विकासन्युज

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द रहने

काठमाडाैं ।  सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेसम्म सम्पूर्ण (आन्तरिक तथा बाह्य) उडान रोक्ने निर्णय गरेको बताइएकाे हाे । सरकारले याे भन्दा अगाडि जेठ २ गतेसम्म अन्तर्राष्ट्रय उडान बन्द हुने सरकारले निर्णय गरेकाे थियाे । यस्तै,  सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको बताइएकाे छ ।

श्रम सम्बन्धमा दरारको संकेत, तलब खुवाउन नसक्ने रोजगारदाताको अडान, ट्रेड युनियन भन्छन्ः किन नदिने ?

काठमाडौं । लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएपछि श्रम सम्बन्धमा दरार उत्पन्न हुने संकेत मिलेको छ । उद्योग व्यवसाय बन्द भएको कारण मजदुरलाई पूरै तलब खुवाउन नसकिने अवस्था आएकोले कटौति पर्नुपर्ने रोजगारदाताको भनाइ छ भने खाइपाइ आएको तलब तथा अन्य सुविधा कटौति गर्न नहुने अडानमा ट्रेड युनियन छन् । राजनीतिक अस्थिरताको समयमा विग्रिएको रोजगारदाता तथा मजदुरबीचको सम्बन्ध संघीय गणतन्त्रात्मक संविधान निर्माणसँगै सुमधुर भएको थियो । नयाँ संविधान बनेयता श्रम सम्बन्धका कारण उद्योग व्यवसायमा समस्या आएको थिएन । तर, लकडाउनको कारण उद्योग व्यवसाय बन्द भएको, केही क्षेत्रमा असाध्यै धेरै असर परेर व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको तथा सत्तारुढ नेकपाभित्रको राजनीतिक भागबण्ड नमिल्दा भएको विवाद एक अर्काबीचको मोर्चाबन्दीको तहमा पुगेको असर श्रम सम्बन्धमा देखिन थालेको हो । मजदुरको नाममा सत्तारुढ नेकपा र नेपाली काँग्रेस निकट ट्रेडयुनियनले उद्योग प्रतिष्ठानमा बढी प्रभुत्व जमाएका छन् । सत्तारुढ नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षमा मोर्चाबन्दी भएपछि राजनीतिक लाभका लागि कोरोना संकटकै बीचमा मजदुरको तलब भत्ताको विषयलाई राजनीतिक दाउपेचका लागि प्रयोग गरिने अवस्था देखिएको छ । यद्यपि ट्रेड युनियनका नेताहरुले भने मजदुरको हितका लागि मात्रै आफूहरुले काम गर्ने बताएका छन् । लकडाउनले असर परेको भन्दै उद्योगी व्यवसायले राहतका लागि सरकार गुहारिरहेका छन् । लकडाउनले उद्योग प्रतिष्ठान र बन्द व्यापारमा असर परेको भन्दै वैशाख १४ को मन्त्रिपरिषद बैठकले कर्जाको व्याज २ प्रतिशतले घटाउने, कर्जाको किस्ता तिर्ने समय असार मसान्तसम्म पुर्याउने, कर तिर्ने समय असार मसान्तसम्म लम्ब्याउने लगायतका निर्णय गरेको छ । तलव भत्ता दिन गाह्राे भयाेः राेजगारदाता आफ्नो व्यवसाय नै धराशायी भएको कारण मजदुरलाई साढे १२ प्रतिशत मात्रै तलब दिन सकिने प्रश्ताव होटल एसोसिएसनले सरकारसँग गरेको छ । तर, १४ वैशाखकै मन्त्रिपरिषद बैठकले सस्तो व्याजदरको पुनरकर्जा लिएर भएपनि लकडाउन अवधिभरीको तलब आधा दिन र बाँकी आधा तलब लकडाउन खुलेपछि दिन रोजगारदातालाई भनेको छ । सरकारले उद्योग व्यवसायमा भएको क्षतिको अध्ययन पनि गरिरहेको छ । अध्ययनपछि आएको प्रतिवेदनका आधारमा पनि उद्योग व्यवसायलाई आवश्यक सहयोग र समन्वय गर्ने सरकारी अधिकारीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स लगायतका निजी क्षत्रले ११ वैशाखमा नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत सरकारलाई संयुक्त सुझाव पत्र बुझाएका थिए । सो सुझावमा रोजगारदाताले मजदुरको तलब बढाउने समय पनि एक वर्षपछि सार्नुपर्ने माग