निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३ सय १५ घटना
चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा ३ सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठ जना भएका छन् । गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् । हात्तीको आक्रमणबाट सात, गैँडाको आक्रमणबाट पाँच, बाघको आक्रमणबाट चार र गोहीको आक्रमणबाट एकजना घाइते भएका छन् । तिवारीका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति दुई सय पाँच पटक भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालु आर्थिक वर्षमा १ करोड ५ लाख ५१ हजार ६ सय २४ रुपैयाँ राहत प्रदान गरेको उनले जानकारी दिए । गत आवमा भएका सात सय ८४ घटनामा नौ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए । घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए । सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठ पटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति पाँच सय पटक पुर्याएको तिवारीले बताए। त्यस वर्ष निकुञ्जले २ करोड २ लाख २ हजार ८ सय ४४ रुपैयाँ राहत रकम उपलब्ध गराएको थियो । निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जङ्गली बँदेल, गोही, गौरीगाई, अजिङ्गर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन् ।
बुलबुले तालको झार हटाइँदै
सुर्खेत । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि समितिले दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगत्तै डुङ्गा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । पाँच वर्षका लागि डुङ्गा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवतः फागुन दोस्रो सातादेखि डुङ्गा चलाइने उनको भनाइ छ । नगरप्रमुख ढकालले झार हटाउने कार्यले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्ने बताइन् । ‘बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर ढुङ्गा सञ्चालन गछौं,’ उनले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिइन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एउटा हो । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्ने गरेको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहने गरेको छ ।
मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर गर्दैन – सुवेदी
पर्वत । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए । मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको दाबी छ । ‘मुक्तिनाथ जाने पर्यटक पोखराबाट मात्रै आउँदैनन्, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छदैछ, अर्को बलेवा विमानस्थलमा भैरहवाबाट पर्यटक झर्ने सम्भावना हुन्छ’, उनले भने, ‘ती पर्यटक कहाँ कुश्मा, बागलुङ र बेनीमा बस्छन् ।’ केबलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर तथा अल्पेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पु¥याउने व्यवस्था हुने भएका कारण पनि यस क्षेत्रले प्रचुर फाइदा लिनसक्ने सुवेदीको भनाइ छ । अध्यक्ष सुवेदीले लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको बताए । २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले केबलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भए पनि नेपालका कानुनी प्रक्रियाले प्रक्रिया पूरा गर्न काम गरिरहेको उनले बताए । सुवेदीका अनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउन लागिएको हो । ‘इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौँ’, उनले भने, ‘लागत अनुमानको लगानी सुनिश्चित भइसकेको छ ।’ उनले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको जनाउँदै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब लागत अनुमान गरिएको बताए । समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ । आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवदेन पास हुन र सरकारसँग आयोजना विकास सम्झौता गर्न भने अझै बाँकी रहेको छ । चार धाममध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार मुक्तिनाथ जाने धार्मिक पर्यटकको उपस्थिति बढ्ने उनको भनाइ छ ।