बन्दीपुर केबलकार सञ्चालन भोलिदेखि, भुइँ छोडेर मन्दिर दर्शन गर्न मिल्ने

बन्दीपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बनेको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको उनले बताए । करिब १ वर्षअघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीले कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त गरेको शर्माले बताए । कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेको उनले बताए । केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्न पर्छ भन्ने मान्यता बन्दीपुर केबलकार मार्फत पुरा हुने भएको छ । केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ । यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधा सहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले गत वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो । त्यस्तै बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्डरेन जोन, ३३कोटी देवीदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ । बन्दीपुरहिलको कुल लागत ६ सय २९ करोड मध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले बताए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटेल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजेसम्म चल्नेछ । केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत सञ्चालन गर्ने भएको छ । तर केबलकारको सो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ । बाँकी २ वटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने २ वटा ढुवानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ ।

वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा

काठमाडौं । नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार उनको निलम्बन फुकुवा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै प्राधिकरणले उनलाई जेठ २१ गतेबाट निलम्बनमा राखेको थियो । विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । तर, उनले स्वीकृति लिएरै अन्तर्वार्ता दिएको पुष्टि भएपछि निलम्बन फुकुवा गरिएको हो । पन्तले नेवानिको न्यारो बडी जहाज ‘ए३२०-२००’ उडाउथिन् । यस्तै पन्तसँगै निलम्बनमा परेका क्याप्टेन विजय लामाको भने निलम्बन यथावत छ ।

यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ

गण्डकी । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन् । ग्रामीण पर्यटनका अनुपम धरोहर हुन् । अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ । मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ । पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन् । सहरको कोलाहलबाट उम्केर केही घण्टामै पुग्न सकिन्छ, सिक्लेस र ताङतिङ । जहाँ न्यानो र आत्मिय आतिथ्यता प्राप्त हुन्छ । मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउँछ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा ती गाउँका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अड्याउँछन् अनि मन शान्त पार्छन् । पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस र २७ किमि टाढा ताङतिङ गाउँ अवस्थित छ । सिक्लेसबाट ताङतिङ पूर्व र ताङतिङबाट सिक्लेस पश्चिमपट्टि पर्छ । बिहान र दिउँसोमा चिटिक्क देखिने यी गाउँलाई रातमा भने बिजुलीले झलमल्ल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने यी गाउँ पदयात्राका लागि बढी लोकप्रिय छन् । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ झनै बढ्न थालेको बताए । ‘बर्खा लागेपछि अन्यत्र ‘अफसिजन’ सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक बढ्छन्’, उनले भने, ‘कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त हो ।’ पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताए । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । कोरी ट्रेक तीन दिनमा घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युबलगायतका सञ्चारमाध्यम त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङले बताए । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताए । ‘पहिले सामुदायिक हिसाबले होमस्टे थिए, पर्यटकको सङ्ख्या पनि न्यून हुन्थ्यो’, उनले भने, ‘पछिल्लो समय सिजनमा त गाउँ नै पर्यटकले भरिभराउ हुन्छ, यहाँ आन्तरिक पर्यटक नै बढी आउँछन् ।’ सिक्लेसमा महिनामा ५०/६० जनासम्म विदेशी पर्यटक आएको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग छ । वडाध्यक्ष गुरुङका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेस–ताराहिल–घलेखर्क नयाँ इको ट्रेक सञ्चालनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सिक्लेस–खिलाङ–चिप्लीसम्म पनि पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए् । ‘पहिले गोठालाहरु लेक र खर्क जाँदा हिँड्ने गरेको बाटोलाई नै पदमार्गका रुपमा विकास गर्न लागेका छौँ’, वडाध्यक्ष गुरुङले भने्, ‘पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकार र गाउँपालिकाको सहयोग छ ।’ सिक्लेसलाई नेपालको शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको उनले सुनाए । विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ । सिक्लेस र ताङतिङको पैदल दुरी तीन घण्टा जतिको छ । दुई हजार मिटर उचाईमा सिक्लेस र १७ सय मिटरमा ताङतिङ अवस्थित छ । दुवै गाउँका घरका बनोट र बान्की उस्तैउस्तै छन् । सिक्लेसमा चार सयभन्दा बढी छन् भने ताङतिङमा त्यसको झण्डै आधा । दुवै गाउँमा ९५ प्रतिशत गुरुङको बसोबास छ । ताङतिङ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष तिलशोभा गुरुङले गाउँमा १५ होमस्टे र छ होटल सञ्चालनमा रहेको जानकारी दिए । होमस्टेमा आन्तरिक पर्यटकका लागि एक हजार दुई सय रुपैयाँको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान/बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । ‘खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु हुन्छ, अहिले निउरोको सिजन छ, हाम्रो भान्छामा निउरो टुट्दैन’, होमस्टेका अध्यक्ष गुरुङले भने, ‘सिजनअनुसार गाउँमै उत्पादनका परिकार पाहुनालाई खुवाउँछौँ, पाहुनाको रुची अनुसार अरु परिकार पनि पकाउँछौँ ।’ पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि सती घाटुलगायत मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ । मादी–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले कर्पुडाँडा, कालीलेख, दूधपोखरी, कपुचे, कोरीलगायत त्यहाँका पर्यटकीय महत्वका बोकेका ठाउँ हुन् । गुरुङ जातिको उद्गमस्थल मानिने क्होलासोँथार पनि सोही वडाको साँधमा पर्छ । ताङतिङबाट धेरैतिर पदयात्रा गर्न सकिने उनले बताए । ‘कास्की, लमजुङ र मनाङको सीमामा पर्ने दूधपोखरी यहाँको महत्वपूर्ण गन्तव्यस्थल हो, जनैपूर्णिमा त्यहाँ ठूलो मेला लाग्छ’, वडाध्यक्ष भोजबहादुरले भने, ‘ताङतिङ भएर कपुचे, कोरीलगायत ठाउँको पदयात्रा पनि गर्न सकिन्छ ।’ ताङतिङको पर्यटनलाई उकास्न योजनाबद्ध विकासको खाका कोर्ने काम भइरहेको उनले बताए । ‘मादी गाउँपालिकामा पर्ने सबै पर्यटकीय गन्तव्यस्थलाई समेटेर बृहत् पर्यटन गुरुयोजना बनाउन आवश्यक छ’, उनले भने, ‘पर्यटकीय पूर्वाधार र प्रवद्र्धनमा ध्यान दिन सकियो भने यस क्षेत्रले पर्यटन व्यवसायबाट ठूलो लाभ उठाउन सक्छ ।’ पुस्तौँदेखि कृषि र पुशपालनमा रमाएका ताङतिङबासीको पेसामा अहिले पर्यटन व्यवसाय पनि जोडिएको छ । ताङतिङबाट लमजुङको भुजुङ, घलेगाउँदेखि मनाङसम्म पदयात्रा गर्न सकिने वडाध्यक्ष भोजबहादुरले बताए । हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेस र ताङतिङको सौन्दर्य उसैगरी खुल्छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यी गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री त्यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ । विशेष गरी चाडबाडको याम र सार्वजनिक बिदाका दिनमा ती गाउँमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन त्यहाँ पुग्छन् । विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमणका लागि पनि सिक्लेस र ताङतिङ लैजाने गरेका छन् । ‘गाउँले जनजीवन, संस्कृति, रहनसहन र पदयात्राको आनन्द बटुल्न पर्यटक यहाँ आउँछन्’, वडाध्यक्ष गुरुङले भने । रासस