सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो
सल्लेरी । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । निकुञ्जको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा रू छ करोड २३ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रू ६ करोड ९६ लाख ७८ हजार सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष रू ७३ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको हो । चालु आवको साउनमा रू छ लाख ५६ हजार, भदौमा रू ३३ लाख ९५ हजार, असोजमा रू दुई करोड दश लाख, रू ५४ हजार, कात्तिकमा रू तीन करोड १२ लाख २७ हजार, मङ्सिरमा रू एक करोड एक लाख ४३ हजार र पुसमा रू ३२ लाख एक हजार राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए । निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट रू छ करोड ६६ लाख ७० हजार, वन पैदावर बिक्री वितरण शीर्षकबाट रू ४० लाख ८३ हजार, दण्ड सजायबाट रू २५ लाख सङ्कलन भएको छ । निकुञ्जको प्रमुख राजस्व सङ्कलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ थियो । चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू तीन हजार राजस्व लिने गरेको छ ।एक पटक हेलिकप्टर अवतरण गरेबापत रू तीन हजार अवतरण शुल्क लिने गरिएको छ । निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए । ‘निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो’, उनले भने,’विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटक भ्रमणका लागि आउँछन्, त्यही भएर सिजनमा हामीलाई भ्याइनभ्याइ नै हुन्छ । अहिले ‘अफसिजन’मा केही भए पनि फुर्सद हुन्छ । यो मौसममा पर्यटक कम आउँछन् ।’ सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए । उनका अनुसार सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ थियो । जसमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्र नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् । निकुञ्ज भ्रमण गर्नेको संख्यामा वृद्धि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् । साउनमा दुई सय आठ, भदौमा एक हजार तीन सय २४, असोजमा नौ हजार आठ सय दश, कात्तिकमा १३ हजार २५, मङ्सिरमा दुई हजार छ सय ९४ र पुसमा एक हजार तीन सय २९ जना रहेका कार्यालयका सूचना अधिकारी मण्डलले जानकारी दिए । उनका अनुसार सार्क मुलुकका पर्यटक दुई हजार सात सय १९, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना रहेका छन् । ‘नेपाली पर्यटक अलिक कम आउँछन् । यहाँ घुम्न आउने अधिकांश पर्यटक विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन् । त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकसँग रमाउँदै काम गर्दाको मज्जा बेग्लै हुन्छ’, सूचना अधिकारी मण्डलले भने । उनका अनुसार यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ । फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच/सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । रासस
सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
ढोरपाटन । पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायत तल्लो क्षेत्रमा झरेको उनको भनाइ छ । अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताए । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको उनी बताउँछन् । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेमौसम भएको हुँदा पर्यटकको सङ्ख्या न्यून रहेको उनको भनाइ छ । यो याममा हिँउ परेको भए धेरै पर्यटक भित्र्याउन सकिने भण्डारीको भनाइ छ । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्यधिक रहेको उनी बताउँछन् । ‘चिसो निकै छ, पाहुना आउँदैनन्, होटल व्यवसायी यत्तिकै बसेका छन्, पुस पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगङ्गा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्, तर बास बस्ने गरेर आएका छैनन्, हिँउ परेपछि धेरै आउने थिए, अहिले हिँउ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ’, भण्डारीले भने, ‘यहाँ वरपर बस्नेहरु पनि चिसो बढेको हुँदा तल बेँसीतिर गएका छन्, गर्मी मौसम सुरु भयो भने बल्ल आउँछन् ।’ दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैन्थे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास सञ्चालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडकका कारण यात्रा भने त्यत्ति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताए । चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुना पनि नआउँदा खाली रहेको उनको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेँसी झर्ने र बेला–बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउँछन् । उनले भने, ‘शनिबार र शुक्रबारका दिन अलिअलि आउँछन्, तर धेरैजसो फर्किहाल्ने हुँदा होटलमा पाहुना हुँदैनन्, केही बसे पनि होटल धेरै छन्, सबैतिर जाँदा एउटा पाहुन पनि पुग्दैनन्, चिसो बढी छ, बिहान उठ्दा धारामा पानी जमेको हुन्छ, चिसोले गर्दा धेरै मान्छे आएका छैनन्, अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेँसीमै भएको हुँदा चिसो छल्नलाई बेँसीतिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु ।’ रासस
वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने, ३ जहाज खरिद गरिने
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बडाइएको जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । “निगमको पुनःसंरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने देखिएकाले हामी यो प्रणालीमा जाने तयारीमा छौँ”, उनले भने, “करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । छिट्टै यस विषयमा निर्णय हुनेछ ।” मन्त्री किरातीले आवश्यक अध्ययन र सरोकारवालाको सुझावका आधारमा वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लगेर निगमको सुधार गर्नुपर्ने अपरिहार्यता भएको जिकिर गरे । उनले विभिन्न देशमा व्यवस्थापन करार प्रणाली प्रभावकारी देखिएकाले नेपालले पनि यो अभ्यास अवलम्बन गर्दा उपयुक्त हुने धारणा राखे । पर्यटनमन्त्री किरातीले वायुसेवा निगम अहिलेकै अवस्थामा सञ्चालन हुन नसक्ने निष्कर्षमा मन्त्रालय पुगेको भन्दै निगमलाई नयाँ ढङ्गले संरचनागत सुधार गरेर लैजाने योजना बनाइएको जानकारी दिए । सांसद प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरिनुपर्ने धारणा राख्दै आवश्यक अध्ययन गरेर मात्रै विमानस्थल निर्माण गरिनुपर्ने बताए । सांसद उदयशमशेर जबराले निगममा भएका जहाजको प्रभावकारी सञ्चालन गर्नुका साथै नयाँ जहाज थपेर अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन जरुरी भएको उल्लेख गरे । सांसद डा धवलशमशेर जबराले करार व्यवस्थापनमा लगेर वायुसेवा निगम सुधार्ने योजना उपयुक्त भए पनि यसको औचित्यता र सान्दर्भिकतालाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । सांसद सुनिता बरालले वायुसेवा निगमको विद्यमान स्रोत साधनको भरपुर उपयोग गर्दै हालको अवस्थालाई सुधारेर सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । सांसद शिशिर खनालले निगमको जहाज बारम्बार ग्राउण्डेड हुनेगरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै प्राविधिक मर्मत गर्दै उडान सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करार दिन नहुने धारणा राख्दै विद्यमान अवस्थालाई सुधार गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए । सांसद दामोदर पौडेल बैरागीले निगमलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उर्तानुपर्नेमा जोड दिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले जहाज थपेर अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तार गर्नेतर्फ लागिरहेको जानकारी दिए । तीन जहाज खरिद गरिने पर्यटनमन्त्री किरातीका अनुसार निगमले आन्तरिकतर्फका दुर्गम क्षेत्रका विमानस्थलमा उडानका लागि तीन थान ट्वीनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । आन्तरिक उडानका लागि तीन थान एटीआर–७२ र अन्तर्राष्ट्रिय उडानका तीन थान न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निगमसँग हाल आन्तरिक उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन् । निगम र विमानस्थल सुधारको प्रतिवेदन पेश गर्न निर्देशन अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले वायुसेवा निगम र विमानस्थल सुधारबारे हालसम्म भएका अध्ययन र प्रयाससहितको प्रतिवेदन समितिसमक्ष पेश गर्न निर्देशन दिएको छ । समितिका सभापति राजकिशोर यादवले निगम तथा विमानस्थलको सुधारलगायत समग्र विषयमा के कस्ता अध्ययन÷अनुसन्धान भएका छन् तिनको प्रतिवेदन समितिमा पेश गर्न पर्यटन मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए । बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या तथा प्राविधिक विषयका सम्बन्धमा पर्यटनमन्त्री, सचिव र निगमका कार्यकारी अध्यक्षसँग छलफल भएको छ । निजगढ विमानस्थल निर्माणमा जोड पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माणमा विलम्ब भइरहेको भन्दै चाँडो निर्माण प्रक्रिया अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गराए । उनले भैरहवा र पोखरा विमानस्थलको प्रभावकारिता नदेखिएको भन्दै निजगढ विमानस्थल उपयुक्त भएकाले यसको निर्माण गर्नुको विकल्प नरहेको उल्लेख गरे । नेपालले भने, “धेरै पहिलादेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन निजगढ विमानस्थल बनाउनुको विकल्प नै छैन ।” उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले धेरै पटक छलफल र स्थलगत अध्ययन गरेर निजगढमा विमानस्थल निर्माण गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको स्मरण गराए ।