै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बस्ने कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी तय गर्ने र उद्योग प्रतिष्ठान कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी भएको मन्त्री भट्टको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको श्रव्यदृश्य अन्तक्रियामा मन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलन नदिन सबैभन्दा महत्वपूर्ण उपायको रूपमा लकडाउन नै भएकाले यसलाई आम नागरिकले समेत स्वीकार गरेको बताए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउन जारी भए पनि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको मापदण्डलाई ध्यान दिँदै केही आर्थिक क्रियाकलाप गर्न दिने गरी वस्तुगत योजनाको तयारीमा आफूहरु लागिपरेको उनको भनाइ छ । सरकारले पहिलो चरणमा खाद्य तथा अत्यावश्यक उद्योगलाई सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै, दोस्रो चरणमा निर्माणका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने र तेस्रो चरणमा निर्यातमूलक सामान उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणको वस्तुगत अवस्थालाई विशेष ध्यान दिएर रेड, एल्लो र ग्रिन जोन गरी तीन भागमा विभाजन गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । उनले भने, ‘सामान्य छलफल यही दिशामा अगाडि बढेको छ तर अझै क्षेत्र भने पहिचान गरिएको छैन ।’ समग्र पक्षको अध्ययन गरेर बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्ने मन्त्री भट्टले जानकारी दिए । ‘नयाँ अवधारणा तयार गरेर उपयुक्त निर्णय लिन्छौँ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएका विषयमा हामी जानकार छाैं ।’ उद्योग सञ्चालनको कार्यविधि पनि तम्तयारी हालतमा रहेको छ । सामाजिक दूरी कायम गर्ने, मास्क, पञ्जा, स्यानिटाइजरको प्रयोगजस्ता सुरक्षाका सामान्यभन्दा सामान्य उपायका विषयमा समेत कुनै कन्जुस्याइँ नगरिने र पूर्णरूपमा कार्यान्वयन गरिने उनको भनाइ छ । मन्त्रालयले उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्स तथा श्रमिक र मजदुरका सङ्गठनसँग पनि निरन्तर सम्वादमा गरिरहेको छ । तत्काल इन्धनको मूल्य घट्दैन विश्वव्यापीरूपमा नै इन्धनको मूल्यमा ठूलो गिरावट आएपनि वस्तुगत धरातलमा रहेर हेर्दा तत्काल मूल्य समायोजन गर्ने पक्षमा सरकार देखिएको छैन । मन्त्री भट्टले तत्काल सरकारले इन्धनको मूल्यमा के-कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल भएपनि आवश्यक निर्णय भने नभएको बताए । नेपाल आयल निगमले कमाएको नाफा कोरोना उपचार कोषमा पठाइएको उनको भनाइ छ । ‘माग पनि कम भएकाले नाफा पनि कम नै भएको छ, प्राप्त भएको नाफा पनि कोरोना कोषमा जम्मा गरिएको छ । जसका कारण मूल्य नघटाएको हो’, उनले भने । निगमले सोमबार मात्रै कोरोना कोषमा ५० करोड रूपैयाँ रकम जम्मा गरेको मन्त्री भट्टले जानकारी दिए । उनले अवस्था सहज हुने अवस्थामा भने आफूहरुले उपयुक्त निर्णय लिने बताए । