विकासन्युज

सामाजिक दुरी उल्लंघन गरे भन्दै सरकार प्रमुखले दिए राजीनामा

काठमाडौं । सामाजिक दुरीको उल्लंघन गरेको भन्दै बेलायतका सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले पदबाट राजीनामा दिएका छन् । बेलायत सरकारका प्रमुख सल्लाहकार रहेका प्रोफेसर फर्ग्युसनले राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्दछु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें, मलाई अपसोस छ ।’ लण्डनको डेली टेलिग्राफ पत्रिकाले एक रिपोर्ट छापेको थियो जसमा भनिएको थियो – प्राध्यापक निलले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए जुन सामाजिक दूरी नियमको उल्लंघन थियो । प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अप्रिmकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ । यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको थियो । त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतकाे भूमिका अविस्मरणीय : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताए । प्रधानमन्त्री ओलीले पाँचौं राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १ सय २० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान व्यक्त गरे । “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ”, सन्देशमा भनिएको छ, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।” नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उनले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाए । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास रहेको व्यक्त गरेका छन् । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास रहेको उनको भनाई छ । यसैगरी दिवसका अवसरमा शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए । लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न/गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनले सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भइ भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले महत्वपूर्ण योगदान पु¥याउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि भइ देशले भोग्नुपरेका चुनौती तथा तिनीहरुको समाधानको विषयलाई उजागर गर्दै सामाजिक क्षेत्रमा समेत यसले उल्लेख्य योगदान गर्न सक्छ । उनले सूचना प्रवाहको माध्यमले राष्ट्र निर्माणमा अतुलनीय योगदान गर्न सक्ने तथ्यलाई मनन गरी निरन्तर सूचना, विश्लेषण तथा अभिव्यक्तिका माध्यमबाट आफ्नो पेशागत दायित्व निर्वाह गर्न आजको दिनले सबै पत्रकार र आमसञ्चार क्षेत्रलाई प्रेरणा दिने अपेक्षा व्यक्त गरे । रासस

प्युठानका ठूला पाँच योजनाको काम गर्न अनुमति

झिमरुक । लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः शुरु भएका छन् । कोभिड –१९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी पुनः शुरु गर्न प्रशासनले अनुमति दिएको हो । जिल्लाको दरभान– झिलिवाङ हुँदै ऐरावतीसम्म पुग्ने मोटरबाटोमा ६ किलोमिटर ग्राभेल गर्ने र बाँकी साधारण मार्ग खोल्ने योजनाको काम शुरु भएको छ । सात करोड बराबरको बजेटमा आर्थिक वर्ष २०७३/७४ मा सडक स्तरोन्नति योजना समयमै सम्पन्न हुन नसक्दा काम लम्बिएको हो । यो आयोजना आगामी असार मसान्तमा सम्पन्न हुने गरी काम अघि बढाइएको एडी बिल्डर्सका प्रतिनिधि इराजन घिमिरेले बताए । अहिलेसम्म करीब ८७ प्रतिशत काम सकिएको उनले भने । ग्राभेलको काम सकिएको र करीब एक लाख ६० हजार घनमिटर माटो कटाइमध्ये ३० हजार घनमिटर मात्र काम बाँकी रहेको उनको भनाइ छ । सडकमा नाला, ग्याबिन भर्ने र पर्खाल लगाउने काम सकिएको छ । झिमरुक तटबन्धन शुरु दरभानदेखि ऐरावतीको दूरी करीब १७ किलोमिटर छ । जाबुनेसम्म ट्रयाक खोल्ने काम सकिएको छ । तीन किलोमिटर बाँकी ट्रयाक खोलेर ऐरावतीसम्म मोटरबाटो पुग्ने बताइएको छ । यस्तै प्युठान नगरपालिकाभित्र पर्ने झिमरुक फाँटमा रहेको खेतीयोग्य जमीन जोगाउन स्थानीय सरकार र निर्माण व्यवसायीको पहलमा झिमरुक तटबन्धनको काम पनि शुरु भएको छ । समितिले अनुमति दिएसँगै नगरक्षेत्रका खप्रेङ्खोला, बाग्दुला, विजुवार र बेलुवा क्षेत्रमा तीन प्याकेजबाट काम शुरु भएको हो । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्युठानको करीब आठ करोड बजेटबाट काम गरिएको निर्माण कम्पनी जोशी, मल्लरानी, आँशु निर्माण कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठले बताए । लकडाउन हुनुपूर्व ४० प्रतिशत काम भए पनि करीब एक महिनापछि ६० प्रतिशत बाँकी काम शुरु गरिएको श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीसहित विभिन्न ठाउँमा ३० ज्यामीलाई काममा लगाएको उनको भनाइ छ । गृह मन्त्रालयले प्युठानका ठूला पाँच योजनाको काम गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर भालुवाङ्खदेखि बाग्दुलासम्मको सडक, लुङ खोलाको पुल, सुख्खा खोला पुल र झिमरुक नदीका दुई पुलका योजनामा अनुमति दिइएसँंगै काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । योजना सम्पन्न गर्न सहजीकरण गर्ने, सम्बन्धित योजना प्रमुखले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्नेगराउने, सम्बन्धित स्थानीत तहका प्रमुखले त्यसको अनुगमन गर्ने र जिप्रकमार्फत कामको सहजीकरण गरिने भएको प्रजिअ पन्थले जानकारी दिए । रासस

