विकासन्युज

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

काठमाडाैं । अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँथे । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उनीसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो । लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् । “मङ्सिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, सुजन भने, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैं सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताए । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महङ्गो घरभाडा तिरेर महङ्गो खाद्यान्न खाएर बसेका छन्”, परियार भने, “अरु केही काम गरौँ भने पनि केही छैन ।” मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताए । “घरभाडा तिर्नैपर्यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, दर्नालले भने, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् । “यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, अर्का व्यवसायी धनबहादुर परियारले भने, “को मालिकको श्रमिक सबैलाई समस्या छ ।” बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् । बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्याङ्क छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ । रासस

बौद्धदर्शन सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि होः मुख्यमन्त्री पोखरेल

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताए । दुई हजार ५ सय ६४ औंँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै पाेखरेलले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनु भएकाले नै उनका उपदेश आज सम्पूर्ण मानव जातिमा स्थापित भएको उल्लेख गरेकाे स्मरण गराएका छन्  । उनले बुद्धले २९ वर्षका उमेरमा दुःखको कारणको खोजीमा गृहत्याग गरेर भ्रातृत्व र मानवकल्याणका लागि महान् दार्शनिक विचारबाट समाजलाई दीक्षित गरेसँगै मानव समाज सत्कर्मको बाटामा हिँड्न प्रेरित भएको सन्देश रहेकाे जनाए  । मुख्यमन्त्री पोखरेलले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा माटोमुनि दबिएर रहेका सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक रहेको जनाउँदै प्रदेश सरकारले बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिकस्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा र अरौराकोटको खोजअनुसन्धानका साथ प्रदेश सरकारले योजनाबद्ध रुपले काम अघि बढाएको बताएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले गत वर्ष ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंँ , शान्तिको सन्देश फैलाऔंँ’ भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण असमर्थ भएको उनले जनाए । विश्व शान्तिको कामनाका साथै कोरोनाविरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सकसहितका स्वास्थ्य र सुरक्षाकर्मीको सम्मानमा साँझ घरघरमा दीप प्रज्वलन गर्न पनि उनले सबैलाई आह्वान गरेका छन् ।  रासस

कोरोना संक्रमण भयावह हुने लक्षण देखियो, सजग बनौं : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्सँगै अब भयावह अवस्था आउने लक्षण देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । कोरोनाले विश्वव्यापी महामारी भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन सबैलाई आग्रह गरेका छन् । हाल नेपालको स्थिति भयावह नभएपनि, आगामी दिनमा भयावह हुनसक्ने लक्षण देखा परेको भन्दै प्रधानमन्त्रीले बिहीबार एक सन्देश जारी गरेका छन् । सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म संक्रमणले ठूलो रुप नलिएको जानकारी दिँदै उनले भने- ‘सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’ बुधबार मात्र थप १७ जनामा कारोना भाइरसको संक्रमण देखिएसँगै हालसम्म ९९ जनामा कोरोना संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

डब्लूएचओ भन्छः अझै सचेत नहुने हो भने कोरोनाबाट मुक्ति पाउने कुरामा शंकै छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुनियाँभरका देशहरुलाई चेतावनी दिँदै भनेको छ कि यदी देशहरु कोरोना भाइरसको विषयलाई लिएर सचेत नहुने हो भने यो भाइरसबाट मुक्ति पाउने कुरामा ठूलो आशंका छ । उसले चेतावनी दिँदै भन्यो कि यो भाइरस संक्रमणको ग्राफ पूर्वी यूरोप, अफ्रिका, दक्षिण पूर्वी एशिया, पूर्वी मेडिटरेनियन क्षेत्र तथा अमेरिकी क्षेत्रमा बढ्दै गएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख भन्दा बढि पुगेको समयमा डब्लूएचओले यसप्रकारको चेतावनी दिएको हो । स्मरण रहोस्, हालसम्म कोरोना संक्रमणबाट २ लाख ६५ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने १३ लाख जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (श्रोत बीबीसी)

काभ्रेका सबै नाका बन्द

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग जोडिएको तेमाल गाउँपालिका, मकवानपुरसँग जोडिएको महाभारत गाउँपालिका र ललितपुरसँग जोडिएको बेथानचोक र खानीखोला गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नगरपालिकास्थित साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो । कमाण्ड पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले स्थानीय तहलाई आ–आफ्ना सीमामा कडाइकासाथ आवतजावत बन्द गर्न लगाइने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार लकडाउन उल्लङ्घन गर्ने सवारी तथा नागरिकलाई सुरक्षाकर्मीले दैनिक जाँच गरी कारवाही गरिरहेको छ । सो पोष्टले स्थानीय तहका सबै वडा र बस्तीमा निगरानी समूह गरी लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न नागरिकबाटै स्थानीयस्तरमा समूह बनाएर निगरानी गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्ट संयोजक श्रवणकुमार तिमल्सिनाले भने, “पालिकास्तरमै नागरिकको समूह परिचालन गर्दा लकडाउन प्रभावकारी हुने देखियो, सोहीअनुसार पालिका प्रमुखलाई अनुरोध गरिनेछ ।” यसअघि तेमाल र बेथानचोक गाउँपालिकाले अन्य स्थानबाट कुनै पनि सामग्री ल्याउन रोक लगाउँदै आफ्नो क्षेत्र प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गरिसकेकका छन् । स्थानीय प्रशासनले जिल्लाका नाकामा कडाइ गर्न थालेपछि बेथानचोक गाउँपालिकाले गाउँमा पाहुना आउन र बस्नसमेत बन्देज गर्ने निर्णय ग¥यो । साथै गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान नपाइने नियम पनि बनाएको छ । पाँचखाल नगरले भने सरकारले पहिलोपटक बन्दाबन्दीको समय थपेलगत्तै गत चैत तेस्रो सातादेखि नै एक वडाबाट अर्को वडा प्रवेशमा रोक लगाएको थियो । नगरप्रमुख महेश खरेलले कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम देखिएकाले सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि चैतदेखि नै वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । उनका अनुसार तरकारी, दूध, औषधि, तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले भने वडास्थित पसल र बासिन्दाको दैनिक निगरानी गरिरहेका छन् । मण्डनदेउपुर नगर र महाभारत गाउँपालिकाले भने हाल वडा प्रवेशमा रोक लगाइ पाँच जना भेला हुन रोक लगाएको छ । स्थानीय तहले अत्यावश्यक सामग्री खरिदका लागि भने आ–आफ्नो क्षेत्रका स्थानीय पसल खुलाउने समयावधि तोकेका छन् । रासस

