गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
गलेश्वर । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख ३५ हजार चार सय ६६ छ । तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ । विसं २०८० मा ७८ हजार आठ सय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्ये ७२ हजार सात सय ५६ जना सार्क राष्ट्रभित्रका हुन् भने छ हजार ५८ जना सार्कराष्ट्र बाहिरका रहेका प्रनाउ पाण्डेले जानकारी दिए । उनका अनुसार सार्क राष्ट्रबाट ३८ हजार आठ सय २१ पुरुष र ३३ हजार नौ सय ३५ महिला छन् । सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चार सय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ । सोही अवधिमा हवाइमार्गबाट ११ हजार चार सय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एक सय ३४ पुरुष र पाँच सय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका प्रनाउ पाण्डेले जानकारी दिए । सार्क राष्ट्रबाट तीन हजार सात सय ६७ पुरुष र चार हजार दुई सय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठ सय ८६ पुरुष र आठसय ६४ जना महिला गरी एक हजार सात सय ५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ । सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताए । उनका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ । सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो । मुस्ताङ आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन् । मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे ९हिमाल० पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन् । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानीसमेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ । उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतकाबीचमा हुने व्यापारको राजस्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालयसमेत छ । छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा रहेका छन् । सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार नौ सय ४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिए । सन् २०२३ मा ७८ हजार आठ सय १४ जना बाह्य पर्यटक भित्रिएका छन् । मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै एक सय आठ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् । साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशीभन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् । मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाईमार्गबाट पनि पुग्ने गर्दछन् । रासस
कसरी गर्ने पदयात्राको तयारी ?
गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङका लागि गएको देखिन्छ । सो वर्ष कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल आएकोमा एक लाख ५४ हजार दुई सय ६२ जना पदयात्रा र माउन्टेनियरिङका लागि आएका थिए । नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ । अहिले दोस्रो मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्यस्थलमा पर्यटकको आउजाउ बाक्लिएको छ । पदयात्रामा रमाउनेको सङ्ख्या पनि उल्लेख्य छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । तपाईं पनि पदयात्राका लागि कुनै गन्तव्य रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ । खर्चको जोहो तपाईँ कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदमार्गमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पैसा पनि बोकेर जाँदा सजिलो हुन्छ । गन्तव्यस्थलको पूर्वअध्ययन आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ । बन्दोबस्ती ऋतु याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महङ्गो पनि पर्छ । गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाको सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यहीअनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ । औषधि र हलुका खानेकुरा पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नुहुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदामआदि साथमा राख्दा राम्रो हुन्छ । एक्लै निहिँड्नुहोस् नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् । रासस
पर्यटन बोर्ड सीईओमा २० जनाको प्रतिस्पर्धा
काठमाडौं । नेपालको सार्वजनिक(निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २० जनाले आवेदन दिएका छन् । पूर्वसीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । पूर्वसीईओ डा. रेग्मीले फेरि सीईओ बन्न आवेदन दिएका छन् । रेग्मी आफ्नो कार्यकालमा विवादित पनि बनेका थिए । यसैगरी पर्यटन बोर्ड सीईओको प्रतिस्पर्धामा दीपकराज जोशी, राजाराम गिरी, श्रद्धा श्रेष्ठ र लक्ष्मण गौतम छन् । जोशी बोर्डका पूर्वसीईओ, गिरी तत्कालीन पर्यटन पुनरुत्थान समिति संयोजक, श्रेष्ठ पर्यटन बोर्डकी प्रबन्धक र गौतम कार्यवाहक निर्देशक हुन् । त्यसैगरी अन्य प्रतिस्पर्धीमा ठाकुरप्रसाद देवकोटा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् । सीईओका लागि आवेदन दिने अन्तिम म्याद आजसम्म छ ।