पोखराको जानकारी दिन ‘पोखरा घर’, पर्यटकीयस्थल बन्ने विश्वास
कास्की । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ । यसको लागत रु पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ । भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताए । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताए । उनका अनुसार पोखराका आउनेका लागि यो घर एउटा महत्वपूर्णस्थल बन्नेछ । ‘पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दलीसमेतको मौलिक बन्ने छ । यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थासँगनै सहकार्य गर्नेछौँ,’ महानगर प्रमुख आचार्यले भने । पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाए । उनले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गरे । उनले भने, ‘महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ । पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ ।’ पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताए । यसैगरी महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले रक्तदान गरे ।
संस्कृति जगेर्ना र पहिचान खोज्दै जनजाति
महोत्तरी । बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबारदेखि सुरु भएको १२ दिने महोत्सवमा आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्य रुपमा यहाँका जनजातिले उठाएका छन् । आगामी चैत ५ गतेसम्म रहने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा भएको महोत्सवमा यहाँका नौ जनजाति समुदाय सरिक छन् । त्यसमा मधेसका रैथाने दनुवार, थारू, धानुक तथा पर्वते मूलका भए पनि यहाँ पुस्तौँदेखि बसोबास गर्दै आएका मगर, तामाङ, घर्ती, नेवार, राई किरात र माझी सम्मिलित छन् । पाका उमेरका दनुवारको अहिले पनि कम्मरमा ‘डेली’ (माछा समातेर राखिने बाँसको चोयाले बनेको ढुङ्ग्रो) भिरेर छिपछिपे पानी देख्नासाथ ‘खौकी’ (माछा मार्ने सानो जाल) डुबाउनु दैनिकी छ । मधेसका आदिवासी दनुवारको विवाहमा अहिले पनि दुलहा (बेहुला) ले काँधमा तरबार भिरेर विधि सम्पन्न गर्ने चलन छ । दनुवार महाभारतकालका कौरव, पाण्डवका सशस्त्र शिक्षाका गुरु द्रोणाचार्यसँग पुख्र्यौली साइनो जोडछन् । द्रोणसँगको साइनोले ‘द्रोणवार’ भनिँदै पछि आफ्नो जाति ‘दनुवार’ भनिन लागेको बताउने यिनीहरु आफ्नो जातीय संस्कृति झल्काउने पहिरन र सामग्रीका साथ महोत्सवमा सरिक छन् । कृषि मुख्य पेसाका दनुवार, थारूले परम्परागत हलोजुवा, कोदालोसहितका कृषि ज्यावलको प्रदर्शनी र फरकफरक चाडपर्वको झलक दिने परिकार महोत्सवमा पस्कँदै छन् । महोत्सवमा जाडोयाममा खाइने चामलको