ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन
मान्म । कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ । अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो । कर्णालीको तराई भनेर चिनिएको चिल्खायाको माथिल्लो स्थानमा रहेको रुडुबन्चु अहिले प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । प्राकृतिक सम्पदाको सुन्दर भूमीका रूपमा रहे पनि संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार नहुँदा ओझेलमा पर्न थालेको तिलागुफा नगरपालिका–१० स्थानीय लोकबहादुर शाहीले बताए । तल्लो क्षेत्रमा रहेको उपत्यका जस्तो फाँट देखिने चिल्खायाको ज्यूला र त्यसैसँग जोडिएको रुडुबन्चु पाटन सबैको मन लोभ्याउने स्थान भएकाले यसको प्रवर्द्धन गरी पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ छ । ‘यो पाटन पशुपालनका लागि निकै महत्व मानिएको रुडुबन्चुमा यार्सागुम्बासमेत पाइने गरेको छ,’ शाहीले भने, ‘वर्षायाममा यो पाटनमा भेडाबाख्रा चराउँदा दृश्य निकै रमाइलो देखिन्छ ।’ रुडुबन्चु क्षेत्रको पर्यटन प्रवर्द्धनमा तिलागुफा नगरपालिकाले विशेष योजना बनाएको वडा नं १० का वडाध्यक्ष मुनबहादुर थापाले बताए । ‘पर्यटकीय प्राकृतिक सम्पदा र धार्मिक क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘चिल्खायाको रुडुबन्चु, तिलानदीको काखमा रहेको तिलागुफा, फोइमहादेवको खमाले गुफा, फुलवारी पाटन, स्याउले त्रिवेणी, महावै देवता फुर्केसल्लालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय गतव्यका रूपमा विकास गर्ने योजना बनाएका छौँ ।’ रुडुबन्चु पर्यकीय हिसाबले सुन्दर पाटन मात्रै नभएर यहाँ जैविक विविधतासमेत रहेको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । ‘विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा यस पाटनमा पाइन्छ,’ उनले भने, ‘यहाँ जडीबुटी, वनजंगल, विभिन्न जीवजन्तु पाइन्छन् । यसको संरक्षण र पर्यटकीयरूपमा प्रवर्द्धन गर्नसके यहाँको विकास र समृद्धिको आधार बन्ने थियो ।’ गाउँसँगै जोडिएको प्रचुर सम्भावना बोकेको चर्चित पर्यटकीयस्थल रुडुबन्चु पाटनलाई स्थानीय सरकारले चासो नदिँदा ओझेलमा पर्दै गएको स्थानीय मनबहादुर शाहीले बताए । ‘यो पाटनका विषयमा प्रचारप्रसार नगर्दा अहिले ओझेलमा परेको छ । यसको संरक्षण, प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यसका लागि तीनै तहका सरकारले नीति तथा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।’
बाघखोरलाई घरबास गाउँ घोषणा
त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको १० वर्ष पूरा भएका अवसरमा सिंगो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले जानकारी दिए । घरबासको नीति, मापदण्ड, अवधारण, कार्यविधि र दिगोपनालाई मध्यनजर गरि यहाँ रहेका होटल, रेष्टुरेन्ट र आवास गृह सबैलाई घरबासका रूपमा परिणत गरिएका अध्यक्ष थारूले बताए । शनिबार गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले गाउँलाई घरबास गाउँ घोषणा गरेकी हुन् । यस क्षेत्रमा छुट्टाछुट्टै स्वरूपमा घरबाससहित, होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा भविष्यमा घरबासको मौलिकता गुम्दै जाने खतरा बढेकाले सबैलाई एकै मापदण्डमा ल्याउन यस्तो घोषणा गरिएको उनले बताइन् । हाल अमलटारी घरबासअन्तर्गतका ४३ आवास र होटलमा सञ्चालित ६४ कोठालाई एकीकृत गरि घरबासको मापदण्डमा लैजाने निर्णय गरिएको छ । ‘हामीले यसअघिका घरबास र पछि सञ्चालित सबै होटलका कोठालाई घरबासमै गाभेका छौं, यहाँ आउने पाहुनाहरू एकद्वार प्रणालीबाट आउन र राम्रो सेवा लिन सकुन् भन्ने हाम्रो चाहना हो । यो योजनाले घरबासको मौलिकता जोगाउन सहयोग पुग्नेछ,’ अध्यक्ष थारूले भने । घरबासलाई थप व्यवस्थित गर्न दशवर्षे रणनैतिक योजनासमेत बनाइएको छ । जसमा एक घर एक रोजगार, गाउँमा सत्प्रतिशत साक्षरता, वातावरणमैत्री व्यवसाय, सबै घरमा करेसाबारीसहित थारू, बोटेलगायत स्थानीय समुदायका संस्कृति, रहनसहनलाई संरक्षण गर्ने गरि म्युजियम निर्माणको योजना छ । वन र वन्यजन्तुको संरक्षणसहित आर्थिक विकासमा जोडिन सम्भव छ भन्ने उद्देश्यका साथ यहाँ थप अभियानहरू पनि सञ्चालन गर्ने व्वस्थापन समितिको योजना छ । ‘जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्ने हाम्रो अभियान छ,’ अध्यक्ष थारूले भने । अमलटारी घरबासले थारु, बोटे समुदायको जीवनस्तर सुधारका साथै महिलाहरूको क्षमता विकासमा पनि सहयोग पुगेको गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताइन् । घरबासबाट जिविकोपार्जनसहित गाउँको आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उदाहरण अमटारी घरबासले प्रस्तुत गरेकामा उनले प्रशंसा गरिन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोरमा अमलटारी क्षेत्रमा घरबास सञ्चालन पछि यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ । यहाँका मध्यवर्ती सामुदायिक वनमा गैंडा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
पर्यटकको रोजाइमा मच्छिम डाँडा ‘भ्युस्टेसन’
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम संकलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ । पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ । छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ । गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताए । गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजित मेलाबाट संकलन भएको रकमले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार डाँडामा दृश्यावलोकन स्थल, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ । ‘मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर भ्युस्टेसनमा पूर्वाधार बनाएका हौं,’ ठकुरीले भने, ‘पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब ९ लाख रुपैयाँ खर्च भएको छ ।’ यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सूचनामूलक बोर्ड राखिएको छ । गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने स्थानीय ठकुरीले बताए । ‘पानी पर्दा, हावाहुरी चल्दा प्रतीक्षालयमा आश्रय लिन सकिन्छ । शव दाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ,’ उनले भने । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ । गाउँबाट एक किमी पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केही माथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ । उक्त मन्दिर परिसरबाट हिमशृङखला आँखै अगाडि उभिएको देखिन्छ । गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा सक्रिय भएर पूर्वाधार निर्माणमा जुटेका अगुवा महिला तिला छन्त्यालले बताइन् । उनका अनुसार युवाले विविध सांस्कृतिक कार्यक्रम र चन्दा संकलन गरेर हेम नमूना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन् । गाउँका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गर्ने गरेका छन्त्यालले बताइन् । यहाँका युवा फुर्सदका समयमा सामाजिक काम र खेलकुदका गतिविधिमा सहभागी हुँदै आएका उनको भनाइ छ ।