साढे तीन हजार पर्यटकले घुमे उपल्लो मुुस्ताङ, २३ करोड रुपैयाँ आम्दानी

म्याग्दी । अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट  सरकारलाई २२ करोड ९९ लाख ४४ हजार रुपैयाँ आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । एक्याप जोमसोम शाखाका प्रमुख प्रमोदराज रेग्मीले सन् २०२३ मा तीन हजार चार सय ८७ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेको जानकारी दिए । ‘सन् २०२१ मा ६ सय दुई र २०२२ मा तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका थिए,’ उनले भने, ‘सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटकको आगमन बढेको हो ।’ गत जनवरीमा सात विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेबु्रअरीमा २३, मार्चमा एक सय ६२, अप्रिलमा चार सय २५, मेमा सात सय १२, जुनमा एक सय ४९, जुलाईमा एक सय आठ, अगस्टमा दुई सय ७८, सेप्टेम्बरमा चार सय सात,  अक्टोबरमा आठ सय ३०, नोभेम्बरमा दुई सय ८० र डिसेम्बरमा २३ विदेशी पर्यटक पुगेका थिए । मुस्ताङको कागबेनीदेखि उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई अध्यागमन विभागले प्रवेश शुल्कबापत पाँच सय अमेरिकी डलर तोकेको छ । सो शुल्क तिरेर उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले दश दिनको प्रवेश अनुमति पाउँछन् । दश दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई राजश्व बुझाउनुपर्ने हुन्छ । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका-२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन् । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए । गत भदौ र कात्तिकमा मुस्ताङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट मुक्त गराउन माग गरेका थिए । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भौगोलिक बनावट र माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । रासस

हायात सेन्ट्रिक होटलमा रुपान्तरण हुँदै हायात प्लेस

काठमाडौं । हायात प्लेस काठमाडौं हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण हुने भएको छ । हायात होटलस् कोर्परेशन (एन.वाई.एस.ईः एच) र सिटी होटल लि. (एन.ई.पि.एस.ईः सि.आइ.टि.वाई.)ले हायात प्लेस काठमाडौंलाई योजनावद्ध हयात सेन्ट्रिकमा रुपान्तरण गर्न लागेका हुन् । पूनर्निर्माण पश्चात् देशको पहिलो हयात सेन्ट्रिक होटलका रुपमा पूर्ण रुपले रिब्रान्ड हुनेछ । पुनर्निर्माण नवनिर्मित प्रवेशद्वार तथा लबि क्षेत्र, अनुपम स्काई बार तथा लाउन्ज, र परिष्कृत सुविधाहरुका साथ हुनेछ । यस रुपान्तरणको हरेक तत्वलाई हायात सेन्ट्रिक ब्रान्डको पूर्ण-सेवाको जीवन्तता अंगिकार गर्ने गरी विचारपूर्वक तथा ध्यानपूर्वक समेटिने बताइएको छ । जानकार यात्रुहरुका लागि अन्वेषणलाई प्रेरित गर्ने शहरको केन्द्र नजिकै अवस्थित प्रक्षेपण प्याड, जुनस्वयम्भू महाचैत्य, बौद्धनाथ स्तूप, र पशुपतिनाथ मन्दिर जस्ता युनेस्को विश्व सम्पदा स्थलहरु समेत अन्य प्रसिद्ध तीर्थस्थलहरुबाट छोटो सवारी दूरीमा रहेको छ । ऐतिहासिक स्थलहरु, पुरातन मन्दिरहरु, तीर्थस्थलहरु, सुनौला प्यागोडाहरु तथा मनमोहक गाउँहरुको धनी रमणिय उपत्यकामा अवस्थित होटल रहेको ठाउँ सहासीक समकालीन यात्रु तथा पर्यटकहरुका लागि यो होटल उत्तम छनौट हुनेछ । ‘रणनीतिक रुपमा काठमाडौंको मुटुमा अवस्थित भएकोले, हामी विश्वस्त छौं कि यो होटलले गन्तव्यको समृद्ध इतिहासको जानकारी लिन इच्छुक पाहुनाहरुका लागि निजिकृत, स्थानिय सेवा तथा अनुभवहरु प्रदान गर्ने रमणीय गृह आधारको रुपमा सेवा गर्नेछ । नेपालमा पहिलो हायात सेन्ट्रिक होटलको शुरुवातले दक्षिणपश्चिम एसियामा हाम्रो पाश्वचित्रलाई थप सुदृढ बनाउनेछ र यस क्षेत्रलाई हायातको प्राथमिकताको बजारको रुपमा ठोस बनाउनेछ,’ हायातका भारत तथा दक्षिणपश्चिम् एशिया विकासका उपाध्यक्ष ध्रुव राठौरले भने । न्यूयोर्क, म्याड्रिड, मुम्बई, बैङ्गलोर, टोकियो, हङ्गकङ्ग र शिकागोजस्ता विश्व-स्तरीय शहरहरुभर प्रमुख गन्तव्यहरुमा अवस्थित हायात सेन्ट्रिक ब्रान्डलाई ध्यानपूर्वक चहलपहलको केन्द्रमा हुन चाहने सहश्राब्दी-सोच भएका यात्रुहरुलाई लक्षित गर्न, उनीहरुको एक बसाईलाई खोजको अवसरका रुपमा परिणत गर्न डिजाइन गरिएको छ । ‘हामी यस होटल रुपान्तरणको अनावरण गर्न तत्पर छौं, जसबाट हाम्रा अतिथिहरुलाई असाधारण र अविस्मरणीय अनुभवहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता प्रतिबिम्बित हुनेछ ।’ सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्याणले भने, ‘होटलभर योजनावद्ध गरिएको नयाँ, स्थानीय रुपमा प्ररित डिजाइन, र आधुनिक सुधारहरुले सञ्जाललाई प्रोत्साहित गर्न र आजका जिज्ञासु यात्रुहरुको आवश्यकताहरु पूरा गर्न न्यानो वातावरण सृजना गर्नेछ ।’ ‘हामी विश्वस्त छौं कि यो रूपान्तरणले काठमाडौंको एक अग्रणी होटलको रूपमा हाम्रो धरातललाई अझ बलियो बनाउनेछ,’ होटलका महाप्रबन्धक वरुण तलवारले भने । हायातको हालको पाश्वचित्रमा भारत र दक्षिणपश्चिम एसियामा ४७ वटा सम्पत्तिहरु छन्, जसमा ४५ वटा भारतमा र दुईवटा नेपालमा छन् । यसको विस्तृत संकलनमा अलिला, अन्डाज, ग्रान्ड हायात, हायात, हायात सेन्ट्रिक, हायात प्लेस, हायात रिजेन्सी र पार्क हायात समेत आठ फरक ब्रान्डहरू रहेका छन् ।

रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुँदै

तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए । रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् । रासस