नेपालका ६ ट्राभल र ५ कार्गो कम्पनीलाई क्याथेको सम्मान

काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपालका ट्राभल तथा हवाई कार्गो कम्पनीहरूलाई सम्मान गरेको छ । क्याथेले सन्२०२३ मा उसको व्यापारमा विशेष सहयागे पुर्‍याउने ती कम्पनीलाई सम्मान गरेको हो । क्याथेले गत बिहीबार राजधानीको होटल मेरिअटमा कार्यक्रम गरी ६ ट्राभल र ५ कार्गो कम्पनीलाई सम्मान गरेको हो । क्याथेले ओशो वर्ल्ड ट्राभल नेपाल, सुमेघ टुर्स एन्ड ट्राभल्स, बोन ट्राभल एन्ड टुर्स, रुपाकोट इन्टरनेसनल ट्राभल र प्रबास ट्राभल एन्ड टुर्स तथा भारत हुँदै उत्कृष्ट आम्दानी गराउन सफल सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सलाई सम्मान गरेको हो । त्यसैगरी कार्गो कम्पनीहरू पायोनियर कार्गो, हिमालयन ट्राभल एन्ड टुर्स, सांग्रिला इन्टरनेसनल फ्रेट, लिजेन्ड कार्गो र मुक्तिनाथ डे कार्गोलाई पनि क्याथेले सम्मान गरेको थियो । क्याथेको दक्षिण एसिया, मुध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राइकर, कस्टमर ट्राभलका क्षेत्रीय प्रमुख आनन्द येडेरी, कार्गो क्षेत्रीय प्रमुख राजेश मेनन, नेपाल प्रमुख जुनु मलेकु र क्याथेको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) अमरावती ट्राभल्सका सीईओ जुगेश श्रेष्ठले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए । ‘नेपालमा हाम्रो व्यापार विस्तारमा उल्लेख्य सहयोग गर्ने कम्पनीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,’ क्याथेका क्षेत्रीय महाप्रबन्धक राइकरले भने, ‘यात्रु तथा कार्गो सेवा अझै उत्कृष्ट बनाउँदै लाने योजनामा तपाईंहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ क्याथेका नेपाल प्रमुख मलेकुले ट्राभल तथा कार्गो साझेदार कम्पनी सधैं महत्त्वपूर्ण रहेको बताइन् । ‘हामी यात्रु र कार्गोलाई उत्कृष्ट सेवासहित गन्तव्य पुर्याउन सधैं मिहिनेत गरिरहेका छौं । यसमा हाम्रा साझेदार कम्पनीको सहयोग विशेष हुने गर्छ,’ उनले भनिन् । क्याथे प्यासिफिकले हाल नेपालका लागि सातामा पाँच उडान गर्दै आएको छ ।