अघि सारेका थिए । सुझावमा उद्योग, व्यापार, व्यावसायिक कम्पनी तथा प्रतिष्ठानहरूले कर्मचारी तथा कामदारको लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गर्न माग गरेको थिए । होटल एशोसिएसन नेपालका अध्यक्ष सृजना राणाले आम्दानी नै नभएको कारण मजदुरलाई पूरै तलब दिन नसकिने बताइन् । पर्यटन व्यवसायीले कर्मचारीलाई कुनै हालतमा पूरै तलब दिनै नसक्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले सबै उद्योगधन्दाहरु बन्द भएकोले मजदुरलाई ५० प्रतिशतभन्दा तलब दिन नसकिने बताए । नेपाल स्टिल उद्योग संघका उपाध्यक्ष किरण शाखःले स्टिल उद्योग बन्द रहेको र स्टिलको कारोबार नभएकोले कर्मचारीलाई तलब खुवाउन नसक्ने बताए । उनले बजारमा निर्माण सामग्रीको माग घटेको तथा उद्योग बन्द भएकाले उत्पादन पनि बन्द भएको कारण तलब दिन नसकिने उनको भनाइ छ । पूरै दिनुपर्छः ट्रेडयुनियन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम मन्त्रालय, निजी क्षत्र र युनियनको नियामित छलफल भइरहेको बताएका छन् । रोजगारदाताले आफ्ना उद्योग प्रतिष्ठान बन्द नगरेसम्म मजदुरलाई तलब भत्ता घटाउँछु वा कम दिन्छु भन्न नमिल्ने उनको भनाइ छ । ‘उद्योग प्रतिष्ठान नै बन्द गरेर हिड्ने हो भने बेग्लै कुरा हो, होइन भने मजदुरको तलब आधा दिन्छु वा कटौति गर्छु भन्ने मिल्दैन, यो विषयमा रोजगारदाता र सरकारसँग छलफल गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदुरको चैत महिनामा ३० प्रतिशत मात्रै तलब पाएको बताए । मजदुरको तलब कटौति गरिएकोमा आफूहरुको सहमति नभएको भन्दै उनले यो विषयमा रोजगारदाता र सरकारसँग छलफल भइरहेको जानकारी दिए । तोकिए अनुसार तलब नदिए आफूहरु बाध्य भएर आन्दोलनमा उत्रने अध्यक्ष आचार्यको भनाइ छ । ‘मजदुर खाइपाइ आएको तलब पूरै पाउनु पर्छ, तलब कटौति गरिए हामीहरु बाध्य भएर आन्दोलनमा उत्रनु पर्ने हुन्छ, मजदुरको यो संवेदनशीलता बुझेर रोजगारदाता र सरकारले सोही अनुसारको व्यवस्था मिलाउछन् भन्नेमा हामीहरु आशावादी छौं,’ अध्यक्ष आचार्यले भने । यो विवाद गर्ने बेला होइनः श्रम मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अहिले सबै पक्षसँग छलफल गरेर उपयुक्त निकास निकाल्न पहल भइरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड १९) महामारीले विश्वभर आतंक मच्चाएको विषयम परिस्थितिसँग जुध्न सबै पक्ष एक ठाउँमा उभिनु पर्ने आवश्यकता देखिएको भन्दै उनले सबै पक्ष बसेर उपयुक्त विकल्प खोजिने बताए । ‘कोभिड १९ संक्रमणको कारण मानवजातिमाथि नै संकट उत्पन्न भएको छ, यो संकटाबाट बाहिर निस्कन सरकारले सबै क्षेत्रलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ, सरकारसँगै सबै क्षेत्र एकै ठाउँमा उभिनुको विकल्प छैन, त्यसैले उद्योग प्रतिष्ठानको लागि सरकारले राहत कार्यक्रम ल्याउने, रोजगारदाताले सकेसम्मको पहलकदमी लिने र असंगठित क्षेत्रका मजदुर तथा श्रमिकको लागि स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्ने सरकारको तयारी छ, त्यसैले ट्रेड युनियनको कुरा के हुन्छ, रोजगारदाताले के भन्लान् वा सरकारले के गर्ला भनेर पक्ष विपक्ष छुट्टयाउनु हुदैन, सबै पक्ष एक भएर संकटको सामना गर्नुपर्छ, सबै पक्षसँग समन्वय गरेर उपयुक्त निकास निकाल्न सरकार प्रयासरत छ,’ प्रवक्ता घिमिरेले भने । नेपालभर अहिले ४० लाख मजदुर छन् ।