नि: शुल्क घरघरमा औषधि

कास्की । पोखरा महानगरपालिका–२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पुर्याइएको हो । वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४ सय ३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो । वडा सदस्य भीमप्रसाद बाँस्तोलाले आगामी दिनमा पनि नियमित औषधि खानेमध्ये छुट बिरामीको तथ्याङ्क लिइ पुनः औषधि घरघरमा पु¥याउने बताए। रासस

तरकारी र दूध किसानलाई समय तालिका

काठमाडौं । भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ । जिल्लाका दूध र तरकारी बेच्न किसानलाई सामाजिक दूरी कायम गर्दै बिहान ६ देखि ८ बजेसम्मको समय तोकिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले सुरक्षा समितिको बैठक बसी सबै नाका सिल गरी संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने भए पनि तरकारी र दूध किसानका लागि र प्रयोगकर्ताका लागि सामाजिक दूरी कायम गर्दै बिहान दुई घण्टाको समय निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख सदरमुकाममा तरकारी र दूध नगरभित्रका किसानले ल्याउने हुँदा उहाँहरुको परिश्रम खेर जान नदिन र आम नागरिकलाई अत्आवश्यक पर्ने भएकाले समय तालिका निर्धारण गरी सहजता ल्याइएको जानकारी दिए । तरकारी किसानका लागि जिल्लाभरि नै सामाजिक दूरी कायम गरी बिक्री वितरण गर्न सकिने पनि परिपत्र स्थानीय सरकारमार्फत जानकारी गराइएको छ । किसानलाई उनीहरूले उत्पादन गरेको तरकारी र दूध बिक्री गर्ने वातावरण मिलाएको प्रति किसान खुशी भएका छन् । किसानको उत्पादित तरकारी र दूध बिक्री गर्न नपाएमा उनीहरूको परिश्रम खेर जाने र उनीहरूको दैनिकीमा पनि समस्या आउने हुँदा स्थानीय प्रशासनको यो निर्णयबाट निकै खुशी भएका हुन् । अखिल नेपाल किसान सङ्घ दैलेखका अध्यक्ष चन्द्रबहादुर थापाले स्थानीय प्रशासनले किसानको मर्म बुझेर यो निर्णय गर्दा निकै खुशी लागेको बताए । सदरमुकाम रहेको नारायण नगरपालिका मात्र दैनिक लाखौंको तरकारी र दूध उत्पादन हुने र किसानको कृषि वस्तुमा रोक लगाएको भए लाखौँको नोक्सानी हुने अनि सदरमुकामवासी ती वस्तुको अभावमा बस्नुपर्ने अवस्था हुने भएकाले किसान र सबैका लागि यो निर्णय उचित भएको थापाले बताए । उनले सदरमुकाम मात्र दैनिक सयौँ लिटर दूध खपत हुने र सयौँ किलो तरकारी आवश्यक पर्ने भएकाले उपभोक्ताले हाहाकार बस्नुपर्ने र किसान लाखौंको नोक्सानीबाट जोगिने पनि बताए । जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले एघार स्थानीय तह र ९० वडा रहेको दैलेखमा वार्षिक १५ करोड रुपैयाँको तरकारी र दूध उत्पादन हुने बताका हुन् । रासस

कोरोनाविरुद्ध लड्न बुद्धका उपदेशले उच्च मनोबल पैदा हुन्छ : प्रचण्ड

काठमाडौं । गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोना विरुद्ध लाडेर विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेका छन् । २५६४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली बौद्धमार्गीमा शुभकामना व्यक्त गर्दै दाहालले यो अवस्था बुद्धको उपदेशले उच्च मनोबलको विकास गरि कोरोनाविरुद्ध लाडेमा विजय प्राप्त गर्ने सकिने बताएका छन् । सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताए । बिहीबार शुभकामना बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले सबैलाई सचेत र आत्मबल बढाउन आग्रह गरेका छन् । बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सतयको तथ्यगत अन्वेषण गर्ने सुत्रहरु पहिल्याउनु भएको सबै नेपालीले गर्व गर्न पाएको नेकपा कार्यकारी अध्यक्ष दाहालले जानकारी दिए ।