हिमालयन रिको कामु सीईओ कपुरले दिए राजीनामा
काठमाडौं । नियुक्त भएको एक साता नबित्दै हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मुकेश कुमार कपुरले राजीनामा दिएका छन् । कपुरले सोमबार (असार ८ गते) कामु सीईओबाट राजीनामा दिएका हुन् । उनलाई गत असार ३ गते मात्रै कम्पनी सञ्चालक समितिले कामु सीईओमा नियुक्त गरेको थियो । सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल निलम्बनमा परेपछि उनलाई कम्पनीले कामु सीईओमा नियुक्त गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेपछि उनी अवकाशप्राप्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी पुँजी बजार तथा सेयर बजारका विज्ञका रूपमा परिचित छन् । भट्टसँग शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत आधा दर्जनभन्दा बढी कलेजमा अध्यापन गरेको अनुभव पनि छ । अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले डा. गोपालप्रसाद भट्ट, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीको नाम सिफारिस गरेको थियो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समितिले गत वैशाख १५ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । निर्धारित समयभित्र आवेदन दिएका ४७ प्रतिस्पर्धीमध्ये भट्ट अध्यक्षमा नियुक्त भएका हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टका दाई हुन् । आफ्नै भाईले आवेदन गरेपछि गुणाकरले बोर्डको अध्यक्ष सिफारिस समितिको संयोजक पदबाट राजीनामा दिएका थिए ।
हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपूरले सम्हाल्ने भएका छन् । कम्पनीले आन्तरिक व्यवस्थापन सुदृढ गर्दै निरन्तरता दिन उक्त निर्णय गरिएको जनाएको छ ।