विकासन्युज

प्रदेश नं १ का ६ जना कोरोना सङ्क्रमित निको भई घर फिर्ता

काठमाडौं । प्रदेश नं १ का ६ कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार गराइरहेका ३१ मध्ये ६ जनालाई निको भइ आज घर फर्केका हुा् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् । धार्मिककार्य गर्न भारतबाट १३ जनाको समूह बनाएर आएका ती समूह सदस्यलाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो । प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्कमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो । यी जमातीहरु विसं २०७६ मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका ६ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् । घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज ९पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र० मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ । सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए । प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा सङ्क्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने– यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो । मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पिसीआर परीक्षणका लागि तीन हजार र १४ जिल्लामा द्रुत परीक्षणका किट ९आरडिटी० लागि सात हजार व्यवस्था गरिएको बताए । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले निको भएर घर जान लागेका पूर्व सङ्क्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् । रासस

तातोपानी भन्सारको अवरोध खुलाउन पहल

काठमाडौं । सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ । स्थानीयवासीले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौँ जान नदिने बताउँदै भन्सारमा धर्ना दिएका थिए । अवरोधका बीच तातोपानी सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मङ्गलबार काठमाडौँ पठाइएको छ । आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौं पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । मङ्गलबार लसुनका तीन गाडी रस्याउका चार कन्टेनर काठमाडौं पठाइएको हो । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौं भनेपछि कन्टेनरहरु सहजरूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको प्रमुख खत्रीले बताए । घरघरमा राहत बाँड्दै बाह्रबिसेका प्रमुख लकडाउनका कारण छाक टार्नै नसकिरहेकालाई घरघरमा पुगेर राहत वितरण शुरु गरिएको छ । अतिविपन्न र ज्यालादारी गरेर जीवन धानिरहेकाहरु समस्यामा परेपछि बह्रबिसे नगरपालिकाले टोलटोलमा पुगेर खाद्यान्न राहत वितरण शुरु गरेको हो । मङ्गलबार बाह्रबिसे नगरपालिका–१ स्थित दुर्गम क्षेत्र घोर्थलीमा विपन्नका आँगनमै पुगेर प्रमुख निमफुन्जो शेर्पाले खाद्यान्न प्रदान गरे । मङ्गलबार घोर्थलीका विपन्न र श्रमिक मजदुर गरी ६८ परिवारलाई ३० किलोग्राम चामलसहित दाल, नुन र खानेतेल प्रदान गरिएको छ । ट्रकमा खाद्यान्न लगेर उनीहरुलाई घरआँगनमै वितरण गरिएको थियो । वडास्तरमा वडाध्यक्षको नेतृत्वमा एक वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र वडा सचिव सम्मिलित समिति बनाएर विपन्न र मजदुरको पहिचान गरिएको थियो । जनप्रतिनिधिको १५ दिनको सुविधा कोषमा चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधिले आफूले पाउने सेवा सुविधा कटौती गरेर नगर विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका छन् । मङ्गलबार बसेको कार्यपालिका बैठकले प्रमुखदेखि वडा सदस्यसमेतले लिँदै आएको मासिक सुविधाबाट १५ दिनको रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए । नगरप्रमुखदेखि सबै सदस्यको १५ दिनको सुविधावापतको रकम जम्मा गर्दा पाँच लाख ३० हजार हुन आउँछ । कार्यपालिकाको गत बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणपूर्व तयारीका लागि विकास बजेटबाट रु ५० लाख विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसका कारण नगरमा बेरोजगारी बढिरहेको अवस्थामा नगरभित्रका बेरोजगार युवालाई आफ्नो वडाभित्रको विकास निर्माणकार्यमा लगाइने निर्णयमा उल्लेख गरिएको छ । साथै गत वर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश भएका बेरोजगार नगरवासीलाई रोजगार दिने भएको छ । रासस

बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।  निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् । उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ । दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाडौं फर्कने तालिका छ । दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २ सय ६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ । वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ । लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौं उडान हुने जनाइएको छ । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौं–सिड्नी साँढे १२ घण्टाको उडान हुनेछ । बेइजिङ पहिलो र ऐतिहासिक उडान नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौं–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ । निगमले यसअघि चीनको साङ्घाइ हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो । निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ । निगमले भने (शुरुको साङ्घाइ उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हुँदै आएको छ । वैशाख ३० गते दक्षिण कोरियामा उडान निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिनुभयो । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिल्ट ८ः४५ बजे काठमाडौं अवतरण हुनेछ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ । मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार इपिएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमतिप्राप्त वैध प्रवेशाज्ञा ९भिसा० भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एयरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान गर्यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ । लकडाउन अवधिमा आठ अन्तर्राष्ट्रिय उडान गरेको नेपाल एयरलाइन्सलको वाइडबडी जहाजले पहिलोपटक चैत १६, २० र २४ गते चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । रासस

लकडाउनको समयमा शहरबाट आएका युवाले बनाए सडक

म्याग्दी । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीकापछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सडक निर्माण गरेका छन् । भगवतीको पखटोलमा काठमाडौं, पोखरा र बेनीलगायतका शहरबाट आएका युवाहरुले श्रमदान गरेर एक किलोमिटर सडक खनेका हुन् । बाक्लो बस्तीभित्र सवारी साधनमार्फत आवातजावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेका स्थानीय निर्मल केसीले बताए । स्थानीयवासी अर्जुन खत्रीको संयोजनमा दैनिक १० युवाले घरायसी र खेतबारीको कामबाट बचेको समयमा सडकमा श्रमदान गरेका थिए । सडकबाट ५० घरधुरी लाभान्वित हुने जनाइएको छ । सो वडाका वडाध्यक्ष रिमबहादुर कटुवालले युवाहरुलाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने बताए । म्याग्दीको अन्य ठाउँमा पनि लकडाउनपछि गाउँमा पुगेका युवाहरुले स्थानीय तहले बजेट विनियोजन गरेका सडक, खानेपानी, भवनलगायत विकास निर्माणको कामको नेतृत्व गरेका छन् । बेनीमा बस्दै आएका बेनी–१० पात्लेखेतका धनबहादुर रोकाले लकडाउनपछि गाउँ गएको समयमा उपभोक्ता समितिको नेतृत्व गरेर नेपानेबाट धैरेनीटोल जोड्ने सडक निर्माण गरेका छन् । “डोजर र स्थानीय जनशक्ति परिचालन गरेर सडक खनेका हौं”, उनले भने, “लकडाउनका बीच गाउँमा सडक पुर्याउँदा खुशी भएका छौं ।” नेपानेबाट धैरेनीटोल जोड्ने सडक दुई किलोमिटर छ । २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जिप, ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन चलाउन सकिने भएको छ । सडक पाँच मिटर फराकिलो छ । बेनी नगरपालिकाले चार लाख रुपैयाँ विनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले एक लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए । लकडाउनकै बीच अन्नपूर्ण गाउपालिका–५ शिखको तल्लो गाउँबाट घिर्वाङ जोड्ने २.५ किलोमिटर सडक निर्माण भएको छ । स्थानीयस्तरमा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिए । १५ लाख ७१ हजार ८ सय ७० रुपैयाँको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउपालिकाले रु आठ लाख २५ हजार विनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगदसमेत परिचालन भएको वडाध्यक्ष दिनेश तिलीजाले बताए । सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १ सय ३० घरधुरीका ५ सय जनसङ्ख्या लाभान्वित भएका छ । आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारीलगायत कृषि उपज निकासीमा सहज भएको छ । रासस