लकडाउन जेठ ५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले लकडाउनको समयवधि आगामी जेठ ५ गतेसम्म बढाउने भएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले हाल जारी रहेकाे लकडाउनकाे अवधि थप १० दिन बढाउने निर्णय गरेकाे हाे । यसअघि सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकाे थियाे । उक्त समय बिहीबार(भाेली) सकिँदै थियाे । तर काराेना भाइरसकाे संक्रमण बढेसँगै सरकारले लकडाउनकाे समयावधि पनि थप लम्ब्याएकाे हाे । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गतेदेखि लकडाउन जारी गरिरहेकाे छ ।    

टेलिकमकाे ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थी लाभान्वित

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई-शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ । ७७ वटै जिल्लाका जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क शिक्षा पनि दिइरहेको सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अहिले अ-आफ्नो घरमा छन् । ती विद्यार्थीहरुमध्ये मुलुकभर छरिएर रहेका दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेत टेलिकमको ई-शिक्षा प्याकेज दिएर विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको हो । बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्य भन्छन्, ‘नेपाल टेलिकमको ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा रहनुहुने विद्यार्थीहरुलाई समेटी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’ कम्पनीसँग विद्यालयले प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराएको पनि उनले बताए । उनी भन्छन्, ‘सबै क्षेत्रमा पुगेको नेपाल टेलिकमको डाटा सेवाको स्पिड पनि राम्रो रहेकाले काठमाडौबाटै मुलुकभर कक्षा सञ्चालन गर्न सहयोग पुगेको हो ।’ स्कुलमा रहेको अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयले अहिले दैनिक ८ सय विद्यार्थीलाई अनलाइन कक्षाबाट दीक्षित गरिरहेको छ । नेपाल टेलिकमले विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जिबी र ५ सय रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ । सिफारिश प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । ई-शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।

