विकासन्युज

रोजगारी गुमाउनेको संख्या सरकारलाई थाहा छैन, निजी क्षेत्र भन्छः भएकैलाई जागिर दिन गाह्रो छ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट उत्पन्न परिस्थितिले नेपाली अर्थतन्त्रमा के कस्तो असर पर्छ भन्नेमा सरकारी निकाय अझै अलमलमा छन् । विशेष गरेर कति स्वदेशभित्रका कति नेपालीले रोजगारी गुमाउँछन् र वैदेशिक रोजगारीमा रहेका कति नेपाली फर्कने हुन् भन्नेमा अधिकारीहरु नै अलमलमा परेको पाइएको छ । मानव संसाधन समाजले गरेको छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कति नेपाली बेरोजगार हुन्छन् भन्ने यकिन अझै नभएको बताए । विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण खाडी राष्ट्रमा कार्यरत धेरै नेपालीले रोजगारी गुमाउन सक्ने खतरा रहेको डा. भट्टको भनाइ छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगारीमा रहेका नेपाली फर्केको अवस्थामा थप रोजगारीको आवश्यकता पर्ने भन्दै निजी क्षेत्रले तत्काल थप रोजगारी सिर्जना गर्न नसक्ने अवस्था रहेको बताए । नेपालको निजी क्षेत्रले विगतमा राजनीतिक अस्थीरता, द्धन्द्ध, सीमा अवरोध, हड्ताल, १८ घण्टासम्म लोडसेडिङ जस्ता प्रतिकूल परिस्थितिको सामना गरेको भएपनि अहिलेको परिवेश भिन्न भएकोले थप रोजगारी सिर्जना गर्न कठिन हुने गोल्छाको भनाइ छ । डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक  एक शताब्दीपछि विश्वभर सबैभन्दा ठूलो संक्रमण फैलिएको छ । यसले संसारको अर्थतन्त्रलाई प्रभाव पार्दै गरेको बेलामा नेपाल पनि अछुतो रहन सक्दैन । नेपाल त झन विकासको बाटोतिर लाग्दै गरेको देश हो । नेपालमा कोरोना संक्रमणको कारण कतिले रोजगारी गुमाउने भन्ने विषयमा अझै यकिन भएको छैन । यसको असर कति हुन्छ भनेर यकिन गर्न यो भाइरस कति समयसम्म रहन्छ भन्नेमा भर पर्छ । यसको संक्रमणबाट पछिल्लो सयम करिब २० लाख मानिस प्रभावित भइसकेका छन् । असंगठित क्षेत्र मारमा परिरहेको बेलामा नेपालका कतिले रोजगारी गुमाउन्छन् भन्ने अझै अड्कल लगाउन सक्ने अवस्था छैन । पर्यटन क्षेत्रमा भने लामो समयसम्म प्रभाव पर्ने देखिन्छ । एउटा निकायले मात्र गरेर हुने कुरा छैन । यसको असरको कारण कस्तो अवस्था उत्पन्न हुन्छ भन्नेमा अन्योल नै छ । कोरोना एक अवसर पनि बनेर आएको छ । यसको प्रभावकै कारण डिजिटल प्रणालीको प्रयोग बढ्दो छ । आगामी दिनमा बाहिरबाट फर्किएका नेपालीलाई देशमा नै रोजगारी प्रदान गर्न कृषि तथा साना र मझौला व्यवसाय नै हो । यसले आन्तरिक उत्पादन पनि बढाउँछ । देश आफै आत्मनिर्भर हुनेतिर लाग्नु पर्ने देखिन्छ । विश्व बजारमा तेलको मूल्य २ दशक यताकै न्युन भएसँगै मध्यपूर्वी तथा खाडी मुलुकमा रहेका लाखौं नेपालीको रोजगारी गुम्ने सम्भावना छ । त्यसको प्रत्यक्ष प्रभाव रेमिट्यान्स पर्ने हुँदा विदेशबाट फर्किएर आउनेको सिप अनुसार काम तथा व्यवसायमुलक कार्यमा लागेर आयात घटाउनु पर्छ । उदाहरणका लागि वार्षिक कृषि सामाग्री ९० अर्ब रुपैयाँको, २४ अर्बको विद्युत खरिद्, खर्ब १६ अर्ब रुपैयाँको यातायातका लागि पेट्रोलियम पदार्थ भित्रिने गर्छन् । नेपाल राष्ट्र बैंकले पुनकर्जाको व्यवस्था गरेको छ । आगामी वर्षहरुमा कुल ग्राहस्थ उत्पादनमा कसरी बढाउने प्रयास पनि जारी रहने छ । कोरोनाले पारेको असरको सामना गर्दै अर्काे आर्थिक वर्षमा कसरी आत्मविश्वास बढाएर काम गर्ने भन्ने विषयमा ध्यान केन्द्रित भएको छ । विनोद केसी, सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ५/७ लाख मानिस विदेशबाट फर्किएर आउँदा सरकारले सिप, रोजगारी तथा व्यवसायका लागि प्रोत्साहन गरि अगाडी बढ्नुपर्छ । विशेष गरी कृषिलाई आधुनिकीकरण गरेर ठूलो संख्यामा यस क्षेत्रमा रोजगारी पैँदा गरी उत्पादन बढाउँनु पर्ने देखिन्छ । करिब ६० लाख नेपाली विदेशमा रहेका छन् । यसमध्ये ४३ लाख खाडी तथा पूर्वीमध्यका देशमा थिए । संसारभर नै कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपाल भित्रिने रेमिट्यान्समा प्रभाव पर्ने देखिन्छ । स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा क्वारेन्टाइनमा राख्ने तथा बाहिरबाट आएका व्यक्तिलाई कसरी कुन क्षेत्रमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन तथा अनुगमन भइरहेको छ । पूँजी, रोजगार र सहज पहुँचमा केन्द्रित भई काम गर्नु पर्नेछ । कसरी धेरैलाई रोजगारी प्रदान गर्ने सकिन्छ भन्ने विषयमा केन्द्रित भइ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुन तयारी गरी काम अगाडी बढ्नु पर्ने देखिन्छ । यो अवस्थामा विदेशमा जोखिममा रहेको व्याख्या गर्दै गर्दा कस्तो जोखिम हो भन्ने विषयमा अध्ययन गरी कसलाई छिटो ल्याउने भन्ने विषयमा ध्यान दिनुपर्छ । शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नेपालको निजी क्षेत्रले सामना गरेको कोभिड १९ नै पहिलो चुनौती भने होइन । नेपालको निजी क्षेत्रले विगतमा प्राकृतिक, राजनीतिक अवस्था र दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोरेको थियो । भूकम्पपछिको नाकाबन्दी जस्ता धेरै कुराको सामना गरेको अनुभव नेपाली निजी क्षेत्रसँग छ । विगतका दिनमा यी सारा चुनौतीलाई निजी क्षेत्रले विश्वास, बैंकिङ क्षेत्रको राम्रो सहयोग