हिमालमा बिरामी परेका पर्यटकलाई हेलिकोप्टरको सहारा
सोलुखुम्बु । गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप उक्लिएका उनीहरु त्यहाँबाट अघि बढ्न सकेनन् । पाँच हजार १६४ मिटरको उचाइमा अवस्थित गोरक्सेप पुगेपछि लेक लाग्न सुरु भएकाले स्वास्थ्यमा जटिलता देखिन थालेपछि अन्ततः हेलिकप्टरको सहारा लिनुपर्यो । सगरमाथा क्षेत्र भ्रमणमा पुगेका ती पर्यटक ‘हाइ अल्टिच्युट’का कारण सिकिस्त बनेका थिए । लेक लागेर बिरामी परेपछि उद्धारका लागि हेलिकप्टर झिकाउनुपरेको पर्यटक गाइड नाम्गेल शेर्पाले बताए । उनका अनुसार पाँच हजार एक सय ६४ मिटरको उचाइमा लेक लागेका ती पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प थिएन । हवाई उद्धार गरेर दुई हजार आठ सय ६० मिटरको उचाइ लुक्ला ल्याएको केही समयपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको शेर्पाले बताए । ‘सुरुमा शरीर कमजोर भएको महसुस गरेका ती पर्यटकले बिस्तारै टाउको दुख्ने र वान्तासमेत गरेका थिए’, उनले भने । अवस्था सामान्य होला कि भन्ने प्रतिक्षामा रहेका पर्यटक गाइड उनीहरूको अवस्था झन् नाजुक हुँदै गएपछि भने बाध्य भएर हेलिकप्टर झिकाउनुपरेको व्यवसायी सुशन राईले बताए । लेक लागेर श्वासप्रश्वासमा समस्या भइरहेको अवस्थामा समयमा उद्धार हुन नसके मानिसको ज्यान जान सक्ने शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका डा सञ्जीव तिवारीले बताए । यस्तो बेला बिरामीलाई कम उचाइ भएको स्थानतर्फ झार्नु नै सबैभन्दा राम्रो उपचार विधि भएको उनको भनाइ छ । ‘लेक लागेर सिकिस्त बनेका बिरामीलाई सधैँ औषधिले मात्रै काम नगर्ने भएकाले तलतिर झार्नु उत्तम विकल्प हन्छ । झन् माथि गइयो भने त्यसले दुर्घटना निम्ताउन सक्छ’, डा तिवारीले भने, ‘म आफू पनि माउन्टेन क्षेत्रको उपचारमा संलग्न भएको अनुभवले लेक लागेको बेला उद्धार गरेर कम उचाइ भएको ठाउँमा लैजानु बुद्धिमानी हुने सुझाव दिन्छु ।’ सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा बढी हेलिकप्टरले उडान भर्ने गर्दछन् । कैलाश हेलिकप्टर, हेलि एभरेष्ट, अल्टिच्युट, सिम्रिकलगायत कम्पनीका हेलिकप्टरले सो क्षेत्रमा दैनिक दर्जन बढी पर्यटकको उद्धार गर्ने गरेका छन् । सवारीसाधन पुग्न नसकेकाले पनि सगरमाथा क्षेत्रका लागि हेलिकप्टर निर्विकल्प उद्धारको साधन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलले बताए । हेलिकप्टरले यस क्षेत्र भ्रमणमा आउने सयौँ पर्यटकको ज्यान बचाउने गरेको उनको भनाइ छ । मण्डलले भने, ‘हेलिकप्टर छैन भने त यहाँ धेरै पर्यटकको ज्यान जान सक्छ, भ्रमणमा आउनेहरूलाई उचाइ बढ्दै गएपछि लेक लाग्ने समस्या हुन्छ, त्यस्तो अवस्थामा उनीहरुको उद्धार भएन भने जे पनि हुनसक्छ, त्यसैले यहाँका लागि हेलि भनेको सहरको एम्बुलेन्सजस्तै हो ।’ उनका अनुसार सगरमाथा क्षेत्रका लागि हेलिकप्टर सडक पुगेका ठाउँको एम्बुलेन्सजस्तै बनेको छ । भौगोलिक कारण हिमालमा हरेक सेवा सुविधा नहुने भएकाले राहत, उद्धारदेखि अतिआवश्यक ढुवानीका लागि हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक तथा पर्यटन व्यवसायीलाई हेलिकप्टर प्रयोग गर्नु रहर नभइ बाध्यता भएको विश्व कीर्तिमानी आरोही तेम्बाछिरी शेर्पाले बताए । जसका कारण खुम्बुमा हेलिकप्टर सामान्य बनेको उनले बताए । ‘यहाँ अरु साधन छैन, भारीहरू भरिया र चौँरीले बोके पनि आकस्मिक उद्धारमा त्यो सम्भव छैन, त्यसैले यहाँ त हेलि चढ्नुको विकल्प हुँदैन’, उनले भने । सो क्षेत्रमा विभिन्न सामग्री ढुवानीका लागि पनि हेलिकप्टरलाई भरपर्दो साधनका रूपमा लिइन्छ । सगरमाथा क्षेत्रको पाँच हजार एक सय ६४ मिटरको उचाइमा अवस्थित गोरक्सेपबाट माथिल्लो क्षेत्रमा हेलिकप्टरले प्रतिपटक दुई जनाभन्दा बढी यात्रु बोक्न दिइँदैन । नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय मापदण्ड तथा उडान सुरक्षालाई मध्यनजर गर्दै यस्तो नियम लागु गरिएको आरोही शेर्पाले बताए । हेलिकप्टरले सगमारथा क्षेत्रको माथिल्लो भेगबाट लुक्लासम्मका लागि प्रतिपटक उचाइअनुसार नौ सय अमेरिकी डलरदेखि एक हजार पाँच सयसम्म लिने गरेका छन् । सो क्षेत्रमा उडानका लागि हेलि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति अनिवार्य गरिएको छ । सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा धेरै हेलिकप्टर उडान हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । मौसम प्रतिकूलता चुनौती गत ‘जनवरी’ २० तारिख हेलिकप्टर समयमा आउन नसक्दा सगरमाथा क्षेत्रमा बिरामी भएका एक चिनियाँ नागरिकको ज्यान गयो । गोक्यो क्षेत्रको चार हजार चार सय मिटर उचाइमा पुगेपछि चिनियाँमूलका अन्दाजी २४ वर्षीया एक महिला लडेर घाइते भइन् । उनको उद्धारका लागि सो क्षेत्रमा पुगेका पर्यटक गाइड साङ्गे शेर्पाको पहलमा हेलिकप्टर झिकाइयो । मौसम प्रतिकूलताका कारण उक्त दिन हेलिकप्टर अवतरण हुन नसक्दा ती महिलाको सोही स्थानमा ज्यान गएको तितो अनुभव शेर्पाले सुनाए । उनले भने, ‘हामी पनि विदेशीसँग गोक्यो क्षेत्र गएका थियो, रात परिसकेको थियो, ती चिनियाँ महिला लडेर घाइते भएको अवस्थामा उद्धार गर्यौँ । हामीले हेलि पनि झिकायौँ तर दुर्भाग्य त्यस दिन मौसम खराब भएर हेलि बस्नै सकेन । राति निजको त्यही ठाउँमा ज्यान गयो, मौसमले साथ दिएर हेलिकप्टर आएको भए उनको ज्यान बच्ने थियो । मौसमसँग हाम्रो केही लागेन, खुम्बु क्षेत्रमा हेलिकप्टर सञ्चालनका लागि प्रमुख चुनौती नै मौसम हो ।’ हिमाली भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले उडानमा चुनौती हुने कैलाश हेलिकप्टर लिमिटेडका प्रबन्धक प्रतापजंग पाण्डेले बताए । कयौँपटक उद्धारमा पुगेको हेलिकप्टर मौसमकै कारण रित्तो फर्कनुपरेको उनको अनुभव छ । ‘फोन आउँछ, उद्धारका लागि आइदिनुपर्यो भनेर । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर तोकिएको स्थानमा पुग्छौँ । त्यहाँ पुग्दा मौसममा समस्या आउँछ, भनेको स्थानमा ल्याण्ड हुन सक्दैन, अनि रित्तो फर्कनुपरेको कयौँ अनुभव छन् । त्यस्तो हुँदा कम्पनीलाई इन्धनको भार पर्छ, हिमालमा हेलिकप्टर चलाउन कहाँ सजिलो छ र?’, प्रबन्धक पाण्डेले भने । हिमाली भेगमा पर्यटकका लागि हेलिकप्टर एम्बुलेन्सकै रूपमा तयारी अवस्थामा रहनुपर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए । ‘हिमाली भेगका विभिन्न सामग्री ढुवानीका लागि पनि यस क्षेत्रमा हेलिकप्टर प्रयोग हुन्छ । पर्यटक तथा बिरामी उद्धारमा चाहिँ हेलिको विकल्प छैन’, उनले भने । मौसमका कारण हेलिकप्टर समयमा नआउँदा धेरै पर्यटकले ज्यान गुमाउनुपरेको