वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने उल्लेख छ । त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ । प्रतिवेदनको प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिए ।

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने । तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन् । हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए । ‘सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ,’ उनले भने । जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवर्द्धनको काम सुरु गरेको छ । पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए । ‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन् । उनले भने, ‘त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ ।’ देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उनले बताए । पालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर गत वर्ष थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव आयोजना गरेको थियो । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा महोत्सव भएको थियो । थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन् । जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन् । विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने अध्यक्ष थेबेले बताए । माइजोगमाई गाउँपालिका २ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ । अध्यक्ष थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताए । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन् । ‘नयाँबजारस्थित उत्तरे पोखरीमा पानीको सतह घटेपछि हामीले सहयात्रा नेपाल इलामसँगको साझेदारीमा पोखरीमा पानी पहिलाकै अवस्थामा फर्काउन प्रयास सुरु गरेका छौँ ।त्यसलाई ब्युटिफिकेसनको काम गर्नेछौँ,’ उनले भने, ‘तुम्लिङ, थुम्केरानी, उत्तरे पोखरी, साततले झरनालगायतका ठाउँ हाम्रा प्रमुख पर्यटकीय गन्तव्य हुन् । करिब ३१ सय मिटरको उचाइमा रहेको तुम्लिङलगायत यहाँको उच्च हिमाली क्षेत्रमा धेरै जैविक विविधता पाइन्छ । हाम्रो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो । औषधीय गुण भएका जडीबुटी प्रशस्त पाइन्छन् । यी कुराको संरक्षणमा हामी जुटेका छौँ । यस्तै कुराको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा हाम्रो ध्यान गएको छ ।’ पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी काम निर्माणाधीन रहेको थेबेको भनाइ छ । ‘भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्,’ उनले भने । पाँच सय ६१ मिटरदेखि तीन हजार एक सय मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ । यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ । धान, अलैँची, आलु, एभोकार्डो, किवी, खेतीदेखि केशर, चिराइतोलगायतको उच्च हिमाली जडीबुटीसमेत पाइने भएकाले खेतीबाट नै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिका उपाध्यक्ष प्रवीना राईले बताइन्। ‘किसानलाई खेतीमा प्रोत्साहन दिन कृषि शाखामार्फत बजेट छुट्याएर लगानी गरेका छौँ । किसानलाई व्यावसायिक बनाउन र उत्पादनलाई गुणस्तरीय बनाउन विगत वर्षदेखि नै हाम्रो प्रयत्न जारी छ,’ उपाध्यक्ष राईले भनिन्, ‘युवापुस्तालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाएर गाउँमा नै खेतीबाट आर्थिक समृद्धि ल्याउन पालिकाले सहयोग गर्नेछ । उहाँहरूलाई अभिमुखीकरण तालिम, कृषिमा अनुदान र कृषि सामग्री वितरण गरिरहेका छौँ । सिँचाइ नपुगेर खेतीमा समस्या भएपछि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा विभिन्न क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइरहेका छौँ ।’ थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष राईले बताइन् । यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ । रासस

युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइको केन्द्र बन्दै ‘रत्नपार्क’

काठमाडौं । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउँछन् । ‘विद्यार्थी कार्ड देखाएपछि २० मा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन’, उनी भन्छन् । यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउँछन् । ‘घरमा कति बस्ने, पार्कभित्र बस्ने ठाउँ पनि छ, घाम ताप्न पनि पाइयो, रुखबिरुवाको स्वच्छ हावा पनि खान पाइन्छ, त्यसैले फुर्सद भएको बेलामा रत्नापार्क आउने गरेको छु’, उनी भन्छन् । यस्तै असनका सानुकाजी ताम्राकार पनि घाम ताप्न र दिन काट्नका लागि रत्नापार्कभित्र आएको बताउँछन् । माथिका केही प्रतिनिधिमूलक पात्रमात्र हुन् दैनिक हजारौँ व्यक्ति रत्नापार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् । काठमाडौं महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नापार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । काठमाडौं महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो । महानगरपालिकाले रत्नापार्कबाट हाल वार्षिक झण्डै एक करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क)का प्रमुख उमेश भण्डारी रत्नपार्कबाट चालु आवको फागुन १४ सम्म ५७ लाख ९१ हजार सात सय ६० शुल्क आम्दानी गरेको बताउँछन् । रत्नापार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले २०, सर्वसाधारणले ३० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले एक सय, विदेशी पर्यटक जाँदा एक सय रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि पाँच सय रुपैयाँ, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार पाँच सय रुपैयाँ र सांस्कृतिक पोशाक झल्काउन जानेले एक सय रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म रत्नापार्कमा ४२ हजार छ सय ४२ विद्यार्थी, एक लाख २१ हजार तीन सय नौ सर्वसाधारण, तीन सय ३३ विदेशी पर्यटक, नौ म्युजिक भिडियो सुटिङ, तीन सय ८७ व्यावसायिक क्यामेरा, चार विवाह फोटो सुट र तीन सांस्कृतिक पोशाक झल्काउने व्यक्ति रत्नापार्कभित्र प्रवेश गरेका छन् । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क) का अनुसार साउन महिनामा ३० हजार एक सय ४६, भदौमा २७ हजार एक सय ४३, असोजमा २२ हजार दुई सय २९, कात्तिकमा १६ हजार दुई सय ४५, मङ्सिरमा १९ हजार आठ सय ५०, पुसमा २४ हजार एक सय ८९, माघमा २६ हजार १५ र फागुन १४ गतेसम्म १६ हजार एक सय ४१ जना प्रवेश गरेका छन् । रत्नापार्कको सुरक्षाका लागि खटिएकी नगर प्रहरी नायब निरीक्षक ज्योति पोखरेल रत्नापार्कभित्र दैनिक आठदेखि एक हजार दुई सय व्यक्ति घुम्न आउने गरेको बताउँछिन् । ‘सार्वजनिक बिदाको दिनमा दैनिक तीनदेखि चार हजारसम्म रत्नापार्क घुम्न आउनुहुन्छ’, पोखरेल भन्छन् । रत्नापार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेको उनको भनाइ छ । रत्नापार्कभित्र बस्नका लागि सेट बक्स र कुर्चीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शङ्खधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ ९रत्नापार्क० ले जनाएको छ । रासस