बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ । लुम्बिनी बचाउ संघर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ । समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको जनाएको छ । समितिले लुम्बिनी विकास कोषलाई हालै बुझाएको १९ बुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिवसहितका पदाधिकारी र दुईजना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न समेत माग गरेको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका सङ्घीय सांसद र प्रदेशसभा सदस्य विधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन नगर्ने तथा गुरुयोजनाविपरीतका अनधिकृत संरचना तत्काल हटाउन माग गरेको छ । त्यसैगरी मायादेवी मन्दिरभित्र नित्य पूजा, सन्ध्या आरती तथा दीप प्रज्ज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिले कोष समक्ष आग्रह गरेको छ । शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने खालका कार्यक्रम गर्न पाउने कार्यविधि यथाशीघ्र बनाई अन्तर्राष्ट्रिय सभाहललाई सञ्चालनमा ल्याउन तथा कोषको गुरुयोजनामा उल्लेख भएअनुसार कोष परिसरभित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैँचाको तत्काल निर्माण थालनी गर्न समितिले माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘मायादेवी मन्दिरलाई बिहान ५ देखि बेलुका १० बजेसम्म खुला राखिनुपर्छ । पण्डित गङ्गाप्रसाद पाण्डे विगतमा पुस्तौँपुस्तादेखि मायादेवी मन्दिरको पूजापाठ गर्दै आएकामा निजका सन्तानलाई एक स्थान सुरक्षित राख्नु पर्दछ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनुपर्दछ र लामो समय काम गरेका कर्मचारीलाई स्थायी बनाउनु पर्दछ । लुम्बिनी अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था गर्न, बँदेल निलगाईलगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्ति प्रदान गर्न , एसियाली विकास बैंकबाट अनुदानमा प्राप्त विद्युतीय बस तथा भ्यान आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यथाशीघ्र सञ्चालन गर्न तथा गेट नं ४ र ५ को बीचमा साना सवारी राख्ने उद्यान निर्माण गर्न सिमल, पिपल, वर, आदिको संरक्षण गर्न, लुम्बिनीमा अहिलेसम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मूर्ति तथा अमूल्य पुरातात्विक वस्तुको अभिलेख राख्न समितिले कोषसमक्ष माग राखेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी
गण्डकी । ‘विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।’ मङ्गलबार पोखरामा आयोजित परिसंवाद कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । गण्डकी प्रदेश सरकार स्थापना दिवसका पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा परिसंवाद गरिएको थियो । यही फागुन ४ मा प्रदेशले आफ्नो स्थापनाको छैटौँ वर्ष पूरा गर्दैछ । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पोखरालाई आगामी चैतभित्रमा पर्यटकीय राजधानी घोषणाको तयारी गरिएको जानकारी दिए । फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गरिने जनाउँदै उनले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि चीन र भारतबाट आएका अधिकारीसँगको भेटमा सहजीकरण गर्न आग्रह गरिएको बताए । गाँजाखेतीलाई वैधता दिन तथा स्थानीय रक्सी ‘ब्रान्डिङ’ गर्न प्रदेश सरकार लागिपरेको जनाउँदै मुख्यमन्त्रीले भने, ‘लोकल मदिरा बनाउन लुक्नुपर्ने, अन्य ब्राण्डका रक्सी बनाउन लुक्नुनपर्ने अवस्था छ,’ उनले भने, ‘गुणस्तर नभए गुणस्तर कायम गरौँ । साधारण जनजीविका चलाएका मानिस सानो भए पनि आयआर्जन गर्न सक्छन् ।’ प्रदेशलाई आत्मनिर्भरतातिर लैजानुपर्ने बताउँदै उनले पञ्चवर्षीय योजनाको उद्देश्य पनि आत्मनिर्भरता नै केन्द्रित रहेको धारणा राखे । आवश्यकता आधारमा बजेट विनियोजनका लागि आयोजना बैंक स्थापनाको तयारी पनि भइरहेको उनले जानकारी दिए । परिसंवादमा मुख्यमन्त्री पाण्डेसहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ पूर्वअध्यक्ष आनन्दराज मुल्मी र प्राडा चन्द्रा भद्रा वक्ताका रूपमा रहेका थिए भने सहजीकरण नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र पत्रकार वासुदेव मिश्रले गरेका थिए ।
नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु हुँदै
नेपालगञ्ज । नेपालगञ्ज–जनकपुर हवाई सेवा यही सातादेखि सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । अध्यक्ष सिग्देलले यति एयरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रूपमा ८ हजार ५ सय रुपैयाँ भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताए । उनका अनुसार विभिन्न सरोकारवाला संघसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘अहिले हामीले बाटो देखाउने कोसिस मात्रै गरेका छौँ,’ अध्यक्ष सिग्देलले भने, ‘यसबाट पर्यटकको चहलपहल बढ्ने छ । साथै नेपालगञ्जको बजार चलायमान हुएर यहाँको व्यापारव्यावसाय गतिशील बन्दै जानेछ ।’ भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । उनले पर्यटन प्रवर्द्धनका लागि हवाइमार्गसँगै नेपालगञ्ज–अयोध्या अत्याधुनिक बस सेवा सञ्चालन गर्न आवश्यक रहेको भन्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने बताए । ‘भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ,’ उनले भने । नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाई मार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज माध्यम भएको अध्यक्ष सिग्देलले बताए । नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए । उनले भारत र नेपालीबीचको सम्बन्ध थप बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि सहज हुने बताए । नेपालगन्जमा बागेश्वरी मन्दिर बाहेक नेपालगञ्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत छन् । करिब एक महिनाअघि नेपालगञ्ज–जनकपुर हवाई उडान सम्बन्धमा राससले समाचार लेखेको थियो ।