पीठो बफ्याँएर पकाइने बगिया, तिलासक्रायतलाई र छठ पर्वका ठकुवाभुसुवा तथा दीपावली पर्वका विशिष्ट परिकार घुरियालो (सेलजस्तै) सहितका मिष्टान्न परिकार छन् । वेशभूषा, बोलीचाली, चाडबाड र परम्परागत व्यवसाय उस्तैउस्तै रहेका थारू, दनुवार जनजातिमात्र नभएर यहाँका मूल रैथाने आदिवासी मानिन्छन् । महोत्सवको मुख्य पक्ष नै जातीय परम्परा, संस्कृति परम्परा र रीतिथिति देखाउनु, बुझाउनु र सम्झाउनु रहेको दनुवार जागरण समाज महोत्तरीका सदस्य गौशाला–९ बिसरपुरका बासिन्दा पविसिंह दनुवार बताउँछन् । महोत्सवमा थारूले ‘घुँगी’ (शङ्खे कीराजस्तै सानो आकारको जीव) का परिकार, सिद्रा र कोदोका रोटीको स्वाद अवलोकनकर्तालाई चखाएका छन् । यसैगरी, हातमा माछा मार्ने खौकी (जालजस्तै) र कम्मरमा ‘डेली’ (खौकीमा परेका माछा राख्ने बाँसको चोयाले बनेको एक प्रकारको भाँडो) भिरेर थारू र दनुवार युवाले महोत्सवमा सांस्कृतिक कार्यक्रम पस्कँदैछन् । यसैगरी, जातीय पहिरनमा सजिएका तामाङ, मगर, राई किरात, घर्ती, नेवार र माझी युवायुवती सबैको आँखामा पर्ने गरेका महोत्सव अवलोकनकर्ताको प्रतिक्रिया हुने गरेको छ । महोत्सवमा नेवारले १३ परिकार रहने नेवारी खाजा पस्कँदै छन् । महोत्सवले पर्यटन र कृषि प्रवर्द्धनमा जोड दिएको छ । ‘हाम्रो समृद्धिको आधार नै पर्यटन प्रवद्र्धन र आधुनिक कृषि प्रणालीको विकास हो,’ आयोजक संस्थामा आबद्ध दनुवार जागरण समाजका सुखासिंह दनुवार भन्छन्, ‘यो महोत्सवलाई यसै कुरामा केन्द्रित गर्दैछौँ ।’ महोत्सवमा विभिन्न जातीय परम्परा र संस्कृति झल्काउने कार्यक्रमसँगै स्थानीय कृषि उत्पादन तथा लघुउद्यममा निर्मित सामग्री प्रदर्शनीमा राखिएका छन् । महोत्सवले स्थानीय उद्यम र कृषिबारे चासो बढाउने तथा राज्यका निकायलाई यिनको प्रवर्द्धनमा झकझक्याउने अपेक्षा राखिएको महासङ्घले जनाएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी तथा बेचबिखनका कक्षबारे दर्शकले चासोपूर्वक अवलोकन गरेका छन् । यी सामग्रीका एक सयभन्दा बढी प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिएको छ । महोत्सवको १२ दिने अवधिमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मुलुकमा विभिन्न समयका राजनीतिक अधिकारका आन्दोलनले सफलता पाउँदै गए पनि पहिचानको आन्दोलन भने अझै निर्णायक बन्न नसकेको आदिवासी जनजातिको बुझाइ छ । महोत्सवमार्फत पहिचानसँग जोडिएका मुद्दाबारे थप बहसको वातावरण तयार गर्दै पछिल्लो पुस्तालाई आ–आफ्ना संस्कृति, परम्परा पछ्याउन (अनुसरण गर्न) प्रेरित गर्नु मुख्य ध्येय भएको आयोजक संस्थाका अध्यक्ष धननारायण श्रेष्ठको भनाइ छ । रासस