बर्दियामा सजगताका लागि सीमानाकामा कडाइ

धम्बोझी । बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ गरेको छ । जिल्लामा संक्रमण हुन नदिन बाँकेबाट हुँदै आएका सबै किसिमका सवारी साधनका जाँचमा कडाइ गर्दै हरियो तरकारी, फलफूल, कोइला, तोरी र जंकफुड भित्र्याउने ढुवानीका साधनलाई तत्काललाई रोक लगाइएको प्रशासनले जनाएको छ । जिप्रकाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाबाट हुने आवागमन तथा ढुवानीमा भइरहेको जाँचलाई थप कडाइ गरी बाँकेतर्फबाट आउने ती वस्तु ढुवानी गर्न तत्काललाई रोक लगाएको हो । त्यस्तै लकडाउन अवधिभर खाद्यान्न ढुवानी र खाली सवारी साधन, निर्माण र अन्य उपभोग्य सामग्री, कुखुरा, अण्डा, दाना तथा कृषिमललगायत चार पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी ७ बजेपछि मात्र गर्न पाइने जनाइएको छ । बाँके नेपालगञ्ज नाका जोड्ने नगरपालिका, गाउँपालिका र छिमेकी जिल्लामा कोरोना संक्रमित बढेसँगै बर्दियामा उच्च सतर्कता अपनाइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले बताए । त्यसैगरी बाँसगढी नगरपालिकामा पूर्वपश्चिम राजमार्गमा पर्ने बाँके जोड्ने सीमानाकामा मानखोलाको पुलमा जाँच कडाइ गरिएको बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए । त्यसै गरी कैलाली जिल्ला जोड्ने सीमानाका, राजापुर नगरपालिकाका सम्पूर्ण नाका सत्तिघाट कर्णालीको पुलबाट आउजाउ कडाइका साथ बन्द गरिएको राजापुर नगर प्रमुख शिव थारुले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाले पनि कैलाली जिल्ला जोड्ने बर्दियाको कर्णाली चिसापानी पुल र नगरका सम्पूर्ण नाका कडाइका साथ बन्द गरिएको नगर प्रमुख घननारायण श्रेष्ठले भनाइ छ । मधुवन नगरपालिकाले कोठीयाघाट पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ भने डल्ला गाउँ प्रवेश गर्ने सडकमा बार लगाएर आवतजावत ठप्प पारिएको छ । त्यस्तै बारबर्दिया नगरपालिकाले बारबर्दिया र मधुवन नगरपालिका जोड्ने कुसुम्माघाटको झोलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । बाँकेबाट हुने आवागमन र ढुवानीमा रोक र सीमानाकामा जाँचमा थप कडाइ गरिएको बर्दियाका प्रजिअ प्रेमनाथ लामिछानेले बताए । जिल्ला प्रशासन कार्यालय बर्दियाले कोही व्यक्ति भारत वा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकिछिपी आएमा त्यसको सूचना नजीकको सुरक्षा वा स्थानीय निकायमा जानकारी दिन सबैसँग आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै कैलाली र भारततर्फका नाकामा कडाइ गरिसकेको छ । रासस