लकडाउन लम्बिएसँगै पारिश्रमिक विवाद, यसरी गर्न सकिन्छ व्यवस्थापन

कोभिड-१९ को महामारी रोकथाम गर्न नेपाल सरकारले चैत्र ११ बाट लकडाउन शुरु गर्यो । त्यसपछि देशभरिको सम्पुर्ण उद्याेग व्यवसाय, कलकारखाना, प्रतिष्ठान र कम्पनीहरु प्राय: बन्द भए र कारोबारसँगै आवत जावत र बस्तु ओसार पसार पनि ठप्प नै भयो । शुरुमा लकडाउन घोषणा हुँदा एक हप्ता वा बढिमा १५ दिनको लागि होला भनी सबैले अनुमान गरेका थिए । तर कोरोना संक्रमण भयावह हुँदै गए पछि लकडाउनलाई निरन्तरता दिन सरकार बाध्य हुँदै गयो। लकडाउन लम्बिएसँगै उद्याेग, प्रतिस्थान, कलकारखाना र निजी क्षेत्रका कार्यालयहरुमा कार्यरत श्रमिक कर्मचारीको पारिश्रमिक कति दिने र लकडाउन लम्बिदै जाँदा पारिश्रमिकको ब्यवस्थापन कसरी गर्ने भनी रोजगारदाताहरुमा बहस र चिन्ता बढ्दै गएको पाईन्छ । पारिश्रमिक बारे आ-आफ्नै धारणा श्रमिक र कर्मचारीका युनियनहरु कार्यकर्ताको समर्थन लिन र आफ्नो आस्थाको राजनिति दिगो बनाउन लकडाउन भरि काम गरे पनि नगरे पनि, पूरा गरे पनि आंशिक गरे पनि पूरा तलब भत्ता दिनु पर्ने आवाज उठाउन थालेका छन् ।अर्को तिर रोजगारदाताहरु आफ्नो सम्पूर्ण उद्याेग ब्यवसाय नै बन्द छ, असुलि छैन, नगद प्रवाह शून्य छ । यस्तो अवस्थामा काम नै नगरेको अवधिको कसरी पूरा पारिश्रमिक दिन सकिन्छ भनी प्रतिप्रश्न गर्दै छन् । उनीहरुको छाता संगठन नेपाल उद्याेग बाणिज्य महासंघ र नेपाल उद्याेग परिसंघले संकटको घडिमा उद्याेग बचाउन र श्रमिकको जीवन निर्बाह दुबैको लागि लकडाउन अवधिको ५० प्रतिशत मात्र तलब दिन सकिने अडान सरकार समक्ष राखेका छन् ।होटल एशोसियसन नेपाल हानमा आबद्ध सबै होटलले सामुहिक निर्णय गरेर असोज मसान्त सम्म सम्पुर्ण होटल बन्द गर्ने र होटलका कामदारलाई यो बिचको अवधिमा पाउने तलबको १२.५ प्रतिशत मात्र दिने घोषणा नै गरिसके । होटलमा बस्ने ग्राहकको राष्ट्रिय अन्तराष्ट्रिय रुपमा अग्रिम बुकिङ हुने गरेको र सारा संसार कोरोना संक्रमण संग संघर्ष गरिरहेको अवस्थामा जनजीवन सामान्य हुन २/३ महिना लाग्ने र तेस पश्चात् २/३ महिना मानिस भ्रमण गर्न नचाहने संभावनाले उनिहरुले असोज सम्म बन्द गर्नु तर्क संगत देखिन्छ। देशभरि ठुलो सञ्जाल भएको बैंक बीमा कम्पनी पनि अहिले असमं जसमा छन् । शून्य काम, शून्य आम्दानी र खर्च यथावतको अवस्थामा घरमा बसेको कर्मचारीहरुको तलब मिलान कसरी गर्ने भनी अन्य‍ोलमा छन् । कतिपयले संचित बिदाबाट मिलाएका छन्, कतिपयले फोर्स लिभमा राखेका छन् भने कतिपयले सामुहिक टुंगो नलागुन्जेल पेश्किबाट तलब खुवाएका छन् । बैंक बीमामा केही कर्मचारी काम गरिरहेका छन् भने केही चुप लागेर घरमा बसेका छन् । यी दुई थरि बिचको फरक कसरी न्यायोचित तरिकाले मिलाउने भनि कार्यकारी प्रमुखहरु अन्योलमा छन् । लकडाउनको यो संकटपुर्ण घडिमा कम्पनीलाई बचाउने र आफु पनि बाच्ने गरि यथार्थपरक र न्यायोचित तरिका निकाल्न कोहि पनि लागेको पाईन्दैन । सबै आ-आफ्नै ब्यक्तिगत, गुटगत र राजनैतिक फाईदाको ज‍ोडघटाउमा लागेको देखिन्छ। यसैबिच आफ्नो भातृ संगठनको स्वार्थगत लहलहैमा लागेर गृह मन्त्रालयले बैशाख १५ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरि सरकारी कार्यालय, निकाय वा उद्याेगले लकडाउन अवधिलाई सार्बजनिक बिदा घोषणा गरि लकडाउन अवधिको खाईपाई आएको तलब भत्ता उपलब्ध गराउने घोषणा गरि पीडित र‍ोजगारदाताको दुखेक‍ो घाउमा नुन छर्कने काम गर्यो । हुन त यो सुचना सरकार र उसको लगानि सम्बद्ध कार्यालय र उद्याेगको लागि मात्र हुने ब्यवसायीहरुक‍ो धारणा रहेको देखिन्छ । साच्चै भन्ने हो भने सरकार, रोजगारदाता र कामदार श्रमिक लकडाउनको यस घडिमा सबै संकटपुर्ण अवस्थामा छन् ।सबैको जीवन मरणको सवाल छ । आफु मात्र बाच्ने सोच त्यागी आफु पनि बाचौं र अरुलाई पनि बचाउँ भन्ने सोच सबैमा हुनु पर्ने हो । यसको लागि सरकार देखि कामदारसम्म सबैमा यथार्थपरक र ब्यवसायिक सोच हुनु पर्छ । सरकारी अर्ध सरकारी निकायमा कार्यरत कर्मचारीलाई काम भए पनि नभए पनि सरकारी बजेटबाट तलब भत्ता दिन सजिलो छ। तर कमाएर खानु पर्ने खुवाउनु पर्ने ब्यवसायिक प्रतिस्थानमा कामै नहुँदा, कारोबार र आम्दानी शून्य हुँदा कसरी लकडाउन भरिको तलब भत्ता खुवाउने ? नेपाल राजपत्रमा सुचना प्रकाशित गर्ने गृहमन्त्री र बैक कर्जा लिएर भए पनि पूरा तलब दिनु भन्ने अर्थ मन्त्री र सचिवले जवाफ दिन सक्नु हुन्छ ? नभए अष्ट्रेलिया,अमेरिका र अन्य देशले दिए जस्तो बन्द उद्याेगको कामदारलाई नगद तलब अनुदान(सब्सिडि) दिन सक्नु पर्यो । किनकि लकडाउन उद्याेगी व्यवसायीले आफु खुसी गर्या होईनन्, सरकारको आह्वानमा गरेकोले क्षतिपुर्ति दिने दायित्व पनि सरकारको हो नि। देशको बर्तमान अर्थमन्त्री गभर्नर र योजना आयोगको उपाध्क्ष्य भई सकेको बिद्वान र अनुभवि ब्यक्ति हुनु हुन्छ । वहाले हालै मात्र स्थानिय निकायबाट दिईने राहतमा जो कोहि श्रममा जोडिन आउँदैन र काम गर्दैनन्, उनीहरुलाई अन्य श्रमिकले पाए सरह पूरा रकम नदिने, पाउने रकमको एक चौथाई रकम उपलब्ध गराउने सरकारले निर्णय गरेको सार्बजनिक गर्नुभयो । भन्नुको तात्पर्य वहाँले कामदारको श्रमको मुल्यको यथार्थ बुझ्नु भएको रहेछ । फेरि सरकारी र निजि क्षेत्रमा द‍ोहोरो मापदण्ड किन त भन्ने प्रश्न उठन थालेको छ । कहि पार्टि भित्र चर्को दबाव ठेग्न नसकि ईच्छा बिपरित उद्याेग प्रतिस्थानलाई लकडाउनको पूरा तलब दिन बाध्य पारिरहेको त हैन भन्ने प्रश्न पनि आएको छ । कोरोना संक्रमण संसार भरि अप्रत्याशित रुपमा आएको संकटपुर्ण महामारि हो। यसबाट