लगावले पुगेको गन्तव्य हाँक्दै क्याथे प्यासिफिककी नेपाल ‘लिडर’ जुनु
काठमाडौं । उनलाई बाल्यकालमा अभाव भन्ने थाहा भएन । त्यसमाथि घरकी कान्छी छोरी । परिवार सम्पन्न थियो । पढाइ औसतभन्दा माथि । राम्रो पढेर राम्रो ठाउँमा जागिर खाने सपना मनमा थियो । ललितपुर पुल्चोकमा जन्मिइन् । जावलाखेलस्थित सेन्ट मेरिज स्कुलबाट एसएलसी, मोडर्न इन्डियन स्कुलबाट १२, क्याम्पियन कलेजबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट एमबीए सकेपछि उनको जीवनले एउटा लय समात्यो । अहिले उनी जहाँ र जुन स्थानमा छिन्, सम्भवतः त्यस्तो पद पाउने नेपाली महिला औंलामा गन्न सकिनेमात्र छन् । ६ वर्ष भयो, उनले संसारका पुराना र ठूलामध्ये दरिएको हङकङको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजको नेपाल प्रमुख भएर आफ्नो करियरको उचाइ बढाएको । उनी हुन्– जुनु मलेकु । उमेरले चार दशकमा हिँडिरहेकी उनले यति ठूलो जिम्मेवारी सम्हाल्ने पदमा कुनै दिन पुग्छु भन्ने सोचेकी भने थिइनन् सायद । नेपालमा उडान गरिरहेका दुई दर्जनहाराहारी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रमुखमा नेपाली महिला नेतृत्व कम छ । अधिकांश कम्पनीको नेतृत्व पुरुष, अझ त्यसमाथि विदेशीले हाँकिरहेका छन् । यो मानेमा जुनु अपवाद बनेकी छिन् । करिब ७८ वर्षअघि स्थापना भएको क्याथे प्यासिफिक एयरवेजले जुनुको मिहिनेत, लगाव, आँट र ‘पोटेन्सियल’ देखेर नेपाली हवाई बजारको जिम्मेवारी दिएको हो । निरन्तर मिहिनेत र लगावले जुनुलाई यो ठाउँमा पुर्याइछाड्यो । अहिले विगततिर फर्किएर हेर्दा उनलाई लाग्छ– कुनै पनि मान्छेले सफलता प्राप्त गर्न निरन्तर मिहिनेत, लगाव र संघर्ष गर्नैपर्छ । अनि, ‘खुट्टा तान्नेको’ ख्याल नगरी दत्तचित्त भएर कर्ममा लागिरहनुपर्छ । ‘मलाई आफूलाई मन लागेको काम गर्न घरपरिवारबाट कहिल्यै रोकतोक भएन,’ जुनु बाल्यकाल स्मरण गर्छिन्, ‘मनले चाहेअनुसार गर्न पाइयो, तर मेरो धेरै फोकस पढ्ने नै हुन्थ्यो ।’ स्कुले जीवनमा उनी एकदमै पढैया विद्यार्थी भने थिइनन् । उनी औसतभन्दा माथि चाहिँ थिइन् । ‘बच्चामा त्यति धेरै चकचक पनि नगर्ने मान्छे हो म, मलाई धेरै मुभी हेर्न मन लाग्थ्यो,’ उनी सम्झिन्छिन्, ‘गीत सुन्न र साथीहरूसँग घुम्न बढी मन पथ्र्यो, हाम्रो लागि पार्टी भनेको परिवार नै थियो, धेरै समय परिवारसँगै बिताइन्थ्यो ।’ किताबमै रुचि सानै छँदा पनि जुनु स्कुलको किताबबाहेक साहित्य, मिस्ट्री र अटोबायोग्राफी पढ्न रुचाउँथिन् । हुन त अहिले पनि पढ्ने बानी गएको छैन उनको । फुर्सदको समय वा यात्रा गर्दा किताब बोकेरै हिँड्छिन् । बालककालमा कसैले पनि भविष्यमा यो वा त्यो बन्छु भन्ने योजना बनाएको हुँदैन, सोच्ने बाहेक । परिवारका सदस्यले जे काम गरिरहेका छन् त्यही नै गर्छु भन्ने लाग्छ । जुनुलाई स्कुलमा पढ्दा र शिक्षक–शिक्षिकाले पढाएको देख्दा ‘म पनि शिक्षिका बन्छु’ भन्ने लाग्थ्यो । ‘म टिचरहरूसँग एकदमै नजिक थिएँ, मलाई लाग्छ सबै बच्चाहरूको रोल मोडल टिचर नै हुन्छन्,’ उनी सुनाउँछिन्, ‘मलाई पनि टिचर बन्न मनपथ्र्यो,’ जुनु हाँस्दै भन्छिन्, ‘तर, बुझ्ने हुँदै जाँदा मेरो बुबा बैंकर हुनुहुन्थ्यो, उहाँलाई हेरेर फेरि म पनि एकदिन बैंकमा काम गर्छु भन्ने लाग्न थाल्यो । त्यसैले मैले कमर्स पढेँ ।’ तर, जुनुले न बाल्यकालमा साचेको भयो, न अलि बुझ्ने भएपछि सोचेको भयो । उनी विल्कुलै नसोचेको र परिवारमा कोही पनि नलागेको क्षेत्रमा अब्बल दरिइन् । मतलब, न उनी बैंकर बनिन्, न शिक्षक । उनको यात्रा मोडियो पर्यटन (टुरिज्म) क्षेत्रतिर । ‘टुरिज्ममा काम गर्नेबारे मैले कहिल्यै सोचेकी पनि थिइनँ, बाई डिफल्ट म यो क्षेत्रमा प्रवेश गरेँ,’ उनलाई अचम्म लाग्छ, ‘मेरो परिवारबाट यो क्षेत्रमा काम गर्ने म एकजना मात्रै हुँ ।’ कथा लगावको पर्यटन क्षेत्रमा करियर बन्छ भनेर नसोचेकी जुनुको यो क्षेत्रप्रति लगाव हुनुको पनि आफ्नै कथा छ । जुनुको दाईको साथीका बुबा थाई एयरवेजको नेपाल कार्यालयमा सेल्स म्यानेजर (बिक्री प्रबन्धक) थिए । ‘उहाँले थाई एयरवेजको सानो–सानो गिभ अवेज ल्याइरहनुहुन्थ्यो,’ जुनु सम्झिन्छिन्, ‘त्यो देख्दा म एकदमै रमाउँथेँ, अनि एयरपोर्टमा क्याबिन क्रुुहरू देख्दा वाउ भन्ने लाग्थ्यो ।’ पढाइ सकेर मात्रै जागिर गर्नुपर्छ भन्ने मान्यता जुनुका बुबाको थियो । जहिले पनि पढाइ सकेपछि मात्रै काम गर्ने अनुमति दिन्छु भन्थे उनी । ‘बुबाले पढ्दापढ्दै काम गर कहिल्यै भन्नुभएन,’ उनी बुबाको कुरा सम्झिन्छिन्, ‘बुबाले पढाइमा फोकस गर भन्ने भएकाले मास्टर्स पढ्दासम्म पनि मैले काम गरेको थिइनँ ।’ करियर टर्निङ प्वाइन्ट सन् २००५ मा जुनु पर्यटन क्षेत्रमा जोडिन पुगिन् । यसको अर्थ उनले यो क्षेत्रमा १९ वसन्त पार गरिसकिन् । पर्यटनमा उनी सामान्य जागिरे (जब होल्डर) का रूपमा प्रवेश गरेकी थिइन् । सुरुमा उनले कतारको राष्ट्रिय ध्वजावाहक वायुसेवा कतार एयरवेजको नेपालस्थित ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) कार्यालय जेनिथ ट्राभल्सका सञ्चालक जोय देवानको ‘असिस्टेन्ट’ का रूपमा काम गरिन् । जुनुले त्यहाँ काम थालेकोे ६ महिनामै कतार एयरवेजको सेल्स (बिक्री) विभागको जिम्मेवारी पाइन् । त्यतिबेला नेपालमा गल्फ एयर, थाई एयरवेज, पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लगायत विदेशी वायुसेवाले उडान गरिरहेका थिए । तर, कतारले भने नेपाली बजारमा