विकासन्युज

उपत्यका भित्रिने ५ वटा नाकामा अनुगमन, चेक जाँचमा थप कडाई

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने ५ वटा नाकाहरूमा अनुगमन भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरूको यस एक हप्तामा अनुगमन गरेका छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा वस्तुस्थिती बुझ्न, नाकामा हुने चेकजाँच कडाई गर्नका लागि अनुगमन तथा निरीक्षण गरिको जनाईएको छ । काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकालले बताए । उनले भने, ‘अत्यावश्यक मालबाहक सवारीहरूमा मानिसहरु लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आजसम्ममा हामी सबै नाकाहरूमा गयौ । हामीले नाकाहरूमा तीन-चार घण्टा पनि बितायौ तर त्यस्तो पाइएन ।’ ‘रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था छैन,’ ढकालले भने, ‘नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम बस्तु ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्स मात्रै भित्रिँदै गरेका भेट्यौं । ती गाडिहरुमा चालक र सहचालक मात्र थिए ।’ ‘हामीले काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामाग्री आवश्यक पर्छ, ती सवारी साधनमात्र भित्रिन दिने र अन्य  सवारी साधनहरूलाई फर्काउने गरेका छौँ,’ उनले भने । ती विभिन्न नाकाहरूमा पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको टोलीले  सुरक्षाकर्मीहरुलगायत मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क, सेनिटाईजर समेत वितरण गरेका छन् । ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकाहरूमा खट्टिएका  सुरक्षाकर्मीहरुलाई केही समयका लागि नाकाहरूमा थप कडाइ गर्न निर्देशन दिनुका साथै उनले हरेक नागरिकलाई सुरक्षा अवस्था गम्भीर रहेको भन्दै यस महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरेका छन् ।

दाङमा लकडाउन थप कडा, पास भए पनि सवारी साधन चलाउन नपाइने

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ । अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए । खड्काका अनुसार पासको बहानामा राति जथाभावी हिँडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नुपरेको हो । छिमेकी जिल्ला बाँकेमा कोराना सङ्क्रमित बढेपछि दाङमा बन्दाबन्दीमा कडाइ गर्न थालिएको छ । प्रहरीले शहर बजारमा पासको बहानामा विनाकाम हिँड्नेलाई लाठीसमेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिँड्नेलाई सडकमै दिनभर राख्ने र बेलुकीपख प्रशिक्षण दिएर छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए । मंगलबार जिल्लामा १८१ जनालाई सडकमै राखी प्रशिक्षण दिएर छाडिएको डिएसपी खड्काले बताए । यसैगरी जिल्लाका विभन्न स्थानमा गरी ८० सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे दिनदेखि नै प्रहरीले सवारी साधन नियन्त्रणमा लिने गरेको थियो । रासस

