पोखराका घुम्न आउने पर्यटकलाई होटेलमा छुट
गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताएयो । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ । सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ । नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।
पोखरा विमानस्थलका लागि लिइएको ऋण अनुदानमा रुपान्तरण गर्दैछौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका हुन् । उनले यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । ‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ । यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिनेछ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा छ’, उनले भने । प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको जानकारी दिए । समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइने बताए ।
बुद्ध एयरले ६ महिनामा गर्यो पौने ४ अर्बको कारोबार, ६७ प्रतिशत पुग्यो बजार हिस्सा
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले ६ महिनामा करिब ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेको हो । आन्तरिक यात्रु संख्या बढेकाले ६ महिनामा कारोबार वृद्धि भएको कम्पनीले बताएकाे छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । २६ वर्षअघि सुरेन्द्रबहादुर बस्नेत (हाल स्वर्गीय) ले स्थापना गरेको बुद्ध एयर हाल उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले हाँकिरहेका छन् । कम्पनी सुरु हुँदाको पाँच वर्ष घाटा भए पनि त्यसपछि भने बुद्धले निरन्तर नाफा गरिरहेको छ । तर, एक्कासि कोरोना महामारी आइलाग्दाको आठ महिना शून्य आम्दानीमा बुद्ध चलेको थियो । बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ । त्यसबाहेक बुद्धले काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडान गर्दै आएको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा १८ प्रतिशत नाफा कमाएको छ । कोभिडपछि विदेशी पर्यटनको आगमन बढ्दा व्यापारमा उछाल आएको जनाएको छ । जसमा कोभिड अघिको तुलनामा कोभिडपछि २५ प्रतिशतले पर्यटक बढेको छ । कम्पनीले अहिले नेपाली हवाई बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२२ मा ५६ प्रतिशत बजार ओगटेको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ६० करोड २३ लाख रुपैयाँ र २ करोड ५५ लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।