राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण

काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।” व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पुर्याउँदै आएको छ । रासस

कोषमा सूचिकृत हुने अन्तिम दिनमा ९० हजार श्रमिक जाेडिए, करिब ७ करोड कोषमा जम्मा

काठमाडौं । सामाजिक सुरक्षा कोषले ल्याएको सामाजिक सुरक्षा योजनाप्रति ९० हजार श्रमिक आवद्ध भएका छन् । कोषमा सूचिकृत हुने अन्तिम दिनसम्म  ६ हजार ६ सय रोजगारदाता र ९० हजार श्रमिक आवद्ध भएको सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताईन । उनले भनिन् ‘हालसम्म कोषमा सूचिकृत हुने श्रमिकबाट करिब ७ करोड रुपैयाँ जम्मा भएको छ ।’ कोषमा आवद्ध रोजगारदाता तथा श्रमिकलाई सरकारी सेवा सुविधाबाट बान्चित गर्ने भन्ने पुरानै निर्णयका साथ थप कारबाही के गर्ने भन्ने विषयमा कोष हालसम्म निर्णय नगरेको कोषकी प्रवक्ता भट्टराईले जानकारी दिईन । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७४/७५ सम्म नेपालमा कुल ९ लाख २२ हजार रोजगारदाताले ३४ लाख ८ हजार श्रमिकहरु आवद्ध रहेका छन् । यस वर्ष रोजगारदाता दर्ताको दर उच्च रहेकोले रोजगारदाता र त्यसमा आवद्ध कर्मचारीहरुको संख्या अझ बढ्न सक्नेछ । पछिल्लो समय सरकारले नीजि क्षेत्रका सबै संस्था तथा कर्मचारीहरु अनिवार्य भनिएता पनि अति नै न्यून संख्यामा रोजगारदाता तथा श्रमिक आएका छन् । लाख कर्मचारी पुराउने कोष लक्ष्य कोषको रहेपनि संस्था तथा सर्वसाधारणको यस क्षेत्रमा खासै चाँसो नदेखाएको कोषले जनाएको छ । सामाजिक सुरक्षा कार्यक्रमले वृद्धावस्था वा दुर्घटना वा अशक्तताको अवस्थामा हुने समस्याको समाधानका लागि व्यवस्था गरेको भए पनि तात्कालिन आवश्यकतालाई सम्बोधन गर्न असफल भएकाले यो कार्यक्रमप्रति श्रमिककाे रूचि कम भएकाे छ । खासगरी हाल कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष जस्ता कोषहरुले दिँदै आएको सापटी सुविधा यो कोषबाट नपाउनु, जागिरबाट अवकाश हुँदा उपदान नपाउने, योगदान गर्न छाडेको ३ महिनापछि कुनै पनि जोखिम नब्यहोर्ने, घातक रोगहरुको हकमा व्यवस्था कुनै व्यवस्था रहेको छैन्, त्यसकारण श्रमिक तथा रोजगारदाताको चाप रहेको छैन । उक्त योजनामा सहभागी भएकाहरुले १५ वर्ष योगदान गरेपछि ६० वर्ष उमेर पूरा भएपछि पेन्सन पाइन्छ । त्यसबाहेक बिरामी भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाइन्छ तर १ लाख रुपैंया उपचार खर्चले कुनै अर्थ नराख्ने श्रमिकहरुको गुनासो रहेकाे छ । काेषमा सूचिकृत हुन बित्त संस्थाहरुले खासै चासो नदेखाएको र प्याब्सनले घोषणा गरे अनुसार शिक्षक तथा कर्मचारी आवद्ध नभएको कोषले जानकारी दिएको छ । सम्बन्धित समाचारहरू : सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम मिति असोज मसान्त प्याब्सनमा आबद्ध १ लाख २५ हजार शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा काेषमा जाँदै सामाजिक सुरक्षा कोषलाई श्रमिकले नै पत्याएनन्, ५ हजारमात्रै सूचीकृत, श्रमिक नेताहरु पनि निराश  

माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी, आवेदन दिन कहिलेसम्म पाइन्छ ?

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ११५ जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २५ जना र ट्रेनी जुनियर असिस्टेन्ट पदमा ९० जना कर्मचारीका लागि आवेदन माग गरेको हो । काठमाडौँ उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि कर्मचारी  माग गरिएको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । सम्बन्धित पदमा योग्यता पुगेकाहरुले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुकहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । म्यानेजमेन्ट ट्रेनी पदका लागि म्यानेजमेन्टमा मास्टर्स डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवदेन दिन सक्नेछन् । त्यस्तै ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि म्यानेजमेन्टमा ब्याचलर डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।