श्री एयरलाइन्सले थप्यो दुई जहाज, १० जहाजसहित सेवा विस्तारमा आक्रामक
काठमाडौं। श्री एयरलाइन्सले थप २ वटा नयाँ जहाज खरिद गरेको छ । यससँगै श्री एयरलाइन्सका जहाज १० वटा पुगेका छन् । कम्पनीले क्यानडाको तत्कालीन बम्बार्डियन अर्थात् हालको डी हाभिल्यान्ड अफ क्यानडामा निर्मित ८० सिटका २ जहाज खरिद गरेको हो । यससँगै कम्पनीसँग ८० सीट क्षमताकाे ६ वटा जहाज सञ्चालनमा रहेका छन् । यसअघि संयुक्त राज्य अमेरिकाको होराजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको थियो । कल साइन नाइन एन–एओके र नाइन एन–एओएल रहेका उक्त जहाज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै जहाजहरू काठमाडौं ल्याएका हुन् ।अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ । सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले अहिले पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरिसकेको छ ।
राजनीतिको अखडा बनेको बोर्ड नीति र नेतृत्वविहीन
काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई महिनादेखि नेतृत्वविहीन छ । माघ तेस्रो साता पदावधि सकिएर बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट डा. धनञ्जय रेग्मी बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो । सरकारले पर्यटन बोर्ड सञ्चालक समितिमा रिक्त तीन सदस्य नियुक्त गर्न पनि सकेको छैन । यसरी सीईओ र सञ्चालक समिति सदस्यहरू नियुक्त गर्न नसक्दा पर्यटन बोर्डले दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि तथा कार्यक्रम गर्न सकेको छैन । यसअघिका सीईओ रेग्मीले विभिन्न स्वार्थका कारण कार्यकाल एक वर्ष बाँकी हुँदादेखि नै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि गरेका थिएनन् । जसको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छवि धुमिल हुनुका साथै नकारात्मक सन्देश प्रवाह भएको थियो । निर्वतमान सीईओ रेग्मीले बेलायतको लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्टमा नेपालको सहभागिता नगराएपछि उनी थप विवादित भएका थिए । रेग्मीको उक्त कदमको विरोध गर्दै पर्यटन व्यवसायीहरूले पर्यटन बोर्ड छाडेर आफैं उक्त मार्टमा सहभागी भएका थिए । बोर्ड नेतृत्वविहीन भएपछि तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले नयाँ सीईओ नियुक्तिका लागि तयारी थालेका थिए । तर, त्यसको केही समयपछि नै सत्ता गठबन्धन परिवर्तन भयो । सरकार परिवर्तन भएसँगै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । उनी मन्त्री भएको पनि महिना पुग्न लागिसकेको छ । तर, पर्यटन बोर्डका लागि सीईओ छनोट प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । एक महिनाअघि पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा सीईओ नियुक्तिका लागि समिति गठन गरिएको थियो । तर, अहिलेसम्म पनि उक्त समितिले सीईओको आवेदन खुलाएको छैन । सीईओ छनोटका लागि मदन आचार्य, मिलन देवकोटा र महानिर्देशक बुढासहित तीन सदस्यीय समिति गठन गरिएको थियो । पर्यटन बोर्डमा पनि ‘चरम राजनीति’ घुसेका कारण नेतृत्वविहीन रहेको व्यवसायीहरू बताउँछन् । सीईओ नियुक्त नहुनु लज्जास्पद पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ पर्यटन प्रवर्द्दनको क्षेत्र हेर्ने संस्था दुई महिनादेखि नेतृत्वविहीन हुनु यो क्षेत्रका लागि सुखद संकेत नभएको बताउँछन् । ‘नेतृव हाँक्ने लिडर नै नभएपछि संस्थाको अवस्था अस्तव्यस्त हुने नै भयो नि,’ उनी भन्छन्, ‘त्यहीमाथि पर्यटन बोर्डलाई राजनीतिले धेरै नै बिगार्यो ।’ बोर्डमा पर्यटनका विभिन्न निकायमा भएका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मान्छे हुनुपर्ने उनी बताउँछन् । पर्यटन बोर्डले गर्नुपर्ने र गर्न सक्ने धेरै विषय भएको उनको भनाइ छ । ‘पर्यटन बोर्डले खाली सेल्स र मार्केटिङ मात्रै नहेरेर प्रडक्ट डेभलपमेन्टतिर पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो एयरपोर्टमा भिसा प्रोसेस गर्न पनि १ देखि २ घण्टासम्म लाग्छ, एयरपोर्टको सिनारियो र अवस्था हेर्दा कुनै पनि पर्यटक नआउने खालको छ अझै पनि, हामीले सुधार्नुपर्ने धेरै कुरा छन् ।’ कुनै पनि संस्थामा एउटा लिडरलाई काम गर्न दिइएन वा उसले कामै गर्न सकेन भन्ने विषयले महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठको भनाइ छ । ‘राइट मान्छे नेतृत्वमा आउनुपर्यो, उसलाई काम गर्ने वातावरण पनि सिर्जना गर्नुपर्यो,’ उनी भन्छन्, ‘त्यसैले बोर्डमा चाँडै नै सीईओ नियुक्ति गरेर नेपालको बिग्रेको छवि सुधार्न काम गरिहाल्नुपर्छ ।’ अर्का पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ अहिले पर्यटन बोर्ड नेतृत्वविहीन हुँदै पूरै वेवारिसे अवस्थामा पुगेको बताउँछन् । पछिल्लो समय पर्यटन बोर्डले कुनै पनि प्रवर्द्धनका काम नै नगरेको उनको भनाइ छ । ‘५० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने सरकारले पर्यटन बोर्डमा सीईओ नियुक्त गर्न नसक्नु लज्जाकै विषय हो,’ उनी भन्छन्, ‘नयाँ मन्त्री नियुक्त भए पनि पर्यटन क्षेत्रको अवस्था सकारात्मक भने छैन ।’ उनका अनुसार पर्यटन बोर्ड अहिले नेतृत्वविहीन भएको हो, तर योभन्दा अगाडि पर्यटन बोर्डको कार्यविधिका कारणले विदेशमा पर्यटन प्रवर्द्धनका प्रचारप्रसार गर्ने काम रोकिएको छ । ‘आजभन्दा एक वर्ष अगाडि पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा केही काम गरेको छैन,’ उनी भन्छन्, ‘त्यसमा पनि नयाँ नेतृत्व आयो भने त्यो कार्यविधिलाई परिवर्तन गरेर काम गर्छ भन्ने व्यवसायीमा झिनो आशा छ ।’ होटलएसोसिएसन (हान) का अध्यक्ष विनायक शाह पर्यटन बोर्डमा बजेट भएको तर कार्यान्वयन गर्ने पक्ष नहुँदा विभिन्न कार्यक्रम प्रभावित भएको बताउँछन् । ‘अब त्यहाँ सञ्चालक समिति (बोर्ड) पनि कम्प्लिट छैन,’ उनी भन्छन्, ‘मुख्य कुरा कार्यकारी अधिकृत नै नभएपछि कसले लिने जिम्मेवारी ?’ के भन्छ पर्यटन बोर्ड ? पर्यटन बोर्डका निर्देशक मणि लामिछाने अहिले सीईओ नियुक्तिका लागि कुनै प्रक्रिया अगाडि नबढेको बताउँछन् । ‘सीईओ पद जनवरी १५ तारिखबाट खाली नै छ, अस्थायी रूपमा निमित्त कार्यकारी प्रमुख भनेर तोकिएको छ,’ उनी भन्छन्, ‘अहिले व्यवस्थापन समूहले चलाइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका काम भने अहिले ठप्प नै भइरहेको हो, अस्तिको बोर्ड बैठकले पनि यसलाई हल्का खुलाइदिने काम गरेको छ, अब धमाधम काम हुन्छ ।’ अहिले बोर्डमा तीन जना सदस्यको पद खाली छ । ‘तत्कालीन पर्यटनमन्त्री किराँतीको कार्यकालमा बोर्ड सदस्य छान्नका लागि कमिटी गठन भएको थियो,’ उनी भन्छन्, ‘केही दिनमै सरकार परिवर्तन भइहाल्यो, अब नयाँ पर्यटनमन्त्रीले पनि पर्यटन प्रवर्द्धनका विषयमा चासो, चिन्ता राख्नुभएको छ, केही दिनमा अगाडि बढ्छ होला ।’ यस्तै, पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङ भने सीईओ नियुक्तिको प्रक्रिया धमाधम अघि बढिरहेको बताउँछन् । ‘नियम अनुुसार सञ्चालक समिति गठन गरेर सञ्चालक समितिले बोर्डको सीईओ नियुक्ति गर्ने प्रक्रिया सिफारिस गर्ने भन्ने हुन्छ,’ उनले भने, ‘त्यो प्रक्रिया धमाधम अघि बढिरहेको छ ।’ सीईओ नियुक्त हुन कति समय लाग्छ भनेर यकिन भन्न भने नसकिने उनले बताए । पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच, नेपाल सरकारले मनोनित गर्ने पाँच जना र सीईओ गरी ११ जना सञ्चालक समिति रहने व्यवस्था छ ।
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
नेपालगञ्ज । बाँकेकाे धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । ‘यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ,’ नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, ‘वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत संकलनको माध्यम पनि बन्दै गएको छ ।’ नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताए । विसं २०६५ मा सुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले बताए । पर्यटकले मोटरबोट चढ्न रु दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताए । रासस