अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र निर्माण सम्बन्धमा सुझाव लिन समिति गठन
काठमाडौं । सरकारले मुलुकका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न पूर्वसचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो सम्बन्धमा सरकारलाई सुझाव दिन पूर्वसचिव शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा अध्ययन कार्य समिति गठन गरिएको जानकारी दिइन् । बैठकले नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय सुधार गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा अध्ययन कार्य समिति गठन गरेको छ । मन्त्रिपरिषद्ले भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढाउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार विधि तथा वित्तीय हिस्सासहितका अनुसूची स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
पनौतीको चामखरमा पर्यटकको चहलपहल
धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यू प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूलढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा) । वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्किएका उनले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लागेका हुन् । स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उनले बताए । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सकेका उनले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताए । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उनको भनाइ छ । विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उनले सुनाए । करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँचजनालाई रोजगार दिएका छन् । थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाएकी मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताइन् । ‘गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,’ उनले भनिन्, ‘सुरुमा भनेजस्तो सेवासुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।’ अहिले सो रिसोर्टमा उनीसँगै अन्य चारजनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताइन् । रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्नवस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उनले बताए । पाँचवर्षे योजना बनाएर काम गरिरहेको बताउने उनले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए । उनी पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउँछन् । त्यहीँ पुगेर बस्न चाहनेका लागि चारवटा कोठा रहेका छन्भने सामूहिक रुपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उनले बताए । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् । रासस
थाइल्याण्डमा ‘इन्टरनेसनल बेलुन फियस्ता’ सम्पन्न, नेपालसहित १२ मुलुकको सहभागिता
काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन् । कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनीसहित ८० वटा बेलुन उडाइएको थियो । जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो । कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए । आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागीता जनाएको कम्पनीका निर्देशक ढकालले जानकारी दिए । कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोज सहित ‘नेपाली नाइट’ आयोजना गरिएको थियो । सो अवसरमा पाइलट र क्रूहरुलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए । ‘मुलुकको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,’ निर्देशक ढकालले भने, ‘नेपालमा बेलुन पनि छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो ।’ उनले कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए । उनले भने, ‘धेरैमा बुद्ध इण्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं ।’ उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए । उनले भने, ‘यहाँ गरिएका बेलुन ग्लो कार्यक्रमले हाम्रो ध्यान खिचेको छ, छिट्टै नेपालमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने सोचमा छौं ।’ निर्देशक ढकालले सम्भवतस् नेपालबाट इन्टरनेसनल बेलुन फेस्टिभलमा नेपाली कम्पनी सहभागी भएको यो पहिलो पटक भएको बताए । थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको यस कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो । कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेको ढकालले बताए ।