एकलौटी व्यापार गरिरहेको थियो । उनले त्यहाँ काम गर्दा विभिन्न दूतावास, अन्तर्राष्ट्रिय दातृ निकाय र ट्राभल एजेन्सीमा जानुपथ्र्यो । उनले तिनका सञ्चालक वा प्रमुखसँग हवाई टिकट व्यापारका लागि ‘डिल’ गर्ने काम गरिन् । त्यहाँ काम गर्दै जाने क्रममा उनले धेरै ठाउँमा यात्रा गर्नुपर्ने हुन्थ्यो । अनेक मान्छेहरूसँग भेटघाट र कामको डिल पनि गर्नुपर्ने हुन्थ्यो । काम सिक्दै जाने क्रममा उनेले धेरै तितामिठा अनुभव सँगालिन् । ‘तिनै अनुभवबाट खारिँदै–खारिँदै अघि बढिरहेँ,’ जुनु थप्छिन् । कतारपछि उनले यूनाइटेड अरब इमिरेट्स (यूएई) को इतिहाद एयरवेजमा पनि काम गरिन् । त्यसपछि उनी २०६७ सालमा हङकङको क्याथे प्यासिफिक एयरवेजमा ‘असिस्टेन्ट सेल्स म्यानेजर’ का रूपमा प्रवेश गरिन् । त्यतिबेला क्याथे प्यासिफिकले ‘ड्रागन एयर’ का नाममा नेपाल उडान गथ्र्यो । क्याथे प्यासिफिक यात्रा जुनुले यो क्षेत्रमा लगातार १९ वर्षसम्म काम गर्न सकिएला भन्ने कल्पनै गरेकी थिइनन् । तर, उनी क्याथेमा छिरेको एक वर्षमै बढुवा भएर सेल्स म्यानेजर (बिक्री प्रबन्धक) बनिन् । २०६८ देखि ६ वर्ष नेपालको सेल्स म्यानेजर पद सम्हालेकी उनी २०७४ देखि क्याथेको नेपाल प्रमुख (कन्ट्री हेड) को जिम्मेवारीमा छिन् । १९ वर्ष छाटो समय होइन । करिब दुई दशकको पर्यटन तथा उड्डयन यात्रामा उनले अनगिन्ती अनुभव सँगालेकी छिन् । ‘मैले यो क्षेत्रमा सानो लेभल (तह) बाट काम गर्दै, सिक्दै आफूलाई ग्रोथ गर्दै अगाडि बढेँ,’ जुनु भन्छिन्, ‘मैले काम सुरु गर्दा काम गर्ने वातावरण पनि धेरै फरक थियो, अहिले त धेरै सहज पनि भइसकेको छ ।’ त्यतिबेला काम सिक्ने क्रमका पनि उनीसँग दुःखद् र सुखद् दुवै अनुभूति छन् । ‘त्यहाँ पनि नयाँ मान्छेलाई काम सिकाउँदा हामीभन्दा धेरै जान्ने पो हुन्छे कि भनेर नसिकाइदिने पनि थिए,’ जुनु त्यो बेलाको अनुभूति बाँड्छिन्, ‘सिकाइदियो भने हामीभन्दा धेरै अगाडि पो जाली कि भनेर पुल ब्याक (खुट्टा तान्ने) गर्ने पनि थिए । कोही एकदमै सहयोगी पनि थिए । नजानेको काम सहजै सिकाइदिन्थे ।’ त्यस्ता कुरालाई उनले चुनौती नभई अवसरका रूपमा लिइन् । उनी सकेसम्म कसरी धेरै काम गर्ने भन्ने मात्रै सोच्थिन् । ‘मलाई काम सिकाइदिनुस् न भनेर भन्दा कसैले सिकाइदिँदैनथे, बरु म आफैं तपाईंहरूलाई काम बढी भएको छ भने म गरिदिन्छु भनेर भन्थेँ,’ जुनु अहिले सम्झिन्छिन्, ‘म आफैं उनीहरूको काम गरिदिन्छु भनेपछि उनीहरूलाई सिकाउन कर लाग्थ्यो, त्यसरी नै काम सिक्दै गएँ ।’ सुरुवाती चरणमा काम गर्दा उनलाई आफ्नै अफिसमा पनि मन नपराउने धेरै थिए । ‘अफिसमा एकजना सिनियर म्यानेजर हुनुहुन्थ्यो, उहाँले मलाई एकदमै मन नपराउने,’ विगत सम्झिएर हाँस्दै भन्छिन्, ‘उहाँको बानी फेभोरेटिज्म (काखापाखा) गर्ने थियो, एउटै काम गर्दा पनि कसैलाई केही एक्सन नलिने तर मलाई टाइट्ली मनिटर गर्नुहुन्थ्यो, दुई–चार मिनेट अफिस ढिला आए पनि हाजिरमा रातो लगाइदिनुहुन्थ्यो ।’ त्यस्ता व्यवहारबाट पनि जुनु कहिल्यै निरुत्साहित र हतोत्साहित भइनन् । झन् उनलाई लाग्यो– ‘मैले अझै राम्रो काम गर्नुपर्छ, योभन्दा राम्रो पोजिसनमा पुग्नुपर्छ’ । अनि, उनी मिहिनेत गर्नतिर मात्रै अग्रसर भइरहिन् । पछि तिनै म्यानेजरले उनको मिहिनेत देखेर राम्रो कर्मचारी भनेर प्रशंसा पनि गरे । उनको त्यही मिहिनेत र दृढ प्रतिज्ञाले नै उनलाई आज यो स्थान हासिल गर्न सहयोग गरेको हो । उनका कडा मिहिनेतकै कारण क्याथे प्यासिफिकले उनलाई धेरै जिम्मेवारी पनि दियो । उनलाई खुट्टा तान्ने, विश्वास नगर्ने पनि एकदमै धेरै थिए । ‘मैले आफ्नो हार्डवर्क, डिटर्मिनेसन, अप्टिमिज्म, पर्सिस्टेन्सीले गर्दा सबैको पसेप्सन चेन्ज गर्न सकेँ,’ उनी गर्वसाथ सुनाउँछिन् । जुनुले क्याथेको नेपाल प्रमुख भएर नेतृत्व हाँकेको ६ वर्ष पुगिसक्यो । उनलाई काम गर्न एकदमै रमाइलो लाग्छ । उनको टिम पनि एकदमै सहयोगी छ । उनले आफ्नो टिमबाट भरपूर सहयोग पाइरहेकी छिन् । ‘मेरो टिम सर्पोटिभ नभएको भए मैले यति लामो समयसम्म काम गर्न सक्दिनथेँ होला,’ उनी थप्छिन् । क्याथेको नेपाल कार्यालयमा पहिले कन्ट्री म्यानेजरका रूपमा जहिले पनि विदेशी हुन्थे । तर, त्यतिबेला ६ महिना यो पद खाली भयो । उनी सेल्स म्यानेजर भएर काम गरिरहेकै बेला उक्त पद खाली भयो । त्यतिबेला जुनुलाई पनि थाहा थिएन कि उनलाई उनको कम्पनीले ‘जुनुले कस्तो काम गर्न सक्छिन्’ भनेर त्यो पद खाली राखेको । ‘एउटा लिडरको अनुपस्थितिमा गर्नुपर्ने सबै काम मैले गरेँ,’ उनी भन्छिन्, ‘मलाई कसैले गर भनेको पनि थिएन, मैले आफ्नै स्वविवेकले गरेँ, त्यही देखेर नै म्यानेजमेन्टले मलाई यो पदमा नियुक्त गरेको थियो ।’ जुनुलाई एउटा लिडर हुन ‘रोल मोडल’ भएर देखाउनुपर्छ भन्ने लाग्छ । लिडर भइसकेपछि आफू काम नगर्ने, तर अरूले मात्रै काम गर्नुपर्छ भनेर आशा राख्न नहुने उनको बुझाइ छ । ‘एउटा लिडरले गरेको मिहिनेत देखेर नै अरूले फलो गर्ने हुन्,’ उनी भन्छिन्, ‘अर्को कुरा के भने हामीले जुन अथोरिटी र रेस्पोन्सिबिलिटी भन्छौं, त्यसलाई हस्तान्तरण गर्दै जानुपर्छ, त्यो भएन भने प्रतिफल आउने काम हुन सक्दैन ।’ जुनुलाई प्रत्येक दिन सिकाइ हो भन्ने लाग्छ । उनी ‘मलाई यो कुरा आउँदैन सिकाइदिनुस् न’ भन्न कत्ति पनि लजाउँदिनन् । ‘कुनै पनि लिडरलाई सबै कुरा आउँछ भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘उसले सबैलाई बाटो देखाइदिने हो, मेरो टिममा सबै कुरा खुला छ, हाम्रो काम गर्ने तरिका पनि ट्रान्सप्यारेन्ट छ, त्यही हुनाले पनि हाम्रो काम गराइ धेरै राम्रो छ भन्ने मलाई लाग्छ ।’ एभिएसन बिजेनसका कुरा उड्डयन व्यापार (एभिएसन बिजनेस) को कुरा गर्ने हो भने नेपाल धेरै अवसर भएको गन्तव्य हो । ‘यहाँ धेरै कुरा एक्सप्लोर गर्न सकिन्छ,’ जुनु भन्छिन्, ‘हामीले अझै यसको सही सदुपयोग गर्न सकेका छैनौं ।’ जुनुका अनुसार क्याथे प्यासिफिकको हाल आफ्नै ७४ गन्तव्य छन् । कोड सेयरिङ र इन्टरलाइन पार्टनर गरेर १ सय ९३ गन्तव्यमा क्याथेले उडान गरिरहेको छ । यसमा एकदमै सिमलेस कनेक्सन छ । हङकङ एउटा ट्रान्जिट र डेस्टिनेसन हब भएकाले पनि टुरिस्ट प्रमोट गर्न खोजिरहेको उनी बताउँछिन् । क्याथेका प्रमुख गन्तव्य अस्ट्रेलिया, कोरिया, जापान, अमेरिका र क्यानडा हुन् । क्याथेले हाल नेपालका लागि सातामा चार उडान गरिरहेको छ । यो वर्ष अप्रिलबाट भने पाँच उडान गर्ने उनी बताउँछिन् । क्याथेले नेपालमा ३ सय १७ सिट क्षमताको ‘वाइड बडी’ जहाजबाट सेवा दिइरहेको छ । नेपालको उड्डयन बजार सानो भए पनि क्याथेले सकारात्मक रूपमा हेरेको छ । ‘नेपाल एकदमै अपरचुनिटी भएको डेस्टिनेसनमा पर्छ, आउटबाउन्ड मात्रै नभई, इनबाउन्ड पनि त्यत्तिकै स्ट्रङ छ हाम्रो,’ उनी भन्छिन् । क्याथे कार्गो चार्टर उडानतर्फ पनि मोडिएको छ । क्याथेको प्रतिउडान सामान बोक्ने क्षमता १९ टन छ । प्यासेन्जरको ब्यागेजले गर्दा १२ टनभन्दा बढी बोक्न सकेको छैन । अहिले बजारमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा चलिरहेको छ । प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ भन्ने जुनुलाई लाग्छ । ‘एउटा सर्भिस लेभल मेन्टेन गर्नका लागि प्रतिस्पर्धा हुन एकदमै जरुरी छ,’ उनी भन्छिन्, ‘त्यसले गर्दा सबै एयरलाइन्सहरूको सर्भिस लेभलदेखि लिएर धेरै कुरा अपटुडेट मार्क हुन्छ ।’ हङकङको क्याथेले नेपालमा उडान भर्न थालेको १७ वर्ष भयो । पहिला यसले क्याथे ड्रागनका नामले हङकङ–काठमाडौं–हङकङ उडान गथ्र्यो । अहिले क्याथे प्यासिफिकका नामले नेपालसँग जोडिएको छ । क्याथेले चीन, जापान, अस्ट्रेलिया लगायत पूर्वी एसियाली देश जाने नेपाली विद्यार्थी र व्यापारीलाई लक्षित गरेको छ भने नेपाल आउँदा पर्यटक ल्याउने गर्छ । नेपाल आउने विदेशी हवाई सेवा कम्पनीमध्ये क्याथे धेरै कार्गो बोक्नेमा पर्छ । हङकङबाट मेडिकल र विद्युतीय सामान ल्याउने, यताबाट छुर्पी, गलैंचा, जडीबुटी ओसार्ने काममा क्याथेले अनुमति पाएको छ । कलेज मेटसँगै जीवन यात्रा सन् २००८ मा जुनुले कलेज पढ्दाकै सहपाठी विपेन्द्र महर्जनसँग प्रेम विवाह गरिन् । उनका