भोलिदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू
काठमाडाैं । बाँकेको नेपालगन्जमा कोरोना संक्रमितको संख्या लगातार बढेपछि भोलिदेखि कर्फ्यू लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । हिजाे एकैपटक बाँकेकाे १५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे थियाे ।
नेशनल लाइफको प्रिमियम अब ई-सेवा र फोन-पे बाट तिर्न मिल्ने
काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब इ सेवा र फोन पे मार्फत तिर्न सकिने भएको छ । अहिले इ-सेवा र फोन-पे मार्फत प्रिमियम तिर्न सकिने ब्यवस्था गरिएको र कनेक्ट आइपीएसमार्फत पनि तिर्न मिल्ने ब्यवस्था छिट्टै मिलाइने कम्पनीले जनाएको छ । यससँगै विमितले पोलिसी रिन्यु वापतको रकम डिजिटल भुक्तानी गर्न सकिने भएको हो । यस्तै, लकडाउनका बेला अहिलेसम्म १ करोड ८४ लाख रुपैया दाबी भुक्तानी गरिएको छ । लकडाउनका कारण कम्पनीका कार्यालयमा आएर दाबीको निवेदन दिन नसक्ने अवस्था रहेकाले इमेल मार्फत निवेदन लिएर डिजिटल भुक्तानी मार्फत रकम उपलब्ध गराएको नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिए ।
कोरोना शंकामा धनगढीमा ४ जनालाई आइसोलेसनमा राखियो
काठमाडाैं । कैलालीकाे धनगढीमा काेराेनाकाे शंकामा चारजनालाई अस्पतालमा भर्ना गरिएकाे छ । जिल्लाकाे सेती प्रादेशीक अस्पतालकाे आइसोलेसनमा चार जना शंकास्पद विरामी थपिएका छन्। दुई दिनको अवधीमा कैलाली, कञ्चनपुर र कालिकोटका चार जनालाई कोरोना आशंकामा अस्पतालाको आइसाेलेसन राखिएको हो। कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। दुवैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको प्रादेशिक अस्पतालले जनाएको छ। दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल जनाएको छ। दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाईएको छ।
कोरोना रोकथाममा भएका प्रयास सही दिशामा: उच्चस्तरीय समिति
काठमाडाैं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो । “समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरु सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छ, लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरे मङगलबार बस्ने बैठकले केही निर्णयहरु गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ” समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने । उनले अहिलेसम्म पिसीआर विधिबाट १३ हजार ४२० र आरडिटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरुमा सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै मङ्गलबारको बैठकले बन्दाबन्दीबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताए । प्रवक्ता विडारीले भने, “सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढङ्गमा र रोगको सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ ? २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो ।” कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको र ती सुझावलाई पनि मनन गरिएको उनको भनाइ छ । रासस
व्यवसायीको आग्रहः लकडाउनमा पनि मदिरा पसल खोल्न दिनु पर्यो
काठमाडौं । मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले लकडाउनकाे समयमा पनि मदिराजन्य पसलहरू खाेल्नकाे लागि सरकारसँग माग गरेकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस कोभिड १९को कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गरि तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका उपायहरु अबलम्बन गर्दै निश्चित समय तोकि मदिराका बिक्री कक्षहरु खोल्न दिन नेपाल सरकारसँग अनुरोध गरेको हो । निरन्तरको लकडाउनले देशको अर्थतन्त्रमा गम्भिर किसिमको नकारात्मक असर त परेको छ नै यसका अतिरिक्त खुद्रा पसल संचालन गरि जिविकोपार्जन गर्नुपर्नें व्यवसायिहरुको जिवनयापन पनि कष्टकर बन्दै गएको प्रति ध्यानाकर्षण गराउँदै संघले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्र बुझाएको हो । वर्तमान जोखिमलाई विचार गर्दै सामाजिक दुरी कायम गरि स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरि निश्चित समय तोकि मदिराका बिक्रि कक्षहरु खोल्न दिएमा सरकारको राजश्व, व्यवसायिको लगानी र रोजगारीलाई समेत केहि मात्रामा भएपनि टेवा पुग्ने संघले मन्त्रालय समक्ष अनुरोध गरेको छ । उक्त अवैध उत्पादन र विक्रीवितरण गरिएका मदिराहरु जुन जनस्वस्थ्यका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेको र यसले कुनै पनि समयमा जनस्वास्थ्यमा गम्भिर असर पार्न सक्ने प्रति जानकारी समेत गराएको छ ।
पर्वतमा सवारी पास बन्द
पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमद्वारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसलबाहेक अन्य पसलहरु बन्द गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रिनेहरुका लागि स्वास्थ्य चेकजाँचमा कडाइसमेत गरिएको छ । पर्वतलगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिकास्थित डिमुवामा रहेको हेल्थ डेस्कमा मात्रै आठ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको मोदी गाउँपालिकाले जनाएको छ । रासस
सांसद विद्या भट्टराईद्वारा पोखराको कोरोना कोषमा ५० हजार सहयोग
काठमाडाैं । पाेखरा महानगरकाे प्रकाेप ब्यबस्थापन काेषमा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले ५० हजार सहयाेग गरेकी छिन् । पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकाे ५१ औ जन्मजयन्तीकाे अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मान बहादुर जिसिलाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् । भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्च स्तरले लाग्नु जरुरी भएको बताईन्। उनले नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाइ साथ दिन आम कास्की बासी जनसमुदायलाई आग्रह समेत गरिन् । यसै गरि रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ। सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।
सरकारले लकडाउनबारे भोलि निर्णय गर्ने
काठमाडाैं । देशमा भइरहेको लकडाउनबारे सरकारले भोलि निर्णय गर्ने भएको छ । भोलि मन्त्रिपरिषद्को निर्णयले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्नेबारे निर्णय गर्ने भएको हो । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले लकडाउनकाे विषयमा भाेलि निर्णय गर्ने निश्कर्ष निकालेकाे बताएकाे छ । समितिका सदस्य सचिव नारायण विडारीले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग थप गृहकार्य गरेर लकडाउनबारे मंगलबार निर्णय गरिने जानकारी दिए । नेपालमा लकडाउन बैशाख २५ गते सकिदैछ ।