बैंकर्स र व्यवसायीको एउटै स्वरः हामी एकै डुङ्गामा छौं, मिलेर सयर गरौं

काठमाडौं । विभिन्न उद्योग व्यवसायी र बैंकर्सहरुले यो सकंटको समयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । विभिन्न व्यापार व्यवसायमा संलग्न उनीहरुले सबैको सहकार्य र समन्वयले यो महामारीलाई पार लगाउन सकिने भएकाेले सबैले एक अर्कालाई सहयोग र सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणाा राखेका हुन् । देश लकडाउनमा रहेको बेला अर्थतन्त्र सुस्त भएको बताउँदै उनीहरुले अब सबैले मिलेर याे समस्याको समाधान गर्नु पर्ने आवाज उठाएका हुन् । देशमा लकडाउन भएको ४३ दिन पुगिसकेको अवस्थामा विभिन्न व्यापार व्यवसाय तथा उद्योगधन्दाहरु बन्द भएको बताउँदै उनीहरुले अब अर्थतन्त्र चलायमानका लागि विभिन्न क्षेत्रहरुले एक आपसमा सहकार्य गर्नुपर्ने बताएका हुन् । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विश्वमा नै कोरोना भाइरसको महामारी भएको कारणले यो महामारीसँग जुध्न र देशको अर्थतन्त्रमा धेरै नोक्सान हुन नदिनका लागि अब सरकार,उद्योगी व्यवसायी, बैंकर्स लगायतका क्षेत्रहरुसँग हकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । ‘हामी बसै एउटै डुङ्गामा छौं, मिलेर सयर गर्नुपर्छ, कसैले कमाउने र कसैले गुमाउने भन्ने हुँदैन,’ उनले भने । कोरोनाको कारण सबै क्षेत्रहरुलाई असर परेको बताउँदै उनले अब अर्थतन्त्रलाई चलायमान र खुलाउँदै जानु पर्ने बताए । बैंकहरुको पनि तीन महिनादेखि व्याज नउठेको बताउँदै उनले अझै ६ महिनामा पनि त्यो व्याज उठ्न सक्ने सम्भावना नभएकोले बैंकहरुलाई पनि समस्या नै रहेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा परेको असर र रेमिट्यान्सको गिरावटले विदेशी मुद्रामा धेरै गिरावट आउन सक्ने भएकोले बैंकहरुको पनि धेरै आम्दानी गुम्ने उनको धारणा छ । तर, पनि यो समयको व्यवस्थापन र सबैलाई मर्का नपर्ने गरी बैंकहरुले पनि आफ्नो तर्फबट हुन सक्ने सहयोगका लागि गृहकार्य गरिरहेको उनले बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि यो महामारीले अर्थतन्त्रमा पारेको असरलाई क मगर्नको लागि र अर्थतन्त्र पुर्नत्थान गर्नको लागि सबैको सहकार्य आवश्यक रहेको बताए । यो असर दुई वषएसम्म पनि रिभाइव गर्न कठिन भएको बताउँद ैउनले सरकारले अबको बजेटमा मुख्य गरेर अर्थतन्त्रको पुर्नजीवन, स्वरोजगारमा जोड,पूर्वाधारमालगायतका पक्षहरुमा बढी जोड दिनुपर्ने बताएका छन् । ‘रेमिट्यान्समा एकदमै कमि आइसकेको छ, व्यापार घाटा पनि भइसकेको छ, अब चाँडै अर्थतन्त्र परभाइव हुन सक्ने अवस्था छैन, यसका लागि हामीले नाफा भन्दा पनि सस्टेन हुने हिसावले काम गर्ने हो,’ उनले भने । अर्थतन्त्रको पुर्नत्थानका लागि सरकारले अब व्यवसायी तथा उद्योगीका लागि विद्युत महसुल सस्तो गर्ने, कर्जामा ५ प्रतिशत व्याजदर तोक्नु पर्ने, मुल्यअभिवृद्धि र आय कर घटाउनु पर्ने, सम्पत्तिको अभिलेखीकरण गर्नु पर्ने लगायतका प्याकेजहरु ल्यायो भने व्यवासायलाई राहत हुने बताए । उनले अब सरकारले कृषि सम्बन्धि विशेष नीति ल्याएर कार्यान्वय गर्नु पर्ने बताए । जसले धेरै युवाहरु स्वदेशमै रोजगार पाउन सक्छन् । यस्तै, नेपाल टुर एण्ड ट्राभल एजेण्टका अध्यक्ष अच्युत गुरागाइँले कोरोनाको कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएकोले यसको उद्दारका लागि सरकारले कुनै पनि पहल नगरेको गुनासो गरे । ‘सरकार निदाएको बाहना गरिरहेको छ, हामीले तिरेको ट्याक्सको रिर्टन पनि छैन, व्यापार पुर्नत्थान र कर्मचारीलाई तलब खुबाउनका लािग पनि विशेष २ प्रतिशत व्याजदरमा ऋण दिनु पर्छ,’ उनले भने । अब पर्यटन क्षेत्रको पुर्नजीवनका लागि सरकारले आन्तरिक पर्यटनमा जोड, बैंकबाट सहुलियत दरमा कर्जा र भारत र चीनमा पर्यटन प्रवद्र्धन गर्नु पर्ने उनको भनाइ छ । यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले पनि अब सरकारले आउने बजेटमा निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिई बजेट बाँडफँड गर्नु पर्ने धारणा राखेका छन् । प्राथमिकताका आधारमा विभिन्न स्थानीय तह र प्रदेशको मातहतमा रहे आयोजना सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले दियाे साढे चार करोडका स्वास्थ्य सामग्री