जस्ता कारणले नेपाली अर्थतन्त्र अगाडी बढ्न सक्यो । मध्यपूर्वमा पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै त्यहाँ रहेका नेपालीहरुको रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ । अब देशमा नै रोजगारी कसरी दिने भन्ने विषय सरकार तथा निजी क्षेत्रको कुरा भइरहेको छ । पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोग गर्दै ठाँउ अनुसार उत्पादन हुने कृषिजन्य सामाग्री लगाउन स्थानीयस्तरमा जोड दिनुपर्छ । हाल नेपालमा ५ लाख भारतीय नागरिकले काम गरिरहेका छन् भने ५० लाख नेपाली मध्यपूर्व तथा खाडी मुलुक एवं अन्य रोजगार गन्तव्य मुलुकको रोजगारीमा छन् । त्यस्तै नेपालमा निजी संघसंस्था (औपचारिक क्षेत्रमा) मा करिब १५ लाख नागरिकहरुले काम गरिरहेका थिए । कोरोनाको महामारीले पर्यटन, होटल व्यवसाय तथा उद्योगहरु बन्द भइरहेको र तत्काललाई कोरोना नियन्त्रण भएपछि पनि पर्यटन क्षेत्र तथा होटल व्यवसायीलाई पहिलाको अवस्थामा फर्किन गाह्रो हुने देखिन्छ । कृषिमा जोड दिई साना उत्पादन तथा व्यापारमा संलग्न गर्न सकिन्छ । कृषि क्षेत्रमा बढी जोड दिन किन पनि आवश्यक छ भने यो अवस्थामा उद्योगमा त्यति धेरै रोजगारी दिन सक्ने अवस्था भने छैन । यो अवस्थामा सरकार र निजी क्षेत्र तथा सम्बद्ध सवै पक्ष एकै ठाउमा उभिएर विभिन्न क्रियाकलापमा सही समयमा सही निर्णय गर्न नसके धेरै समस्या उत्पन्न हुने देखिन्छ । तरल व्यवस्थापन, श्रमिक, उर्जा र नीतिगत व्यवस्थापन पर्छ आवश्यक छ । तरल व्यवस्थापनः व्याजदरमा कमी आउनु पर्छ । पुनकर्जा २ प्लस २ व्याजदरमा मा हुनुपर्छ । धेरै उद्योगहरु कोभिड १९ को कारण बन्द भइरहेका छन् भने लाखौं श्रमिक बेरोजगार छन् । यस्तो बेलामा सबै पक्ष मिलेर गम्भीर पहलकदमी लिन आवश्यक छ । श्रमिक व्यवस्थापनः कोरोनाले नेपालीको आर्थिक अवस्थामा पारेको असरलाई ध्यानमा राख्दै मन्त्रिपरिषले श्रमिकको तलब ५० प्रतिशत दिनु भनेको छ । त्यस्तै कोरोनापछिका दिनमा स साना व्यवसाय संचालन गर्न तथा कृषि क्षेत्रलाई तिनै तहको सरकारले ध्यान दिनुपर्ने देखिएको छ । निजी कम्पनीले लामो समयदेखि नोक्सान बेहोर्दै आएको हुँदा पुरै तलब भुक्तानीमा गर्न सक्ने अवस्था छैन । लकडाउसँगै दैनिक ८ अर्बदेखि १० अर्ब रुपैयाँसम्म उद्योग क्षेत्रले घाटा बेहोदैँ आएको छ । सरकारसँग अड्किएर बसेका पैसा निजी क्षेत्रलाई दियो भने त्यसको व्यवस्थापन गरेर निजी क्षेत्रले राम्रो काम गर्ने थियो । बाहिरको कुरा त छदै छ, पहिला घरभित्रकै समस्याको समाधान गर्नु आवश्यक छ । अबका दिनमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो संख्यामा भित्रिने देखिएकोले केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्र, निर्माण आयोजना तथा उत्पादनमुलक क्षेत्रमा त्यस्तो जनशक्तिको प्रयोग गर्नु आवश्यक छ । यसका लागि साधन स्रोतको व्यवस्थापन पहिलो आवश्यकता हो । मोहदास मानन्धर, कार्यकारी अध्यक्ष, संगठन विकास केन्द्र  काेरोना संकटको आंकल अझै गर्न सकिएको छैन भने यसैको कारण हरेक दिन ८ अर्बसम्म नोक्सान भइरहेको छ । यो परिवेशमा जीवन रक्षा नै पहिलो आवश्यकता भएको हुँदा कसरी आफ्नो कार्य, व्यवसाय, उद्योगमा केन्द्रित हुने भन्ने अर्काे विषय छ । देशमा भएका सबै उद्योगधन्दाहरु बन्द हुँदै गर्दा बेरोजगारीको संख्या बढ्दै जाने र बजारमा बस्तुको अभाव नहोला भन्न सकिदैन । वैदेशिक रोजगारीबाट आएका नेपालीलाई कहाँ आवद्ध गराउने भन्ने विषयमा निजी तथा सरकारी क्षेत्रको दायित्व रहन्छ । कृषि तथा पूर्वाधार विकासलाई प्रदेश र स्थानीय सरकारले स्थानीय संरचना निर्माणका लागि केन्द्रीत गर्न सकिन्छ । अझै व्यवसाय तथा उद्योगभन्दा पुरानै शैलीमा चल्दै गर्दा अध्ययन र अनुसन्धानबाट नयाँ ढाँचामा परिवर्तन गर्नु पर्नेछ । क्षेत्रगत रुपमा कुन क्षेत्रमा के उत्पादन तथा कुन निर्माणका आयोजना कस्तो कुन क्षेत्रमा बनाउने भन्ने विषयमा तिनै तहको सरकारबीच छलफल हुनु जरुरी छ । पर्यटन, होटललगायतका व्यवसाय तत्काल सुचारु गर्न सक्ने अवस्था छैन् । देशमा नै लाखौं संख्यामा रोजगारी गुमिरहेको बेला विदेशबाट फर्किएका श्रमिकलाई रोजगारी दिने भन्ने कुरा आफैमा एक गम्भिर समस्या हो । गोकर्ण अवस्थी, आर्थिक विश्लेषक नेपालको अर्थतन्त्रमा कोरोना भाइरसले कस्तो असर पार्छ र कतिले रोजगारी गुमाउँछन् भन्ने विषयमा तत्काल आंकलन गर्न सकिदैन । मध्यपूर्वमा मे महिनाको अन्त्यसम्म कोरोना नियन्त्रण हुने सिंगापुरमा भएको एक अध्ययनले जनाएको छ । विदेशमा रहेका नेपाली आउन चाहेको खण्डमा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ । त्यसपछि स्थानीय सरकारको सहयोगमा क्षेत्र अनुसार के कस्तो उत्पादन तथा व्यवसाय गर्ने भन्ने कुरामा जोड दिनुपर्छ । सरकारले राखेको आर्थिक बृद्धिदरको ८.५ प्रतिशत लक्ष्य घट्ने भनेर प्रारम्भिक प्रक्षेपण गरियो । तर बजेटको मध्यावधिक मुल्यांकनमा त्यसको दर घटाएर करिब ६.