सगरमाथा चढ्न ३५२ जनाले लिए अनुमति, उठ्यो ५० करोड रोयल्टी

<p>काठमाडौं । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका ३ सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३ सय ९९ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा [&hellip;]</p>


काठमाडौं । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ ।

पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका ३ सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३ सय ९९ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धकरूपमा आरोही आइरहेको बताए ।

उनका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व संकलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उनले बताए ।

विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २ सय ८७ पुरुष गरी जम्मा ३ सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् ।

निर्देशक गुरुङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

उनीहरूबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ । गत वर्ष ७६ करोड रुपैयाँ रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष ५६ करोड रुपैयाँ रोयल्टी उठिसकेको छ । थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताए ।

विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ । यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो ।

‘यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ,’ निर्देशक गुरुङले भने, ‘सगरमाथा आरोहीको सङ्ख्या वैशाख ७ गतेसम्म तीन सय ५२ पुगिसकेको छ । अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा ४ सयभन्दा बढी आरोही पुग्ने देखिन्छ ।’

विभागको विवरणमा सगरमाथापट्टी ल्होत्से हिमालबाट १ करोड ७२ लाख ५८ हजार ९ सय २२ र मकालु हिमालबाट १ करोड ७७ लाख ४८ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख रुपैयाँ दस्तुर लाग्छ । नेपालीले ७५ हजार रुपैयाँ तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् ।

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ । यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक संख्यामा आरोही आउँछन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै सङ्ख्यामा आरोही आएको बताए । वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि बाक्लो संख्यामा आरोही आइरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाएको बताउँछन् ।

सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन् ।

यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ ।

सगरमाथाको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ) का लागि सगरमाथा क्षेत्रमा खटिएका हुन् ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ । यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।

Share News