श्रीमान् राष्ट्रिय बास्केट बल टिमका क्याप्टेन थिए । उनका श्रीमान्, श्रीमान्भन्दा पनि साथी धेरै लाग्छ उनलाई, किनकि उनको धेरै साथसहयोग रहेको छ । जुनुका १३ वर्षकी छोरी जारा र ११ वर्षीय छोरा जेए छन् । श्रीमान् र परिवार सहयोगी भएकाले नै जुनुले विदेशी वायुसेवालाई समय दिन पाएकी छिन् । ‘घर र अफिस दुवै सम्हाल्नु एउटा डिफिकल्ट टास्क नै हो,’ उनी भन्छिन्, ‘तर, परिवारको साथ र सहयोग मिल्यो भने असम्भव भन्ने केही नहुने रहेछ । मेरो काम नै सयौंपटक विभिन्न ठाउँमा यात्रा गर्ने हो, परिवारको साथ र सहयोग नभएको भए मेरा लागि यो जागिर सम्भव हुँदैनथ्यो ।’ उनको अफिसको काम पनि यति नै समय गर्ने भनेर निश्चित छैन । उनले पूरा गर्नुपर्ने जिम्मेवारी पनि धेरै छन् । चौबिसै घण्टा ‘स्ट्यान्ड–बाई’ अवस्थामा रहनैपर्ने उनी बताउँछिन् । बिदा हो, राति भयो भनेर मोबाइल बन्द गरेर बस्न पाइँदैन । तर, उनलाई अहिले भने परिवारलाई पनि समय दिन पाउने सुविधा मिलेको छ । तर, परिवारसँगै कार्यालयको कामलाई प्राथमिकतामा राख्नुपर्ने उनको दैनिकी हो । काम भएका बेला दसैं, तिहार, परिवार भनेर बस्न नपाएका अनुभव पनि उनीसँग थुप्रै छन् । नेपालबाट हुने निर्यात तथा यात्रु सेवाको व्यापारमा अन्य नेपाली तथा विदेशी गरी दर्जन हाराहारी वायुसेवासँग प्रतिस्पर्धा गर्न उनी तत्पर रहिरहन्छिन् । जुनु भन्छिन्, ‘जीवन एकदमै सुन्दर छ । जीवनमा आउने उतारचढावले यसलाई झनै निखार्दै लैजाने रहेछ । त्यो उतारचढावलाई हेरेर खुसी हुने कि दुःखी हुने भन्ने आफैंमा भर पर्छ ।’ विदेश जाने लाखौं नेपालीका लागि टिकट बनाएकी जुनुलाई यहाँका दाजुभाइ दिदीबहिनी स्टुडेन्टमा होस् या लेबरका लागि विदेश जाँदा असाध्यै मन दुख्छ । ‘एयरलाइन्सलाई व्यापारिक हिसाबले हेर्ने हो भने नाफाजनक हो तर नेपाली भएर सोच्ने हो भने एयरपोर्टमा गएर हेर्दा धेरै दुःख लाग्छ,’ जुनु भन्छिन्, ‘यात्रा गर्नुपर्छ, विदेश पनि हेर्नुपर्छ तर विदेशमा सिकेको कामलाई नेपाल फर्केर उपयोग गर्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।’ जुनुलाई आफ्नो ‘करियर जर्नी’ एकदमै ‘इन्ट्रेस्टिङ’ लाग्छ । उनलाई पर्यटन क्षेत्रमा यति लामो समय काम गर्न पाउनु भाग्य नै हो जस्तो पनि लाग्छ । ‘यो क्षेत्र ग्ल्यामरस पनि छ, इन्ट्रेस्टिङ पनि छ,’ उनी भन्छिन्, ‘नयाँ मान्छेसँग भेट्न पाइन्छ, नयाँ–नयाँ ठाउँ घुम्न पाइन्छ, नयाँ कुरा सिक्न पाइन्छ, यो नै रमाइलो हो मेरा लागि ।’ उनलाई हरेक दिन नयाँ लाग्छ । हरेक दिन सिकाइको दिन लाग्छ । किनभने, हरेक दिन नयाँ विषयमा सिकाइ हुन्छ । नयाँ अवसर, नयाँ समस्याहरू आउँछन् । तिनीहरूलाई नयाँ तरिकाले समाधान गर्न पाइन्छ ।