बाचे पछि भबिष्यमा गर्ने काम र कमाउने अवसर धेरै पाईन्छ । आफु बाच्ने र अरुलाई मार्ने काम कोहि कसैले पनि नगरौं । सरकार,रोजगारदाता र कर्मचारी श्रमिक सबैले सरकार र उद्याेग/ कम्पनीको यथार्थ अवस्था बुझौं । आपसमा बसेर छलफल गरि श्रम र कामको आधारमा कोरोना लकडाउन भरि बन्दको अवस्थामा उद्याेग/ कम्पनीको क्षमता अनुसार जीवन निर्बाह हुने गरि पारिश्रमिक लिई सरकारलाई साथ दिई उद्याेग प्रतिस्थानलाई बचाउँ । उद्याेग कम्पनी बाचे हामीलाई पछिसम्म कमाएर खुवाउन सक्छ । दबाव दिई आफु मात्र बाच्ने प्रयास गरे क्षणिक फाईदा हुन्छ, पछि दुख पाउने निश्चित छ । उद्याेग प्रतिस्थानलाई डुब्न बाट बचाउन तथा कर्मचारीको राहतको लागि अन्य देशले दिए सरह नगद राहत सरकाले दिन नसकेको अवस्थामा निम्न अनुसार गरि हनमी पनि बाच्न सक्छौ र उध‍ग प्रतिस्थानलाई पनि बचाउन सकिन्छ । पारिश्रमिक बिबादको समाधानको उपायहरु प्रथम, कर्मचारी श्रमिकको संचित बिदाबाट कट्टि हुने गरि सम्भव भएसम्म लकडाउन हुदा पनि चैत्र महिनाको पूरा तलब भत्ता दिने । बिदा कम हुनेको हकमा नियुक्तिको प्रकृति अनुसार आषाढसम्मको पेश्कि बिदा थपेर भए पनि दिने । दाेश्राे, अर्थ मन्त्रीज्युले स्थानिय निकायमा राहत काम गराउदा बनाएको नीति अनुसार काम गर्न नआउने, सम्पर्कमा नबस्ने वा चुपचाप घरमा बस्ने श्रमिक कर्मचारिलाई तलबको २५ प्रतिशत वा न्युनतम जीवन निर्बाहको लागि १० हजारमध्ये जुन बढी हुन्छ, लकडाउन भरि मासिक रुपमा दिने । तेश्राे, उद्याेग कम्पनीले बनाएको सेड्युल अनुसार पालै पालो वा आंशिक १५ दिनभन्दा कम काम गर्ने श्रमिक कर्मचारीलाई न्युनतम १५००० वा तलब भत्ताको ५० प्रतिशतमा जुन बढि हुन्छ तेहि दिने । चाैथाे, लकडाउन भरि नियमित २० देखि २५ दिन काम गर्ने वा उद्याेग प्रतिस्थानले तोकेको लक्ष बमोजिम काम गर्ने कर्मचारी श्रमिकलाई १०० प्रतिशत मासिक तलब भत्ता दिने । पाँचाैं, ह‍ोटल एशोसिएसन नेपालको सन्दर्भमा होटलहरु ६ महिना बन्द नै गरि सकेकोले उनीहरुले कामदारलाई सम्पर्कमा राखि रहन १२.५ प्रतिशत मासिक दिने नीति बनाएको तर छ‍ोडेर जानेलाई श्रम ऐनले तोके बमोजिम सबै सुबिधा दिएर जान सकिने मौका उपलब्ध गराउनु पर्ने । अन्तमा आयात र रेमिटान्समा निर्भर नेपाल अहिले एकदमै संकटपुर्ण घडिमा छ । स्पष्ट बहुमतको सरकार छ । अर्थतन्त्र राम्ररी बुझेका अर्थ मन्त्री हुनुहुन्छ । राजनैतिक आस्था र गुटगत सोचभन्दा माथि उठेर देशलाई असफल राष्ट्र हुनबाट बचाउन तथा सबै नेपालीको काम गरेर खाने अधिकारको संरक्षण गर्दै लकडाउनमा दिईने पारिश्रमिक सम्बन्धमा ठोस नीति बनाउनु जरुरि देखिन्छ । (महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराइकाे निजी बिचार, जसले काम गर्ने संस्थासंग सम्बन्ध राख्ने छैन)