पैसा, पद र यशको लालशामा

चीनको वुहानबाट शुरुभई विश्व जगतमा कोरोना भाइरसको नामबाट लाखौलाई संक्रमित पार्दै जब बुद्धको देश नेपालमा आयौ मैले समयलाई टक्क अढाए र आफैसँगको मृत्यु डरले कंक्रिट महलभित्र लुक्दै फुर्सदै फुर्सदमा खोज्नथाले म र मेरो अस्तित्व…….. फगत …………. तिमी आउनुभन्दा अगाडि….तर्साउनु भन्दा अगाडि फिक्का र शून्य रहेछ जीवन पैसा, पद र यशको लालशामा भौतिक दुनियाँको हतारोले साथी,सङ्गीनाता बीच रस्तामै छुटेछन् गाउँ बेसी पाखाँहरु वृद्ध बा आमाका बात्सल्य अबोध छोरीका कयौ मुस्कानहरु मानै एउटा युग छुटेछ र, तिमी आउनुभन्दा अगाडि….तर्साउनु भन्दा अगाडि फिक्का र शून्य रहेछ जीवन पैसा, पद र यशको लालशामा भौतिक दुनियाँको हतारोले साथी,सङ्गीनाता बीच रस्तामै छुटेछन् जीवन ओझेल परेछ प्रकाशमै जहाँ आज म खोजिरहेछु तिम्रो संत्रासभित्रको फुर्सदमा आफनै आँखी झ्यालबाट बा का चाउरी परेका निधारमा कयौं जीवन दर्शनका पुस्तकहरु ….अनि विश्व… विश्व मानचित्रमा मेरो देश म ……म हुनुको अस्तित्व सँगै कोरोना तिम्रो अब बिदाइमा कोयलीहरु गीत गाउने छन् खेतमा लहलह धानका बालाहरु झुल्नेछ कंक्रिट महल घरमा रुपान्तरित हुनेछन् जहाँ अबोध नानीहरु मुस्कुराउने छन् भडकिएको जीवनबाट नव युग सुरुहुने छ वा भनौ ……. मेरो आत्मविश्वासले तिमी पराजित हुनेछौ र बुद्ध देश घर घरबाट बुद्धत्व जन्मिने छ । जामुनगाछी-५, बिराटनगर, [email protected]

गर्मी हुने बेलामा पनि चिसो नघट्नुका यस्ता छन् कारण

काठमाडौं । अघिल्ला वर्षहरूमा निकै गर्मी भइसक्ने समयमा पनि यसपालि भने नेपालका कतिपय क्षेत्रमा खासै गर्मी अनुभव गरिएको छैन । अघिल्ला वर्षहरूका तुलनामा यसपालि चैत/वैशाखमा नै धेरै वर्षा पनि भएको छ । राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा केही सातादेखि केहीबेर वर्षा हुने र फेरि घाम लाग्ने गर्दै मौसम बदलिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारसम्म मौसमको यस्तै अवस्था रहनसक्ने सम्भावना छ । वर्षा बढी, तापक्रम कम मौसम विज्ञान विभागका अनुसार यसपालि नेपालका अधिकांश भागहरूमा एप्रिल र मे महिनाको सुरुमा अरू वर्षको औसतभन्दा बढी वर्षा भएको छ । त्यस्तै तापक्रम पनि अरू वर्षको औसतभन्दा कम देखिएको छ। विभागले विगतका ३० वर्षको मौसमको तुलना गरेर यस्तो वार्षिक औसत निकाल्ने गर्छ । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यस वर्ष मार्च र एप्रिल महिनामा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा भएको छ । उनले भनिन्, ‘हाम्रा स्टेशनमध्ये मार्च महिनामा काठमाण्डू र ताप्लेजुङ बाहेक अन्यत्र औसतभन्दा बढी वर्षा भएको छ। एप्रिलमा दिपायल, धनगढी, विराटनगर र ताप्लेजुङबाहेक अन्यत्र बढी वर्षा भएको थियो ।’ उनले एप्रिल र मे महिनाको सुरुवातमा नेपालमा अधिकांश भागमा औसत तापक्रमको तुलनामा तापक्रम पनि कम देखिएको छ। उनले भनिन्, ‘यसबेला पहिले नेपालगञ्ज, धनगढीतिरको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी पुगिसकेको हुन्थ्यो यसपालि निकै कम छ ।’ गर्मी हुने बेलामा चिसो हुनुको कारण मौसमविद्हरूका अनुसार यसपालि पश्चिमी वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो । जल तथा मौसम विज्ञान विभागका पूर्व उप-महानिर्देशक राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभाव कम नभएकैले एप्रिल र मे महिनामा पनि नियमित वर्षा भइरहेको बताए । उनले भने, ‘पहिले पहिले यो बेलासम्म पश्चिमी वायु उत्तरतर्फ लागिसकेको हुन्थ्यो। यसपालि अझै उत्तरतिर नलागेकाले वर्षा भइरहेको छ । त्यसैको प्रभावले चिसो पनि जारी छ , ‘भारतको दिल्लीमै पनि एप्रिल महिनामा धेरै वर्षपछि तापक्रम कम भएको पाइएको छ। त्यो भनेको पश्चिमी वायुकै प्रभाव हो ।’ चारथरी वायु सक्रिय जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा चारथरी वायुको प्रभाव कायम छ । विभागले हाल पश्चिमी वायुको सामान्य प्रभाव बाँकी रहेको जनाएको छ । त्यस्तै स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यूनचापिय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । विभागकी एकजना वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपालमा जाडो महिनामा पश्चिमी वायु सक्रिय हुन्छ भने मनसुन सुरु भएपछि पूर्वीय वायु सक्रिय बन्छ । त्यसबाहेक यो समयमा स्थानीय वायु पनि सक्रिय हुने गरेको छ । बीबीसीबाट