५ प्रतिशतमा झारियो । सरकारले प्रक्षेपण गरेको संसोधित अनुमान अनुसारको लक्ष्य भेट्टाउन अर्थतन्त्रको आकार जुन हिसावले बढ्नुपर्ने हो, त्यो देखिएको छैन । खासगरी कोरोनाको प्रभाव उद्यमी, व्यवसायी तथा श्रमिकमा परेको छ । पछिल्लो समय नेपाल होटल संघले दशै तिहारपछि मात्र होटल खोल्ने घोषणा गरेका छन् । उद्यमी तथा व्यवसायीहरुले आफ्नो व्यवसाय तथा उद्योग संचालनका लागि ऋण लिएका हुन्छन् । यो अवस्थामा ऋण तिर्न सक्ने क्षमता घट्दा खराब कर्जा बढ्छ । यस्ता आर्थिक क्रियाकलापले सरकारको राजश्वमा त घट्ने नै भयो । आर्थिक वर्षको १० महिना आउँदा करिब साढे पाँच खर्ब राजश्व उठेको छ । जसले राज्यको साधारण खर्चको लागि पनि पुग्ने अवस्था छैन । सरकारले ४ लाख ८० हजारलाई रोजगारी दिएको हो । निजी क्षेत्रको सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । गाँउमा रहेका सहकारी व्यवस्थापन गर्न स्थानीय सरकारको मातहतमा काम गर्दा विचौलीया हटाउन सक्नेछ । सुदुरपश्चिममा ७ लाख मानिस भारतमा काम गर्छन् । हाल २ लाख जति नेपाल आईसकेका छन् । त्यस्तै अन्य क्षेत्रको अवस्था पनि यस्तो नै रहेको हुँदा कसरी व्यवस्थापनगर्न सकिन्छ भन्नेमा सबै तहको सरकारबीच समन्वय हुन पर्ने देखिन्छ । करिव ६० लाख नेपाली विदेशमा रहेका छन् भने श्रममन्त्रालयको तथ्यांक अनुसार करिब ४३ लाख नेपालीहरु रोजगारीकै लागि खाडी तथा मध्यपूर्वका देशमा रहेका छन् । उनीहरुको अवस्था के छ ? आगामी दिनमा नेपाल आउन चाहने श्रमिकलाई कसरी रोजगारीको व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार र निजी क्षेत्रबीच छलफल भई कार्ययोजना बनाउँनु जरुरी छ ।

कविताः ढुंगा र ईश्वर

भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट …. भनिदिए मन्दिर बनाइदिए मस्जिद बनाइदिए चर्च बनाइदिए गुम्बा बनाइदिए कहिले परेवा उढाउन लगाए कहिले बोका काट्न लगाए अगरबत्ति, धुप…अक्षता… आशाहरु बेच्दै मेरो सम्मुख मेरै फोटो बेचिदिए आउन नभ्याउलान् भनेर चौबिसै घन्टा मन्दिरका ढोकाहरु खुल्लै राखे कहिल्लै ताला लगाएनन् मस्जिदमा बरु उल्टै प्रसाद सित्तै बाँडे बाइबल बाँडे कुरान बाँडे गिता बाँडे त्रिपिटक बाँडे तर खै के पढे कुन्नि ? पढ्नेहरु लडे बरु पुस्तक एक आपसमा कहिल्यै लडेनन् म कहिल्यै बोलिन उनिहरु मात्र बोलिरहे म त शान्त शालिन बुद्ध बनिरहेँ स्थिर ढुंगा बनिरहेँ कहिले विश्वासमा ठड्याए कहिले अविश्वासमा भत्काए तरपनि फगत् दिनहुँ खोल्सा दोभान भिर पाखा ऐलानी जग्गाहरुको ढुंगा छुँदै अहिले पनि मानिस खै किन हो मलाई ईश्वर मानेर कसम खान्छन् र आफ्नो निजी व्यवहार मिलाउँछन् ।                                                                                                                                  बिराटनगर–५                                                                                                                          हाल मेन्छयायेम्, तेह्रथुम

सांसद गगन थापाले उपत्यकाको यातायात तथा पूर्वाधार विकासका लागि दिए चार सुझाव

काठमाडौं । सांसद गगन थापाले उपत्यकाको यातायात र पूर्वाधार निर्माणको अवस्थाको बारेमा सरकारले एकीकृत गुरुयोजना तयार बनाई कार्य गर्न आग्रह गरेका छन् ।  आगामी आर्थिक वर्षमा सरकारले काठमाडौं उपत्यका यातायात गुरुयोजना निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्न समेत ध्यानकेन्द्रित गर्दै सरकारले उपत्यका यातायात, पूर्वाधार विकासका लागि चार कुरामा ध्यान दिनु सुझाव दिए । सांसद थापाले भने – ‘हाल भइरहेको कामको अध्ययन तथा पुनरावलोकन गरि काठमाडौं उपत्यकाका यातायात ‘पूर्वाधार प्रणालीको एकीकृत गुरुयोजना’ बनाउनु पर्छ ।  उक्त गुरुयोजनामा आधारित भएर जुन तहको जुन निकायको कार्य क्षेत्रभित्र जे पर्छ, तोकिएको समयभित्र तत् त्त निकायले त्यो काम सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिनु पर्छ । सडक निर्माण कार्य गर्दा गराउँदा विशेष योग्यता परीक्षण, निर्माण समयलाई समेत लागतमा परिवर्तन गरी सम्पूर्ण ‘निर्माण लागतमा समाहित गर्न’ आवश्यक रहेको छ ।’ फुटपाथ समेत नराखी बनाएको छ भने नयाँ सडकमा पैदल यात्रीको लागि माटो छैन । यसकारण पैदल यात्री सडकमा हिड्नु पर्ने बाध्यतासँगै दुर्घटनाको जोखिम बढेको हुँदा ‘फुटपाथ विस्तार आयोजना’, धेरै पुराना सवारी साधन सडकमा गुड्ने हुँदा आउने दिनमा ‘सवारी साधनको प्रदूषण जाँच गर्न पर्ने भन्दै निजी क्षेत्रसँग सरकारले साझेदारी गर्न पर्ने बताए । संघिय तहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय तथा उर्जा, जलस्रोत मन्त्रालय र अन्त्यमा खानेपानी तथा सरसफाइ मन्त्रालयले नै काम गरिरहेको भन्दै उपत्यकाभित्रका १३ स्थानिय तहहरुको कार्यक्षेत्रभित्र पनि सडक पूर्वाधार पर्ने जनाए ।

दशगजा क्षेत्रमै खानाबस्ने व्यवस्था

