राष्ट्रिय तथ्याङ्क कार्यालयमा १८० जनाका लागि जागिर खुल्यो, तलब कति ?

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत सङ्कलित फारामहरूको कोडिङ, इडिटिङ र तथ्याङ्क प्रविष्टी कार्यका लागि करार सेवामा १८० जना जनशक्ति करारमा भर्ना गर्ने भएको छ । कार्यालयले कोडर ६० जना र डाटा इन्ट्री अपरेटर १२० जना करारमा भर्ना गर्न लागेको हो ।  दुवै पदमा करार अवधि बढीमा चार महिनाको रहनेछ । कोडर पदका लागि स्नातक तह उत्तीर्ण र डाटा इन्ट्री अपरेटरका लागि १०+२ वा सो सरह उत्तीर्ण योग्यता तोकिएको छ । कोडरको सेवा सुविधा कार्यसम्पादनमा आधारित प्रति प्रश्नावली ४ रुपैयाँ र डाटा इन्ट्री अपरेटरको प्रति स्ट्रोक ४ पैसा निर्धारण गरिएको छ । कार्यालयका अनुसार इच्छुकले १५ दिन अर्थात् साउन ४ गतेभित्र दरखास्त फाराम भरी राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा बुझाउनुपर्नेछ । दरखास्त फाराम राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट तथा आर्थिक गणनाको पोर्टलमार्फत डाउनलोड गर्न सकिनेछ । कार्यालयले म्याद नाघी वा रीत नपुगी आएका दरखास्त उपर कुनै कारबाही नगरिने जनाएको छ । सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत उम्मेदवार छनोट गरिनेछ भने सम्बन्धित कामको अनुभव भएकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ । 

बिपी कोइराला अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह

काठमाडौं । सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।      अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन् । 

नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ र नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । उनको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुने पार्टीले जनाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार डा. आचार्य भक्तपुर निवासी हुन् । उनी यसअघि नेपाली कांग्रेसको प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति रहिसकेका छन् । कांग्रेसले नीति, अनुसन्धान र प्रशिक्षणसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ डा. आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।