सिमसार क्षेत्र जोगाउन चुनौती

कञ्चनपुर । मानव जगत्, कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सिमसार मानव जीवनको आधारका रूपमा रहेको बताए । उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यकपर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘सिमसार मानव जीवनको अस्तित्वसँग जोडिएको छ, वन्यजन्तुको बासस्थानमा नभई नहुने तत्व हो,’ उनले भने, ‘सिमसार मानव जीवनको आर्थिक, सामाजिक एवं सांस्कृतिक पक्षसँग जोडिएको छ ।’ उनले कतिपय समुदाय र वन्यजन्तु सिमसार क्षेत्रमै आश्रित भएको बताए । उनकाअनुसार नेपालको पाँच प्रतिशत भूभाग सिमसारले ढाकिएको छ । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीविना जीवनको अस्तित्व नरहने भएकाले यो मान्छेको फोक्सो जस्तै भएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मी जोशीले बताइन् । उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यकपर्ने पानीको उपलब्धता भएकाले सिमसारको महत्वपूर्ण योगदान रहेको बताइन् । ‘तालतलैया, पोखरीको सांस्कृतिक महत्व छ, यो मानवीय परम्परासँग पनि जोडिएको छ,’ उनले भनिन्, ‘पछिल्लो समय मिचाहा प्रजातिका कारण धेरै सिमसार क्षेत्र मासिँदै गएका छन् ।’ उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको जनाउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए। प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करूपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको वन विज्ञानमा अध्ययनरत विद्यार्थी रितु जोशी बताउँछिन् । ‘जैविक विविधता र पारिस्थितीकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्व छ, यसको संरक्षणमा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विषेश पहल गर्नु आवश्यक छ ।’ कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ ।

पर्यटनमन्त्रीले गरे वायुसेवा निगमको निरीक्षण

काठमाडौं । नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिएका छन् । मन्त्री किरातीले आज नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रर्वाहबारे निरीक्षण गरेका हुन् । उनले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गरेको निगमका प्रवक्ता रमेश पौडेलले राजानकारी दिए । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिए। निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए ।

बालुवाटारमा खुल्यो सवा अर्ब बढी लगानीमा लक्जरी बुटिक होटल ‘वर्णवास’

काठमाडौं । काठमाडौंको बालुवाटारमा निर्माण भएको ‘लक्जरियस’ बुटिक होटल ‘वर्णवास’ आज बिहीबारबाट सञ्चालनमा आएको छ । उक्त होटलका सञ्चालक तथा लगानीकर्ता पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईं हुन् । सञ्चालक बजगाईंले विभिन्न कार्यक्रम गर्दै यो महिनाभरिमा पूर्णसञ्चालमा ल्याउने जानकारी दिए । बजगाईंका अनुसार कुल १ अर्ब ३१ करोड रुपैयाँमा निर्माण भएको होटलमा ४८ कोठा छन् । करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरी बुटिक होटल निर्माण गरिएको हो । होटलमा १८ प्राइभेट ज्याकुजी छ । होटलका कोठामध्ये सबैभन्दा ठूलो ६० वर्गमिटरको हुनेछ । यस्तो कोठा प्रत्येक तलामा एक÷एक वटा छ । तर, अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरको रहेको उनले बताए । होटलको बुकिङ खुला भइसकेको छ । अहिले १ सय दिनका लागि एउटा कोठाको १ सय ५० देखि ३ सय अमेरिकी डलरसम्म पर्ने बजगाईंले जानकारी दिए । ‘अलि पछि भने यो महँगो हुन्छ, यसको मूल्य ६ सयदेखि ७ सय डलर पर्न जान्छ,’ उनले भने । सञ्चालक बजगाईंका अनुसार तीन तहमा विभाजन गरेर बनाइएको साढे ९ तलाकोे होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने वेशभूषा र ग्यालरी राखिएको छ । जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाल चित्रित गरिएको छ । ‘यो नेपाली संस्कृति र रहनसहनलाई झल्काउने होटल हो,’ उनले भने, ‘यसले नेपाली जात्रा, पर्व, वेशभूषाको प्रमोट गर्छ । यहाँ भएका सबै रुममा नेपाली र मेटरियल प्रयोग गरिएको छ । कार्पेट हात्तीले खाने घाँसबाट बनेको छ, लालीगुँरासको इम्प्रेसन गरिएको छ । बक्खुको मार्बल छ । होटलमा नेपालमै उत्पादन भएका खानेकुराको स्वाद चाख्न पाइने छ ।’ आफ्नो होटल प्रडक्ट नै फरक भएकाले अहिले काठमाडौंमा सञ्चालन भइरहेका तारे होटलहरूसँग सहजै प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो होटल अरू रेगुलर होटलजस्तो छैन, आफूले सिकेको पनि यही छ र सीप पनि यही छ,’ उनले भने, ‘नेपालमा ठूला भनेर खुलेका होटल बन्द पनि भएका छन्, होटल सांग्रिला, अन्नपूर्णजस्ता होटल बन्दै छन्, हाम्रो प्रडक्ट नै फरक भएकाले चलिरहेकैसँग पनि सहजै प्रतिस्पर्धा गर्न सकिन्छ ।’ अहिले होटलमा कुल १ सय १२ जनाले रोजगारी पाएका छन् ।