प्रदिक्षा शर्मा र सागर केसीलाई सीईओको जिम्मेवारी, अन्तर्राष्ट्रिय विस्तारलाई तीव्रता दिने
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी उत्पादन तथा निर्यात कम्पनी मनराम ग्रुपले आफ्ना विभिन्न व्यावसायिक इकाइहरूमा नयाँ नेतृत्व नियुक्त गरेको छ । कम्पनीका अनुसार यस कदमले नवप्रवर्तन, अन्तर्राष्ट्रिय विस्तार र दिगो विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ । प्रदिक्षा शर्मालाई मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ भने सागर केसीलाई मनराम फार्म प्रालिको सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यी रणनीतिक नियुक्तिले कम्पनीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सन् २००३ मा स्थापना भएको मनराम ग्रुपले आफ्नो यात्रा परम्परागत नेपाली उत्पादन( जस्तै छुर्पी र हस्तकलाका सामग्री-संयुक्त राज्य अमेरिकामा निर्यात गर्दै सुरु गरेको थियो । समयसँगै कम्पनीले कृषि, डेरी, पेट उत्पादन, खाद्य सेवा तथा उत्पादन क्षेत्रलगायत विविध क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ । हाल ग्रुपमा ४५० भन्दा बढी कर्मचारी कार्यरत छन् । गुणस्तर, नैतिक व्यावसायिक अभ्यास र नवप्रवर्तनप्रतिको प्रतिबद्धताका साथ कम्पनीले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै विशेषगरी महिला सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ । ग्रुपका अध्यक्ष सुमन श्रेष्ठले भने, ‘यी नेतृत्व परिवर्तनहरूले हाम्रो दीर्घकालीन रणनीतिलाई अझ मजबुत बनाउनेछन्। नयाँ नेतृत्वले नवप्रवर्तन, कार्यक्षमता र अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’ व्यावसायिक गतिविधिसँगै कम्पनी सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको छ । मनराम फाउन्डेसनमार्फत शिक्षा क्षेत्रमा पुस्तकालय स्थापना र छात्रवृत्ति कार्यक्रम सञ्चालन जस्ता पहलहरू अघि बढाइएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर विस्तार र विविध उत्पादन पोर्टफोलियोमार्फत मनराम ग्रुपले नेपालको निर्यात क्षेत्र सुदृढ बनाउँदै व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एशोसिएशनकोतर्फबाट सागर ढकालको उम्मेदवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो । एसोसिएसनको केही समयअघि बसेको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई केन्द्रीय सदस्य बनाउन आफूहरूले उल्लेखनीय भूमिका खेल्ने समेत जानकारी दिएको छ । नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप स्टक बस ब्रोकर एसोसिएसको तर्फबाट आफूले महासङ्घको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको अध्यक्ष ढकालले जानकारी दिए । 'अहिले पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध छन् भने पुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ,' उनले भने, 'यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ । समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासङ्घको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।' करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजीबजारको साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् । आफू महासङ्घको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने समेत उनले जानकारी दिए । 'अहिले पुँजीबजारका साथै नेपालका उद्योग व्यवसायमा धेरै समस्या छन्,' उनले भने, 'सरकारले ती समस्या समाधान गर्न आलटाल गर्दै आएको छ । जेन्जी आन्दोलनपछि दुईतिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि मैले महासङ्घको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।'
आतिथ्य क्षेत्रमा २० वर्षको अनुभव बटुलेका लक्ष्मण थापा इलाको सीईओमा नियुक्त
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ । उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा रही काम गरेका छन् । आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । सो अवधिमा उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे तथा भेन्यूहरूको सञ्चालन नेतृत्व गरेका थिए । त्यसअघि उनले काठमाडौंस्थित होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । त्यसैगरी, उनसँग ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी तथा रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग काम गरेको अनुभव पनि रहेको छ। थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले आइएमई हस्पिटालिटीको सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ। आइएमई हस्पिटालिटी अन्तर्गत कम्पनीले काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैंडाकोटस्थित होटल इलालगायत विभिन्न होटल तथा रिसोर्टहरुको व्यवस्थापन हेर्ने गर्छ । आइएमई हस्पिटालिटी आइएमई ग्रुपको आतिथ्य क्षेत्रअन्तर्गतको इकाइ हो। नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने, इला होटल एण्ड रिसोर्टको नेटवर्कलाई नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूसम्म पुर्याउने, तथा दिगो र परिणाममुखी वृद्धि हासिल गर्ने दिशामा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।