काठमाडाैं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड-१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख रूपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री बुधबार हस्तान्तरण गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले ती सामग्री खरिद गरेको थियो । रासस

विकल्प छैन, गर या मर !

काठमाडौं । देश कोरोना चुनौतीसँग जुझिरहेको बेला अचानक आएको अध्यादेश प्रकरणले शान्त रहेको राजनीतिक वातावरण यसरी तरङ्गित बन्यो कि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सङ्घारमै पुगेको छनक दियो भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका राजनीतिक दलहरूबाट अध्यादेशविरुद्ध एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त हुनाका साथै लामो समयदेखि एकता प्रकृयामा रहेका सङ्घीय समाजवादी पार्टी नेपाल र राजपा नेपाल रातारात एकता गर्ने सैद्धान्तिक सहमतिमा पुगे । लकडाउनका कारण घरमा थन्किएका नेता-कार्यकर्ता, नागरिक समाज, सामाजिक अभियानकर्मी लगायत सम्पूर्ण जनसमुदाय र सञ्चार जगत् तरङ्गित र ध्रुवीकृत हुन पुगे । फलतः कोरोनाविरुद्धको लडाइँबाट ध्यान विकेन्द्रित भई मुलुक सङ्कटमा पर्ने त होइन ? भन्ने गम्भीर आशङ्का उत्पन्न भयो । नेपालमा घटेको यो घटनाले नेपाली समाज मात्र तरङ्गित भएन, अन्तर्राष्ट्रिय जगत् विशेषतः छिमेकी मुलुकको चासो र चिन्ता प्रकट हुन पुग्यो । चौतर्फी विरोधको घेरामा रहेका २०७७ वैशाख ८ गते जारी दुई अध्यादेश वैशाख १२ गते राष्ट्रपतिद्वारा खारेज भए पश्चात् पनि नेकपाभित्रको भुसको आगो झै सल्किएको विवाद मत्थर हुनुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने तहसम्म पुग्यो । विसं २०७७ वैशाख ८ गतेदेखि प्रारम्भ भएको नेकपाभित्रको विवादबीच २०७७ वैशाख २० गते भएको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्ना तर्फबाट भएका कमीकमजोरीहरुप्रति आत्मालोचना गर्दै अब उप्रान्त यस्ता कमीकमजोरी हुन नदिने र पार्टी एकतालाई सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि हाललाई अस्थायी युद्धविराम भई पार्टी विभाजनको खड्को आंशिकरुपमा टरेको छ । नेपालको इतिहासमा दरबारभित्रको कलह, राणा परिवारभित्रको कलह र २००७ सालको क्रान्ति पश्चात् पार्टीभित्रको कलहले ठूल्ठूला घटनाहरु निम्त्याएका र त्यसले समग्र नेपालको इतिहासलाई प्रभावित पारेको इतिहास सबैलाई अवगत नै छ । सात सालको क्रान्तिलगायत आजसम्मको इतिहास हेर्दा विभिन्न कालखण्डमा विभिन्न राजनीतिक दलले खेलेको भूमिका आ-आफ्नो ठाउँमा छँदैछ, सात सालको क्रान्तिदेखि आजसम्मका हरेक घटनाक्रममा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले निरन्तर रुपमा उल्लेखनीय भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास एकातिर रहेको छ भने अर्कोतर्फ नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक कलह र विभाजनको तीतो अनुभव व्यहोर्दै आएको छ । सात सालको क्रान्तिपछि गठन भएको अन्तरिम सरकार र तत्पश्चात् गठन भएका सरकारहरुमा नेपाली काँग्रेसभित्रको अन्तर कलहले उब्जाएको असहज परिस्थितिबारे सबैलाई अवगत नै छ । विसं २०१५ मा नेपालमा सम्पन्न भएको पहिलो संसदीय आमनिर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्यो र वीपी कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित सरकार गठन भयो । राजा महेन्द्रको महत्वाकाँक्षाका कारण छोटो अवधि मै जननिर्वाचित सरकार सैनिक कूद्वारा अपदस्त भई सात सालको क्रान्तिमा नेपाली जनताले प्राप्त गरेको राजनीतिक स्वतन्त्रता खोसिन गई मुलुक एकदलीय निरङ्कुशतातर्फ धकेलिन पुग्यो । लामो समयको कष्टपूर्ण सङ्घर्ष पछि २०४६ सालको जनआन्दोलन पश्चात् देशमा राजनीतिक स्वतन्त्रतासहितको बहुदलीय संसदीय व्यवस्था पुनस्थापित भयो । बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना भएपछिको पहिलो आमनिर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो तर, आफ्नै आन्तरिक कलहका कारण पाँच वर्षको कार्यकाल पूरा गर्न नपाई सरकारबाट बाहिरिन पुग्यो । विसं २०५१ मा भएको मध्यावधि निर्वाचनमा कसैको पनि बहुमत नभई नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टीका रुपमा उदय भएपछि क. मनमोहन अधिकारीको नेतृत्वमा नेपालको इतिहासमा अल्पमतको कम्युनिष्ट सरकार बन्यो । मनमोहन नेतृत्वको सरकारले गरेका लोकप्रिय कामहरुबाट अत्तालिएको कम्युनिष्ट इतरको गठबन्धनका कारण सात महिनाको छोटो समयमै मनमोहन नेतृत्वको सरकार सत्ताबाट बाहिरिन पुग्यो । विसं २०५६ को आमनिर्वाचनमा पुनः नेपाली काँग्रेसले तेस्रो पटक बहुमत प्राप्त ग¥यो र सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार गठन भयो । आन्तरिक कलहका कारण भट्टराईले राजीनामा गर्नुपर्यो । तत्पश्चात् नेपाली काँग्रेसमा देखापरेको चर्को अन्तर कलहका कारण पार्टी विभाजन हुन गई संसद विघटन, राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्तगी गरेको लगायतका घटनाहरु सबैलाई अवगत नै छ । नेपाली काँग्रेस प्रतिपक्षमा सीमित हुँदा पनि आन्तरिक कलहबाट मुक्त हुन सकेको देखिँदैन । अनेकौं टूटफूटको शृङ्खला व्यहोर्दै आएको नेपालको कम्युनिष्ट आन्दोलन २०४६ सालको जनआन्दोलनमा वाम गठबन्धनको रुपमा अस्तित्वमा आयो । गठबन्धन उक्त आन्दोलनमा सहभागी भई आन्दोलन सफल गर्न उल्लेखनीय योगदान पुर्याएको भए पनि कुनै पनि निर्वाचनमा वाम एकता वा वाम गठबन्धन निर्माण गरी निर्वाचनमा सहभागी हुन सफल नभएका कारण जनमत कम्युनिष्टको पक्षमा भए पनि कम्युनिष्टहरु निर्वाचनमा पराजय व्यहोर्दै आएको नेपालको निर्वाचनको इतिहास हेर्दा प्रस्ट हुन्छ । विसं २०७४ मा घोषणा भएको महानिर्वाचनमा पनि वाम एकता वा वाम गठबन्धन हुन सकेन । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूला कम्युनिष्ट घटकका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग निर्वाचन लडेका थिए । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले नेकाँसँगको गठबन्धनमा सरकार नेतृत्व गरिरहनुभएको थियो भने एमाले सरकार बाहिर रहेर निर्वाचन लडिरहेको थियो । स्थानीय तहका ४६० वटा गाउँपालिका, २७६ वटा नगरपालिका, ११ वटा उपमहानगरपालिका, छ वटा महानगरपालिका र ७७ वटा जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको एक हजार ५०६ सीटमध्ये ५५२ सीट (४१.५ प्रतिशत) र जिससको प्रमुख/उपप्रमुखको १५४ सीटमध्ये ७७ सीट (५० प्रतिशत) मा विजय हासिल गरी सबैभन्दा ठूलो पार्टी बन्यो । नेपाली काँग्रेसले स्थानीय तहमा ४५९ सीट (३०.४७ प्रतिशत) र जिससमा ३६ सीट (२३.३७ प्रतिशत) सीट जितेर दोस्रो स्थान पायो भने नेकपा माओवादी केन्द्रले स्थानीय तहमा २१७ सीट (१४.