पर्वतीय उडानमा भारतीयको आर्कषण, रामनवमीमा ५ उडान 

नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको बासस्थान मानिन्छ । सडकमार्ग भइ त्यहाँ पुग्न ठूलो खर्च र धेरै समय लाग्छ । त्यसमाथि चीन सरकारको अनुमति पनि आवश्यक पर्छ । पर्याप्त समय र खर्च गर्न नसक्ने तथा शारीरिक रुपमा कमजोरका लागि पर्वतीय उडानमार्फत मानसरोवरको दर्शन गराउने उद्देश्यले श्री एयरलाइन्सबाट गत माघ दोस्रो सातादेखि सेवा सुरु गरिएको थियो । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित टुर एण्ड ट्राभल्स पथिल होलिडेजको परिकल्पनामा भारतको तीर्थयात्रासम्बन्धी कम्पनी ट्रिप टु टेम्पल्ससँगको सहकार्यमा पर्वतीय उडान गराउँदै आइएको सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए । यस पर्वतीय उडानमा खास गरी दक्षिण भारतको चेन्नइ, बैङ्लोर, कलकत्ता, दिल्ली आसपासबाट आउने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रहेको उनको भनाइ छ । हाल श्री एयरलाइन्सको विमानबाट प्रत्येक सोमबार र हिन्दु धर्मसँग सम्बन्धित महत्वपूर्ण पर्वमा पर्वतीय उडान भइरेको छ । ‘यस उडानमा अधिकांश भारतीय पर्यटक हुने गरेका छन्, आन्तरिक पर्यटकको सङ्ख्या पनि राम्रो छ’, होलिडेजका सुपरभाइजर पेशल दाहालले भने । ‘भारतीय पर्यटकलाई भारतको लखनउबाट ल्याएर एक दिन घुमाएर लखनउमै पुर्याउने गरिएको छ’, दाहालले भने । नेपालगञ्ज–कैलाश मानसरोवर यात्राका लागि भारतीय पर्यटकलाई ‘विन्डो सिट’का लागि भारु ४० हजार र सामान्य सिटका लागि भारु २१ हजार शुल्क निर्धारण गरिएको छ । भारु ४० हजार शुल्क तिर्ने पर्यटकलाई एक रात आवास तथा खानाको समेत प्रवन्ध गरिएको छ । नेपालीहरुको हकमा भने ‘विन्डो सिट’का लागि रु २८ हजार र साधारण सिटका लागि रु १० हजार शुल्क निर्धारण गरिएको कम्पनीको भनाइ छ । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको पर्वतीय उडानले नेपालगञ्जको खस्कँदो पर्यटन व्यवसायलाई उकास्न सहयोग गरेको बताए । उनले कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उल्लेख गर्दै यसबाट अन्य क्षेत्र पनि चलायमान हुने बताए  । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य समेत जोडिएकाले यसलाई सबैले आत्मसात गर्न आवश्यक भएको धारणा व्यक्त गरे। रामनवमीमा पाँच उडान  आगामी वैशाख ५ गते परेको रामनवमीका दिन पाँच वटा पर्वतीय उडान हुने भएको छ । टुर एण्ड ट्राभल्स पथिल होलिडेज प्रालिले श्री एअरलाइन्सको विमानबाट उक्त उडानको तयारी भइरहेको जनाएको छ । ‘हामीले पाँचवटा उडानका लागि अग्रीम बुकिङ खुला गरिसकेका छौँ’, सुपरभाइजर दाहालले भने । खास गरी रामनवमी जस्ता विभिन्न पर्वमा यस्ता उडान बढी हुने गरेको उनको भनाइ छ । रासस

पर्यटन प्रवर्द्धन गर्नुपर्ने याममै निष्क्रिय छ बोर्ड

काठमाडौं । ‘नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन’, हालैको एक सार्वजनिक कार्यक्रममा पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले भने । यही चैत १३ गते नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवमा ढकालले बोर्ड अहिले लथालिङ्ग भएको र निकै कमजोर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । मुलुकको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले सोहीअनुसार सञ्चालन हुन नसक्दा उद्देश्यबिमुख अवस्थामा पुगेको उनको बुझाइ छ । ‘बोर्ड अहिले सही नीति र नेतृत्वको अभावले थलिएको छ, विभिन्न बाहनामा बोर्डलाई लथालिङ्ग बनाउने काम भयो’, उनले भने । पूर्वसचिव ढकाल पछिल्लो समय बोर्ड पर्यटन प्रवर्द्धनको मुख्य काम छाडेर आन्तरिक काममा बढी रुमलिएको बताउँछन् । ‘विषय विज्ञभन्दा बढी राजनीतिज्ञ हावी हुँदा बोर्ड कमजोर बनेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मुख्य जिम्मेवारीबाट बोर्ड बिमुख बन्दै गएको’, उनले भने । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन नै उल्लेख छ । ‘अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलका रुपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, बिस्तार तथा प्रबर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो’, ऐनमा भनिएको छ । बोर्ड सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना भएको हो । बोर्डमा निजी क्षेत्रका पाँच र सरकारका पाँच गरी १० जना र एक सिइओ गरी ११ सदस्य रहने व्यवस्था छ । बोर्डका अनुसार बोर्डले पछिल्लो अन्तर्राष्ट्रिय कार्यक्रम गरेको पनि १० महिना हुन लाग्यो । सन् २०२३ जुनमा जापनको होकाइदोमा नेपाल प्रवर्द्धन कार्यक्रमपछि कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएको छैन । चालु आर्थिक वर्षमा त एउटा पनि कार्यक्रम तय भएको छैन । अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलालाई मुलुकको पर्यटन प्रवर्द्धनका लागि उपयुक्त थलोका रुपमा लिइन्छ । यस्ता मेला विश्वको पर्यटन ट्रेन्डबारे जानकारी लिने, आफ्नो मुलुकको पर्यटन प्रवर्द्धन गर्ने तथा सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण मानिन्छन् । तर त्यस्ता मेलामा पछिल्लो समय पर्यटन बोर्डको उपस्थिति भने निकै कमजोर बनेको छ । यद्यपि अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा निजी क्षेत्रका पर्यटन व्यवसायीले भने आफ्नै पहलकदमीमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन भने गरिरहेका छन् । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र यतिबेला पुरानै लयमा फर्कनका लागि बाटो खोज्दैछ । यसका संकेतहरु पनि देखिन थालेका छन् । यतिखेर मुलुकमा विदेशी पर्यटक बढ्न थालेका छन् र पर्यटकीय गतिविधि पनि बढ्दै गरेको देखिएको छ । तर दुःखको कुरा यतिनै बेला अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रबर्द्धन गर्नुपर्ने मूल दायित्व बोकेको राष्ट्रिय संस्था पर्यटन बोर्ड भने निष्क्रिय जस्तै छ । बोर्डका अनुसार सन् २०२३ को पहिलो तीन महिनाको तुलनामा सन् २०२४ को पहिलो तीन महिना विदेशी पर्यटक आगमन ३३ दशमलव ७८ प्रतिशतले बढेको छ । यस वर्षको जनवरीदेखि मार्चसम्म कूल तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा विदेशी पर्यटकको सङ्ख्या १० पुगेको थियो । यस्तो सङ्ख्या सन् २०२२ मा छ लाख १४ हजार मात्रै थियो । कोरोना महामारी अघि अर्थात् सन् २०१९ मा ११ लाख ९७ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन प्रवर्द्धनमा बोर्डको फितलो प्रदर्शनको आलोचना पर्यटन व्यवसायीमाझ मात्रै नभइ संसदीय समितिसम्म चर्चा हुने भइसकेको छ । यही चैत १५ गतेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सरोकारवालाहरुले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रबर्द्धनमा सक्रिय हुनुपर्ने बोर्ड नेतृत्व र निर्णयको अभावमा कमजोर बनेको टिप्पणी गरेका थिए । त्यसअवसरमा होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष प्रवीनबहादुर पाण्डे, रेष्टुरेन्ट एण्ड बार एशोसिएसनका उपाध्यक्ष सङ्घर्ष बिष्ट, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलालगायतले पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय पर्यटन प्रबर्द्धनमा सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए । बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी पनि बोर्डका गतिविधिप्रति सन्तुष्ट छैनन् । ‘निजी क्षेत्र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रबर्द्धन प्रभावकारी रुपमा होस् भन्ने चाहन्छ, तर अपेक्षाअनुसार काम हुन सकेको छैन’, उनले भने, ‘बोर्ड जुन अवधारणा र अपेक्षाअनुरुप स्थापना भएको थियो सोअनुसार बोर्डले काम गर्न नसकेको देखिन्छ ।’ उनी बोर्डको काम प्रभावकारी हुन नसक्नुमा सही नेतृत्वको अभाव पनि हुनसक्ने बताउँछन् । ‘निजी क्षेत्रलाई साथमा लिएर अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रबर्द्धन गर्नुपर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले यत्तिकै बसेको छ । निजी क्षेत्र आफै सक्रिय भएर अन्तर्राष्ट्रिय कार्यक्रममा निरन्तर सहभागिता जनाउनु सकारात्मक पक्ष हो ।’ बोर्डका निर्देशक मणिराज लामिछाने कार्यविधि अभावमा चालु आर्थिक वर्षमा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय फोरममा बोर्डले उपस्थिति जनाउन नसकेको बताउँछन् । ‘चालु आर्थिक वर्ष सुरु भएदेखि बोर्डले विदेशका कार्यक्रममा सहभागिता जनाउन पाएको छैन’, उनले भने, ‘बोर्डको पछिल्लो निर्देशनअनुरुप सुरुमा छिमेकी मुलुक भारत र चीनमा प्रबर्द्धनका कार्यक्रम गर्ने र त्यसपछि दुबई, हङकङलगायत मुलुकमा कार्यक्रम गछौँ, अबको दुई तीन महिनामा यी कामहरु हुन्छन’, उनले भने । पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले विदेशमा कार्यक्रम सञ्चालन गर्न कार्यव्यवस्थासम्बन्धी निर्देशिकाका कारण बोर्ड अन्तर्राष्ट्रिय पर्यटन प्रबर्द्धनमा सहभागी हुन नसकेको बताए । उनले बोर्डको सिइओ नियुक्ति प्रक्रिया पूरा भएपछि प्रभावकारी ढङ्गले प्रबर्द्धनका गतिविधि सञ्चालन गरिने बताए । ‘बोर्डले विदेशमा सक्रिय रुपमा काम गर्न नसकेको कुरा आएको छ’, सचिव काफ्लेले भने, ‘अहिले आएका टिकाटिप्पणीलाई मन्त्रालयले स्वामित्व ग्रहण गर्छ । संस्थाभित्र व्यक्तिको प्रवृत्तिले पनि धेरै कुरा फरक पार्छ । बोर्ड आफैमा स्वायत्त संस्था भएकाले मन्त्रालयले नीतिगत रुपमा झकझक्याउने हो ।’ बोर्डको कार्यकारी समितिले गत असोज ६ गते पारित गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरेपछि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने/गराउने निर्देशन भएको उल्लेख गरेको छ । बोर्डका पदाधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच पटक–पटक छलफल भएपनि सो विषयमा अझै टुङ्गो लाग्न नसकेको जनाइएको छ । हाल बोर्डमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ । डा धनञ्जय रेग्मी चारवर्षे कार्यकाल पूरा गरी गत माघ १४ गते बाहिरिएपछि सो पद रिक्त छ । साथै बोर्डमा तीन जना सदस्यको नियुक्ति हुन सकेको छैन । हालै बोर्डको सीइओ नियुक्तिको प्रक्रिया भने सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन बोर्डले केही दिनमै नेतृत्व पाउने बताउँछन् । उनले भने, ‘बोर्डमा सिइओ नियुक्ति प्रक्रिया पनि अघि बढिसकेको छ । पर्यटन क्षेत्रले नेतृत्व तहमा महसुस गरेको अभावलाई पूरा गर्न चाँडै काम गर्छौ ।’ निजी क्षेत्रको सक्रियता अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रबर्द्धन गर्ने मुख्य भूमिका रहेको नेपाल पर्यटन बोर्ड निस्क्रिय भए पनि निजी क्षेत्रले भने अन्तर्राष्ट्रिय जगतमा पुगेर आफ्नो जिम्मेवारी पूरा गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा हालै सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘माट्टा फेयर २०२४’मा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोलीले सहभागिता जनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गरे । उक्त मेलामा नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवासयी कम्पनी सहभागी थिए । विगतमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीहरुले यस्ता अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सहभागिता जनाउने गरेका थिए । यसैबीच नाट्टाले स्पेनको मेड्रिड र बङ्गलादेशको ढाकामा सम्पन्न पर्यटन मेलामा सहभागिता जनाई सकेको छ । यस्तै, प्यासिफिक एसिया ट्राभल एशोएिसन (पाटा) नेपाल च्याप्टरले जर्मनीको बार्लिनमा गत फागुन २२ देखि २४ आयोजना भएको विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटीवी बर्लिन’ मा सक्रिय सहभागिता जनाएर नेपालको पर्यटन प्रबर्द्धन गरेको थियो । उक्त मेलामा नेपालका तर्फबाट ३७ वटा पर्यटन संस्थाको सहभागिता थियो । यसअघि होटल सङ्घ नेपालले यही मार्च ३ देखि ६ तारिकसम्म सीताराम दर्शन तथा पर्यटन प्रबर्द्धन कार्यक्रममार्फत भारतका विभिन्न सहरमा नेपालको पर्यटन प्रबर्द्धन गरेको थियो । नाट्टाका अध्यक्ष रमेश थापाले नाट्टाको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुलाई निरन्तरता दिएको बताए । त्यसैगरी पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले पनि आईटीबी बर्लिनमा नेपालको प्रतिनिधित्वबाट नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रबर्द्धनकालागि पहल भएको बताए । उनले नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवालाहरुको माग बमोजिम अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन पाटा नेपालले आवस्यक पहल तथा सहजीकरण गरेको उल्लेख गरे । पर्यटन व्यवसायी विजय अमात्यले नेपालको पर्यटन प्रबर्द्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपालको सक्रिय सहभागिता जरुरी भएको बताए । उनले भने, ‘विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार अन्तर्राष्ट्रिय पर्यटन मेला नै हुन् । नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् त्यसैले नेपालको प्रभावकारी सहभागिता हुनैपर्छ ।’ बोर्डले सार्वजनिक निजी साझेदारी संस्थाको रुपमा अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा हरेक वर्ष सहभागिता जनाउने गरेको थियो । चालु आर्थिक वर्षमा बोर्डले कुनैपनि अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको छैन । नेपाल पर्यटन बोर्ड, विदेशमा कार्यक्रम सञ्चालन तथा खरिद सम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको छ । रासस

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन वृद्धि

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले निकुञ्जलाई २०७४ सालमा देशको १२औँ संरक्षित क्षेत्रका रूपमा घोषणा गरेको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ । प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी  निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए । ‘विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा  भारतका पर्यटक आउने क्रम बढेको छ’, उनले भने, ‘बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।’ चालु आर्थिक वर्षको आठ महिनामा छ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एक जना विदेशी पर्यटक छन् । अघिल्लो आवको आठ महिनामा एक सय ४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए । आव २०७९-८० मा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना  भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए । निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन् ।  निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै  पाटेबाघसहितका  जन्तुको सङ्ख्या पनि वृद्धि भएको छ । निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार  पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको सङ्ख्या बढेको हो । कुल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र  पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् । निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरिएको छ । स्थानीय संस्कृतिअनुसार  सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ । रासस