चिनियाँले नेपाली पर्यटनमा बढाउँदैछन् उत्साह

निवर्तमान पर्यटनमन्त्री सुदन किराँतीसँग चिनियाँ पर्यटक । फाइल फाेटाे । काठमाडौं । संसारमा सबैभन्दा धेरै संख्यामा विभिन्न देश घुम्न जाने पर्यटकको सूचीमा सम्भवतः चिनियाँ पर्यटक पर्छन् । चीनले आफ्ना नागरिक घुम्न जाने देशको सूची नै बनाएको हुन्छ । ती भाग्यमानी देशको सूचीमा नेपाल विगतमा अटाएको थियो, बीचमा अटाएन र गत वर्ष फरि अटाएको थियो । पछिल्ला केही अवधियता उत्तरी छिमेकी चीनका पर्यटकको नेपाल आगमनमा भएको उच्च दरको वृद्धिले नेपाली पर्यटन क्षेत्रमा उत्साह ल्याएको छ । चिनियाँ पर्यटक ह्वात्तै बढेको खबरले सरकारमात्र होइन, पर्यटन व्यवसायीहरू पनि हौसिएका छन् । एक्कासि बढेको चिनियाँ पर्यटक संख्यालाई आगामी महिना र वर्षहरूमा तल झर्न कसरी नदिने भनेर व्यवसायी योजना बनाउन तल्लिन देखिन्छन् । पछिल्लो पटक बढेको चिनियाँ पर्यटकको चहलपहल यसैगरी केही वर्ष र सकेसम्म दीर्घकालसम्म निन्तरता दिन सके मुलुकको पर्यटन क्षेत्रको कायापलट हुने व्यवसायीको विश्वास छ । चीनले सन् २००३/०४ मा आफ्ना नागरिकले घुम्न जान मिल्ने देशको सूचीमा नेपाललाई राखेको थियो । त्यसपछि मात्रै चिनियाँ पर्यटकको नेपाल आगमन तीव्र गतिमा बढ्न थालेको हो । बीचमा चीनले बनाउने भ्रमण देशको सूचीमा लामो समय नेपाल परेन । तर, चिनियाँ पर्यटकले नेपाललाई माया भने गरिरहे । उनीहरूको नेपाल भ्रमण संख्या बिस्तारै बढ्दै जान थाल्यो । यसैबीच गत वर्ष २०२३ मार्च १५ मा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको भ्रमण देशको सूचीमा नेपाल फेरि अटाउन पुग्यो । सरकारले बनाउने त्यस्तो सूची पच्छ्याउँदै चिनियाँहरू ती देश घुम्न निस्किने गर्छन् । तर, २०२० मा देखिएको विश्वव्यापी कोरोना महामारीपछि चिनियाँ पर्यटक आफ्नो देशबाट बाहिरि निस्किएनन् । सबै देशमा उनीहरूको आवागमन ठप्प भयो । कोरोनापछि मात्रै चिनियाँ पर्यटक नेपाल आउन क्रम बढ्न थालेको हो । नेपालमा कति आउँछन् चिनियाँ पर्यटक ? नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१५ मा ६४ हजार ६ सय ७५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै २०१६ मा १ लाख ४ हजार ५, २०१७ मा १ लाख ४ हजार ६ सय ६४ र २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ चिनियाँ नेपाल घुम्न आएका थिए । त्यसको अर्को साल २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेर नयाँ कीर्तिमान कायम गरिदिए । तर,  २०२० मा चीनबाटै संसारभरि फैलिएको कोरोना भाइरस महामारीले सबै देशको पर्यटन क्षेत्र तहसनहस बनाइदियो । चीनले आफ्ना नागरिकलाई देश बाहिर जान बन्देज लगाइदियो । जब, कोरोना महामारी मत्थर हुँदै गयो तब चिनियाँ पर्यटक बिस्तारै घुम्न निस्किनि थाले । नेपालतिर पनि उनीहरूको पाइला अगाडि बढ्यो । पर्यटन बोर्डका अनुसार २०२० मा १९ हजार २ सय ५७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे । यो संख्याले केही त्राण मिले पनि २०२१ मा कोरोना प्रभावकै कारण एक्कासि चिनियाँ पर्यटक संख्या ६ हजार १ सय ९८ मा सीमित हुन पुग्यो । फेरि, २०२२ मा ९ हजार ५ सय ९९ मा अडेको चिनियाँको संख्या गत वर्ष २०२३ मा ह्वात्तै ६ गुणाले बढेर ६० हजार ८ सय ७८ पुग्यो । र, चालु वर्ष २०२४ को तीन महिनामा २८ हजार ५ सय ४० चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् । गत मार्च एउटै महिना १२ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आइपुगे । किन बढिरहेछन् चिनियाँ पर्यटक ? नेपालमा सबैभन्दा धेरै संख्यामा चिनियाँ पर्यटक भित्र्याइरहेको सी एन्ड के नेपाल ट्राभल्स र सुवाङ ची टुर्सका सञ्चालक विश्वेश श्रेष्ठ चीनले आफ्ना नागरिकलाई ‘आउटबाउन्ड टुर’ खुला गरेपछि नेपालमा चिनियाँ पर्यटक संख्या बढेको बताउँछन् । ‘गत मार्च महिनामा बढेको चिनियाँ पर्यटक संख्या हेर्दा आशालाग्दो देखिन्छ, तर उत्साहित हुने बेला भने अझै आइसकेको छैन,’ उनी भन्छन्, ‘अहिले पर्यटन प्रवर्द्धनका लागि कुनै गतिविधि नभएका बेला यो संख्यालाई अर्गानिक चाहिँ मान्न सकिन्छ ।’ उनका अनुसार चिनियाँ पर्यटक संख्या पुग्नुपर्ने भनेको योभन्दा धेरै हो । ‘यो संख्या थ्री टाइम्स पुग्नुपर्ने हो, किनभने होली थियो, त्यसमा राम्रो प्याकेज हुन्छ, उनीहरूको पनि छुट्टी परेको थियो,’ श्रेष्ठ भन्छन्, ‘त्यो हिसाबले हामीकहाँ धेरै नै हुनुपर्ने हो, तर यो कमै हो । भारतले चिनियाँलाई भिसा दिएको छैन, भारत जान नपाएका पर्यटक पनि नेपाल आउनुपर्ने हो तर आएनन् ।’ उनका अनुसार यो संख्यालाई उत्साहजनक रूपमा लिने कुनै पनि अवस्था छैन । संख्या मात्रै हेर्ने हो भने यसले कहीँ पुर्याउँदैन । यो अधिकांश ‘इलिगल चाइनिज अपरेटरहरू’ ले नै गरेको व्यापार हो । ‘ज्याठा, ठमेल लगायतमा जुन चाइनिज अपरेटरहरूले व्यापार गरिरहेका छन्, त्यो व्यापार मात्रै बढेको हो,’ उनी भन्छन्, ‘राम्रा चिनियाँ पर्यटक भने अहिले बढेको अवस्था होइन ।’ नेपालमा उल्लेख्य मात्रामा चिनियाँ पर्यटक नभित्रिनुमा पर्यटन बोर्डको निष्क्रियता भएको श्रेष्ठ आरोप लगाउँछन् । सरकारले संयन्त्रबाट गैरकानुनी चिनियाँ टुर अपरेटरलाई रोक्नुपर्ने उनको भनाइ छ । ‘चिनियाँ व्यापारीहरू आफैं नेपाल आएर व्यापार प्रवर्द्धन गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘६० प्रतिशत व्यापार अहिले चिनियाँ आफैंले गरिरहेका छन् । यसबाट नेपालले खासै फाइदा पाएको छैन ।’ उनका अनुसार नेपाल आउने चिनियाँ पर्यटकले पैसा उतै तिरेर आउने गरेका छन् । उनीहरूले तिर्ने पैसा नेपाल सरकारको करको दायरामा नआएको श्रेष्ठ बताउँछन् । अहिले चिनियाँ पर्यटक सीमित बजेटमा नेपाल आइरहेको श्रेष्ठ बताउँछन् । ‘पहिला आउने ७० देखि ८० प्रतिशत चिनियाँ पर्यटक चारतारे, पाँचतारे होटलमा बस्ने हुन्थे,’ उनी भन्छन्, ‘अहिले आउने दुईतारे, तीनतारेमा बस्छन् र सीमित बजेटमा ट्राभल गर्नेहरूको मात्रै ठूलो संख्या छ ।’ उनका अनुसार अहिले आइरहेका चिनियाँ पर्यटकले दैनिक ३ देखि ४ हजार नेपाली रुपैयाँ खर्च गर्छन् । उनीहरूको बसाइ अवधि पनि ३ देखि ४ दिनको मात्रै छ । ‘फ्लाइटसमेत जोड्दा ६ दिनको जस्तो समयावधि मिलाएर आएका हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरू धेरै घुम्ने भनेको काठमाडौं, चितवन र पोखरा हो, खाना पनि उनीहरू चाइनिज नै खान्छन् ।’ नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको महत्वपूर्ण भूमिका रहनेमा भने दुई मत नहुने श्रेष्ठ बताउँछन् । संख्याका हिसाबले चिनियाँ पर्यटक ठूलै ‘भोलुम’ मा आउने भएकाले नेपालमा विदेशी मुद्रा भित्रिन्छ । तर, भारतीय पर्यटक भारु नै खर्च गरेर आउने भएकाले नेपाललाई प्रत्यक्ष विदेशी मुद्राको खासै सहयोग नपुग्ने उनी बताउँछन् । ‘चीन विदेशी मुद्रासँग सम्बन्धित भएका कारण हामीले सकेसम्म धेरै विदेशी मुद्रा भित्र्याउने हो,’ उनी भन्छन्, ‘चिनियाँ पर्यटक विदेशी मुद्रा तिरेर आउने भएकाले पनि उनीहरूको महत्वपूर्ण स्थान छ ।’ जुन हिसाबले चीनमा प्रचार प्रसार हुनुपर्ने हो, त्यो हिसाबले हुन नसकेको उनी बताउँछन् । ‘चीनबाट हुने उडान पनि नियमित हुन सकेको छैन,’ उनी भन्छन्, ‘अहिले जति पनि पर्यटक आइरहेका छन्, उनीहरू सबै चार्टर गरेर आइरहेका हुन् ।’ उनका अनुसार यो फाइदाका लागि गरिने व्यापार हो । बेफाइदा हुनासाथ चार्टर उडान पनि हुँदैनन् । त्यसो हुँदा टुरिज्म र चार्टरको रेट पनि स्थायी हुँदैन । ‘हामीलाई नियमित फ्लाइट भएर नियमित टुरिस्ट आउन थालेपछि मात्रै चिनियाँ पर्यटकको लय पहिलाकै अवस्थामा फर्कियो भन्न मिल्छ,’ उनले भने, ‘अहिलेको अवस्था पानीको फोका जस्तै हो ।’ हाल चीनबाट एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, सिचुआन एयर र तिब्बत एयरइन्सले नेपाल उडान गरिरहेका छन् भने यताबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरमा उडान गरिरहेको छ । कतिपयले चीनको अर्थतन्त्र खस्किएका कारण पनि चिनियाँ नागरिक भ्रमण गर्ने नगरेको पनि तर्क गर्छन् । तर, श्रेष्ठ यो सत्य नभएको बताउँछन् । ‘उनीहरूको अर्थतन्त्रले हाम्रो देश आउन कुनै फरक पार्दैन,’ उनी भन्छन्, ‘चिनियाँहरू अन्य देशमा पनि जान छाडेको भए अर्थतन्त्रको कुरा जोड्न मिल्थ्यो, तर उनीहरूको गन्तव्य अन्त मोडिएको छ ।’ कहाँ घुम्छन् चिनियाँ पर्यटक ? होटल एसोसिएसन नेपाल (हान)-चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे चिनियाँ पर्यटक वृद्धि हुनुलाई सकारात्मक रूपमा लिएको बताउँछन् । ‘हामीले हाम्रो प्रडक्टिभिटी अझै राम्रो बनाउन सक्ने, खासा र केरुङको मार्ग सुचारु गर्न सक्ने हो भने चिनियाँ पर्यटक अझै भित्रिन्छन्,’ उनी भन्छन्, ‘अहिलेको अवस्थामा जुन संख्यामा पर्यटक भित्रिएका छन् त्यो स्वागतयोग्य छ, पर्यटन व्यवसायीका लागि खुसीको कुरा पनि हो ।’ उनका अनुसार अहिले चिनियाँ पर्यटक काठमाडौंदेखि चितवन, बन्दीपुुरम्म पुग्ने गरेका छन् । यिनै चिनियाँ पर्यटकका कारण विदेशी पर्यटक संख्या बढी देखिएको उनी बताउँछन् । ‘यी पर्यटक नहुने हो भने अझै सुनसानजस्तै हुन्छ,’ उनी भन्छन्, ‘यसलाई सकारात्मक नै लिनुपर्छ ।’ फेब्रुअरी महिनामा बिदा पर्ने हुँदा पनि चिनियाँहरू घुम्न निस्किन्छन् । यो पनि पर्यटक बढ्नुको एउटा कारण हुन सक्ने उनी बताउँछन् । ‘विगतका वर्षहरूमा कोभिडभन्दा पछि त संख्या बढेको हो,’ उनी भन्छन्, ‘कोभिडभन्दा अगाडि पनि चिनियाँको रेसियो राम्रै थियो, अहिलेको यो संख्यालाई अर्गानिक मानेर अझ बढी मार्केटिङ तथा कार्यक्रम गर्न सक्यौं भने बढिभन्दा बढी पर्यटक भित्रिनेमामा दुईमत छैन ।’ नेपाल भित्रिएका चिनियाँ पर्यटक हात्ती सफारी र जीप सफारीका लागि चितवनको सौराहा पुग्ने गर्छन् । ‘यहाँ आउने पर्यटकहरू कतिपय बुद्धको दर्शन गरेर फर्कौं न त भनेर लुम्बिनी पनि पुग्ने गर्छन्,’ घिमिरे भन्छन्, ‘चितवनसँगै लुम्बिनी पनि जोडिएको छ, धार्मिक हिसाबले उनीहरूको रुचिमा लुम्बिनी पनि पर्छ ।’ अर्का पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ चीनबाट जति संख्यामा ‘क्वालिटी टुरिस्ट’ आउनुपर्ने हो, त्यो संख्या नभित्रिएको बताउँछन् । ‘युरोपबाहेक देशहरूमा जुन हिसाबले क्वालिटीका चिनियाँ टुरिस्ट गएका छन्, त्यो हिसाबले नेपाल आएका छैनन्,’ उनी भन्छन्, ‘हाम्रोमा टुरिस्टको क्वान्टिटी त छ, तर क्वालिटी भएन ।’ यसको अर्थ ‘हाइ पेइङ’ र धेरै बजेट खर्च गर्ने पर्यटक मात्रै चाहिन्छ भन्ने पनि होइन । हाइ पेइङ र बजेट टुरिस्ट हुनु पनि स्वाभाविक नै हो । तर, संसारको कुनै पनि पर्यटन गन्तव्यमा एकातिर हाइ पेइङ हुने र अर्कातिर सीमित बजेट हुने श्रेष्ठ बताउँछन् । ‘नेपालमा हाइ पेइङ चिनियाँ टुरिस्टको संख्या निकै न्यून छ,’ उनी भन्छन्, ‘हाम्रो टार्गेट भनेको क्वालिटी टुरिस्ट ल्याउने हुनुपर्छ, हाइ पेइङ टुरिस्टले त्यही अनुसारको सुविधा र पूर्वाधार खोज्छन् जुन हामीकहाँ छैन ।’ छिमेकी देशबाट आउने पर्यटक संख्या बढ्नु खुसीकै कुरा हो, तर त्यहाँबाट आउने पर्यटकबाट देशलाई, यहाँको पर्यटन व्यवसायमा कस्तो प्रभाव पारेको छ र कति योगदान पुर्याएको छ भन्ने महत्वपूर्ण हुने श्रेष्ठ बताउँछन् । ‘हामीले नम्बर मात्रै गनिरहेका छौं पर्यटकको,’ उनी भन्छन्, ‘हामीकहाँ आउने चिनियाँ पर्यटकले सीमित बजेट ल्याएका हुन्छन्, उनीहरू खर्चालु छैनन्, यो संख्याले मात्रै हामीलाई कहीँ पुर्याउँदैन ।’ उत्साहित बनौं : पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार गत वर्ष मार्चमा २ हजार ६ सय मात्रै चिनियाँ पर्यटक नेपाल आएका थिए । तर, यो वर्ष मार्चमा १२ हजार पर्यटक भित्रिनुले खुसी र उत्साहित दुवै बनाएको उनी बताउँछन् । ‘मार्च महिनामा भित्रिएको यो संख्याले पर्यटन क्षेत्र र व्यवसायीमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ,’ उनी भन्छन्, ‘पोहोरको दाँजोमा संख्या उच्च दरमा बढेको छ, पोहोरको मार्चबाट चिनियाँ पर्यटकको आगमन बढ्न थालेको हो । २०२३ को क्लोजिङमा ५५ प्रतिशत थियो अहिले ३ महिनामा नै ६० प्रतिशत पुगेको छ ।’ भारतपछिको दोस्रो स्थान चिनियाँ पर्यटकले लिइसककेका छन् । यसरी नै पर्यटक संख्यामा वृद्धि हुँदै गए चिनियाँ पर्यटकले बिस्तारै रेकर्ड कायम गर्ने निर्देशक लामिछाने बताउँछन् । ‘भारतको मार्केट सेयर २४ प्रतिशत छ, चिनियाँको पनि ९ प्रतिशतमा आइसक्यो,’ लामिछाने भन्छन्, ‘चिनियाँको टोटल पर्सेन्ट भनेको १२ देखि १५ प्रतिशत हो ।’ तीन महिनामा भित्रिएका चिनियाँ पर्यटक संख्याले पर्यटन क्षेत्र र व्यवसायीमा उत्साह थपिएको लामिछानेको भनाइ छ ।

याक एण्ड यती होटलको साधारण सभा वैशाख १३ गते, यस्ता छन् एजेन्डा

काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४७औं वार्षिक साधारण सभा डाकेको छ । होटलले आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा साधारण सभा डाकेको हो । उक्त सभामा होटलको सञ्चालक समितिले पेस गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत आर्थिक वर्षको वासलात, नाफा, नोक्सान, हिसाब र नगद प्रवाह विवरणहरू स्वीकृत गरिनेछ । यस्तै चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको तर्फबाट सञ्चालकले बैंकमा व्यक्तिगत जमानत दिने प्रस्ताव पारित गरिनेछ । होटलका अनुसार सेयरवालाको दर्ता किताब चैत २३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बन्द रहने छ ।

भरतपुर भ्रमण वर्षको प्रभाव : होटलहरू भरिभराउ, व्यवसायी उत्साहित

चितवन । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच व्यवसायीहरु बताँउछन् । पर्यटकहरु भरिभराउ भएपछि अन्य ठाँउमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए । भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको संख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जिव दास श्रेष्ठले जानकारी दिए । सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको संख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरुमा आएका छन् । भरतपुरका तटिय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेका देशबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण (जगतपुर लज), टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरु हुन् । हात्ती सफारी, जङगल सफारी, बोटिङ, जङगल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतीहरु तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरु यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए । बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाँउमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले भ्रमण वर्ष आयोना गर्न खोजेको उदेश्य पुरा हुँदै गईरहेको बताईन् । यो अभियान एक वर्षसम्म मात्र होईन सधैका लागि हुने गरी भरतपुरको ब्राण्ड स्थापित गरिने उल्लेख गरिन ।भरतपुरको गोलाघाटदेखि पहिटानीसम्म रहेका होटलसँगै यहाँका वस्तीहरुमा १०० वटा होमस्टेहरु खुलेका छन् । भ्रमण वर्षको सन्दर्भमा थोरै लगानीमा गुणस्तरीय सेवा दिने गरी खुलेको होमस्टेहरुमा पर्यटक आउने क्रम जारी रहेको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए । भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् । भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, ज्ञानेवर ब्लक, चौकी डाँडा, नारायणी सि बिच मोडललाई प्रमुख ७ पर्यटकीय गन्तव्यमा राखेको छ । यसबाहेक ३५ वटा स्थानलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ । भ्रमण वर्षको अवसरमा सञ्चालनमा आएको पाटेबाघ हेर्ने सुविधासहित वन्यजन्तु उद्धार केन्द्रमा पर्यटकको घुइचो छ । निकुञ्जका अनुसार दैनिक २ हजार जना बाघ अवलोकनका लागि आएपनि सबैलाई देखाउन सकिएको छैन । यस्तै शीतकालिन दरबारको रुपमा रहेको ऐतिहासिक दियालो बंगला वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको छ ।