विदेशस्थित नेपाली नियोगहरुलाई लगानी वृद्धि र पर्यटन प्रवर्द्धनमा परिचालन गरिने
काठमाडौं । सरकारले विदेश स्थित नेपाली नियोगहरुलाई लगानी वृद्धि र पर्यटन प्रवर्द्धनमा परिचालन गरिने जनाएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै सो बताएका हुन् । ‘विदेशस्थित नेपाली नियोगहरुलाई वैदेशिक लगानी वृद्धि, पर्यटन तथा व्यापार प्रवर्द्धनमा परिचालन गरिनेछ’, विधेयकमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति सबल बनाइनेछ ।’ त्यस्तै सरकारले आर्थिक कुटनीतिको माध्यमबाट विकसित एवम् उदयीमान अर्थतन्त्रबाट प्राप्त हुनसक्ने लाभको उपयोग गरिने नीति विधेयकमार्फत अगाडि सारेको छ ।
जलविद्युत आयोजनाले ‘जलयात्रा पर्यटन’ व्यवसायीको अर्बौं लगानी संकटमा
भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युत आयोजना’ले जलयात्रा व्यवसाय संकटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् । प्रदेश सभासदस्य कृष्ण सिलवालले विकासका नाममा पर्यावरण र नदीको अस्तित्व संकटमा पर्न नहुने बताए । उनले यसलाई रोक्न आफूले सक्दो पहल गर्ने जानकारी दिए । नेपाल र्याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत आयोजनाले नदी किनारका ८४ जलयात्रा व्यवसायसँग सम्बन्धित कम्पनी संकटमा पर्ने जानकारी दिए । उनले भने, ‘होटल व्यवसाय, जलयात्रा र अन्य कम्पनीको गरी अर्बौं लगानी संकटमा पर्छ । जलयात्रा पूर्णतया बन्द नै हुन्छ । तीन हजार पाँच सय पथप्रदर्शक र १० हजार मानिसको पेसा संकटमा पर्छ । विकासको नाममा मजदुरको रोजीरोटी खोसिनु हुँदैन ।’ नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी संकटमा पार्न नहुने बताए । उनले भने, ‘म विकास विरोधी भने होइन । नदी सुकाएर गरिने विकास दूभाग्यपूर्ण छ ।’ कार्यक्रममा स्थानीय प्रतिनिधिले नदीलाई जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा) ले जथाभाबी जलविद्युत आयोजना निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको जनाउँदै यसअघि विरोध गर्दै आएको थियो । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक काम अघि बढाइएको छ । । नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा जलयात्रा गर्न जाने व्यवसायीले जनाएका छन् । नेपालको नदीमध्ये त्रिशूली महत्वपूर्ण नदी हो । यसलाई मास्न खोजिएको जनाउँदै व्यवसायीले आपत्ति जनाएका हुन् । त्रिशूली सरकारले जलयात्राका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो । जलयात्रा, रिसोर्टलगायतमा पाँच अर्ब लगानी छ । यसमध्ये ३० प्रतिशत त्रिशूली नदीभित्र छ । यहाँ जलविद्युत गृह बनाउँदा नदीको पानी सुकेर अर्बौं लगानी डुब्ने व्यवसायीको तर्क छ ।
काठमाडौंका १० वटा तारे होटलमा म्याद गुज्रेका परिकार, धमाधम बुकिङ रद्द गर्दै विदेशी पर्यटक
काठमाडौं । विदेशी पर्यटकहरूले धमाधम बुकिङ रद्द गर्न थालेको बुझिएको छ । नेपाली उच्चस्तरीय तारे होटलमा समेत म्याद गुज्रिएका खाद्य वस्तु भेटिन थालेपछि विदेशी पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका हुन् । विभागले माघ २९ देखि फागुन ११ गतेसम्म उपत्यका भित्रका तारे र तारेस्तरका ९ वटा होटेलहरुमा अनुगमन गरेको थियो । सो क्रममा ती सबै होटेलहरुमा म्याद गुज्रिएका र रिलेबलिङ गरेका खाद्यपदार्थ पाइएको थियो । विभिन्न सञ्चार माध्यममा उच्च स्तरीय तारे होटलमा समेत यस्ता किसिमका खानेकुरा भेटिएको सार्वजनिक भएको सूचना पाएपछि विदेशी पर्यटकले बुकिङ रद्द गर्न थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । आफूले बुक गरेको होटलमा म्याद गुज्रिएका जोखिमपूर्ण खानेकुरा भेटिएको भन्दै पर्यटकले बुकिङ रद्द गर्न थालेको जानकारीमा आएको पोखरेलले बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही दिन यता गरेको नियमित अनुगमनमा काठमाडौंका अधिकांश ठूला तारे होटेलहरुमा म्याद गुज्रेका र रिलेबलिङ गरेका खाद्य सामग्री पाइएको हो । जसले गर्दा विभागले ती होटेलहरुलाई तीन लाख रुपैयाँ सम्म जरिवाना र म्याद गुज्रिएका खाद्य सामग्री नियन्त्रणमा लिएर नस्ट पनि गरेको छ । अनुगमनका क्रममा देखिएका विषय सहित होटेलहरुको नाम सार्वजनिक गर्दा विदेशी पर्यटकहरुले बुकिङ क्यान्सिल