पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता

पाल्पा । कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो, पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो । विकास अभावका कारण जिल्ला सदरमुकाम तानसेनबाट दुर्गमको निशानामा पर्थ्यो । रामपुर ठूला सहरसँग जोडिएला भन्ने स्थानीयवासीको कल्पना पनि थिएन । बत्तीमुनिको अँध्यारोमा रहेको रामपुर अहिले देशकै ठूला सहरसँग सिधा सडकमार्गले जोडेपछि आशालाग्दो र भविष्यमा मुलुककै नमुना पर्यटकीय सहर बन्ने सम्भावना बोकेको छ । सडक सुविधा पुगेपछि बस्ती बाक्लिदै गयो, व्यापार व्यावसाय धमाधम खुल्न थाले । रामपुर कस्तो होला भन्ने कौतुहलता सबैमा थियो तर आउने वातावरण बनेको थिएन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि रामपुरमा पर्यटक भित्रिन थालेका छन् । विभिन्न ठाउँ–ठाउँबाट घुमघाम गर्न आउनेको चहलपहल देखिन्छ । हिजो सडक समस्याले पर्यटक आउन सक्ने वातावरण बनेन, अहिले सडक जोडिएपछि पर्यटक आउँछन्, अवलोकन गर्छन्, लगत्तै फर्कन्छन् ।बाहिरबाट घुम्न आएका पर्यटकलाई यहीँ बस्ने वातावरण नबन्दा आयस्रोतको माध्यमका रुपमा पर्यटन व्यावसायलाई बनाउन नसकिरहेको अवस्था छ । कालीगण्डकी करिडोर सडकको कारणले पछिल्लो समय रामपुर आउने पर्यटकको आकर्षण बढ्दो छ तर बाँस नै बस्ने अति न्युन छन्, केही ठाउँ अवलोकन गरेर अन्यत्र नै बसोबास गर्न आफ्नो गन्तव्य तय गर्ने गरेको पूराना पत्रकार बासुदेव ढकाल बताउँछन् । ‘रामपुरलाई आधार मानेर आवतजावत गर्ने यात्रु तथा पर्यटकले बाँस बस्न त परै जाओस् खाजा समेत नखाइकन यसो हेरेर अन्यत्र गएर बसोबासको गन्तव्य तय गर्दछन्, पर्यटक भुलाउने वातावरण सरोकारवालाले तयार पार्नुपर्दछ, विकासले मात्रै पर्यटक बस्ने वातावरण बन्दैन’ उनले भने । बाहिरबाट घुम्न आएका पर्यटक रामपुरमै बसोबास गर्ने वातावरण तय नगर्दासम्म यहाँको आयस्रोतमा बृद्धि नहुने पुराना पत्रकार ढकालको अनुभव छ । रामपुरमा होटल व्यावसाय खुल्ने क्रम बढे पनि बसोबासका लागि बाहिरी होटलको तुलनामा बाहिरबाट आउने पाहुनालाई आदर सत्कार छैन, एक ठाउँमा पुगेको पर्यटकलाई अन्य ठाउँमा घुम्ने वातावरण बनाउन एक अर्काबीच समन्वय नहुनु, पर्यटकलाई बस्ने माध्यम बनाउन समन्वयको खाँचो रहेको छ । कालीगण्डकी नदीसँग जोडिएको कालीगण्डकी उपत्यका, कला संस्कृतिको उर्वरभूमि, चारैतिर डाँडाकाडाँले घेरेको बीचको समथर भागमा अवस्थित रामपुर आफैँमा सुन्दर छ । पाल्पा जिल्लाकै समथर उपत्यका, विकासको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले चारैतिरको केन्द्र भागमा अवस्थित छ । पूर्वमा कालीगण्डकी करिडोर सडकमार्गले नारायणघाटसँग सिधा जोडेको, उत्तर पूर्वमा पोखरा भिमाद हुँदै रामपुर जोडिएको सडक, परिश्चममा बुटवल तानसेन रामपुर सडकखण्ड, दक्षिणमा रामपुर मित्याल अरुणखोला सडकखण्डले जोडिएको छ । तराई, पहाडसँग सिधा जोडिएको रामपुर हिजोआज धेरै यात्रुले यहीँ ठाउँ भएर ओहोरदोहार गर्ने गर्छन् । पर्यटकीय सम्भावना बोकेका सबै क्षेत्रमा पूर्वाधार निर्माण, रामपुरमा लोपोन्मुख अवस्थामा रहेका दरैँ, कुमाललगायतका विभिन्न समुदायको भेषभूषा, सांस्कृतिक पहिचान जोगाउने, साँझमा विभिन्न समुदायको मौलिक पहिचान झल्कने संस्कृति देखाउने वातावरण, स्थानीय स्वाद दिन ठाउँ–ठाउँमा घरबास सञ्चालन गर्नुपर्ने बताउँछन्, पर्यटन क्षेत्रमा तल्लिन लक्ष्मीनारायण गुठी संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी । उनी भन्छन्, ‘अहिले हरेक व्यक्ति आफूले आर्जन गरेको धनबाट केही रकम परिवार, साथीभाइसँग घुमघाम गर्न जाने प्रचलन बढेको छ, सवारी साधनमा सहजरुपमा पुग्ने सडक गाउँमा पुगेपछि सहर बजारमा भन्दा गाउँको विकास र प्राकृतिक सुन्दरतामा धेरै लोभिन थालेकाले स्थानीयपनलाई जोड दिइयो भने पर्यटक बस्ने वातावरण बन्नेछ।’ बाहिरबाट आएका पर्यटक बस्ने वातावरण बनाउन बेला–बेलामा सरोकारवाला निकायसंग आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी सुझाव लिने, रामपुर नगरपालिकाले अनुदान दिएर बनेका पर्यटकीय तथा धार्मिक संरचनामा आगन्तुक पुस्तिका राख्नुपर्ने, थोरै भएपनि प्रवेश शुल्क उठाउने, नगरपालिकाले लगानी गरेको क्षेत्रमा बनेका संरचनाबाट आयआर्जनको वातावरण बनाउनु सकियो भने स्थानीयलाई पनि आर्थिक लाभ मिल्नेछ । रामपुर नगरपालिकाले ऐतिहासिक, पर्यटकीय, धार्मिक क्षेत्रमा पूर्वाधार विकास, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली बत्तीलगायतको क्षेत्रमा जोड दिएको छ ।सडकमार्गको पहुँच र द्रूततर विकासले रामपुर हेर्नकै लागि भनेर टाढा-टाढाबाट गन्तव्य तय गरेर आउँछन् । खाने बस्ने ठाउँको लागि भने अन्यत्र गन्तव्य बनाएका कारण पर्यटकीय क्षेत्रबाट रामपुरले आयस्रोत लिन सकिरहेको छैन । प्रचार-प्रसार, एक अर्काबीचको समन्वय नहुनु, पर्यटकीय क्षेत्रमा बनेका संरचनाको रेखदेख, आयस्रोतमा कम चासो, पर्यटन क्षेत्रलाई व्यावसायिक रुपमा अंगाल्न नसक्नु, युवाको वैदेशिक रोजगारमा आकर्षण बढ्नु जस्ता कारणले रामपुर भित्रिएका पर्यटकलाई एक÷दुई दिन बस्ने वातावरण बनाउन सकिएको छैन । रामपुरमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई बसोबास गर्ने वातावरण बनाउन विभिन्न ठाउँ-ठाउँमा घरबास सञ्चालन गर्ने, स्थानीय उत्पादन बढाउने, कला संस्कृती, लोपोन्मुख वस्तुको संरक्षण गर्ने कार्यमा नगरपालिकाले जोड दिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । कुमाल समुदायको विद्यार्थीको बाहुल्यता रहेका विद्यालय कृष्णादेवी मावि, नवदुर्गा माविमा माटोको भाडा बनाउने सीप प्रदान गर्ने, रामपुर नगरभित्र रहेका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने, सबै समुदायको पहिचान झल्कने कला, संस्कृतिको उजागर गर्ने, कृषि तथा पशुपंक्षीपालन, घरेलु उद्यम, महिला उद्यमशीलताको विकास गर्ने योजना अनुरुप नगर सरकार अगाडि बढेको नगर प्रमुख थापाको भनाइ छ । ‘रामपुर नगरपालिका बुटवल, नारायणघाट, पोखरा जस्ता ठूला–ठूला सहरको केन्द्र भागमा रहेकाले यो क्षेत्र नमुना सहर बन्नेछ,’ उनले भने, ‘यहाँको पर्यटन विकास गर्न कालीगण्डकी नदीको किनारमा पैदलमार्ग बनाउने, पैदलमार्गका विभिन्न स्थानमा घरबास सञ्चालन, स्थानीय उत्पादन खरिद बिक्रि गर्न कोशेली घर निर्माण, विभिन्न जातका फलफुलका विरुवा लगाउने, प्याराग्लाईडिङ सञ्चालन, कालीगण्डकी नदीमा नियमित जलयात्रा सञ्चालन गरेर बाहिरबाट आउने पर्यटक रामपुरमै बस्ने वातावरण तयार पार्नेछौँ ।’ नगर प्रमुख थापाका अनुसार कालीगण्डकी नदीको किनारमा पैदलमार्ग निर्माण गर्न रु एक करोड २० लाख रकम विनियोजन गरिएको छ । रामपुरलाई केन्द्रबिन्दु मानेर ठूला सहर बजारमा आवतजावत गर्ने क्रम बढेकाले यसवर्ष हरियाली सहर निर्माणको कार्य गर्ने र अर्को वर्ष सडक बत्ती जडानको काम गर्ने नगर सरकारको योजना छ । यहाँ शैक्षिक अवलोकनका लागि ठुलो समुहमा शिक्षक, विद्यार्थी तथा शिक्षासँग सरोकारवालाको समूह आउनेजाने क्रम बाक्लिदै गएको छ । पारिवारिक जलयात्राका लागि उत्तम मानिएको विश्वकै एकमात्र शालिग्राम शिला पाइने धार्मिक, पर्यटकीय नदी कालीगण्डकी, त्रेता युगमा भगवान् रामचन्द्रले बनवास जाँदा बसोबास गरेको रामतपोभूमि, स्नान गरेको कालीगण्डकीको तट रामघाट, तपस्या गरेको गुफा, भात पकाएर खाएको रामचुलो, रामचन्द्रकी पत्नी सीता रजश्वला हुँदा रामले रामघाटबाट बाँण हानेर स्नान गर्न बनाएको सीताकुण्ड यहाँका प्रख्यात ऐतिहासिक ठाउँ हुन् । तालपोखरा, बुद्धपार्क, गौशाला तातोपानीधाम, सिद्धबाबाधाम, पर्यटकीय क्षेत्र रहेको राम्चे सामुदायिक वन, रानीवन तथा वडभान सामुदायिक वन, ज्याग्दी बृहत् पार्क, बाँघको ढाडक्षेत्र, लखन थापापार्क, शालिग्राम संग्राहालय टापुधाम, छाङ्दी