विकासन्युज

सुनचाँदी महासंघले राष्ट्र बैंकलाई बुझायो दीर्घकालिन उपायसहितको लिखित सुझाव

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबार नेपाल राष्ट्र बैंक समक्ष लिखित सुझाव प्रस्तुत गरेको छ । महासंघले उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे सुझाव पेश गरेको हो । साथै, लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको बारेमा सुझाव पेश गरेको महासंघले जानकारी गराएको छ । महासंघका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी कोरोना संक्रमणको रोकथाम र लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकूल असर बारे छलफल गरेको छ । आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पुर्याउन सक्ने हुँदा यसलाई बढावा दिन सरकारले विशेष ध्यान दिनु पर्नेमा प्रतिनिधि मण्डलले जोड दिएको छ । सो अवसरमा गभर्नरले महासंघहरुबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिएका छन् ।

बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन हुने

काठमाडौं । सरकारले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन गर्ने निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालनमा गर्ने निर्णय गरेकाे हाे । बैठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म थप गरेपनि उद्योग भने संचालनमा ल्याउने निर्णय गरेको हो । सरकारले उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालनको तयारी गरेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका चन्द्रकुमार घिमिरेले लकडाउनका कारण बन्द भएका उद्योगलाई तीन चरणमा खुलाउने तयारी भइरहेको जानकारी दिए । पहिलो चरणमा खाद्य उद्योग,दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातमुलक उद्योग खोल्ने गरी काम अगाडी बढाएको घिमिरेले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनमा बन्द भएका उद्योग सञ्चालनको उपयुक्त विकल्प खोज्न अध्ययन समिति गठन गरेर काम गरिरेको छ । उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखाका प्रमुख पुष्कर शाहीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्द भएका उद्योग सञ्चालनको विकल्प खोज्न समितिमा अर्थ, कृषि, श्रम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि रहेका छन् । निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चम्बर अफ कमर्श र घरेलु तथा साना उद्योग महासंघका १।१ जना प्रतिनिधि पनि समितिमा समेटिएका छन्  । अध्ययन समितिले लकडाउनबाट उद्योग व्यवसायमा परेको असरका बारेमा अध्ययन गरेर औद्योगिक र व्यवसायिक क्षेत्र सञ्चालनको लागि आवश्यक सुझाव तयार पार्नेछ । समितिले उद्योगलाई तीन चरणमा वर्गिकरण गरेर सञ्चालनको व्यवस्था मिलाउने गरी अध्ययन गर्न जिम्मेवारी तोकिएको छ । ससितिलाई नै विदेशबाट रोजगारी गुमाएर फर्किनेहरुलाई रोजगारी दिने सम्बन्धमा पनि अध्ययन गर्न जिम्बा दिएको छ । पहिलो चरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक क्षेत्रका उद्योगलाई पहिलो चरणमा पुर्णरुपमा सञ्चालन गर्ने वातावरण बनाउने गरी काम गरिरहेको छ । अतिआवश्यक चामल, मकै, चिउरा, पिठो, दाल, नून, चिनी, चिया, खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला, औषधि, साबुन, मट्टीतेल, डिजेल, पेट्रोल, रसायनीक मल, दाउरा तथा कोईला लगायतका बस्तुहरु पर्दछन् । दोस्रो चरण निर्माण सम्बन्धी उद्योगलाई दोस्रो चरणमा राखेर  सञ्चालन गर्ने तयारीमा मन्त्रालयले काम गरिरहेको छ ।  दोस्रो चरणमा सञ्चालन हुने उद्योगहरुमा सिमेन्ट उद्योग, पाइप, फलाम, स्टिल, डण्डी, कर्कटपाता,ईट, काठलगायत निर्माण क्षेत्रमा प्रयोग गरिने वस्तु उत्पादन हुने छन् । तेस्रो चरण स्वदेशमा वस्तु उत्पादन गरी वैदेशिक निर्यात गर्ने उद्योगलाई तेस्रो चरणमा राखेर सञ्चालन हुने छ ।