४ प्रतिशत) र जिससमा २५ सीट (१६.२३ प्रतिशत) जितेर तेस्रो पार्टी बनेको थियो । विगतका निर्वाचनको परिणाम र स्थानीय तहको निर्वाचनको परिणामलाई ध्यानमा राखी आम नेता–कार्यकर्ता, शुभेच्छुक र मतदाताको सुझाव र व्यापक दवावका कारण एमाले र माओवादी केन्द्रबीच प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धन कायम गरी निर्वाचनमा जाने ऐतिहासिक निर्णय २०७४ असोज १७ गते भयो । समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल, मधेश समता पार्टी नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल लगायतले वाम गठबन्धनको पक्षमा निर्वाचनमा जाने निर्णय गरी वाम गठबन्धनको पक्षमा निर्वाचन अभियान सञ्चालन गरेको फलस्वरुप वाम गठबन्धनको पक्षमा करीव दुइ तिहाईको बहुमत प्राप्त भई एमालेका अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको हो । तत्पश्चात् एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि हाल देशमा नेकपाको एकमना सरकार छ । नेकपालाई प्राप्त करीव दुई तिहाईको जनादेश नेकपा एक्लैको बलबुताबाट मात्र प्राप्त भएको होइन, यसमा वाम एकता कायम गर्न र करीव दुई तिहाईको बहुमत प्राप्त गर्न माथि उल्लिखित दल तथा दलका नेता-कार्यकर्ताहरुको महत्वपूर्ण योगदान रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताहरुका लागि यत्रो ठूलो जनादेश प्राप्त हुनु ठूलो अवसर र चुनौती दुवै हो । तीनै तहमा प्रचण्ड बहुमत प्राप्त सरकारहरुलाई देश र जनताको पक्षमा इमान्दारीपूर्वक काम गरी विद्यमान गरीबी, अशिक्षा र बेरोगारी हटाई देशमा शान्ति र सुशासन कायम गरी विकास र समृद्धि हासिल गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । सरकार गठन भएको दुई वर्षमा सरकारले अघि सारेको नीति तथा कार्यक्रम र सरकारको कार्यशैलीले जनताको अपेक्षा पूरा गर्न सकेको छ वा छैन, त्यो प्रस्ट देखिन बाँकी नै छ । कोरोनाको चुनौतीको सफलपूर्वक सामना गर्ने, जनतामा आशा र कार्यकर्तामा उत्साह सञ्चार गर्ने नीति तथा कार्यक्रम ल्याउने र आमजनताले अनुभूत गर्ने गरी सरकारको कार्यशैलीमा परिवर्तन गर्नेतर्फ ध्यान दिनुका बदला पार्टी एकीकरणको प्रकृया नै टुङ्गो लाग्न बाँकी रहेको अवस्थामा गुटबन्दी र सरकार परिवर्तनको खेलमा लाग्ने हो भने इतिहासले सुम्पेको जिम्मेवारी र जनताको अपेक्षा पूरा हुन सक्दैन । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगाडि धेरै विकल्पहरु छैनन् । इतिहासबाट पाठ सिकेर पार्टीलाई विधिसम्मत र सरकारलाई जनेच्छा अनुकूल सञ्चालन गरेर विकास र समृद्धि हासिल गरी जनचाहना पूरा गर्ने ऐतिहासिक अवसर छ । इतिहासमा अवसरहरु बारम्बार आउँदैनन्, एक पटक मात्र आउँछ । इमान्दारिपूर्वक दर्हो इच्छाशक्तिका साथ प्राप्त अवसरको सदुपयोग गर्नु नै उपयुक्त विकल्प हो । संसारमा जीवन या मृत्यु दुई वटा मात्र मार्ग छन् । कर्मण्यतापूर्वक गरिने कार्यले जीवनको मार्ग प्रशस्त हुन्छ भने अकर्मण्यताले मृत्युको यात्रा शुरु हुन्छ । कर्मण्यताको बाटो हिँड्न सकिएन भने अकर्मण्यताले मृत्युवरण गर्नु बाहेक अर्को विकल्प हुँदैन । त्यसैले प्रिय मित्रहरु ! इतिहास क्रुर छ, प्राप्त अवसरलाई सदुपयोग गरी इतिहास निर्माणको बाटोमा अघि बढौं ! अन्यथा मृत्युवरण गर्नुको विकल्पै छैन । सबैलाई चेतना भया…! रासस (लेखक पूर्वमन्त्री हुन् ।)

