गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफिरका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेको अध्यक्ष सुवेदीले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनिक डेढदेखि दुई सयसम्म भारतीय निजी सवारीसाधन पोखरा भित्रिरहेको बताए ।
‘हवाईमार्ग र सार्वजनिक सवारीसाधन प्रयोग गरेर आउने पनि उत्तिकै छन्’, उनले भने, ‘पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् ।’
पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा भित्रने विदेशी पर्यटकको यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग नरहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवस्थित प्रचारप्रसार र प्रवद्र्धन गर्न सके पोखरामा वार्षिक २० लाख भारतीय पर्यटक भित्राउन सकिने बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अङ्ग्रेजी महिना मार्चमा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
जसमध्ये दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना थिए । अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको प्रमुख डा कडरियाले बताए । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।
‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको संख्या अझै बढ्छ’, उनले भने, ‘असोज-कात्तिक र चैत-वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ, पदयात्रामा आन्तरिक पर्यटकको पनि आकर्षण बढ्दो छ ।’ अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।
जुन संख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन् । रासस