मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

मन्थली । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आईतबार बिहानबाट मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए । रासस

घुम्नैपर्ने शैलुङका सय थुम्का

दोलखा । दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको हो । ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन् । शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाललगायतका हिमाल र काठमाडौं उपत्यकासँगै तराईका केही भाग देखिन्छ । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रूपमा सय थुम्का पर्यटकीय गन्तव्य बनेको स्थानीय सोभित उप्रेतीले बताए । धेरै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज सय थुम्का पर्न थालेको छ । यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफा छन् । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन् । सय थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नेको भीड लाग्ने गर्दछ । हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन् । उनीहरू हिउँमा खेल्ने र सेताम्मे शैलुङको दृश्यसँगै प्राकृतिक स्वाद लिने गर्दछन् । शैलुङको कोसेली के ? शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार हुन् । यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्छन् । चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन् । ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ । यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुडे भए पनि उत्पादित क्षेत्र शैलुुङ हो । स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन् । शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलुु, काउली, बन्दा, केराउ, मटरकोसा गाडीमा काठमाडौं लगेर बिक्री गरिन्छ । बारीबाटै अग्र्यानिक कोसेलीका रूपमा आफन्तलाई तरकारी लैजाने चलन छ । घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुक कोसेलीका रूपमा लैजाने गर्छन् । ग्रेटवालाको झल्को शैलुङडाँडा पुुग्न नपाउँदै दोलखाको कालापानीबाट चीनको ग्रेटवालको झल्को दिने ढुुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ । यो सिंढीबाट शैलुुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ । सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यता छैन । कसरी पुग्ने शैलुङ सय थुम्का ? शैलुङ क्षेत्र पुुग्न काठमाडौंबाट मुडेसम्म पुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघुु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुुङ डाँडामा पुुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ । सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौंबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि शैलङको सय थुम्का पुुग्न सकिन्छ । यहाँ बास बस्नका लागि पर्यटक लक्षित होटल प्रशस्त खुलेका छन् । यहाँ पाइने जडीबुटी शैलुङका सय थुम्कामा विभिन्न किसिमका खानी हुनसक्ने स्थानीयको अनुमान छ । तर, हालसम्म कुनै अनुसन्धान र उत्खनन भएको छैन । यहाँ बहुमूल्य जङ्गली जडीबुटीका रूपमा पाइने पाँचऔँले, चिराइतो, मझिठो, च्यातुलगायत प्रशस्तमात्रामा पाइन्छ । पर्यटक सुरक्षा सय थुम्का क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेपछि स्थानीयको अगुवाइमा प्रहरी चौकी माग गरिएको छ । जिल्ला प्रशासन कार्यलय दोलखाले प्रहरी चौकीका माग भए पनि निर्णय भईनसकेको जनाएको छ । यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयले सहज वातावरणमा डुल्न घुम्नका लागि सहजीकरण गर्ने गरेका छन् । रासस

कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

फुङ्लिङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजंघा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ । चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छन् । गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । पर्यटक आगमन सुरु भएसँगै कञ्चनजंघा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजंघा क्षेत्रमा ६ सय ५० जान बाह्य पर्यटक आएका उनले बताए । आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए । कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।