महाशिवरात्रिमा बन्दीपुर केबलकार एण्ड टुरिजमले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्दै

काठमाडौं । महाशिवरात्रिको अवसरमा बन्दीपुर केबलकार एण्ड टुरिजमले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्ने भएको छ । फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केबलकार एण्ड टुरिजमले  केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ ।  उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रित समेत गरेको छ । यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ । कम्पनीले जारी पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख बराबरको १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता सेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने सेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ बिक्री गर्ने कम्पनीका सचिवले बताउनुभयो साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उनले बताए । सो परियोजनाको निर्माण कार्य ९० ५ सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड  रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए ।

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने उल्लेख छ । त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ । प्रतिवेदनको प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिए ।

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने । तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन् । हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए । ‘सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ,’ उनले भने । जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवर्द्धनको काम सुरु गरेको छ । पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए । ‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन् । उनले भने, ‘त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ ।’ देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उनले बताए । पालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर गत वर्ष थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव आयोजना गरेको थियो । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा महोत्सव भएको थियो । थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन् । जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन् । विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने अध्यक्ष थेबेले बताए । माइजोगमाई गाउँपालिका २ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ । अध्यक्ष थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताए । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन् । ‘नयाँबजारस्थित उत्तरे पोखरीमा पानीको सतह घटेपछि हामीले सहयात्रा नेपाल इलामसँगको साझेदारीमा पोखरीमा पानी पहिलाकै अवस्थामा फर्काउन प्रयास सुरु गरेका छौँ ।त्यसलाई ब्युटिफिकेसनको काम गर्नेछौँ,’ उनले भने, ‘तुम्लिङ, थुम्केरानी, उत्तरे पोखरी, साततले झरनालगायतका ठाउँ हाम्रा प्रमुख पर्यटकीय गन्तव्य हुन् । करिब ३१ सय मिटरको उचाइमा रहेको तुम्लिङलगायत यहाँको उच्च हिमाली क्षेत्रमा धेरै जैविक विविधता पाइन्छ । हाम्रो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो । औषधीय गुण भएका जडीबुटी प्रशस्त पाइन्छन् । यी कुराको संरक्षणमा हामी जुटेका छौँ । यस्तै कुराको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा हाम्रो ध्यान गएको छ ।’ पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी काम निर्माणाधीन रहेको थेबेको भनाइ छ । ‘भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्,’ उनले भने । पाँच सय ६१ मिटरदेखि तीन हजार एक सय मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ । यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ । धान, अलैँची, आलु, एभोकार्डो, किवी, खेतीदेखि केशर, चिराइतोलगायतको उच्च हिमाली जडीबुटीसमेत पाइने भएकाले खेतीबाट नै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिका उपाध्यक्ष प्रवीना राईले बताइन्। ‘किसानलाई खेतीमा प्रोत्साहन दिन कृषि शाखामार्फत बजेट छुट्याएर लगानी गरेका छौँ । किसानलाई व्यावसायिक बनाउन र उत्पादनलाई गुणस्तरीय बनाउन विगत वर्षदेखि नै हाम्रो प्रयत्न जारी छ,’ उपाध्यक्ष राईले भनिन्, ‘युवापुस्तालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाएर गाउँमा नै खेतीबाट आर्थिक समृद्धि ल्याउन पालिकाले सहयोग गर्नेछ । उहाँहरूलाई अभिमुखीकरण तालिम, कृषिमा अनुदान र कृषि सामग्री वितरण गरिरहेका छौँ । सिँचाइ नपुगेर खेतीमा समस्या भएपछि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा विभिन्न क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइरहेका छौँ ।’ थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष राईले बताइन् । यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ । रासस