१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सञ्चालनमा, कसरी पुग्ने ?

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेल बताउँछन् । त्रिशुली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ । २२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेल बताउँछन् । भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ । ‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ । यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन् । भिल्लामा न्युनतम ४ हजार रुपैयाँ देखिको प्याकेज बुक गर्न सकिनेछ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन् । भिल्लामा पुगेका पाहुनाहरूलाई यि सबै किसिमका लक्जरी सुविधाहरू उपलब्ध छ । भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो । साथै जंगल छेउमा भएकाले सुन्दर तथा शान्त वातावरण सहितको प्रकृतिमा लीन हुन सकिनेछ । कर्पोरेट ग्राहकमात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह गर्न समेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेल बताउँछन् । अविरल बग्ने त्रिशुली नदी र आसपासमा भएका वनजंगल लगायतको दृश्यावलोकन गर्दै भिल्लामा रमाउँदाको आनन्द वर्णन नै गर्न सकिँदैन । भिल्लामा सोही आनन्द लिनका लागि पाहुनाहरू आइरहेको कँडेल बताउँछन् । रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशुली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् । कसरी पुग्ने ? भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ । बाइकमा भने झलुङ्गे पुल हुँदै भिल्ला सम्मै पुग्न सकिन्छ ।

हङकङमा पर्यटक आगमनमा १.५ गुणा वृद्धि

काठमाडौं । हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा गरेको छ । यो तथ्याङ्कले पर्यटकको संख्यामा निरन्तर वृद्धि भएको देखाएको बताइएको छ । मार्चमा करिव ३४ लाख पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो । ती मध्ये २.४६ मिलियन भन्दा बढी चिनियाँ मुख्य भूमिबाट थिए । जुन वार्षिक रूपमा २५.४ प्रतिशतले बढेको छ । गैर–मुख्यभूमि भ्रमणहरू ९ लाख ३० हजार नाघेको छ । जुन वार्षिक रूपमा ९२.१ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले मे महिनादेखि चाडपर्व वा ठूला कार्यक्रमको संयोजनमा समुन्द्रमा रमाउने ड्रोन प्रदर्शन गर्ने पनि घोषणा गरेको छ । पहिलो ड्रोन प्रदर्शनले मे ११ मा भिक्टोरिया हार्बरमा रातको आकाश सजाउनेछ । थप आगन्तुकहरूलाई आकर्षित गर्नेछ ।

महासंघका अध्यक्ष ढकालद्वारा धार्मिक पर्यटन पूर्वाधार निर्माणमा जुट्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् । मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् । हिन्दु धर्मावलम्बीका लागि वाग्लुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पन्चकोट लगायत थप गन्तव्यहरु लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृतरुपमा प्रर्वद्धन गर्न सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे । कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । काठमाडौंमा चन्द्रागिरिको भालेश्वर मन्दिर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्या देवीको मन्दिर, सुदूरपश्चिम कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरा देवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसङ्ग जोड्दै अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रर्वद्धनमा सबै क्षेत्रको सहयोग भए पर्यटन मार्फत समृद्धि र रोजगारी सृजनामा ठुलो काम गर्न सकिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।