
पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्यांकअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हबल्दार शंकर खत्रीले जानकारी दिए । उनले भने, ‘सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ ।’ उनका अनुसार पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन् ।
‘सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि अनुकूल भएकाले व्यवसाय वृद्धि पनि अपेक्षा गरिएको छ,’ स्थानीय तोयाकुमार श्रेष्ठले भने । ‘विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन । हिउँ परेको भए पर्यटक दङ्ग पर्थे,’ उनले भने ।
यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन् । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन् । सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन् ।
लुक्लाको हवाई सेवामा चाप
खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ । काठमाडौंबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौं–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौंबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन् । रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन् ।