सिटिजन्स बैंकद्वारा पर्साका प्रहरीलाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंकले वडा प्रहरी कार्यालय पर्सालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले मास्क, पन्जा तथा सेनिटाईजर प्रदान गरेको हो । कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ । आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।

काेराेना काेषमा सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद विडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । यसका साथै महासंघले आफ्ना जिल्लानगर संघवाट राहत तथा उद्धार कार्यमा खर्चगर्नेगरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । महासंघले उपलब्ध गराएको यो रकमका जिल्ला तथा नगर संघले ४० लाख रूपैयाँ थप गरी राहत तथा सहायता उपलब्ध गराउनेछन् । बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्धेश्यले सुनचाँदी ब्यवसायी महासंघद्दका तर्फवाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताए । महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयहरुको पूर्णरुपमा पालना गर्दै यस्तो विकराल अवस्थामा सरकारले चाल्ने प्रत्येक कदममा सुनचाँदी ब्यवासयीहरुको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । ब्यवसायीहरुको तर्फवाट मुलुकका ६१ जिल्लाहरुमा पनि भन्दा बढी विभिन्न किसिमका आर्थिक सहयोगका राहत वितरणका कामहरु गरिँदै आएको उनले बताए । त्यसक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले प्रकोपविरुद्ध लड्न सुनचाँदी ब्यवासयी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले महामारिको यो घडिमा ब्यवसायीकातर्फवाट गरिएको सहयोगले सरकारलाई आर्थिक सहयोग मात्र नभएर आत्मवल बढाउन समेत मद्धत पुग्ने बिश्वास ब्यक्त गरे। उपाध्यक्ष पवन कुमार सोमानीले महासंघले यस्तो सहयोग आगामी दिनमापनि जारी राख्ने बताए । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले महासंघले बिश्वब्यापीरुपमा फैलिएको यस प्राकृतिक विपत्तिको समयमा केन्द्रिय राहत कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुकासाथै विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्य मार्फत राहतका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको बताए । महासंघका कोषध्यक्ष महेन्द्ररत्न शाक्यले ब्यवसायीहरुको सहयोगवाट महामारिको रोकथाममा थोरै भए पनि सहयोग मिल्ने आशा ब्यक्त गरेका छन् । महासंघले यस किसिमका विपत्तिको समयमा विगतमा पनि निरन्तररुपमा सरकारलाई सहयोग गर्दै आएको छ । पछिल्ला केही महिनायता विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुममा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम एवं स्वास्थ्यकर्र्मीहरुको अथक प्रयासले हालसम्म उल्लेख्य मानवीय संकट आई सकेको छैन । यसका लागि नेपाल सरकार तथा यो रोगसंग जुध्न अग्रपंक्तिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई महासंघले धन्यवाद समेत दिएको छ । यस्तो नाजुक अवस्थामा महासंघ मानवीय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ । यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको छ । महासंघले विपत्को घडिमा अहोरात्र खटेर साथ दिनुहुने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत हामी बिशेष धन्यवाद समेत दिएको छ । महासंघले यसअघि २०७२ को विनासकारी भूकम्पका वेला पनि २५ लाख रुपैयाँ आर्थिक सहयोग सरकारलाई उपलब्ध गराएको थियो । महासंघका अध्यक्ष अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायीहरुको प्रतिनीधिमण्डलमा महासंघका अध्यक्ष मोहन कुमार सुनार, बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।

बहराइनमा थप ८८ जना नेपालीमा देखियाे कोरोना

काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा थप ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ । ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ । बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ । रासस

…यस कारण एक्कासी बैठकबाट बाहिरिए ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षा केपी शर्मा ओली सचिवालय बैठक चलिरहेका बेला बीचबाटै बाहिरिएका छन् । उनी अहिले एक्कासी बैठकबाट किन बाहिरए भन्ने जिज्ञासा पनि नागरिकमा बढेकाे छ । प्रधानमन्त्री  निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीलाई ‘एक व्यक्ति एक पद’को मागलाई अर्को समूहका नेताले उठाएपछि उनी निस्किएको बताइएको छ। तर,  प्रधानमन्त्री ओलीले भने काम भएको बताउँदै बाहिरिएको बुझिएकाे छ । बिहीबार बोलाइएको बैठकका एजेण्डा तय गर्न बोलाइएको बैठकमा असमझदारी बढेपछि प्रधानमन्त्री बैठक छोडेर निस्केका हुन्। राजनीतिक प्रतिवेदनमा समावेश गर्ने विषयमा समेत ओली र अर्का अध्यक्ष प्रचण्ड विच मतभेद रहेको छ । अध्यादेश र सरकारका कार्यशैली प्रतिवेदनमा समावेश गर्न खोजेका प्रचण्डको प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन्। त्यसकाे असन्तुष्टिले पनि उनी बैठकबाट बाहिरएकाे बुझिएकाे छ ।

बहराइनमा थप ८८ जना नेपालीमा देखियाे कोरोना

काठमाडौं । बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार अाज एकैपटक थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको हाे । यससँगै बहराइनमा संक्रमित नेपालीको संख्या २ सय ४५ पुगेको छ ।

अब मजदुरलाई राहत होइन काम दिन्छौं- वडाध्यक्ष

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ले बन्दाबन्दीबाट प्रभावित भएर काम नपाएका मजदुरलाई काममा खटाएको छ । बन्दाबन्दी भएपछि काम नपाएर प्रभावित बनेका मजदुरलाई वडा कार्यालयले मङ्गलबारदेखि काममा खटाएको हो । यस अगाडि राहत वितरण गरिएका मजदुरलाई विकास निर्माणको काममा लगाइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार पहिलो दिन १८ जना मजदुरलाई नाला मर्मत तथा सरसफाइमा खटाइएको छ । ‘सधैँ राहत दिनेभन्दा पनि काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेपछि उनीहरुलाई काममा लगाएका छौँ’, उनले भने । उनका अनुसार आगामी दिनमा काम गर्ने मजदुरको सङ्ख्या अझै वृद्धि हुनेछ । वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । ती व्यक्तिलाई नै काम दिइने वडाध्यक्ष रेग्मीले जानकारी दिए । बन्दाबन्दीका क्रममा विकास निर्माणका काम शुरु गर्ने नगरपालिकाको निर्णयानुसार सावधानी अपनाएर काम शुरु गरिएको छ । वडा कार्यालयले बन्दाबन्दीको क्रममा सडकमा नाला निर्माण तथा मर्मत एवं सरसफाइ, कृषि तथा उत्पादनमूलक क्षेत्रमा मजदुर खटाउने भएको छ । त्यसरी काममा खटाइएका मजदुरलाई सरकारी दररेटअनुसारको पारिश्रमिक उपलब्ध गराइनेछ । ‘अहिले राहतभन्दा पनि कामको खाँचो रहेको पायौं, राज्यले सँधै राहत मात्र दिन सक्दैन’, वडाध्यक्ष रेग्मीले भने, ‘त्यही भएर मजदुरलाई राहतको विकल्पमा काम दिएका छौँ ।’ बन्दाबन्दीका क्रममा पनि काम पाएपछि मजदुर खुशी भएका छन् । नगरपालिकाले गण्डकी प्रदेश सरकारले तोकेको मापदण्डअनुसार नगरस्तरीय र वडास्तरीय विकासका आयोजना सञ्चालन गर्न शुरु गरेको नगर प्रमुख किसान गुरुङले जानकारी दिए । विकासका आयोजना सञ्चालन गर्न आवश्यक निर्माण सामग्री व्यवस्थापनका लागि नगर क्षेत्रका हार्डवयर पसल, क्रसर उद्योगलाई दैनिक दुई घण्टा खोल्न अनुमति दिइएको छ । उनका अनुसार निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई उपभोक्ता समितिको सिफारिसका आधारमा नगरपालिकाबाट पासको व्यवस्था गरिन्छ । रासस