चन्द्रौटा । भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि उनीहरुलाई दशगजा क्षेत्रमै खाना र बस्नको व्यवस्था गरिएको हो । कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले सीमामा अलपत्र नागरिकका समस्या पहिचान गरी दशगजा क्षेत्रमा पुगेर नगर क्षेत्रभित्रका सीमामा रहेका नेपालीलाई खाना र पालको व्यवस्था गरिएको बताए । त्यस्तै सीमामा पर्ने महाराजगञ्ज नगरपालिकाले पनि सीमामा रहेका नागरिकलाई खाना र बस्नको व्यवस्था गरेको नगरप्रमुख अब्दुल कलामले जानकारी दिए । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका नेपाली कोराना भाइरसको संक्रमणको जोखिम बढेपछि नेपाल प्रवेश गर्न थालेका हुन् । भारतले नेपाल पठाउने र नेपालले प्रवेश गर्न नदिँदा उनीहरु सीमा क्षेत्रमै त्रिपाल टाँगेर बस्न बाध्य छन् । जिल्लाका कृष्णनगर, भिल्मीमा चाकरचौडामा हरदौनामा र मर्दादपुरमा गरी ३०७ नेपाली नागरिक सीमा क्षेत्रमा रहेको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए । पछिल्लो समयमा भारतीय प्रहरी तथा सीमा सुरक्षा बलले भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण लुकिछिपी आउनेको संख्या बढेको छ । आफूहरुलाई भारतीय प्रहरीले नै नेपाल जान भनी पठाएको मायादेवी गाउँपालिकाका बुद्धिराम रैदासले भने । दशगजा क्षेत्रसम्म आएका नागरिकका विषयमा भारतीय प्रहरीसँग छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । रासस

प्रजातान्त्रिक महामारी र सेतो कम्व्याटका सिपाही

दिसेम्बर १७,  २०१९ का दिन चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मानिसमा देखिएको भाइरसलाई वैज्ञानिकहरुले कोरोना भाइरस कोभिड १९ नाम दिएका हुन । कोरोना भाइरसले मानिसमा १००.४ डिग्री भन्दा बढी ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, स्वास फेर्न कठिन हुने र फोक्सोमा असर गरि निमोनिया भएर मृत्यु हुने जस्ता लक्षणसहित छोटो समयमानै चीनको वुहानमा ८० हजार भन्दा बढि मानिस संक्रमित भए र ३२०० भन्दा बढीको मृत्यु भए संगै यो भाइरस दक्षिण कोरिया, जापान हुदै अमेरिका र युरोपका देशसहित आजका दिनसम्म आइपुग्दा विश्वका २१० देश र २ ठूला पानी जहाजमा समेत फैलिसकेको छ । एकै पटक विश्वका धेरै मुलुकमा तिब्र रुपमा फैलिरहेको यस भाइरसलाई ११ मार्च २०१९ मा विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरे संगै विश्वका सम्पूर्ण विज्ञान प्रविधि र औषधी विज्ञानले हरेक प्रयास गर्दा समेत यसको नियन्त्रण हुन सकेको छैन । चीन, दक्षिण कोरिया लगायत केही देशहरुले शुरुको चरणमै निर्ममता पूर्वक बन्दाबन्दी र अन्य उपायहरु अपनाएर नियन्त्रण पाउन सकेपनि विश्व शक्ति अमेरिका र अत्यन्तै राम्रो स्वास्थ क्षेत्र भएका युरोपियन देशहरु इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता देशहरु आज कोरोना भाइरसले सबैभन्दा बढी संक्रमित हुन पुगेका छन। याे लेख तयार गर्दासम्म विश्वमा कोरोनाबाट २२ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन भने १ लाख ५४ हजार मानिसको कोरोनाका कारण मृत्यु भइसकेका छन भने करिब ५ लाख मानिसहरु निको भएको अवस्था छ । अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ । इटाली, स्पेन, फ्रन्स, जर्मनी र वेलायतमा संक्रमितको संख्या उच्चदरमा वृद्धि भएकाे छ । एशियाका देशहरु पनि यस महामारीबाट मुक्त छैनन् । एशियाका प्राय सबै देशहरु यस महामारीको चपेटामा परिसकेका छन । इरान, जापान, पाकिस्तान, भारत जस्ता धेरै जनसंख्या भएका देशहरु बढी प्रभावित भएका छन । । संक्रमित र मृतकको संख्या दिन दुइ गुणा र रात चार गुणाका दरले वृद्धि भइरहेको सन्दर्भमा कहा पुगेर रोकिने हो कुनै निश्चितता रहेको छैन । कोरोनाबाट मृत्यु हुने दर करिव ५ प्रतिशत रहेता पनि यसको संक्रमण फैलिने दर र गति अत्यन्त तिब्र रहेको छ । खास गरेर रोग प्रतिरोध क्षमता कम भएका वृद्ध र अन्य दीर्घ रोगका पीडित व्यक्तिहरुलाई कोरोनाले बढी ग्रस्त बनाउने र मृत्यु हुने गरेको छ । आज विश्व त्रस्त भएर मानव अस्थित्वको लागि कोरोना विरुद्धको खोप र औषधी निर्माणमा रात दिन नभनी लागिरहेको अवस्था छ तर पनि दुर्भाग्यबस सफलता हात लागेको छैन। रोकथाम तथा बच्ने उपाएहरु लेखक कोरोन भाइरसले विश्वका सबै कुनासम्म यात्रा गरिरहेको अवस्थामा यसको कुनै पनि औषधी र खोप समेत नभएको अवस्थामा यसको संक्रमणबाट बच्नुनै अहिलेको बुद्धिमानी हो । नयाँ प्रजातीको भाइरस भएकाले यसको बारेमा वैज्ञानिकहरु समेत अन्योलमा रहेका छन । दैनिक नयाँ नयाँ तथ्यहरु पत्ता लागिरहेको अवस्थामा विश्व भरिका मानिसको विश्वास र आशाको केन्द्र विश्व स्वास्थ संगठन नै बन्न पुगेको छ । आज हामिले विश्व स्वास्थ संगठनले दिएका सल्लाह र पूर्व सावधानिका उपाएहरु अपनाउनु नै एकमात्र बुद्धिमानी हो । विश्व स्वास्थ संगठनका अनुसार संक्रमित व्यक्तिले खोक्दा निस्किने थुकका छिटाहरुबाट, विभिन्न धातु प्लाष्टिक तथा कागजहरुमा रहेका भइरस विभिन्न माध्यमबाट स्वस्थ मानिसको हातबाट मुख नाक वा आँखामा पुग्दा, संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउँदा कोरोन सर्ने जाेखिम बढी हुन्छ । यसरी कोरोना भाइरस सर्ने माध्यम भनेको संक्रमित व्यक्ति नै हो । तसर्थ हामी यस प्राणघातक भाइरसबाट बच्न संक्रमितको सम्पर्कमा नआउनु नै हो । विश्व स्वास्थ संगठनले कोरोनाबाट बच्नको लागि अपनाउनु पर्ने पूर्व सावधानीका लागि विभिन्न सल्लाह र सुझावहरु दिएको छ र विभिन्न देशहरुले समेत आ आफ्ना नागरिक हरुलाई शुरक्षित बनाउन जनचेतना फैलाउने उद्देश्यले सल्लाह र सुझाब हरु दिइरहेका छन । संक्रमण हुनबाट बच्न स्वस्थ व्यक्तिले सामाजिक दूरी निर्ममता पूर्वक कायम गर्ने, कुनै पनि कारणले अनावश्यक व्यक्तिको नजिकमा नजाने, बाहिर हिडडुल गर्दा मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात मिचि मिचि कम्तिमा २० सेकेण्ड समय लगाएर धुने काम गर्नुपर्छ । कोरोना भाइरस चिल्लो पदार्थले छोपिएर रहने हुँदा साबुनले बोसो पगाल्ने हुँदा साबुन पनिले हात धुदा कोरोना नष्ट हुन्छ । कसैसंँग भेट हुँदा हात मिलाउने वा अंकमाल गर्ने काम नगर्ने अभिवादन गर्दा नमस्तेको प्रयोग गर्ने, विना आपतकाल घरबाट बाहीर ननिस्कने, पटक पटक हातलाई आँखा नाक तथा मुखमा लैजाने कार्य नगर्ने, चिसो पदार्थ सेवन नगर्ने र तातो पानी निरन्तर पिउने, भिटामिन सि युक्त पदार्थको सेवन गर्ने, आन्तरिक रोग प्रतिरोधात्मक क्षमताको विकासमा सहयाेग पुग्ने गरी शारिरीक व्यायाम गर्ने, सन्तुलित खाना खाने, आत्मवल बलियो बनाउने, कोरोनाको बारेमा विभिन्न माध्यममा आउने अवफाहको विश्वास नगर्ने, विभिन्न बस्तु छोएपछि वा काम गरे पछि ६५ प्रतिशत अल्कोहल सहितको सेनिटाइजर प्रयोग गरी हात सफा गर्ने,  कोरोना महामारीको बारेमा आफूले जानेका कुराहरु परिवार तथा समाजका अन्य व्यक्तिहरुमा समेत फैलाउने,  आफ्नो छिमेकमा कोरोना महामारी नियन्त्रण प्रतिकुल गतिविधि भए गरेमा शुरक्षा निकायमा जानकारी गराउने कार्यले संक्रमणबाट बच्च सकिन्छ । संक्रमित वा सम्भावित संक्रमित व्यक्तिले पनि के गर्न हुने, के गर्न नहुने भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकाे छ । आफूलाई कोरोनाको संका लागेमा तुरुन्तै अन्य व्यक्तिबाट टाढा रहने, सेल्फ क्वारेन्टायिनमा बस्ने र अरुलाई संभावित कोरोन संक्रमणबाट बचाउने, कोरोनाका लक्षणहरु उच्च ज्वरो, खोकी, टाउको दुखाइ र स्वास फेर्न असजिलो भएमा तुरुन्त स्वास्थ संस्था जाने,  स्वास्थकर्मीले सोधेका आफ्नो ट्राभल हिष्ट्री स्वास्थकर्मीलाइ बताउने, आत्मबल उच्च बनाएर स्वास्थ संस्थामा उपचार गराउने, आफूले प्रयोग गर्ने व्यक्तिगत सामाग्रीहरु अलग्गै बनाएर प्रयोगमा ल्याउने गर्नुपर्छ । विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य दुइ हप्ता क्वारेन्टाइनमा बस्नु पर्नेछ । विभिन्न देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने पूर्व सावधानिका लागि विश्व स्वस्थ संगठनले विभिन्न सुझाव दिएकाे छ । त्यसमा कोरोना भाइरसलाई कुनै जाती वर्ग, धर्म वा रंगसँग नजोडी मानवता विरुद्धको महामारीको रुपमा ग्रहण गरी नियन्त्रणमा इमान्दार प्रयास गर्ने, देशमा मानिसको आवत जावतलाई नियन्त्रण गर्न लक डाउन वा कर्फयुको व्यवस्था गर्ने,  विदेशबाट आएका नागरिकलाई अनिवार्य एकान्त बासको व्यवस्था गर्ने, कोरोना विरुद्धको युद्धका सिपाइहरु स्वास्थकर्मीहरुको मनोवल उच्च राख्ने र शुरक्षाको व्यवस्था गर्ने, अन्तराष्ट्रिय सीमाको पूर्णरुपमा सिल गरेर आवतजावतलाई बन्द गर्ने, मानिसको सामुहिक उपस्थिति हुने गतिविधि र कार्यमाथि निषेध गर्ने, कोरोन परिक्षणका दुई विधि पिसिआर र आरडिटि विधिबाट बढी भन्दा बढी मानिसको परिक्षण गर्ने, संक्रमितसंँग सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिङ्क गर्ने लगायत छन् । कोरोना माहामारीले विश्वमा पारेको असर विगतका महामारी भन्दा यो भाइरस बढी लोकतान्त्रिक देखिएको छ । सामान्यतया यस अघिका महामारीहरुले अल्प विकसित र गरिब मुलुका जनताहरु बढी प्रभावित हुने गरेकोमा यस पटक विश्वकै धनी र सभ्य मानिएका सुबिधा सम्पन्न अमेरिका र युरोपका देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन । विश्व युद्ध भन्दा भयावह युद्धमा सेतो कम्व्याट लगाएका चिकित्सकले आफ्नो ज्यानको बाजी मारेर लडाइ लडिरहेका छन । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस आज विश्वको हरेक कुनामा पुगेको छ । विगतका महामारी भन्दा यो भाइरस बढी लोकतान्त्रिक देखिएको छ । सामान्यतया यस अघिका महामारीहरुले अल्प विकसित र गरिब मुलुका जनताहरु बढी प्रभावित हुने गरेकोमा यस पटक विश्वकै धनी र सभ्य मानिएका सुबिधा सम्पन्न अमेरिका र युरोपका देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन । विश्वनै आज महिनौदेखि अनिश्चतकालीन बन्दमा छ । विश्वका जनता सायद मानव इतिहासमा पहिलो पटक घरभित्र सीमित भइरहेका छन । बजार, उद्याेग, यातायात र मनोरञ्नजनका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । मानिसहरु मानिससँग डराउनुपर्ने अवस्था छ । विश्वमा स्थल जल र हवाइ क्षेत्रमा समेत एकलौटी राज गरिरहेका सर्वशक्तिमान राष्ट्रहरु दैनिक हजारौँको संख्यामा आफ्ना नागरिकको जीवन गुमेको निरिह बनेर हेरिरहेका छन । विश्व युद्ध भन्दा भयावह युद्धमा सेतो कम्व्याट लगाएका चिकित्सकले आफ्नो ज्यानको बाजी मारेर लडाइ लडिरहेका छन । विश्वका सबैजसो मुलुक एकै पटक संक्रमणमा आउदा अति आवस्यक सामाग्री र औषधीको अभाव तिव्र बनेको छ । यस महामारिले गरिव देशका झोपड पट्टी देखि बेलायती राजकुमार, प्रधानमन्त्री, विभिन्न देशका शासकहरु र कलाकार अर्वपतीहरु समेत संक्रमित रहेका छन । विश्वका सम्पुर्ण क्षेत्रहरु यस महामारीका कारण प्रभावित भएका छन । विज्ञान, पैसा र प्रविधिले हारमानेको अवस्था रहेको छ । जसका नाममा मानिसहरु मर्न र मार्न तयार भएर धार्मिक युद्ध लडिरहेका हुन्थे आज भगवानले समेत मन्दिर, मस्जिद, र चर्चहरुको ढोका बन्द गरेको अवस्था छ । साच्चिकै कोरोना महामारीले विश्वमा वर्गविहिनताको अवस्था सृजना गरेको छ । आज सम्पन्न होस वा विपन्न, कालामानिस होउन वा गोरा, शिक्षीत वा अशिक्षीत, सहारीया वा गाँउले सबै समान रुपमा यसको निर्दयी प्रहार सहन बाध्य छन । मानव सभ्यतानै आफ्नै अस्थित्वको अनिश्चित कालो सुरुङ भित्र पसेको छ । विस्व स्तभ्द, चिन्तित हुँदै कोरोना विरुद्धको खोप वा औषधिको आविष्कारको सुखद खबरको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ । नेपालमा कोरोना महामारी विश्व मानचित्रमा एउटा सानो अल्पविकसित गरिब मुलुक नेपालमा समेत कोरोना महामारीको चपेटामा परी सकेको छ । अरू देशकाे तुलनामा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या थोरै नै छ । नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारत सँगको खुला सीमाना रहेकोले भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा पनि उच्च जोखिम छ । नेपालको कमजोर स्वास्थ क्षेत्र, कम सचेत समाज र अव्यवस्थित प्रशासनिक संयन्त्रले गर्दा समेत नेपालमा संक्रमण बढेमा त्यसको क्षति अकल्पनिय हुने जाेखिम छ । संक्रमणलाई नियन्त्रण गर्न सरकारले बन्दाबन्दिको घोषणा गरी विगत करिव एक महिनादखि सम्पूर्ण देश ठप्प छ । नेपालका विभिन्न ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा मजदुरी गर्ने मानिसहरु सबै भन्दा ठूलो समस्यामा परेका छन् । कोठाभित्र काम विहिन तरिकाले बन्दि जिवन विताउन भन्दा हप्तौ लामो बाटोमा पैदल यात्रामा निस्केका छन । नेपालबाट रोजगारीको लागि भारत गएका १५-२० लाख मानिसहरु नेपाल फर्कन आतुर छन । केहि मानिसहरु स्वदेश फर्कने शिलशिलामा सीमामा भारत सरकारद्धारा व्यवस्थापन गरिएका क्वरेन्टाइनमा बसेका छन भने केही नेपालको सीमा भित्र बसेका छन । लाखौको संख्यामा खाडी मुलुकमा रहेका नेपालीहरु धमाधम बेरोजगार बनिरहेका छन । शिक्षा र कामको शिलशिलामा अमेरिका यूरोप र अष्ट्रेलियामा रहेका ठूलो संख्याका नेपालीहरु कोरोना महामारीको संत्रासमा बाँचिरहेका छन । विदेशमा रहेका नेपाली मध्य केहिले कोरोना सांक्रमणका कारण ज्यान समेत गुमाइसकेका छन । नेपालको भारत सँगको सीमाना खुल्ला हुँदा र धेरै नेपाली भारतमा काम गरिरहेको अवस्थाले भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै यसले नेपालमा जोखिम सिर्जना गरिरहेको छ । यस महामारीको संक्रमण समुदायमा फैलिएमा नेपलमा उपचार गर्न यहाँको स्वास्थ संरचना र जनशक्तिले कठिन छ तसर्थ विश्व स्वास्थ संगठन र नेपाल सरकारले जारी गरेका सुझावको पालना गर्दै पूर्व सावधानी अपनाउनु नै नेपाल र नेपालीको लागी सबैभन्दा बुद्धिमानी हुनेछ । कोरोना माहामारीले विश्वमा पर्ने असर कोरोना माहामारी विश्व भरी फैलिरको छ । सम्पन्न देशहरु समेत निरिह बनेर जनताको मृत्युको मौन साक्षी बनिरहेका छन । दैनिक हजारौँका दरले मानिसहरु मरिरहेकाछन । यसको समाधान र नियन्त्रणको कुनै निश्चितता छैन तर विश्वमा यस महामारीले पार्ने असरको बारेमा सोच्दा समेत कहाली लाग्दो अवश्था रहेको छ । कोरोनाको महामारीका कारण विश्वनै महिनौ देखि बन्द रहेको अवस्थामा अब विश्वमा दोस्रो विश्वयुद्ध पछिको जस्तै आर्थिक मन्दि आउने सम्भावनाको आकलन विश्व बैङ्क, संयुक्त राष्ट्रसंघले गरिरहेका छन् । विकसित देशहरुमा रोजगारीका अवसर गुम्ने छन । विश्वमा व्यापार गरिरहेका औद्याेगिक देशहरुको बजार गुम्ने छ । बैङ्कहरु आर्थिक संकटमा पर्ने छन् । विभिन्न दातृराष्ट्रहरुले विकासशिल गरिब देशहरुलाई गर्ने सहयोग कम हुनेछ । विश्वमा बेरोजगारी र गरिबी बढ्ने छ । शक्ति सन्तुलनमा परिवर्तन वर्तमानमा विश्व शक्ति बनेर एकछत्र राज गरिरहेको अमेरिका र आफूलाई तिब्र आर्थिक विकासको गतिमा अगाडी बढाउदै गरेको चीनबीच विश्व शक्तिका लागि प्रतिष्प्रधा चलिरहेको थियो । चीनले तत्कालका लागि कोरोना माहामारीमा नियन्त्रण पाउन सफल भएर आज विश्वलाई स्वास्थ सामाग्रीहरुको व्यापार गरिरहेको छ भने अमेरिकामा देनिक दुई हजार मानिस भाइरससका कारण मृत्यु भइरहेका छन । चीनले कोरोना नियन्त्रणको लागि चालेको कठोर नीति र नमूनाको आज विश्वमा प्रशंसा भइरहेको छ । कोरोना पछिको विश्वमा विश्व शक्ति र अर्थतन्त्रमा अमेरिकाको नियन्त्रण गुम्न सक्ने आकलन भइरहेको छ । विश्व अर्थतन्त्रको केन्द्र इतिहासमा पहिलो पटक एशियामा सर्ने सम्भावना देखिन्छ । चीनले आफूलाई कोरोनाबाट शुरक्षित राख्न सक्यो भने आफूलाई विश्व शक्ति सम्पन्न राष्ट्र बन्ने छ । कोरोना महामारिले विश्वमा सार्वजनिक विकासको सन्दर्भमा सरकारको सोँच बदल्न बाध्य हुनेछन । अहिलेसम्म महत्व कम पाएको स्वास्थ क्षेत्रलाई अबका दिनहरुमा स्वास्थलाई महत्व दिने क्रम शुरु हुनेछ । आर्थिक रुपमा कमजोर वर्गको स्वस्थ लाई समेत महत्व दिनको लागि स्वास्थमा लगानी वृद्धि हुनेछ । विकसित देशहरुले समेत शस्त्र अस्त्र हातहतियारलाइ छोडेर अस्पतालहरु स्वास्थ क्षेत्रमा आर्थिक लागानी बढाउने छन । नेपालमा कोरोनाको प्रभाव नेपाल जस्तो बैदेशिक सहयोग र विप्रेषणमा भरपरेको अर्थतन्त्र भएको देशमा विश्वमा पर्ने असरले प्रत्यक्ष असर गर्दछ । नेपालमा कोरोनाको असरलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । लाखौँको संख्यामा बैदेशिक रोजगारीमा रहेका मानिसहरुले कोरोनाको कारण बेरोजगार हुँदा अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको रेमिटान्स आउन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने छ । स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको योजना बनाउने क्रम शुरु हुने छ । विश्व भरी विभिन्न देशहरुमा रहेका नेपाली युवाहरु स्वदेश फर्किने छन र रोजगारीको समस्या सृजना हुनेछ । भविष्यमा बैदेशिक रोजगारी र अध्ययन तथा बसाइका लागि बिदेश जान लालयित हुने प्रवृतिमा समेत कमी आउने देखिन्छ । नेपालमा ठूला विकासका योजना सम्पन्न आवस्यक पर्ने ठूलो मात्रामा बजेटको अभाव हुन सक्दछ । कोरोना पछीको नेपालमा गरिवी बढ्ने छ । सरकारलाई अनावश्यक खर्च कटौती गरेरै भए पनि देशको अर्थतन्त्र चलायमान गर्नुपर्ने बाध्यता रहने छ । कोरोना माहामारीबाट विश्वले सिकेका महत्वपूर्ण पाठहरु अचानक विश्वमा आइपरेको अकल्पनिय माहामारीले विश्व समूदायलाई धेरै पक्षहरुमा राम्रो सबक सिकाएको छ । भौतिक विकासले प्राकृतिक रुपमा आइपर्ने समस्याहरुसँग सामना गर्न नसक्ने कुरा यो सानो अदृश्य भाइरससँग विश्वले विकास गरेको विज्ञान प्रविधि र विकास निरह बनेर प्रमाणीत गरिसकेको छ । एटोमिक हतियारको विकास गरेर सर्व शक्तिमान हुन नसकिने तथ्य अमेरिका जस्तो विश्व शक्ति सम्पन्न राष्ट्रले दैनिक हजारौँका दरले आफ्ना नागरिकको मृत्युलाई निरिह बनेर हेर्नु पर्ने वाध्यताले महशुस गराएको छ । यो भूमण्डलीकरणको युगमा कुनै पनि देश जतिसुकै विकसित र शक्तिशाली भए पनि एक्लै शुरक्षित रहन सक्दैन । आफ्नो शुरक्षाको लागि आफ्ना वरपर भएका विपन्न र कमजोर देशहरु समेत शुरक्षित रहनु पर्दछ भन्ने गतिलो शिक्षा यस कोरोना माहामारीले विश्वलाई सिकायो । मिसाइल प्रतिरोधी क्षमता विकास गरेर आफ्नो देशको खुविया संयन्त्रमा असीमित बजेट लगानी गर्ने धनी देशहरुले समेत कोरोना भाइरसको सामू हरेस खाएबाट विश्वलाई शुरक्षित बनाउन सामुहिक प्रयास बाटमात्र सम्भव छ भन्ने पाठ विश्वले सिकेको एउटा गतिलो पाठ हो । सांस्कृति र सभ्यतालाई बुझ्ने बुझाइमा परिवर्तन यो कोरोना माहामारीले ल्याएको सकारात्मक परिवर्तन हो । आजसम्म पश्चिमा समाजलाई सभ्यताको पर्याय मानिन्थ्यो र उनीहरुले गर्ने गतिविधिहरु सभ्य कहलिन्थे । युरोपियन र अमेरिकीहरुले आफूलाई शिक्षित र सभ्य अनि हामीहरुलाई अशिक्षित र असभ्य भनेर टिका टिप्पणी हुने गरेकोमा अहिले कोरोना माहामारीको विश्वव्यापी प्रकोपपछि यसबाट बच्न अपनाउन पर्ने कतिपय आनि बानिहरु हाम्रो संस्कारका अभिन्न पक्षको रुपमा परम्परा देखिनै चलिआएका चलनहरु हुन् । हामीले गर्ने नमस्कार, हातले खाना खाने बानि जसले हामिलाइ पटक पटक हात धुन बानि पारिरहेको हुन्छ । आहार विहारका कुराहरुमा हामिहरु पहिले देखिनै वैज्ञानिक थियौँ भन्ने तथ्य अहिले प्रमाणित भएको छ । विभिन्न धर्मका अन्ध विश्वासी जमातलाई यस महामारीले गतिलो पाठ सिकाएको छ । जुन भगवानको नाममा हजारौँ निर्दोस मानिसलाई मार्न र आफू मर्न तयार हुने धर्मका ठेकेदारहरु यो संकटमा मन्दिर, मस्जिद र चर्चको ढोका बन्द गरेर आफ्नो ज्यान बचाउन लाग्दा समेत विश्वमा कयौँ धर्म गुरुहरुको कोरोनका कारण मृत्यु भइसकेको छ । आफ्ना लाखौँ अनुयायीहरु कोरोनाका कारण मृत्यु हुँदा बचाउन नसक्ने भगवानका नाममा विभिन्न युद्धलडी आफ्नो अमूल्या ज्यान फाल्नु अघि सोच्न बाध्य हुनेछन । प्राकृतिक सन्तुलनको सिद्धान्तको बोध अहिले विश्व समुदायले गरेको छ । पृथ्वीको भार क्षमता हुन्छ र हामीले गर्ने विकासका क्रियाकलापहरु पृथ्वीको भार क्षमतालाई मध्यनजर गरेर सोही अनुसार गर्नुपर्दछ भन्ने पाठ यस महामारीले विश्व समुदायलाई सिकाएको छ । अठारौँ शताब्दीका विद्धान माल्थसले आफ्नो जनसंख्या सिद्धान्तमा उल्लेख गरेको कुरालाई कोरोना माहामारीले जनमाजसमा प्रमाण सहित पुनर्ताजगी बनाइदिएको छ । विश्वमा जनसंख्या वृद्धि र उत्पादन वृद्धिमा सन्तुलन कायम हुनु पर्दछ । यो सन्तुलन गर्ने कार्य मानिसले आफै गर्नु पर्दछ । जनसंख्या वृद्धि दरको नियन्त्रण नै एकमात्र उपाय हो । यदि मानिसले जनसंख्या नियन्त्रण नगरेमा प्रकृतिले नै नियन्त्रण गर्न बाध्य हुँन्छ जुन पीडादायी र भयानक हुन्छ । अहिलेको विषम अवस्था प्रकृतिले नै जनसंख्या नियन्त्रण गरेको अवस्था हो । अव विश्वले जनसंख्या नियन्त्रण र पर्यावरण संरक्षणमा चासो पूर्वक लगानी बढाउन पर्दछ । आपसी सहयोग र सहकार्य प्रभावकारी उपाय । यस माहामारीले विश्वलाई कुनै पनि भयावह अवस्थाको सामना गर्नको लागि पैसा, हतियार र शक्ति होइन आपसी सहयोग र सहकार्यको आवस्यकता रहेको तथ्य विश्वले महासुस गरिरहेको छ । आज चीन स्वास्थ सामाग्री र जनशक्ति लिएर युरोप पुगिरहेको छ । यस विषम परिस्थितिको सामना सामूहिक प्रयासमा मात्र गर्न सकिन्छ । विश्वलाई व्यापार र शक्तिको होड र प्रतिष्पर्धा मात्र होइन मानवताको शुरक्षाका लागि सहकार्य र सहिष्णुताको आवश्यकता महसुश गर्ने छ । नेपालका सम्भावना र अवसर आज विश्व कोरोनाको माहामारीमा रुमल्लिरहेको अवश्थामा समेत विश्व कोरोना पछिका अवश्थाको बारेमा सोच विचार र छलफल समेत चलाइ रहेका छन । आशा गराैं, विश्व कोरोनाबाट मुक्ति पाउने नै छ । यसले विश्वलाई सयौँ वर्षपछि धकेल्ने र आर्थिक विकास दर न्यून र शून्य प्राय रहने प्रक्षेपण भइरहेको