पर्यटकको रोजाइमा ढोरपाटन, १० महिनामै साढे ४ करोड राजस्व संकलन

ढोरपाटन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलनमा समेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४ करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व संकलन छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ । अघिल्लो आवमा ३ करोड ४८ लाख रुपैयाँमात्रै राजस्व संकलन भएकामा यो आवको अन्त्यमा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै ४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट रु नौ लाख चार हजार तथा हेलिकोप्टर अवतरण गराएबापत ५७ हजार रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यासमेत बढेको छ । अघिल्लो वर्ष ७ हजार ६ सय ४५ पर्यटक आएकामा यस वर्ष ९ हजार ४ सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिए । वन्यजन्तुको सिकार भने गत वर्ष र यस वर्ष ३०/३० वटानै भएका उनको भनाइ छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाका आधारमा सिकारीको ठेक्का खुलाउने र ठेक्का पर्ने सिकार ढोरपाटन आउने गर्छन् । आव २०७८/७९ मा भने ९ हजार ९ सय १९ पर्यटक भित्रिएकामा १ करोड ७५ लाख ७७ हजार रुपैयाँ मात्रै संकलन भएको थियो । आव २०७६/७७ मा ३७ लाख र आव २०७७/७८ मा २० लाख रसपैयाँ मात्रै संकलन भएको थियो । पछिल्लो दुई वर्ष राजस्व संकलनको दर बढ्दै गएको संरक्षण अधिकृत कँडेल बताउँछन् । कँडेलले भने, ‘पछिल्लो दुई वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, यहाँ सिकार खेल्नका लागि धेरैजसो विदेशी नागरिक नै आउने गर्छन्, यहाँ आउनेले मनलाग्दीरूपमा सिकार गर्न पाइँदैन, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले मात्रा निर्धारण गरेर बोलपत्र आह्वान गरेको हुन्छ, सोहीअनुसार जसलाई ठेक्का पर्छ उही कम्पनीमार्फत सिकार आएर सिकार गर्ने हो ।’ ढोरपाटनका होटल व्यवसायी गंगाबहादुर भण्डारीले विदेशी पर्यटक हेलिकप्टरमार्फत आए पनि आन्तरिक पर्यटक गाडीमै आउने बताए । सडकको दूरावस्थाका कारण पनि धेरै पर्यटक चाहेर पनि ढोरपाटन आउन नसकेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सडक राम्रो भए सिकार आरक्ष कार्यालयले धेरै राजस्व संकलन गर्नुका साथै यहाँका धेरै नागरिक व्यापार व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन् । बुलिङटार गाउँपालिका र देवचुली नगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाका दृष्टिले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । देवचुली डाँडा तथा आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्व तथा धार्मिक मान्यताको संरक्षण र सम्वर्द्धन गर्न थालेपछि यहाँ आउने बढ्न थालेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए । ‘चुली, गुफा, भ्यूटावर, रुद्रपुरगढी, गोल पोखरी, शान्ति पार्क, वरचुली, झेरीखण्डे, तीन कन्यामाई यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्,’ उनले भने, ‘यी पर्यटकीय क्षेत्र अवलोकन गर्न पैदल आउने आन्तरिक पर्यटक बर्सेनि बढ्दै गएका छन् ।’ देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले पैदलमार्ग क्षेत्रमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ । करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुने अध्यक्ष गिरीले बताए । ‘यस वर्षसमेत गरी करिब सात सय मिटरमा सिँढी निर्माण भएको छ,’ उनले भने, ‘राजमार्गबाट छोटो दूरीको ठाउँ भए पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार निर्माणमा ध्यान नपुर्‍याउँदा देवचुलीको पर्यटकीय पूर्वाधारले गति लिन सकेको छैन ।’ यस क्षेत्रमा बिदाको समयमा आउनेको सङ्ख्या बढ्दो छ । बोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरूको गर्मी मौसममा लर्को नै लाग्ने गरेको देवचुली बोझा पोखरी मगर होमस्टेका सचिव हेमलाल बरालले बताए । ‘मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाच यहाँको प्रमुख लोक संस्कृति हुन्,’ उनले भने । देवचुली क्षेत्र जैविक विविधताले समेत धनी क्षेत्र रहेको छ । यो क्षेत्रमा साल, चिलाउने, चाप, लालीगुराँस, काउलो, तेजपत्ताआदि वनस्पति छन् । यसका अतिरिक्त पाखनवेत, पाँच औले, भूतकेस, तिते, सिकारी लहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनी आदि जडीबुटीका कारण यो क्षेत्र विशेष महत्व राख्ने बरालले बताए । पूर्व पश्चिम राजमार्गको दलदले बजारदेखि २० किलोमिटर उत्तरमा देवचुली पर्छ भने कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको तीनकन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको छ । एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन समितिका अध्यक्ष गिरीले बताए । ‘चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको किम्वदन्तीका कारण यस गुफाको छुट्टै महत्व छ,’ उनले भने, ‘गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाका कारण यो गुफा विशेष आकर्षणका केन्द्रविन्दु बनेको छ ।’ यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विभिन्न भूभागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू-भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू-भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।