सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई सामुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ । यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताए । ‘यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ’, उनले भने, ‘डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।’ उनले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताए । यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए । ‘कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ’, उनले भने, ‘आन्तरिकसँगै बाह्य पर्यटकको पनि भीड छ ।’ ढुङ्ग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुङ्गा घाटबाट हात्तीसारसम्म डुङ्गा चलाउने गरिएको छ । डुङ्गा सफारी गर्ने पर्यटकलाई केही समय जङ्गल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुङ्गा शयर गर्दा आन्तरिक पर्यटकका लागि रु चार सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय ५० शुल्क लिने गरिएको छ । अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताए । चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे सौराहाको पर्यटन विकासका लागि ढुङ्ग्रे खोलाको डुङ्गा शयरले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उहाँले सबै वनको आ–आफ्नो विशेषता रहेको जानकारी दिए । उनले सौराहा आउने पर्यटकका लागि डुङ्गा शयर राप्तीपछिको गन्तव्य ढुङ्ग्रे खोला भएको बताए । डुङ्गा शयरबाट मात्रै यस सामुदाकि वनले वार्षिक रु १५–१६ लाखको कारोबार गर्ने गरेको उल्लेख गरे । यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । ‘यहाँका सामुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ’, उनले भने । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताए । उनले जलचर प्राणी र चराचुरुङ्गीका लागि ढुङ्ग्रे खोला क्षेत्र उत्कृष्ट बासस्थान भएको बताए । उनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिए । रासस
अब गोठमा बस्नु पर्दैन पर्यटक, टोलटोलमा होटल तथा घरबास सञ्चालनमा
ढोरपाटन । एक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशु चौपायाको हुल । जसोतसो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनै पूर्णिमाका अवसरमा मात्रै तीर्थ यात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्ट मात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाई भैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् । सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन् । होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन् । स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन् । ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका द्ग छन् । पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन् । चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी यहाँका भवन निर्माण भएका छन् । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ । कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरले बताए । पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उनको भनाइ छ । अहिले टोलटोल र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुनमगरले बताए । हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उनको भनाइ छ । सञ्चालनमा आएका होटल सहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुनमगरले बताए । पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उनी बताउँछन् । ‘चार वर्ष अगाडिसम्म ढोरपाटन आउने पर्यटकलाई कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या थियो, सामान्य गोठमा स्याउला बिछ्याएर चिसोमा रात बिताउनुपर्ने अवस्था थियो, खाना खाने व्यवस्था थिएन, तर अहिले त्यो समस्या पूर्णरूपमा समाधान भएको छ, दुई–तीन वर्षको अवधिमा यति धेरै होटल र होमस्टे सञ्चालनमा आए’, उनले भने, ‘सहरको जस्तो सुविधासम्पन्न त नहोलान् तर भोक टार्न र रात बिताउनका लागि होटल भने प्रशस्तै छन् ।’ ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गङ्गा भण्डारीले यो क्षेत्र निकै परिचत भए पनि विकासका हिसाबले पछाडि रहेको बताए । स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको गुनासो पोखे । हिउँदमा बेँसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन) मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायीरूपमा बसेर होटल व्यवसाय गर्न थालेको उनको भनाइ छ । गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताउँछन् । उनले भने, ‘यो ठाउँका अधिकांश मान्छे बुकी जाने, वस्तुभाउ चराउने र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए, व्यापार व्यवसाय गर्ने वातावरण थिएन, अहिलेका जस्ता घर पनि थिएनन्, विस्तारै बाटो आयो, मोटरगाडी आउन थालेपछि घर पनि राम्रा बन्न थाले, होटल भन्ने थाहा हुँदैनथ्यो, सहरबजार जाँदामात्रै सुनिन्थ्यो, अहिले त यहाँ पनि धेरै होटल खुलेका छन्, यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङबाट यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन ।’ ढोरपाटन पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको सङ्ख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताए । पहिले ढोरपाटन आएका पर्यटकले गोठमा बसेर आलुको ढिँडो, आलुकै खोले खानुको विकल्प नभएको भन्दै अहिले पाहुनाले चाहेअनुसारको ठाउँमा बस्न र स्थानीय उत्पादनका परिकार खान पाउने उनको भनाइ छ । ढोरपाटन आउने अधिकांश पर्यटक उपत्यका क्षेत्रमा मात्रै डुलेर जाने गरेको विश्वकर्माले बताए । उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङलगायत माथिल्लो क्षेत्र निकै रमणीय रहेको उनको भनाइ छ । होटल तथा घरबास सञ्चालनमा आएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको अध्यक्ष विश्वकर्माले बताए। अहिले चिसोका कारण पर्यटक आउन छाडेको भन्दै सिजनमा दैनिक करिब तीन सयदेखि पाँच सयसम्म आउने गरेको उनको भनाइ छ । बुर्तिबाङ बजारबाट करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक विसं २०६६ देखि निर्माण सुरु भएको थियो । बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षितरूपमा काम हुनसकेको छैन । रासस
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन
फाइल फोटो काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिएका हुन् । यसैबीच, बोर्डले तत्काल कानुनी प्रक्रिया पु¥याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय गरेको छ । कोषको काठमाडौँ महानगरपालिका-८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवानस्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निर्णय गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ ।