सर्वोच्च शिखरको १० वर्षे आरोह-अवरोह
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबारे नसुनेका मानिस सायद पाउन मुस्किल छ । नेपाल सात दशकभन्दा बढी अवधिदेखि सगरमाथाकै कारण संसारमा चिनिँदै आएको देश हो । हिमालै हिमालको देश भनेर पनि परिचित नेपालका दन्तेलहर मिलेका हिमालमात्रै हेर्न भनेर संसारका लाखौं पर्यटक आउने गर्छन् । संसारमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् । तीमध्ये सर्वोच्च शिखर सगरमाथा सहित ८ हिमाल नेपालमै अवस्थित छन् । यहाँका अग्ला हिमाल पर्यटन भित्र्याउने मुख्य आधार हुन् । यहाँका सेतै टल्किने हिमाल आरोहण गर्ने र मनोरञ्जन गर्ने भनेर स्वदेशी तथा विदेशी पर्यटकको भिडै लाग्ने गर्छ । नेपालले हिमालको पर्यटनबाट नै राम्रो विदेशी मुद्रा आर्जन गर्छ । सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीको संख्या वर्सेनि बढ्दो अवस्थामा छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको सफल आरोहणपछि अन्य हिमाल आरोहणमा पनि पर्वतारोहीको धेरै आकर्षण बढ्दै गएको देखिन्छ । त्यसैगरी सन् १९७५ मा जापानकी आरोही जुनको ताबेईले सगरमाथा शिखर पुगेर संसारकै पहिलो महिला आरोहीको कीर्तिमान कायम गरिन् भने नेपालकै पहिलो महिलाको उपाधि पासाङल्हामु शेर्पाले पाएकी छिन् । २०४९ सालमा सगरमाथाको आरोहण गरी फर्किने क्रममा पासाङल्हामुको मृत्यु भएको थियो । सगरमाथा चुचुरोमा मानिस पुगेको ७ दशक पुगिसकेको छ । यसबीच नेपालीसहित ८ हजार २ सय ७२ जनाले सगरमाथामाथि विजय हासिल गरिसकेका छन् । कैयौँ आरोहीले सगरमाथा चढेरै विभिन्न कीर्तिमान बनाइ संसारभरि नाम कमाएका छन् । अहिलेसम्म सगरमाथामा सयौं रेकर्ड बनेका छन् । नयाँ रेकर्ड बन्ने र तोडिने क्रम अहिले पनि चलिरहेकै छ । आखिर किन सगरमाथामा भीड लाग्छ आरोहीको ? यसबारे चर्चा गरौं । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त ऋतु हो । अन्य ऋतुमा सगरमाथा आरोहण कमै हुने गर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यसपालि वसन्त ऋतुका लागि गत फागुन १८ देखि हिमाल आरोहण अनुमति खुला गरिसकेको छ । विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै रोयल्टी (सलामी दस्तुर) भने सर्वोच्च शिखर सगरमाथाबाट नै उठेको छ । यसपालि सगरमाथा आरोहणका लागि २ सय ९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट २९ करोड ७५ लाख २८ हजार ५ सय ३५ रुपैयाँ बराबर रोयल्टी उठेको छ । नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । विभागले यी हिमालको आरोहण अनुमति जारी गर्छ । यीबाहेक नेपाल पर्वतारोहण संघले ५ हजार ८ सयदेखि ६ हजार ४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्छ । १० वषमा कति पुगे सगरमाथा चुचुरो ? सरगमाथा साहसको एउटा ज्वलन्त उदाहरण हो । सगरमाथा शिखर पुग्न लालायित आरोही आफ्नो ज्यान माया मारेर गएको हुन्छ । मौसमले साथ नदिए वा प्राविधिक रूपमा तलमाथि भयो भने त्यहाँ पुगका आरोही सकुशल घर फर्किन्छन् भन्ने आश नगरे हुन्छ । पर्यटन विभागले तयार पारेको पछिल्लो एक दशकको तथ्यांक पल्टाउँदा सर्वोच्च शिखर सगरमाथामा ३ हजार ८ सय ५० जनाले विजयी झण्डा फहराएका छन् । विभागका अनुसार २०१४ मा ६, २०१५ मा शून्य, २०१६ मा ४ सय ५१, २०१७ मा ४ सय २६, २०१८ मा ५ सय ६०, २०१९ मा ६ सय ४४, २०२० मा शून्य, २०२१ मा ४ सय ५९, २०२२ मा ६ सय ५८ र २०२३ मा ६ सय ४६ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । २०१४ र २०१५ भूकम्प र २०२० मा कोरोना भाइरस महामारीका कारण हिमाल आरोहण रोकिएको थियो । पर्यटन