धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा साढे पाँच हजार किलोको घण्ट
ढोरपाटन । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो । विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए । पञ्चकोटमा यही फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उनले बताए । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउँछन् । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उनले बताए । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब २ करोड रुपैयाँ खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताए । उनले भने, ‘पञ्चकोटमा महाघण्ट राखिएको छ, यसमा शान्तिको ध्वनि निस्किनेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना गरेका छौँ, त्यस अवसरमा घण्टको विधिवतरूपमा प्राणप्रतिष्ठाको कार्य गरिने छ, धेरै समय खर्चिएर घण्ट बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ ।’ समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ । हालसम्म पञ्चकोटमा ५० करोड रुपैयाँ लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए। पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको दाहालको भनाइ छ । दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने उनी बताउँछन् । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक आउने गरेको दाहालले बताए । महाघण्टले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । रासस
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३ सय १५ घटना
चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा ३ सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठ जना भएका छन् । गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् । हात्तीको आक्रमणबाट सात, गैँडाको आक्रमणबाट पाँच, बाघको आक्रमणबाट चार र गोहीको आक्रमणबाट एकजना घाइते भएका छन् । तिवारीका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति दुई सय पाँच पटक भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालु आर्थिक वर्षमा १ करोड ५ लाख ५१ हजार ६ सय २४ रुपैयाँ राहत प्रदान गरेको उनले जानकारी दिए । गत आवमा भएका सात सय ८४ घटनामा नौ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए । घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए । सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठ पटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति पाँच सय पटक पुर्याएको तिवारीले बताए। त्यस वर्ष निकुञ्जले २ करोड २ लाख २ हजार ८ सय ४४ रुपैयाँ राहत रकम उपलब्ध गराएको थियो । निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जङ्गली बँदेल, गोही, गौरीगाई, अजिङ्गर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन् ।
बुलबुले तालको झार हटाइँदै
सुर्खेत । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि समितिले दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगत्तै डुङ्गा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । पाँच वर्षका लागि डुङ्गा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवतः फागुन दोस्रो सातादेखि डुङ्गा चलाइने उनको भनाइ छ । नगरप्रमुख ढकालले झार हटाउने कार्यले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्ने बताइन् । ‘बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर ढुङ्गा सञ्चालन गछौं,’ उनले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिइन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एउटा हो । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्ने गरेको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहने गरेको छ ।