झरना, बाँदरकुने क्षेत्र, घट्टार, बशिष्ठगुफा, रामजानकी मन्दिर, मौलाकालिका मन्दिर, कालीगण्डकी नदीले घेरेको खैरेनी सामुदायिक वन लगायतका क्षेत्र घुम्न लायकका छन् । यहाँ पर्यटक लक्षित विभिन्न भौतिक संरचना तयार पारिएको छ । निजी सवारीसाधनमा करिब तीन घन्टामा रामपुर–गैडाँकोट, रामपुरदेखि भिमाद हुँदै पोखरा, रामपुर–बुटवलसम्म सहजै पुगिन्छ । दूरीको हिसावले छोटो यात्रा पर्ने भएकाले हिजोआज निजी सवारीसाधनमा पाल्पा सदरमुकाम तानसेन, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायतका यात्रुले रामपुरलाई आधार बनाएर कालीगण्डकी करिडोर सडकमार्ग प्रयोग गरेर नारायणघाट, काठमाडौँसम्मको यात्रा गरिरहेका छन् । रासस

तमोर करिडोरमा धमाधम खुल्न थाले नयाँ होटल, २५ लाखसम्मको लागत

धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना-ठूला सवारी साधन चल्ने गरेका छन् । करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो । पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आउएका चौबिसे गाउँपालिका-३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल गर्न फर्केका छन् । उनले चौबिसे-४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गरेका हुन् । दश वर्षका लागि जमिन र घरभाडामा लिएर २५ लाख रुपैयाँको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिए । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना-ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । ‘हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ’, उनले भने । यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका-४ का हरि ओझाले घरभाडामा लिएर सात लाख रुपैयाँ लागतमा होटल सञ्चालन गरिरहेका छन् । उनले दैनिक १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म व्यापार गरिरहेका छन् । करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए । चौबिसे-४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू (राउत)ले पनि होटल सञ्चालन गर्नका लागि २० लाख रुपैयाँ खर्चेर पक्की घर बनाएका छन् । कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाएका छन् । त्यस्तै, साँगुरीगढी गाउँपालिका-१ का जीवन देवानले पनि धरान-धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल व्यवसाय थालेका छन् । निर्माण व्यवसायी राईले यात्रु तथा यातायात व्यवसायीको सुझावमा आफ्नो दाजुसँगको सहकार्यमा यही माघदेखि १० लाख रुपैयाँको लागतमा होटल व्यवशाय सुरु गरेका हुन् । रासस

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ । बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने धारणा व्यक्त गरे । साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए । नेपाल स्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु सङ्कटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई दिगो बनाउन महत्वपूर्ण हुने बताए । साथै उनले दुई संस्थाबीचको सहकार्य अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएको समेत उल्लेख गरे । नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रुपमा मिलेर काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तले निम्त्याएका विपद्लाई न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाइ काम गरिरहेको जानकारी दिए । डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु सङ्कट, उदीयमान जोखिम, र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ । दुबै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलार्ई एकीकृत गर्ने लक्ष्य राखेका छन् । डब्लुडब्लुएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाख भन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो । रासस