उपत्यकामा भित्रन खोज्ने १०३ सवारीसाधन फर्काइए

काठमाडाैं । पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ। विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ। जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाइएको छ। यसै क्रममा आज काडमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुगेकी थिइन्। उपप्रमुख खड्गीलाई जानकारी दिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सोमबार ३७ सवारीलाई र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए। पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो। काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका, एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ। प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार अहिले विदेशी नम्बरप्लेट भएका कुनै पनि सवारीसाधन आउने गरेका छैनन्। काठमाडौँमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका हुन्। नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ। अनुगमनको क्रममा उपप्रमुख खड्गीले सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएकी थिइन् भने मास्क नलगाइ सवारी चलाउने चालकलाई मास्क वितरण गरेकी थिइन्। वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन्। रासस

युनाइटेड सिमेन्ट्सद्वारा विभिन्न स्थानमा राहत सामग्री वितरण

काठमाडाैं । के. एल. दुगड समूह अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रा. लि. ले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोगको जोखिम बाट बच्न अबलम्बन गरिएको लकडाउनका कारण  विभिन्न स्थानमा निम्न आय श्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई यो समयमा राहतको एकदमै आवश्यकता रहेकोले युनाइटेड सिमेन्ट्सले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिका को केही स्थानमा खाद्य सामाग्री वितरण गरेको छ । पुरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केहि हद सम्म भएपनि यो राहतले उनीहरुको घाउमा मलहम लगाउने काम गरेको उद्योगको ठम्याई रहेको छ । यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवस्यकता अनुसार  गरिरहने प्रतिबद्धता ब्यक्त गरेको छ ।

भारततर्फका सबै सीमा-नाका सील गर्ने सरकारको निर्णय, आवत-जावत ठप्प पार्ने 

काठमाडाैं । सरकारले भारततर्फका सम्पूर्ण सीमा-नाका सील गर्ने निर्णय गरेकाे छ । ती नाकाहरू जेठ १८ गतेसम्मका लागि सील गर्ने निर्णय भएकाे बताइएकाे हाे । बुधबार बसेकाे मन्त्रिपरिषद्काे निर्णयले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय गरेकाे बताइएकाे हाे ।