मनै लोभ्याउने गोरखाको न्याउली झरना
गोरखा । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’ को विकास हुँदै गएको छ । न्याउली झरना आफैमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् । धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरनाप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकमा पनि उत्तिकै छ । बूढीगण्डकी नदीको काखैमा करिब ५५ मिटर उचाइ रहेको न्याउली झरनाको सौन्दर्यताले प्रचुर पर्यटकीय सम्भावनाले भरिपूर्ण धार्चे गाउँपालिकालाई थप लोकप्रिय बनाउँदै लगेको छ । मनास्लु पदमार्गमा पैदल यात्रा क्रममा होस् सवारी साधन चढेरै गएको अवस्थामा होस् पर्यटक एकपटक न्याउली झरनामा पुगेर तस्बिर नखिचाई प्रायः अगाडि कोही बढदैनन् । धार्चेको प्रचारसँगै न्याउली झरनाको प्रचारका लागि निर्माण गरिएका फोटो खिच्ने आकर्षक फ्रेममा पर्यटक टक्क अडिन्छन्, तस्बिर खिचाउँछन् रमाउँछन्, अनिमात्र गन्तव्यतर्फ अगाडि बढ्छन् । ‘झरनाको फेदीमा फोटो खिच्नका लागि बनाइएको आकर्षक संरचनाले न्याउली झरना झनै सिङ्गारिएको रहेछ, झरना नजिकै भेटिएका आन्तरिक पर्यटक गुर्जमान तामाङले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको न्याउली झरनाको सुन्दर फोटोहरुले मन लोभ्याएपछि सदरमुकामदेखि घुम्न आएको हुँ ।’ माथिबाट नै फिँजारिएर झरिरहने निश्चल झरनाले पर्यटकलाई त्यत्तिकै अल्मल्याइदिने गरेको छ । ‘छेउमा पुगेपछि झरनासँगै आएको पानी फोहोराले शरीर नै भिजाइदेला जस्तो, साँच्चै यहाँ आएपछि बेग्लै अनुभूति हुने रहेछ,’ उनले भने, ‘यसैको मज्जा लिन पनि एकपटक त आउनै पर्नेरहेछ भन्ने लाग्यो ।’ गोरखा सदरमुकामबाट आरुघाट, आर्खेत, सोतीबजार हुँदै बूढीगण्डकी नदीको तिरतिरै भएर न्याउली झरना पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताकै उपहारका रुपमा लिन सकिने यस झरनाले पर्यटकको मनमात्र भुलाई दिँदैन मनभित्रका बहलाई पनि बिर्साइदिन्छ । दायाँबायाँ अग्ला पहाड, फेदीमा बूढीगण्डकी नदीको कञ्चन पानीको बहावसँगै पहाडबाट खसेको न्याउली झरनाको फोहोरा मोबाइल र क्यामरामा कैद गर्न पाउँदा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् । न्याउली झरनाको चर्चाले आन्तरिक पर्यटकसमेत घुम्नका लागि आजभोलि दिनुहँजसो त्यहाँ पुग्ने गर्दछन् । विशाल पहाड फोरेर निर्माण गरिएको कच्ची सडकमा जीप, मोटरसाइल र बस नै चढेर पनि पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा न्याउली झरना पर्ने गरेको छ । ‘न्याउली झरना हेर्नकै लागि युवायुवती समूह–समूहमा दिनहुँ आउने जाने गर्दछन्,’ स्थानीयवासी मानबहादुर गुरुङले भने, ‘यसको व्यापक प्रचारप्रसार गर्न धार्चेले प्रशस्त लाभ लिनसक्छ ।’ न्याउली झरना वरपर थप आकर्षक संरचना निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । ‘अहिले झरनामुनि मोटरेवल पुल निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘उक्त पुल निर्माण सम्पन्न भएपछि झरनासम्म पुग्नका लागि थप आकर्षक संरचना बनाउन डिपिआरको तयारी गरिरहेका छौँ ।’ न्याउली झरनालाई धार्चे गाउँपालिकाले पछिल्लो समय धार्चेको एउटा प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । यसको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटनमार्फत समग्र धार्चेको विकास र समृद्धिमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको उनले बताए । ‘यो झरनालाई देश तथा विदेशमा चिनाउन अझै सकिएको छैन,’ अध्यक्ष गुरुङले भने, ‘प्रकृतिले दिएको मनोरम उपहारको प्रचारप्रसार गर्नसके यहाँका स्थानीयवासीको जीविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिन्छ ।’ अध्यक्ष गुरुङले पर्यापर्यटनमार्फत पनि धार्चे गाउँपालिकाको विकास र समृद्धिलाई अगाडि बढाउन सकिने भएकाले स्थानीय सरकारले योजनाबद्ध ढङ्गले काम सुरु गरेको बताए ।
नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो
गलेश्वर । देशका विभिन्न ठाउँबाट नयाँ वर्ष २०८१ मनाउन आएका आन्तरिक पर्यटकका कारण शुक्रबारदेखि नै म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो लागेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन आज सूर्योदयको दृश्यावलोकन गर्नका लागि म्याग्दीको पुनहिल जान आएका पर्यटकका कारण घोडेपानीका होटल खचाखच भरिएका छन् । पुनहिलबाट २०८१ सालको पहिलो सूर्योदय हेर्न देशका विभिन्न ठाउँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमधये अधिकांश युवा छन् । म्याग्दी र मुस्ताङका धार्मिकस्थलमा पनि देवीदेवताको दर्शन र पूजन गरी नयाँ वर्ष मनाउन सयौँ व्यक्तिको जमघट भएको छ । कालीगण्डकीमा सङ्क्रान्ति स्नान गरी बेनीको बेनी शिवालय, गलेश्वरधाम, महारानी थानलगायत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीकोे घुइँचो लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायत क्षेत्रमा आएका छन् । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनमार्फत उनीहरु यहाँ आएका हुन् । पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न तीन दिनयता दैनिक सयौँ पर्यटक घोडेपानी आएका घोडेपानीका होटल व्यवसायी मीना पुनले बताइन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वार भएकाले मुस्ताङ जाने पर्यटकको घुइँचो बेनीमा देख्न सकिन्छ । होटल व्यवसायी पुनका अनुसार नयाँ वर्ष २०८१ को पहिलो दिनको सूर्योदय हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा घुइँचो लागेको छ । मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए । चितवनको जगतपुर र पार्वतीपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आएका हिमाल रिजाल, आरती सापकोटा, विमल पौडेललगायतको समूहका युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गर्ने योजनासहित आएको बताए । केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साबिकको भन्दा उल्लेख्य रुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम सातादेखि नै म्याग्दीमा साबिकको भन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । तर, पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो । कालीगण्डकीमा स्नान गर्नेको भीड सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । म्याग्दी र पर्वतका विभिन्न गाउँबाट बिहान सबेरै गङ्गा स्नान गर्न कालीगण्डकी आएका छन् । आज वर्षको पहिलो दिन भएकाले गङ्गा स्नानपछि मन्दिरमा पूजा गरेर घर गई मीठामीठा खानेकुरा पकाएर खाने र परिवारसँग बसेर रमाउने गरिन्छ । विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी बताउँछन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ । हिन्दूहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३० दशमलव ४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ । कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो । प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँ पटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकै पटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा स्कन्दपुराणमा उल्लेख छ ।
बेनीमा पर्यटक सूचना केन्द्र
म्याग्दी । म्याग्दीमा भित्र्ने पर्यटकहरुलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलको बारेमा जानकारी गराउने उद्देश्यले बेनीमा आजदेखि पर्यटक सञ्चालन केन्द्र सञ्चालन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको बताए । ‘म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि विसं २०७७ देखि बन्द भएको थियो,’ उनले भने, ‘३ वर्षपछि पुनःसञ्चालनमा ल्याइएको सूचना केन्द्रमा एकजना कर्मचारी राखेका छौँ ।’ सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरुको बिक्री कक्षसहितको कोसेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । म्याग्दीका छवटा स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन् । स्थानीय तह र निजी क्षेत्रको समन्वयमा सूचना केन्द्रलाई दीर्घकालीन हिसाबले सञ्चालन गर्नुपर्ने जिसस प्रमुख थापाले बताए । सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले रु २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए । नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ । उद्योग वाणिज्य संघ, जेसिजलगायत संघ, संस्थाले म्याग्दीका पर्यटकीय क्षेत्रका नक्सा, गाइड बुक र ब्रोसर राखेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताए ।