१० महिनामा १ लाख ७७ हजार पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र
गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका उनले बताए । ‘मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ,’ प्रमुख डा कडरियाले भने, ‘यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किदैँछ, पछिल्लो समय तेस्रो मुलुकका पर्यटक बढी आइरहेका छन् ।’ एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । सतहमार्ग भएर मुस्ताङ र मुस्ताङलगायत अन्य स्थानबाट आउने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने उनले बताए । अन्नपूर्ण चक्रीय पदमार्ग धेरै देशका पर्यटकको रोजाइमा पर्दै आएको छ । उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो हालसम्मकै बढी हो । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । हिमशृङ्खलासहितका आकर्षकस्थल, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीको अतिथि सत्कार र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट गन्तव्यमध्येको एक भएको प्रमुख कडरियढा बताउँछन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कैलाश हेलिकोप्टरको आम्दानी ७० करोडमाथि, अर्को वर्ष हेलिकोप्टर थप्ने
फाइल फोटो काठमाडौं। कैलाश हेलिकोप्टर सर्भिस लिमिटेडको आम्दानी बढेर ७० करोडभन्दा माथि पुगेको छ । कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ बराबर आम्दानी गरेको हो । २०२२ मा कम्पनीले ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा मात्र ३१ करोड रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएकाे छ । त्यस्तै, २०२१ मा ३२ करोड १० लाख रुपैयाँ र २०२० मा ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । भविष्यमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) मार्फत इक्विटी बढाउने योजना कम्पनी छ । सन् २०१७ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको कैलाश हेलिकोप्टर २०२३ जुलाई ९ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यसले चार्टर उडान, उद्धार उडान, स्लिङ अपरेसन, सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म साहसिक उडान लगायत सञ्चालन गर्दै आएको छ । कम्पनीसँग हाल एयर हेलिकोप्टरमा निर्मित तीन थान हेलिकोप्टर सञ्चालनमा छन् । आगामी २०२५ भित्र थप एक थान यस्तै हेलिकोप्टर ल्याउने योजना कम्पनीले बनाएको छ । कैलाश हेलिकोप्टरमा सातजना लगानीकर्ता छन् । हाल कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचन हुन् भने प्रबन्ध निर्देशकमा प्रतापजंग पाण्डे छन् ।
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । ‘अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ’, पुनले भने, ‘अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।’ केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ । स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए । एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए । वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताए । ‘गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्’, पाइजाले भने, ‘भिरमहलाई बजारको समस्या छैन ।’ स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरू बाहिर आउँछन् अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताए । रासस