तितो यर्थाथ रहेको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । बिरामी पर्यटकको उद्धारका लागि यहाँ मुख्य चुनौती नै मौसम रहेको उनको भनाइ छ । हिमाली भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले समस्या हुने गरेको वडाध्यक्ष अधिकारीले बताए । उनका अनुसार हेलिकप्टर कम्पनीलाई इन्धन व्यवस्थापन चुनौतीको विषय बनेको छ । कम्पनीहरूले आफूलाई आवश्यक पर्ने इन्धन काठमाडौंबाट गाडीमार्फत टाक्सिन्दुसम्म ढुवानी गरेर त्यहाँबाट हेलिकप्टरमा लुक्ला पुर्याउने गरिएको सिम्रिक हेलिकोप्टर प्रालिका महाप्रबन्धक मुरलीधर जोशीले बताए । तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा इन्धन स्टेशन नहुँदा इन्धन व्यवस्थापनमा समस्या भएको उनले बताए । लुक्ला विमानस्थलमा निर्माण गरिएको हेलिप्याडमा एकैसाथ सात/आठवटा हेलिकप्टर पार्क गर्न सकिने क्षमता भए पनि सिजनको समयमा १२/१४ सम्म हेलिकप्टर एकसाथ पार्क गर्नुपर्ने बाध्यता रहेको सिम्रिक हेलिकप्टरका महाप्रबन्धक जोशीले बताए । रासस
हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे । उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए । सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको जानकारी दिए । उनले उक्त विवाहका इभेन्ट नेपालमा ल्याउनसके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको बताए । अध्यक्ष ढकालले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन आवश्यक रहेको जानकारी दिए । ‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेछ । उनीहरु थाइल्याण्ड, फिलिफिन्स, इण्डोनेसिया, दुबईमा गइरहनुभएको छ । यो इभेन्टहरु धेरै सख्यामा भइरहेको छ । सरकारले विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ । तत्काल सञ्चालनमा ल्याउन सकियो भने नेपालमा पर्यटनको धेरै सम्भावना रहेको छ’, उनले भने । उनले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे । पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवद्र्धन थप प्रभावकारी बनाउन सकिने बताए । अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको जानकारी दिए ।
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन, २६ करोड राजस्व आम्दानी
सौराहा । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उनी भन्छन्, ‘अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ ।’ उनी पर्यापर्यटन नै आफूहरुको जीविकोपाजर्नको आधार भएको बताउँछन् । रत्ननगर नगरपालिका–६ सौराहाको रिभर साइडमा कोल्डस्टोरको व्यापार गर्दै आएकी सीता भट्ट पनि चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक यहाँका वन्यजन्तु, नदी, ताल, वनजङ्गल हेर्न नै आउने भएकाले तिनको संरक्षणका लागि सरोकारवाला निकायसँगै स्थानीय सबै लाग्नुपर्ने बताउँछिन् । सो क्षेत्रका अधिकांश जनताको रोजगारी र आयको मुख्य स्रोत निकुञ्जको पर्यापर्यटन समेत बनेको उनको भनाइ छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमध्ये राजस्व सङ्कलनमा अब्बल बन्दै आएको छ । अपार जैविक विविधताको धनी यो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकको केन्द्र हो । यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी चार जिल्लामा फैलिएर रहेको छ । निकुञ्जको राजस्व आम्दानीको प्रमुख स्रोत नै पर्यापर्यटन हो । संरक्षण क्षेत्रमा पर्यापर्यटन, काठ दाउरा र गैरकाष्ठ वन पैदावार बिक्री तथा न्यायिक दण्ड सजायलगायत शीर्षकमा राजस्व सङ्कलन गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका संरक्षित क्षेत्रबाट आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट मात्र २८ करोड १३ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चालु आवमा निकुञ्जमा गत फागुनसम्म दुई लाख पर्यटक प्रवेश गरेको र २६ करोड रुपैयाँ हाराहारी राजस्व आम्दानी भएको छ । उनी भन्छन्, ‘पर्यटक प्रवेशबापतको राजस्व सानो अंश मात्र हो । योभन्दा कैयौँ गुणा अन्य विभिन्न लाभहरु छन्, यसले समग्र मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ, होटल, रेष्टुराँ, पर्यटन व्यवसाय, होमस्टे, यातायातका साधनको सञ्चालन तथा स्थानीय उत्पादनको खपतले ठूलो मात्रामा रोजगारी र आम्दानी समेत सिर्जना भएको छ ।’ विश्व सम्पदा सूचीमा रहेको यस निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी, दृश्यावलोकन, स्थानीय सांस्कृतिक भेषभूषा आदि पर्यटकका मुख्य आकर्षकका केन्द्र रहेको प्रमुख संरक्षण अधिकृत पुनको भनाइ छ । पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरन भइरहेको दृश्यावलोकनको लागि विभिन्न स्थानमा टावर निर्माण, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवा उपलब्ध गराइएका छन् । ‘यसबाहेक सौराहा सङ्ग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको सुरुआत र सञ्चालनले पर्यापर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको छ’, उनी भन्छन् । एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोही यस निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु हुन् । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानको रुपमा रहेको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । निकुञ्जमा स्तनधारी, पन्छी, घस्रने, उभयचर, माछा, गौर, घडियाल गोहीलगायत विविध प्रजाति र वनस्पतिका साथै ठूला घाँसे मैदान, ताल र सिमसार छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग किमी रहेको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहा विभिन्न होटलमा चार हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् । ‘रोजगारी पाएका व्यक्तिका परिवारदेखि स्थानीय कृषि उत्पादन बिक्री वितरण र अन्य विभिन्न कार्यबाट थप हजारौँले रोजगारी पाएका छन्’, उनी भन्छन् । सौराहा क्षेत्रमा मात्रै १६८ पर्यटकीय होटल छन् । अध्यक्ष गिरी चितवनलाई विश्वले चिनेको कारण नै निकुञ्ज भएको बताउँदै यहाँ पर्यटकको मुख्य आकर्षक निकुञ्ज र यसमा रहेका वन्यजन्तु नै भएको उल्लेख गर्छन् । ‘यहाँको पर्यापर्यटन वन्यजन्तुसँग सम्बन्धित छ, संरक्षण गर्न वन्यजन्तुको बासस्थानको थप सुरक्षा र प्रवद्र्धन आवश्यक छ’, उनी भन्छन्, ‘चोरी शिकार नियन्त्रणका लागि सुरक्षा पोष्ट वृद्धि गर्नुपर्ने देखिएको छ । निकुञ्जको दिगो व्यवस्थापनका लागि स्थानीयमा जनचेतना र वैकल्पिक आयआर्जनका अवसर प्रदान गर्नुपर्छ ।’ पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै राज्यले पनि पर्यापर्यटन विविधिकरणका लागि लगानी बढाउनुपर्ने अध्यक्ष गिरीको सुझाव छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल ७५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कुल पाटे बाघको सङ्ख्या तीन सय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ वयस्क बाघ रहेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् भने नारायणी, राप्ती र रीउ नदी तथा स–साना खोल्सा रहेका छन् । अनुपम भौगोलिक बनावट तथा अद्वितीय जैविक विविधताले भरिपूर्ण यो निकुञ्ज २०४१ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो । सौराहाका स्थानीय सुनिमा चौधरी निकुञ्जको पर्यापर्यटनले गर्दा नै घरआँगनमै रोजगारीका अवसर प्राप्त भएको बताउँछिन् । ‘आफ्नो योग्यता र सीपअनुसारको आयआर्जन गर्ने अवसर सिर्जना भएको छ । अर्कोतिर कृषि उत्पादनले बजार पाएको छ । गाउँगाउँमा बजारीकरण भएको छ । यसले स्थानीय जनतामा निकुञ्जको संरक्षणप्रति अपनत्वको अनुभव समेत भएको छ’, उनी भन्छिन् । यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यअन्तर्गत जैविक विविधता संरक्षण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, प्रजाति संरक्षण तथा व्यवस्थापन, पूर्वाधार विकास निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको चोरी शिकार नियन्त्रण, स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकास, पर्या–पर्यटन प्रवद्र्धन, मध्यवर्ती सामुदायिक वन व्यवस्थापन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत गतिविधि सञ्चालन हुँदै आएका छन् । यसमा निकुञ्ज र सम्बन्धित कर्मचारी, नेपाली सेना, उपभोक्ता समिति, दातृ निकाय तथा साझेदार संस्था, संरक्षणकर्मी स्थानीयलगायत सरोकारवालाको योगदान छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा संरक्षित क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रमुख गन्तव्य स्थानको रुपमा रहेका छन् । आव २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार ३९२ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये नेपाली दुई लाख एक हजार आठ सय ८१, सार्क मुलुकका ३५ हजार सात सय ११ र विदेशी ५४ हजार आठ सय पर्यटक रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको सौराहा, घटगाई, कसरा, वनकट्टा, मेघौली, कुजौली लौखानी र अमलटारी गरी नौ स्थानबाट पर्यटकलाई निकुञ्ज प्रवेश गर्ने सुविधा दिइएको छ । सौराहा प्रवेशद्वारबाट सबैभन्दा बढी ९०.८० प्रतिशत पर्यटक निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना निकुञ्जकै कारण यस क्षेत्रमा प्रत्यक्ष रोजगारीका साथै किसानले उत्पादन बिक्री गर्न पाएक बताउँछन् । ‘स्वरोगारका सम्भावना पनि बढेका छन् । यस क्षेत्रको ८०/९० प्रतिशत रोजगारीका सिर्जनाको आधार नै पर्यापर्यटन हो । नमूना जैविक विविधता नै पर्यटकको आकर्षणका आधार हुन्’, उनी भन्छन् । निकुञ्जको दिगो व्यवस्थापन लागि वातावरणमैत्री पूर्वाधार निर्माण आवश्यकतामा जोड दिँदै अध्यक्ष ढुङ्गाना यसका लागि तीनै तहका सरकारबीचको समन्वयमा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिन्छन् । यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइसरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । रासस