सन्दर्भमा नेपाल पनि यसको प्रभावबाट अलग हुन सक्दैन । हरेका समस्याले नयाँ समाधानका ढोका खोल्दछ भने जस्तै कोरोना माहामारीको अन्त्य पछि नेपालले कही नयाँ सम्भावनाको ढोका खोल्न सक्दछ । कृषिको आधुनिकीकरण विश्वका विभिन्न विकसित मुलुक र अन्य मुलुकमा कामका लागी गएका लाखौँ नेपालीहरु आफ्नो अनभवसहित नेपाल आउने छन । नेपालमा वर्षौदेखि जनशक्तिको अभावमा बन्जर भएका भूमिलाई हराभरा बनाउने कार्यमा अग्रसर भइ नेपालमा वैज्ञानिक कृषि क्रान्तिको शुरु हुनेछ । यसले नेपालमा आयातमुखी अर्थतन्त्रमा सुधार भइ देशको आर्थिक विकासमा नयाँ आयाम शुरु हुनेछ । बौद्धिक पलायनमा नयाँ सोँच आज विभिन्न कारणले नेपाल छोडेर अमेरिका, युरोप र अष्ट्रेलियामा बसोबास, रोजगारी र अध्ययनको लागि जानको लागि मरिहत्ते गर्ने प्रवृतिमा कमी आउने छ । आज कोरोनाको कहरले मानिसहरुलाई पैसा सम्पन्नता र यसको तुलनामा सन्तुष्टि र मातृभूमी नै महत्वपूर्ण भएको बास्तबिकता महसुस भइरहेको छ । नेपालबाट ठूलो संख्यामा खाडी मुलुक गएका युवाहरु स्वदेश फर्केर नेपालका विकास आयोजनामा आवश्यक योगदान गर्ने छन । विकासमा नयाँ अवधारणा नेपालमा विकासको प्राथमिकताममा स्वस्थ क्षोत्रले बढी महन्व पाउने छ । अव आगामी वर्षहरुमा प्रत्येक स्थानीय तहहरुमा अस्पतालहरु निर्माण हुने छन् । पैसामोह समेत कम हुने र जनचेतनामा वृद्धि हुनेछ । विश्वका विभिन्न देशमा गएका युवाहरु स्वदेश फिर्ता भएपछि उनीहरुको सचेतना युक्त खबरदारीले सुशासन कायम गर्न सजिलो हुने छ । आशा गराैं,  विश्वले यस महामारीबाट छिट्टै मुक्ति पाउने छ । वैज्ञानिकहरु कोरोना विरुद्धको खोप आविष्कार गर्न सफल हुनेछन। कोरोना मुक्त विश्वमा नयाँ सोँचका साथ विश्व आफ्नो पथमा अगाडी बढ्ने छ । [email protected]

म्याग्दीमा देखियाे एकैदिन दुई जनामा डेङ्गु

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको छ । मङ्गलाघाटका २८ वर्षीय चार दिनअघि तनहुँबाट आएका थिए । भरजुलाका बिरामी गाउँमै खेतबारीको काम र जङ्गलमा निउरो टिप्न गएका थिए । यसअघि वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घइ बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो । वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा सिफारिस गरिएको छ । अन्य निको भएर घर फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने जोखिम देखिएकाले सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताएका छन् । गत वर्ष १३ डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाइएको छ । रासस

सेयर बजार खुल्ने निधो भईसकेको छैन- अध्यक्ष ढुङ्गाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आगामी वैशाख २८ गतेदेखि सेयर बजार खुल्ने भन्ने निधो भई नसकेको बताएका छन् । बुधबारको मन्त्रीपरिषद्को बैठकले धितोपत्र बजार खुलाउने व्यवस्था गरेपनि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय नआएकाले अहिलेसम्म बजार खुलाउने निधो नभएको उनले बताए । उनका अनुसार सेयर बजार खुलाउनको लागि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय आउनु पर्ने छ। ‘मन्त्रालयबाट आधिकारिक निर्णय आएर मात्र भएर पनि भएन । काम गर्न सक्ने संयन्त्र पनि हुनुपर्छ । त्यसपछि मात्र कारोबार हुन्छ ।’- उनले विकासन्युजसँग भने- ‘आधिकारिक काम गर्नुपर्यो, अफिस मात्र खुलाउने कुरा भएन । ब्रोकरहरुले काम गर्न सक्नु पर्यो, लगानीकताले काम गर्न सक्नु पर्यो, त्यसपछि मात्र हुन्छ काम ।’ ‘सम्भवतः आजभोलिमा बजार खुलाउने वा नखुलाउने भन्ने निर्णय हुने छ । हेरौं के निर्णय हुन्छ । यदि खुलाउने निर्णय भयो भने आगामी आइतबार(बैशाख २८ गते)देखि कारोबार खुल्ने छ । होइन भने नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई सूचना जारी गर्न लगाई जानकारी गराउने छौं ।’- उनले भने । बुधबारको मन्त्रीपरिषद्को बैठकले बैंकिङ्, बीमा, धितोपत्र बजार सञ्चालनको लागि व्यवस्था गरेको छ । बैठकले एक तिहाई कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाई सेवा सुचारु गर्न निर्णय गरेको प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका थिए । काेराेना भाइरसकाे प्रकाेपका कारणले गत चैत १० गतेदेखि नै सेयर बजार बन्द रहेकाे छ ।

महाकाली तरेर भित्रिए ६ नेपाली

दार्चुला ।  लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन् । नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् । लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले जानकारी दिए ।  “एक महिनादेखि काम बन्द भयो”, उनले भने, “नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।” तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको बताएका छन् । नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६ सयबढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति एक हजार ६ सय तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । “ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन”, उनले भने, “लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।” उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ । रासस