‘गर्मी से बेहाल चलो नेपाल’ अभियानले भारतीय पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आंकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटक नेपाल भित्राउन सङ्घले लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी ‘टूर अपरेटर’ र व्यवसायीको उपस्थिति रहेको संघले जनाएको छ । टुर अपरेटरहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै यो वर्षको ग्रीष्म ऋतुमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तो दिए । उनले विवाह र बैठक, सम्मेलन, प्रदर्शनी‘माइस’ पर्यटनका लागि नेपाल उपयुक्त भएकाले भ्रमणमा आउन आग्रह गर्दै त्यसका लागि पर्याप्त संरचना पनि तयार रहेका जानकारी दिए। उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमणलाई स्मरणीय बनाइने बताए। भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डिया र ट्राभल ट्रेड एशोसिएशन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए । साथै उनीहरूले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । भारतीय पर्यटन व्यवसायीले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारलाई आआफ्नो क्षेत्रबाट सहजीकरणका लागि आग्रह गरे । लखनउमा भएको नेपाल प्रवर्द्धन कार्यक्रममा ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुतिसहित ‘ गर्मी से बेहाल चलो नेपाल’ अभियानबारे पनि जानकारी दिइएको थियो ।

त्रिभुवन विमानस्थलमा चैत १९ देखि उत्तर दिशाबाट जहाज अवतरण गर्न नपाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आगामी चैत १९ देखि उत्तरी दिशाबाट जहाज अवतरण (ल्यान्ड) गराउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार ‘रनेव २०’ को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’ मा काम गर्नुपर्ने भएकाले अवतरण बन्द गर्न लागिएको हो । विमानस्थलको ३ हजार ४५ मिटर लामो रनेवको उत्तरतिरको २ सय ३६ मिटर बन्द हुने प्राधिरकणले जनाएको छ । ‘ठुला जहाजलाई रनवे नपुग्ला भन्ने हो,’ विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘साना जहाजलाई भने समस्या छैन, अर्कोतर्फ निर्माण कार्य हुँदै गर्दा निर्माण सामग्री पनि हुन सक्छन्, त्यसैले रनेव २० बन्द गर्न लागेका हौँ ।’ विमानस्थलको उत्तर क्षेत्रबाट उडान तथा अवतरण गर्न नपाइने सूचना अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत एआईपी (एरोनटीकल इन्फरमेसन पब्लिकेसन) मा प्रकाशन गरेको छ । विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।

इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौं : पर्यटनमन्त्री तामाङ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू) ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।’ इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी) मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ । मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले संघीयताको मर्म र भावना अनुरूप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे । मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै मन्त्रालयसँग सम्बन्धित कामलाई प्रभावकारी बनाइने उनको भनाइ थियो । पर्यटनमन्त्रीको पहिलो निर्णय नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे । अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले बताए । पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले संघीयताको भावना अनुरूप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ । मुलुकको ४१औं पर्यटनमन्त्री तामाङ नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ मुलुकको ४१औं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा २०३४ सालमा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४१ पर्यटनमन्त्री पाइसकेको छ । विसं २०२० मा नुवाकोटको पञ्चकन्यामा आमा श्रीमाया तामाङ र बुबा माइते तामाङको कोखबाट जन्मिएका तामाङ २०६६ सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । उनी २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य सुदन किराँती मुलुकको ४०औं पर्यटनमन्त्री बनेका थिए । मध्यम निम्न वर्गीय किसान परिवारमा जन्मिएका मन्त्री तामाङले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा औपचारिक शिक्षा लिएका हुन् । उनी केही वर्ष अध्यापनमा सक्रिय भए । चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय तामाङ २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहे । विसं २०३९ मा अनेरास्ववियु छैटौँको नुवाकोट सचिव भए । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका (संसद् सदस्य) भएक। थिए । विसं २०७४ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५८ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका थिए । रासस