त्रिभुवन विमानस्थलमा चैत १९ देखि उत्तर दिशाबाट जहाज अवतरण गर्न नपाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आगामी चैत १९ देखि उत्तरी दिशाबाट जहाज अवतरण (ल्यान्ड) गराउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार ‘रनेव २०’ को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’ मा काम गर्नुपर्ने भएकाले अवतरण बन्द गर्न लागिएको हो । विमानस्थलको ३ हजार ४५ मिटर लामो रनेवको उत्तरतिरको २ सय ३६ मिटर बन्द हुने प्राधिरकणले जनाएको छ । ‘ठुला जहाजलाई रनवे नपुग्ला भन्ने हो,’ विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘साना जहाजलाई भने समस्या छैन, अर्कोतर्फ निर्माण कार्य हुँदै गर्दा निर्माण सामग्री पनि हुन सक्छन्, त्यसैले रनेव २० बन्द गर्न लागेका हौँ ।’ विमानस्थलको उत्तर क्षेत्रबाट उडान तथा अवतरण गर्न नपाइने सूचना अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत एआईपी (एरोनटीकल इन्फरमेसन पब्लिकेसन) मा प्रकाशन गरेको छ । विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।

इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौं : पर्यटनमन्त्री तामाङ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू) ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।’ इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी) मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ । मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले संघीयताको मर्म र भावना अनुरूप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे । मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै मन्त्रालयसँग सम्बन्धित कामलाई प्रभावकारी बनाइने उनको भनाइ थियो । पर्यटनमन्त्रीको पहिलो निर्णय नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे । अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले बताए । पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले संघीयताको भावना अनुरूप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ । मुलुकको ४१औं पर्यटनमन्त्री तामाङ नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ मुलुकको ४१औं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा २०३४ सालमा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४१ पर्यटनमन्त्री पाइसकेको छ । विसं २०२० मा नुवाकोटको पञ्चकन्यामा आमा श्रीमाया तामाङ र बुबा माइते तामाङको कोखबाट जन्मिएका तामाङ २०६६ सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । उनी २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य सुदन किराँती मुलुकको ४०औं पर्यटनमन्त्री बनेका थिए । मध्यम निम्न वर्गीय किसान परिवारमा जन्मिएका मन्त्री तामाङले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा औपचारिक शिक्षा लिएका हुन् । उनी केही वर्ष अध्यापनमा सक्रिय भए । चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय तामाङ २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहे । विसं २०३९ मा अनेरास्ववियु छैटौँको नुवाकोट सचिव भए । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका (संसद् सदस्य) भएक। थिए । विसं २०७४ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५८ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका थिए । रासस

६ देशका सेफ नेपालमा, होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङमा टेवा

काठमाडौं । विश्वका विभिन्न ६ वटा देशका होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङ कार्यक्रम नेपालमा सुरु भएको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजमा कार्यक्रम सुरु भएको हो । प्रत्येक देशका मौलिक खानालाई जगेर्ना र पुनरुत्थान गरी कसरी अरू देशलाई सिकाउने भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको (आईएसटी) कलेजका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र बज्राचार्यले बताए । ‘होटेल म्यानेजमेन्टका विभिन्न विधाहरूमा प्रत्येक वर्ष नयाँ–नयाँ विषयको विकास भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘एकले अर्काको देशको मौलिक खाना के हो, त्यो कसरी बनाउने भन्ने थाहा हुन्छ, यसो हुँदा ती देशका विद्यार्थीले पनि यो बारे थाहा पाउँछन्, जुन राम्रो कुरा हो ।’ अस्ट्रियाको अस्ट्रियन डेवलपमेन्ट एजेन्सी र आईटीएच को साझेदारीमा सुरू भएको कार्यक्रममा घाना, युगाण्डा, भुटान, श्रीलंका, अस्ट्रिया, इन्डोनेसिया र नेपालका होटेल म्यानजमेन्टका सेफहरू सहभागी छन् । होटेल म्यानेजमेन्ट पढाइ हुने नेपाल लगायत सात वटा देशको नेटवर्किङ । यो नेटवर्कले प्रत्येक वर्ष फरक–फरक देशमा कार्यक्रम गर्ने गर्छ । यसको पहिलो कार्यक्रम अस्ट्रियामा भएको थियो । अहिले दोस्रो कार्यक्रम नेपालमा भइरहेको छ । एक सातासम्म सञ्चालन हुने यो कार्यक्रममा आ–आफ्नो कलेजको पढाइ, सिकाइका विषयमा पनि छलफल गरिने बताइएको छ । अब तेस्रो नेटवर्किङ कार्यक्रम इन्डोनेसियाको बालीमा आययोजना गर्ने तयारी छ ।