चन्द्रागिरि नगरपालिकाले काेराेना नियन्त्रणमा खटिनेहरूकाे ‘कोभिड–१९ बीमा’ गर्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति  १० लाख रूपैयाँको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् । उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा, एक लाख रुपैयाँ बराबरको औषधोपचार बीमा, दुई लाख रुपैयाँ बराबरको घातक रोग बीमा र एक लाख रुपैयाँ बराबरको कोभिड–१९ रोग बीमा समावेश गरी बीमा गरिएको उनले जानकारी दिए । गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बीमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए । रासस

नेपालका अधिकांश संक्रमित लक्षणविहीन, कोरोनाको जिन पत्ता लगाउने तयारीमा वैज्ञानिक

काठमाडौं । । नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण दर बढ्दै गएपछि भाइरसको जिन पत्ता लगाउने कार्य अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा भाइरसमा रहेको जिनको सिक्वेन्सिङ (जिन वर्गीकरण) गर्ने कार्य अघि बढेको हो । शरीरमा विभिन्न प्रकृतिका भाइरस हुने भएकाले यसको ‘सिक्वेन्सिङ’ पत्ता लगाउने कार्य अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका पहिलो संक्रमितको मात्रै जिन सिक्वेन्सिङ भएको छ । प्रक्रिया सुरु भएसँगै जिन पत्ता लगाउन संक्रमित या नयाँ संक्रमितबाट व्यक्तिको अनुमतिमा स्वाब संकलन गरिनेछ । नेपालमा हाल काठमाडौं विश्वविद्यालय र नास्टमा जिन छुट्याउने प्रविधि (जेनेटिक ल्याब) छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार विज्ञसहितको छलफल डाकेको थियो । कोभिड–१९ सम्बन्धी प्याथोलोजी सल्लाहकार समिति सदस्यसमेत रहेका नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा जिन सिक्वेन्सिङ गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनले भने, ‘नेपालमा देखिएको कोरोना भाइरसको कुन जिनले गर्दा पोजेटिभ केस देखिएको छ । त्यो जिन पत्ता लगाउने कार्य अघि बढिसकेको छ ।’ नेपालमा कोरोना संक्रमण देखिएका व्यक्तिमध्ये अधिकांश लक्षणविहीन भएकाले जिनको प्रकृतिबारे अध्ययन गरिनेछ । जिनको सिक्वेन्सिङ गरेर भाइरसको जेनेटिक क्यारेक्टराइजेसन ९जिनको विशेषता० र जिनको विविधता पत्ता लगाई जिन म्युटेसन (उत्परिवर्तन) छ या छैन भनेर हेरिनेछ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह। प्राडा। मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए । उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ ।’ जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन् । नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड ९मधुरो० वा एसिम्प्टोम्याटिक ९लक्षणविहीन० संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ । जिनको सिक्वेन्सिङ हुने भन्दै लाखाैं जिन हुने भएकाले नेपालमा संक्रमित देखिएका व्यक्तिमा कुन प्रकृतिको जिन छ भनेर पत्ता लगाउने कार्य सुरु गरिएको हो । कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जान थाले पनि विस्तृत रूपमा भाइरसको ‘जिन’ को विश्लेषण नगरिँदा कुन जिनले संक्रमण देखिएको हो, पत्ता लागेको थिएन । कोरोना भाइरसको जिनको विश्लेषण गरे यसको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । संक्रमितबाट यो भाइरस निकालेर यसको ‘फुल जिनोम’ ९सम्पूर्ण जिन०को विश्लेषण हुनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण नेपालमा हालसम्म झन्डै १४ हजार जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको हो । यस्तै, मंगलबार नेपालगन्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन् । १६ जना निको भइसकेका छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन् । देशभर २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । र त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह प्राडा मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए ।  उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ।’ जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन्। नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड (मधुरो) वा एसिम्प्टोम्याटिक (लक्षणविहीन) संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ। (राजधानी दैनिकबाट साभार)