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न एनआरएनए आग्रह

टेक्सस । कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले आग्रह  गरेकाे छ । समयसँगै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो । लेबनान, इजराइल, साइप्रसलगात देशहरुमा नेपालीको संख्या उल्लेख छन् । सङ्घको मध्यपूर्व क्षेत्रले नेपाल सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा रहेका नेपाली दूतावाससहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा विशेष समिति बनाएर काम गर्नसमेत अनुरोध गरेको छ । सङ्घले कामबाट निकालिएका कामदारलाई तत्काल सेल्टरको व्यवस्था गर्न, रोजगारी गुमाएकालाई पुनः त्यही देशमा काम गर्न पाउने गरी व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काइ क्वारेन्टाइनको व्यवस्था गर्न, क्वारेन्टाइनका लागि ७७ वटै जिल्लाका होटल, विद्यालय र सार्वजनिक भवनलाई प्रयोगमा ल्याउन र आफैँ खर्च गरेर बस्न चाहनेलाई विशेष छुटका साथ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ओमनमा बस्दै आएका सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताए । एकैपटक लैजान सम्भव नहुने भएकाले दैनिक पाँच हजार जनालाई मात्रै स्वदेश लैजाँदा १४ दिनमा ७० हजार नेपालीको उद्धार हुने र उनीहरु क्रमशः क्वारेन्टाइनबाट निस्कने हुँदा व्यवस्थापनमा समेत सहज हुने सङ्घको सुझाव रहेको छ । स्वदेश फर्किएर क्वारेन्टाइनमा रहेकै समयमा उनीहको लगत राख्ने र दक्षतासमेत मापन गर्ने गरी सरकारले तयारी गर्नुपर्ने भन्दै यसो गर्न सक्दा फर्किएकालाई सरकारले उनीहरुको दक्षताअनुरुपको काममा लगाउन सक्ने समेत १४ बुँदे सुझावमा सुझाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । यसैक्रममा सङ्घको मध्यपूर्व क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र सत्तारुढ नेकपाका प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेबीच भर्चुअल संवाद भएको छ । सांसद पाण्डेले समितिमा छलफल गरी समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन पहल गर्ने बताएका बैठकमा सहभागी एनआरएनए प्रवक्ता क्षेत्रीले जानकारी दिए । मध्यपूर्वमा करिब २० लाख गैरआवासीय नेपाली रहेको एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीन गुरुङले बताए । उनका अनुसार लकडाउनका कारण धेरै कम्पनी बन्द हुँदानेपाली प्रभावित भएका छन् । मध्यपूर्वका कतिपय देशमा रहेका केही नेपालीमा सङ्क्रमणसमेत देखिएको जनाउँदै एनआरएनएका क्षेत्रीय संयोजक गुरुङले सङ्क्रमितको सङ्ख्या भने न्यून नैं रहेको बताए । रासस

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण

काठमाडौं । पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो । अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

खाद्य कम्पनीबाट अनलाइनमार्फत ग्राहकलाई सेवा

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत चक्रपथभित्रका २ सय १२ ग्राहकलाई सेवा प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले गत चैत २६ देखि यही वैशाख २२ गतेसम्म अनलाइनमार्फत उपभोक्तालाई होम हेलिभरीमार्फत सेवा प्रदान गरेको हो । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ । सोअनुसार १ सय ६ क्विन्टल चामल, ७ सय ५५ किलो कर्णालीको सिमी र ३३ किलो दाल बिक्री गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार हाल रञ्जित स्टिम, सोना र जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरिएको छ । अब छिट्टै दुग्ध विकास संस्थानबाट उत्पादित घिउलगायत खाद्य सामग्री पनि बिक्री सूचीमा राखिने जानकारी उनले जानकारी दिए । लकडाउन अवधिमा काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९ सय ५३ किलो सिमी, २ सय ३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ । सामाजिक तथा व्यापारिक दुवै उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले आगामी दिनमा आवश्यकतानुसार किसानका उत्पादन खरीद तथा भण्डारण गर्ने तथा दुर्गम जिल्ला र बजारको सम्भावनालाई समेत अध्ययन गरी विभिन्न उपभोग्य सामग्रीका साथै अन्य व्यापारिक वस्तु खरिदबिक्री गर्ने जनाइएको छ । रासस