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले खरिद गर्ने सबै पेट्रोलियम पदार्थमा नाफा छ । स्थानीय उत्पादनको बजारीकरण राजधानी वरपरका जिल्लाबाट कृषि उपज भित्र्याउनेतर्फ विशेष पहल गरिएको उनको भनाइ छ । स्थानीय उत्पादन दूध, तरकारी, फलफूल सहजरूपमा ल्याउन पहल गरिएको जानकारी दिँदै उनले कृषकको उत्पदन सहजरूपमा भित्र्याउन स्थानीय तह र स्थानीय जिल्ला प्रशासनसँग समन्वय गरिएको मन्त्री भट्टले जानकारी दिए । धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर र नवलपरासीका उत्पादन ल्याउन स्थानीय सहकारी संस्थालाई पनि अनुरोध गरिएको र आपूर्ति प्रणाली सहज बनाउन विशेष प्रणाली स्थापना गरिएको उनको भनाइ छ । यस्ता छन् आगामी योजना आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको छ । विशेषगरी खानीसँग जोडिएका उद्योगलाई विशेषरूपमा अगाडि बढाउने तयारी गरिएको छ । यस्तै उत्पादित वस्तुको भण्डारण वितरण प्रणाली, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउने, खर्च घटाउने, लघु तथा घरेल साना उद्योगको विकासको कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारीमा आफूहरु जुटेको मन्त्री भट्टको भनाइ छ । यस्तै आगामी आवमा रोजगारी बढाउने, औद्योगिक पूर्वाधार बढाउने तथा खानीको अनुसन्धानलाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ । यस्तै धौवादी फलाम खानीको उत्खनन र उद्योग सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी सिर्जना गर्ने, कृषिमा आधारित उद्योग स्थापना गर्ने, कृषि र अर्थ मन्त्रालयसँग समन्वय गरेर रुग्ण उद्योगलाई सार्वजनिक निजी साझेदारी ढाँचामा चलाउने गरी योजना बनाइने उनको भनाइ छ । वितरण प्रणाली प्रभावकारी: राज्यमन्त्री दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्योग प्रतिष्ठानमा श्रमिक धेरै राख्ने व्यवसथा भएका कारण अत्यावश्यक उद्योगसमेत पूर्ण क्षमतामा चलाउन समस्या भएको जानकारी दिनुभयो । सरकारले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएर अत्यावश्यक खाद्य पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालन गर्न दिने अनुमति दिएको भए पनि कच्चा पदार्थ तथा श्रमिकका कारण पनि सम्भव नभएको बताए। वितरण प्रणालीलाई प्रभावकारी बनाउन विशेष ध्यान दिइएको र बजार अनुगमनलाई प्रमुख प्राथमिकतामा राखिएका कारण विगतमा जस्तो उल्लेख्य गुनासो नआएको उनको भनाइ छ । थप सहजीकरण गरेर उद्योग प्रतिष्ठान सञ्चालनका लागि मन्त्रालयले आवश्यक व्यवस्था गरेको राज्यमन्त्री दुगडको भनाइ छ । उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोरोनाले निम्त्याएको समस्यासँग जुध्न सामूहिक प्रयत्न जरुरी रहेको बताए । श्रमिक, निजी क्षेत्र र सरकार सबै मिलेर समस्याको सामाना गर्नुपर्नेमा जोड दिँदै उनले बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्ने, श्रमिकको पनि ध्यान दिनुपर्ने तथा सरकारको तर्फबाट पनि आवश्यक पहलको जरुरी रहेको उनको भनाइ छ । कोरोनाका कारण भएको क्षतिको बारेमा तथ्याङ्क सङ्कलनमा समेत आफूहरु लागिपरेको वरिष्ठ उपाध्यक्ष अग्रवालको भनाइ छ । रासस

गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति: १० ठाउँमा जग्गा, एक करोड बढीकाे सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका अधिकारीकाे सार्वजनिक विवरण अनुसार उनकाे १0 ठाउँमा जग्गा रहेको छ । उनको सम्पत्ति विवरण अनुसार ललितपुरको ५ ठाउँ, झापामा ४ ठाउँ र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । यस्तै उनकाे ललितपुरको सैँबुमा २ हजार २ सय वर्गफिटमा बनेको घरसमेत रहेको छ । विवरणमा बैंक तथा वित्तीय संस्थाको खातामा भने उनकाे १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको देखाईएकाे  छ । साथै विभिन्न कम्पनीहरुको उनकाे एक करोड बढि सेयर रहेको समेत उनले उल्लेख गरेका छन् ।  

दक्षिण कोरियाबाट बिदामा आएका नेपाली श्रमिकलाई वैशाख ३० गते पठाइने

काठमाडाैं । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो । जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालैपालो उडाइनेछ भने चर्टर्ड नै भए पनि नेपाल एयरलाइन्सको विमान पहिलोपटक दक्षिण कोरियामा अवतरण हुनेछ । लकडाउनका कारण बिदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा बिदामा नेपाल पुगेका ८०० बढी नेपालीको रोजगारी नै गुम्ने खतरा बढेपछि यहाँका व्यवसायी, समाजसेवी र एनआरएनए कोरियालगायतले कोरिया फर्कनुपर्ने नेपालीलाई फर्काउन नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोधअनुरुप नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कोरिया फर्किनुपर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो । लगत्तै एनआरएनए कोरियाले नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरी गत अप्रिल ३० तारिखमै उडाउने तयारी गरेको थियो तर दक्षिण कोरिया सरकारको अनुरोधमा नेपाल सरकारले कोरिया फर्कने सम्पूर्ण नेपालीको स्वास्थ्य परीक्षण (¥यापिड टेष्ट) गरेर मात्र फर्कनुपर्ने निर्णय गरेपछि मेडिकलका लागि समय लाग्ने भन्दै उक्त उडान रद्द भएको जनाइएको थियो । तत्पश्चात नेपाल एयरलाइन्सले पुनः मे १२ तारिखको लागि उडान गर्ने निर्णयसँगै कोरिया आउन चाहने नेपालीको उडान कहिले होला भन्ने अन्योल हटेको छ । यसका लागि एनआरएनए कोरियाले संयोजन गरेको छ । यसका लागि चरणबद्धरूपमा काम भइरहेको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालमा पुगेर रोकिएका र आउन चाहने नेपाली एक हजार ४०० बढी छन् । जसमध्ये ८०० बढीले फाराम नै भरेका छन् । तीमध्ये सबैको डाटा एचआरडी कोरियालाई बुझाइनेछ । बुझाइएका डाटाबाट अवस्था हेरी एचआरडी कोरियाले कोरिया फर्किन सक्ने नेपाली श्रमिकको निर्णय लिनेछ । यस अवधिमा नेपालमा रहेका नेपालीले शुक्रराज ट्रपिकल टेकु वा नजिकको ¥यापिड टेष्ट गराउने अस्पतालबाट ¥यापिड टेष्ट गराउनुपर्नेछ । टिकटवापत एक लाख १३ हजार ७७५ लाग्ने एनआरएनए कोरियाले जनाएको छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ । फर्किनुअघि कम्पनीसँग कुरा गरी कम्पनीले क्वारेन्टाइनको सुविधा दिन सक्ने वा नसक्ने तथा दिन नसके कोरिया सरकारले सहयोग गर्ने सूचना जारी भएको छ तर क्वारेन्टाइनको खर्च लाग्ने वा नलाग्ने खुलाइएको छैन । यसअघि दिनको एक लाख कोरियन वन तिरेर सरकारी क्वारेन्टाइनमा बस्न सकिने जनाइएको थियो । लकडाउनका कारण काठमाडौँ बाहिर भएकालाई काठमाडौँसम्म आउन समस्या हुनसक्ने भन्दै एनआरएनए कोरियाले गृहमन्त्रालयसँग समन्वय गरी घर नजिकैको शहरबाट यातयातको व्यवस्थासमेत गर्नेछ । तर, उक्त खर्च भने स्वयंले तिर्नुपर्ने बताइएको छ । रासस

सार्वजनिक खरिद ऐन संशोधन गर्न विकास समितिको निर्देशन

काठमाडौं । विकास तथा प्रतिधि समितिले सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्देशन दिएको छ । समितिले सार्वजनिक विकास निर्माणका कार्यहरुमा देखिएको विद्यमान समस्याहरु समाधानका लागि सो ऐन संशोधन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समतितिले पुराना निर्माण सम्पन्न भई सकेका योजनाहरुको मर्मत कार्य प्रभावकारी बनाउनुका साथै सम्पन्न भईसकेका सम्पूर्ण आयोजनाहरुको समयमै भुक्तानीको व्यवस्था मिलाउने , आर्थिक वर्षको अन्त्यतिर पूर्व तयारी विना हतार हतारमा विकास कार्य गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आगामी वर्षमा यस्ता प्रवृत्तिहरु दोहोर्याउन पनि निर्देशन दिएको छ ।