विभागका अनुसार गत वर्ष सन् २०२३ मा सगरमाथा आरोहण गर्न अनुमति लिएका विभिन्न देशका ४ सय ७८ आरोहीबाट मात्रै नेपालले ६६ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर रोयल्टी संकलन गरेको थियो । सगरमाथा आरोहण गर्न कति लाग्छ शुल्क ? पर्ययटन विभागका अनुसार सगरमाथा शिखर पुग्न विदेशी नागरिकलाई प्रतिव्यक्ति ‘नर्मल रुट’ को वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर, शरद ऋतुमा ५ हाजर ५ सय डलर र वर्षात सिजनमा २ हजार ७ सय ५० डलर तिर्नुपछ हुन्छ । यस्तै अन्य रुटबाट सगरमाथा चढ्नेले वसन्त ऋतुमा १० हजार, शरदमा ५ हजार र हिउँद÷वर्षातमा २ हजार ५ सय डलर तिर्नुपर्छ । यस्तै, नेपाली आरोहीले नर्मल रुटबाट सगरमाथा शिखर पुग्न वसन्त ऋतुमा ७५ हजार रुपैयाँ र अन्य रुटको ६० हजार रुपैयाँ तिर्नुपर्छ । शरद ऋतुमा नर्मल रुटबाट सगरमाथा चढ्न ३७ हजार ५ सय रुपैयाँ र अन्य रुटबाट जान ३० हजार र हिउँद तथा वर्सातको याममा चढ्न नर्मल रुटका १८ हजार २ सय ५० र अन्य रुटको १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ । सगरमाथा आरोहण गर्दा कति हुन्छ खर्च ? संसारकै सबैभन्दा अग्लो हिमाल भनेपछि महँगो त हुने नै भयो । सगरमाथा आरोहण अनुमित शुल्क महँगो जस्तो देखिने गर्छ । तर, अनुमतिदेखि शिखर पुगेर फर्किंदासम्म आरोहीको दसौं लाख रुपैयाँ बराबर खर्च हुने गर्छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाका अनुसार सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले अनुमति लिन नेपाल सरकारलाई बुझाउनुपर्ने सलामी दस्तुर सहित खर्च जोड्दा कम्तीमा २५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने गर्छन् । सगरमाथा आरोहण गर्न नेपाली आरोहीले २० लाख रुपैयाँसम्म र विदेशी आरोहीले करिब ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । संघ अध्यक्ष शेर्पाका अनुसार आरोहीले गर्ने खर्चभित्र नेपाल आउँदा लाग्ने भिसा शुल्क, बसाइ, हवाई भाडा, खुम्बु क्षेत्रमा खाने–बस्ने, बीमा, गाइड, सहयोगी स्टाफ, इक्विपमेन्ट अलायन्स, बेसक्याम्पमा ४० दिनसम्मको खाने–बस्ने सुविधा, हाई अल्टिच्युड टेन्ट, अक्सिजन, रोप फिक्सिङ शुल्क लगायत पर्छ । ७० वर्षमा सवा ३ सयले गुमाए सगरमाथामा ज्यान तेन्जिङ र हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेयता सात दशकमा ३ सय २८ जनाले ज्यान गुमाएको सरकारको तथ्यांक छ । पर्यटन विभागका अनुसार तीमध्ये ४० भन्दा बढी शेर्पा छन् । गत वर्ष वसन्त याममै सगरमाथा चढ्न गएकामध्ये १२ जनाको मृत्यु भएको थियो । फोहोर व्यवस्थापनमा चेतना बढ्दै पछिल्ला केही वर्षदेखि सर्वोच्च शिखर सगरमाथा आरोहणमा चाप बढ्दै गए पनि सगरमाथामा धेरै फोहोर नभएको पर्वतारोहण संघ अध्यक्ष शेर्पा दाबी गर्छन् । ‘सन् १९९२ मा टाइम्स म्यागजिनमा एक साइडमा सगरमाथा र अर्को साइडमा फोहोरको थुप्रो राखेर फोटो प्रकाशित भएपछि सरसफाइमा ध्यान दिन थालिएको हो,’ शेर्पा भन्छन्, ‘पत्रिकामा त्यो फोटो छापिँदा नेपालले आलोचना पनि खेप्नुपरेको थियो, अहिले फोहोर व्यवस्थापनप्रति सबै सचेत छन् ।’ अहिले सरकार र विभिन्न संघसंस्थाले सगरमाथा सफाइ अभियान नै चलाएका छन् । ‘अहिलेको अवस्थामा सगरमाथामा फोहोर नै छैन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर, बाहिर हल्ला गरेजस्तो फोहोरको डंगुर नै भने छैन ।’ हिमाल आरोहण गर्नेले मानव मलमूत्र व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन् । तर, सगरमाथा आरोहण गर्नेको भीड वर्सेनि बढ्दै गइरहेको छ । यो भीडले पनि सगरमाथामा फोहोर व्यवस्थापन गर्नेमा चुनौती थपिरहेको छ । यसमा पनि सबैभन्दा ठूलो चुनौती मलमूत्र व्यवस्थापन भएको अध्यक्ष शेर्पा बताउँछन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रत्येक अंग्रेजी वर्षको मे २९ तारिखमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । १९५३ मे २९ का दिन तेन्जिङ र हिलारीले मानव इतिहासमै पहिलो पटक संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा विजयी झण्डा फहर्याएको दिनलाई १७ वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ । हाल सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ ८ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।
धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति
म्याग्दी । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् । धवलागिरि आरोहण अनुमतिवापत ३५ लाख ७० हजार ८ सय ४० र अन्नपूर्ण आरोहण अनुमतिवापत ५९ लाख ६१ हजार ७ सय ८० रोयल्टी (सलामी दस्तुर) संकलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताए । गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् । यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेकी छन् । पेपरले सेभन समिट ट्रेकका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गरेको सभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गरेकी थिइन् । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट ३४ करोड ४३ लाख ९९ हजार ६ सय ५६ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित
तनहुँ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन् । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेवान तनहुँको संयुक्त आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । बन्दीपुरमा ११औँ सडक खाना महोत्सवले यहाँका होटल पर्यटकले भरिभराउ हुने गरेको समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकको आवगमन बढेपछि यहाँका होटल व्यवसायीमा उत्साह थपिएको छ । अघिल्ला वर्ष कोरोनाका कारण पटकपटक ‘लकडाउन’ हुँदा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा यतिबेला खुसी छाएको हो । ‘बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अधिक’, उनले भने, ‘स्वीजरल्याण्ड, जर्मनी र चाइनिजलगायतका देशका बाह्य पर्यटक आएका छन् ।’ पर्यटक आउने र जाने प्रक्रिया चलिरहेकाले महोत्सव अवधिभर करिब १० हजार पर्यटकले बन्दीपुर भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए । होटल व्यवसायीले पर्यटकलाई प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने गरेका क्षेत्रीय होटल सङ्घकी अध्यक्ष सङ्गीता प्रधानले जानकारी दिए। चितवन, तनहुँ, पोखरा र काठमाडौँ घुम्नेगरी आन्तरिक पर्यटकले रुट मिलाएर आउने गरेका छन् । बन्दीपुरमा करिब ८० जना व्यवसायी सङ्घमा आबद्ध भएका छन् । महोत्सवले यहाँका होटल तथा घरबाससमेत भरिभराउ हुँदा छुट्टै रौनकता छाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। महोत्सवमा लाखेनाच, टाकटुके, सोरठीलगायतका स्थानीय कला, संस्कृति प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उनले जानकारी दिए । बन्दीपुर तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर दूरीमा पर्छ भने पृथ्वीराजमार्गस्थित डुम्रे बजारबाट करिब आठ किलोमिटरको उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । उक्त स्थानबाट विभिन्न हिमशृङ्खला, पहाडका टाकुरा, समथर फाँटलगायतका मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गर्दछन् । रासस