गर्न थालेपछि जरिवाना मात्रै तिराउने काम गर्न लागिएको पोखरेलले बताए । ‘हामीले सुरुवातमा केही होटेलहरूको नाम पनि सार्वजनिक गर्यौं, त्यसले विदेशबाट हुने बुकिङ नै क्यान्सिल हुन लागेपछि नाम सार्वजनिक नगर्ने र कारबाही मात्रै गर्ने गरेका छौं,’ अधिकारी पोख्रेलले विकासन्युजसँग भने । उनका अनुसार विभागले ठूला होटेलहरूमा अनुगमन गर्दा सबैमा समस्या देखिएपछि व्यवसायीहरू संगठनात्मक रुपमा नै विभागमा पुगेर सूचना सार्वजनिक नगर्न अनुरोध गरेका छन् । ‘हाम्रो कमजोरी छ भने सच्याउन छौं, जरिवाना पनि तिर्न तयार छौं । तर, जरिवाना गरेको विषय सार्वजनकि नगरिदिनोस्, यसले हाम्रो व्यवसायमा असर परिरहेको छ, विदेशी पर्यटककले बुकिङ रद्द गरिरहेका छन् भने उनीहरूले भनिरहेका छन्,’ होटल व्यवसायीलाई उदृत गर्दै पोखरेलले भने । विभागले फागुन २ गते हेरिटेज एन्ड बुटिक होटेलको प्रमाणपत्र लिएको बत्तिसपुतलीको होटेल द्वारीकाजको अनुगमन गरेको थियो । त्यस्तै, हेरिटेज एन्ड बुटिक होटेलको प्रमाणपत्र लिएको इमेरो प्लाजा प्रालि (बसेरा बुटिक होटेल)ले केशरमहलमा सञ्चालन गरेको रेष्टुरेन्टमा माघ २९ गते अनुगमन गरेको थियो । ती प्रतिष्ठित होटेलले म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्य वस्तुहरू बिक्री गर्ने गरेको पाइएपछि विभागले तीन/तीन लाख रुपैयाँ जरिवान गरेको थियो । त्यसपछि पनि विभागले दैनिकरूपमा उपत्यका भित्रका ठूला होटेलहरूको अनुगमनलाई निरन्तरता दिएको छ । तर, विभागले जरिवाना तिराउने, म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्यवस्तु नियन्त्रण्माा लिए पनि होटेलहरूको नाम भने सार्वजनिक गरेको छैन । विभागका अनुसार अनुगमनको क्रममा फागुन ३ गते काठमाडौं बौद्धमा रहेको प्रतिष्ठित होटेल र ४ गते कुपण्डोलमा रहेको एक होटेलमा पनि म्याद गुज्रिएका खाद्य वस्तु भेटाएको थियो । ती दुई होटललाई पनि विभागले तीन/तीन लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै, विभागले फागुन ८ गते ललितपुरको एक होटेलमा अनुगमन गर्दा म्याद गुज्रेका र रिलेवलिङ गरेका वस्तुहरू बिक्री वितरण गरेको पाइएपछि २ लाख रुपैयाँ, ९ गते कालिमाटी ताहाचलमा रहेको एक होटेल र १० गते नक्साल र ताहाचलमा रहेका प्रतिष्ठित होटेलहरूले म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्यवस्तुहरु बिक्रीको अवस्थामा राखेको पाएपछि तीन/तीन लाख रुपैयाँका दरले जरिवाना गरेको छ । ११ गतेको अनुगमनको क्रममा पनि विभागले दरबारमार्गमा रहेको लालदरबार होटेलमा अनुगमन गर्दा म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्यवस्तुहरु फेला पारेको थियो । जसवापत विभागले सो होटेललाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सूचना अधिकारी पोखरेलका अनुसार तीन लाख रुपैयाँ जरिवाना गरिएका सबै होटेलहरू तारे र ठूला स्तरका होटेलहरू हुन् । तारेस्तरका होटेलहरूको अनुगमनको जिम्मेवारी पर्यटन विभागको हो । तर, सो विभागलाई वाणिज्य आपूर्ति विभागले तारे होटेलहरूमा गरेको अनुगमनको विषयमा जानकारी नभएको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए । सबै होटललाई पत्राचार गरिसक्यौं : महासचिव शाक्य होटेल एशोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले तारे होटलमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको विषयमा सबै होटलमा पत्राचार गरिएको बताए । उनले म्याद गुज्रेका खाद्य वस्तु प्रयोग नगर्न होटललाई पत्राचार गरिसकेको बताए । उनले यो सामान्य विषय भए पनि सञ्चार माध्यमले ठूला बनाएको तर्क राखे । ग्राहकको स्वास्थ्यमा गम्भीर असर पर्ने वस्तु प्रयोग गरिरहेका होटलहरूको यो कमजोरीलाई होटल संघले सामान्यको रूपमा लिएका छ । ‘मिडियामा आएजस्तो ठूलो विषय होइन, प्रयोग गर्दागर्दै केही हुनसक्छ, मिडियाले सानो कुरालाई ठूलो बनाइदिएको हो, त्यसो गर्न नहुने’, उनले भने, ‘ठूलो मात्रामा स्टोरमा भेटिएको अवस्था होइन, म्याद गुज्रेका विषय समयमा डिस्पोजल गर्न भनेर अहिले हामीले सबै होटेलहरूलाई पनि पत्राचार गरिसकेका छौं ।’ उनले अनुगमनको विषयमा आफूहरूले मन्त्रालयस्तरमा पनि छलफल गरिसकेको बताए । साथै उनले अनुगमनको कारण आफ्ना बुकिङहरूमा समस्या नपरेको पनि प्रतिक्रिया दिए ।