सेन्ट्रल फाइनान्सका सीईओ श्रेष्ठकाे कार्यभार थपियाे, कम्पनी सचिवकाे पद पनि सम्हाल्ने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठको कार्यभार थपिएको छ । हालसम्म सीईओको पद सम्हाल्दै आएका श्रेष्ठले अब कम्पनी सचिवको पद पनि सम्हाल्ने भएका छन् । संस्थाको हालमात्रै बसेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कात्तिक १ गतेदेखि कम्पनी सचिवको पद सम्हाल्ने गरी उक्त पदमा नियुक्त गरिएको संस्थाको सहायक महाप्रबन्धक अशोककुमार पौडेलले जानकारी दिएका छन् ।

दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ । त्यस्तै पूर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडि बढाउन अध्यक्ष पन्तको संयोजकत्वमा एक समिति बनाई एक महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ । यसैगरी, एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त सहयोग रकम दिने घोषणा गरेका र निश्चित मापदण्डका आधारमा कोषको रकम खर्च गरिने जनाइएको छ । बैठकले यसअघि थालिएका कार्यक्रम र शुरु गरिएका पहललाई रिनन्तरता दिँदै सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० अभियानमा सहकार्य गर्न निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । एनआरएनए निर्वाचन विद्युतीय पद्दतीबाट प्रत्यक्ष मतदानमार्फत गर्न र निःशूल्क सदस्यताबारे अध्ययन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति गठन गरिएको छ । एनआरएनएको काठमाडौँस्थित सचिवालयलाई चुस्त बनाउन महासचिव डा हेमराज शर्माको नेतृत्वमा एक समिति बनाइएको तथा संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले पाँच उपाध्यक्षको नेतृत्वमा पाँच विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानवकल्याण, व्यापार तथा लगानी, पिस, ज्ञान र नवप्रवर्तन, नेपाल प्रवद्र्धन) निर्माण गर्ने र विभागमा अन्तरराष्ट्रिय समन्वय परिषद्का सदस्य र सम्बन्धित क्षेत्रका विज्ञ रहने व्यवस्था गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन् २०२० गर्ने तथा संस्थाको आगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले एनआरएनको संरक्षणक परिषद्को सदस्यसमेत चयन गर्दै परिषद् प्रमुख संरक्षणमा डा. शेष घले र अन्य संरक्षकमा पूर्व अध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहने जनाएको छ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई सङ्घको उच्च वरियतामा राख्ने निर्णय गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । रासस

२२ करोड डलरमा कारखाना स्थापना, साढे तीन हजारले रोजगार पाउने

इथियोपिया । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरेकाे हाे । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको उक्त नवनिर्मित कारखानाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ । उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताएका छन् । रासस