संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाइने

काठमाडौं । वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो । संरक्षित क्षेत्रमा बाह्यभन्दा आन्तरिक पर्यापर्यटन बढी भएको भन्दै विदेशी पर्यटक वृद्धि गर्ने लक्ष्य लिएको विभागले जनाएको छ । विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक सीमित रहेको भन्दै संरक्षित क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गर्ने तयारी भएको बताए । ‘नेपाल भ्रमण गर्न आउने ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन्, तर आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटकको सङ्ख्या कम छ, अब विदेशी पर्यटकको सङ्ख्या बढाएर संरक्षित क्षेत्रबाट आर्थिक वृद्धि गर्ने लक्ष्य छ’, उनले भने, ‘यसका लागि हामी प्रचार–प्रसारलाई जोड दिनेछौँ, संरक्षित क्षेत्रभित्र आवश्यक पर्ने भौतिक पूर्वाधार विकास गरेर पर्यटकका लागि सेवा सुविधा पनि वृद्धि गर्ने योजना बनाएका छौँ ।’ राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागद्वारा प्रकाशित वार्षिक प्रतिवेदन २०७९/८० को प्रतिवेदनअनुसार संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रूपमा रहेका छन् । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्र भ्रमण गर्ने स्वदेशी एवं विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३५ हजार छ सय आठ रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रहरू पर्यटकको मुख्य गन्तव्य रहेको प्रतिवेदनमा उल्लेख छ । रासस

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ । ‘प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ’, उनले भने । घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, पोखराका छिमेकी पालिका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन सङ्घ संस्थालगायत रहेका छन् । राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ । प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताए । पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताए । ‘पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन न भन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ’, महानगर प्रमुख आचार्यले भने । उनले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए । रासस

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । ‘गुरुयोजनामा समेटिएका पूर्वाधारलाई गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा पर्यटन बोर्डलगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यस वर्ष होटल निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ’, उनल भने । गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पु¥याउने, आरोहीको सुविधाका लागि गोदाम घर बनाउने योजनासमेत अध्ययन गरिएको छ । त्यसैगरी पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालयलगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पुर्याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफी सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्वारलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेश गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजिकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ । गाउँपालिकालाई पर्यटन बोर्डले समेत रु तीन करोड बराबरको पर्यटन पूर्वाधारका योजना माग गरेकाले यसै पदमार्गका पर्यटन पूर्वाधारका योजनालाई नै सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग र आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको गउाँपालिकाले नारच्याङमा घरबास र पर्यटक पथ प्रदर्शक तालिम सञ्चालन गर्ने तयारी गरेको छ । एकीकृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको थियो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’ को पहिचान गरिएको थियो । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दूरीमा आठ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण भएको छ भने पाँच किलोमिटर पदमार्ग मर्मत र तीन किलोमिटर पदमार्ग नयाँ निर्माण गर्नुपर्ने छ । सडक र पदमार्गका पूर्वाधार बनेर यात्राअवधि छोटिएको भए पनि पर्यटकको सुविधाको लागि होटल, लज, खानेपानी, शौचालयलगायतको सुविधा नभएपछि गाउँपालिकाले एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । रासस