मर्स्यांदीमा व्यावसायिक जलविहार सुरु

<p>दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्यांदी नदीमा व्यावसायिक रूपमा जलविहार सुरु गरिएको छ । गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रूपमा जलविहार सुरु गरिएको हो । यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक जलविहार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार सुरु गरेको [&hellip;]</p>


दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्यांदी नदीमा व्यावसायिक रूपमा जलविहार सुरु गरिएको छ । गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रूपमा जलविहार सुरु गरिएको हो ।

यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक जलविहार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार सुरु गरेको हो ।

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्यांदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको उनको भनाइ छ । चुमानले भने, ‘मर्स्यांदीमा व्यावसायिक रूपमा र्‍यफ्टिङ सञ्चालन गर्नका लागि गाइड ल्याएर सम्भाव्यता अध्ययन गर्दा सफल भयो । अब यसलाई व्यावसायिक रूपमा सञ्चालन गरेका छौँ ।’

एस्केप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा मर्स्यांदीमा र्‍याफ्टिङको अध्ययन गरिएको थियो । प्रशिक्षक सुमन थापाले मर्स्यांदी नदी र्‍याफ्टिङका लागि उपयुक्त रहेको बताए । आँबुखैरेनी–४ देखि मुग्लिन पुलसम्मको दूरीमा जलविहार मात्रै गर्न एक हजार शुल्क तोकिएको छ ।

गाउँपालिकाले मर्स्यांदी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको तयारी गरेको छ । वडा नम्बर १ र २ स्थित तल्लो मर्स्यांदी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको हो । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ ।

चुमानले भने, ‘जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेहरुलाई यस ठाउँमा रोक्न सकिन्छ ।’

मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए । उनले भने, ‘यहाँ वैशाख २ गतेदेखि मोटरबोट शुभारम्भ हुँदैछ । त्यसका लागि ऊर्जामन्त्रीलाई आमन्त्रण गरिसकिएको छ ।’

Share News