सीमा सुरक्षा चौकीमा आक्रमणकाे प्रयास गर्ने भारतीय पक्षद्वारा माफी

झापा । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गरेका थिए । सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । “भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए”, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भने, “हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरुले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।” जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए । सङ्क्रमण देखिए पत्रकारलाई एक लाख झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको एक लाख रूपैयाँको कोरोना बीमा गरिएको छ । मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले वैशाख २३ गतेबाट एक वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पिसीआर परीक्षणमा पोजेटिभ देखिए बीमावापत प्रतिव्यक्ति रु एक लाख भुक्तानी दिइने बताए । सम्पादक गोपाल काफ्लेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट १० पत्रकार तथा कर्मचारीको बीमा गरिएको जानकारी दिए । रासस

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप अब नयाँ सुविधाका साथ

काठमाडौं । एभरेष्ट बैंकले ‘इबिएल टच् २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । जसवापत ‘इबिएल टच् २४’ सुरक्षितm द्रुत र भरपर्दाे बनेको बैंकले जनाएको छ । यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाईल नम्बर प्रयोग गरेर सहजै लग(इन्गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि।भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथासिनेमा टिकटको खरिद गर्न तथा साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सकिन्छ । हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले सिएएमइएल् रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको बैंकको जानकारी दिएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १ सय ३ वटा एटिएम रहेका छन् । विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख २४ हजार ३ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५८ हजार १२ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ३९ हजार ९ सय जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७२ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ३७ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ भने अहिलेसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८२ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

पनौतीका घर नेवार जातिले मात्र किन्न पाउने, अरु जातिलाई बेच्न चाहे सरकारी सेवा बन्द

काठमाडौं । पनौती नगरपालिकाबाट अनौठो खबर आएको छ । खबर विश्वाशिलो माध्ययमबाट आएको हाे र सत्य हो । पनौती नगरपालिका वडा नम्बर ७ को लेटरप्याडमा आएको सूचना हो । सूचनामा अध्यक्ष रामचन्द्र नास्नानीले सहि गरेका छन् । वडा अध्यक्षको छाप पनि लगाइएको छ । खवर ताजा छ । सूचना मिति २०७७ बैशाख २३ गतेको अर्थात अाजैकाे हो । निर्णय पनि आजै भएको हो । निर्णय वडा समितिले गरेको हो तर त्यसमा वडाका भद्रभलादमीहरुको सहमतिमा भएको वडा अध्यक्षको दावी छ । निर्णयअनुसार वडा क्षेत्रको घर नेवार जातीलाई मात्र बेच्न पाइने उल्लेख छ । अरु जातीलाई घर बेचबिखन गर्न चाहानेलाई सरकारी सेवा बन्द गरिने पनि सूचनामा उल्लेख गरिएको छ । ‘मिति २०७७/०१/२३ गतेका दिन बसेको बैठकले नेवार जातिहरु बाहेक अन्य जातिहरुलाई घर बेच विखन गर्नको लागि सिफारिस लिन आएमा घरधनीलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नं वडा बासीहरुलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’ निर्णयमा भनिएको छ । वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी जातिको बाहुल्यता भएको धर्म, संस्कृति र पुरातात्तिक सम्पदा जोगाउनको लागि यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ । तर वडाको यो निर्णय संविधान विपरित रहेको छ । संविधानको धारा २५ मा उल्लेख गरिएको सम्पत्तिको हक विपरित रहेको छ । वडा कार्यालयले संविधान विपरित निर्णय गरेपछि यसको चौतर्फी विरोध शुरु भएको छ ।