आधा दर्जन क्यासिनोले तिरेनन् साढे ३१ करोड बढी दस्तुर
काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेकामध्ये आधा दर्जन क्यासिनोले सरकारलाई साढे ३१ करोडभन्दा बढी दस्तुर बुझाएका छैनन् । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनका अनुसार ती ६ वटा क्यासिनोले नवीकरण दस्तुर, रोल्टी तथा थप शुल्क गरी गत आर्थिक वर्ष २०७९/८० सम्ममा ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । क्यासिनो नियमावली २०७० (चौथो संशोधन २०७६) को नियम १० मा इजाजत दस्तुर आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेलका हकमा १ करोड र क्यासिनोका हकमा २ करोड ५० लाख लाग्ने छ । त्यसैगरी नियमावलीको नियम १२ र १३ मा इजाजतपत्र नवीकरण गर्नुपर्ने तथा इजाजत पत्र दस्तुरको ५० प्रतिशतले हुने रकम नवीकरण दस्तुर लाग्ने व्यवस्था छ । महालेखाले यस वर्ष क्यासिनोको बक्यौता रकम र त्यसमा लाग्ने थप शुल्कसहित असुल गर्न सरकारलाई सुझाव दिएको छ ।
रात्रिकालीन व्यवसायीले भने- ५ प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउँछ
काठमाडौं । पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा सम्पूर्ण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले बताएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलसँग भेटवार्ता गर्दै व्यवसायीहरूले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसायीलाई भार पर्ने बताएका हुन् । ठमेल पर्यटन परिषदका अध्यक्ष भवि शर्माको नेतृत्वमा परिषदका उपाध्यक्ष सहदेव धमला, नेपाल रात्रीकालिन व्यवसायी संघका अध्यक्ष रुपेश गुरुङ, नेपाल क्लब तथा डिस्को संघका अध्यक्ष राजु दनाई उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ लगायत अन्य व्यवसायीहरूले मुख्यमन्त्री जमरकट्टेललाई विज्ञप्ति बुझाउँदै पाँच प्रतिशत मनोरञ्जन कर व्यवसायीलाई भार भएकोले व्यवसाय नै बन्द हुनसक्ने बताएका हुन् । आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रिकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेको छ । उक्त मनोरञ्जन करले रात्रिकालीन व्यवसायीहरू मारमा पारिरहेको भन्दै मुख्यमन्त्री जमरकट्टेललाई ध्यानाकर्षण गराएका हुन् । आर्थिक ऐन २०८० को दफा ५ बमोजिमको अनुसूची ३ लाई संशोधन गरी करको भारबाट मुक्त गराउनसमेत उनीहरूको माग छ । बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० ले गर्दा व्यवसाय सञ्चालनमा थप कठिनाइ भई व्यवसायीहरूलाई मार परेको र गम्भीर संकट पैदा भएको व्यवसायीहरूको भनाइ छ । प्रदेश सभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरुत्साहित नहुने गरी कानुन बनाइनुपर्ने उनीहरूको माग छ । यस्तै नेपाल सरकारको विद्यमान कर र राजस्व ठूलो भारको रूपमा रहेको व्यवसायीहरूले बताएका छन् । जसमा प्रदेश सरकारको पाँच प्रतिशत कर तिर्न नसक्ने हुँदा मनोरञ्जन कर वार्षिक २ हजार र १५ सय रुपैयाँ तिर्ने गरी कानुन संशोधन गरिनुपर्ने व्यवसायीको अडान छ । ‘‘नेपाल सरकारको आर्थिक ऐन २०७९ बमोजिम लाग्ने सम्पूर्ण कर तथा राजस्व सम्पूर्ण व्यवसायीले तिर्दै आएका छौँ, नियमित रूपमा आयकर, व्यवसाय कर ,राजस्व र नियमित रूपमा गर्नुपर्ने व्यवसायी नवीकरण गरिरहेका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रात्रिकालीन व्यवसायबाटै २० हजार बढीले रोजगार पाएका छन्, मनोरञ्जन करकै कारण २० हजार बढी कामदारको रोजगारी गुम्ने सक्ने देखिएको छ, विगतमा व्यवसायीले मनोरञ्जन कर स्वरूप क्लबले २ हजार र डान्स बार,दोहोरी लगायतका अन्य व्यवसायले १५ सय रुपैयाँ तिर्दै आएका छन् ।’ व्यवसायीहरूले सभामुख, अर्थमन्त्री, पर्यटन मन्त्री, कानुन मन्त्री ,मुख्य सचिव लगायतका निकायका सचिवहरूलाई समेत भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पर्यटकको प्रतिदिन खर्च १२५ डलर पुर्याउने लक्ष्य
काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सरकारले आगामी १० वर्षमा प्रतिपर्यटक खर्च १ सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको हो । पर्यटन प्रवर्द्धनका लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रूपमा मनाउन लागिएको छ । प्रतिपर्यटक प्रतिदिन औसत खर्च एक सय २५ डलर पुर्याउने लक्ष्य लिइएको छ । सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ । त्यस्तै, सन् २०२२ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०/५ अमेरिकी डलर रहेको छ । विदेशी पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा पनि वृद्धि भएको छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा सीमान्त वृद्धि भएको छ । यस अवधिमा पर्यटकको औसत बसाई १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१.० अमेरिकी डलर रहेको छ । सन् २०२२ मा पर्यटकको बसाइ अवधि औसत १३.१ दिन रहेको थियो । सन् २०११ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको थियो । आर्थिक सर्वेक्षणअनुसार विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजका कारण नेपाल विश्वकै प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको छ । भूकम्पबाट क्षतिग्रस्त अधिकांश सांस्कृतिक एवं पर्यटकीय सम्पदाको पुनः निर्माण सम्पन्न हुनाका साथै नयाँ पर्यटकीय गन्तव्यको समेत विकास हुँदै गएको छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा आइपुगेको छ । पर्यटन क्षेत्रले गति लिँदै गएसँगै होटल व्यवसाय चलायमान हुँदै गएका छन् भने पर्यटकबाट प्राप्त हुने आम्दानी उल्लेख्यरूपमा बढेको छ । पछिल्लो दशक (२०१४–२०२३) मा भूकम्प र कोभिड–१९ महामारीको बाबजुद ६६ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दशकमा प्रतिवर्ष औसत पर्यटक आगमन ६ लाख ६१ हजार रहेको छ । विदेशी पर्यटक बढे पछिल्लो समय विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । आर्थिक सर्वेक्षणअनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०२२ मा पर्यटक आगमनमा वृद्धि भई ६ लाख १४ हजार आठ सय ६९ पुगेकामा सन् २०२३ मा यस्तो सङ्ख्या ६५.० प्रतिशतको वृद्धि भई १० लाख १४ हजार आठ सय ८२ पुगेको छ । सन् २०२४ को मार्चसम्म तीन महिनाको अवधिमा पर्यटक आगमन सन् २०२३ को मार्चसम्मको तुलनामा ३३.८ प्रतिशतले वृद्धि भई तीन लाख चार हजार ६ सय ९३ पुगेको छ । सन् २०२३ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको भ्रमण आय सन् २०२२ को ४६ अर्ब ७६ करोडको तुलनामा ४५.६ प्रतिशतले वृद्धि भई ६८ अर्ब सात करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भ्रमण आयको तुलनामा भ्रमण खर्च प्रायः उच्च रहँदै आएको छ । पछिल्लो दशकमा आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७६/७७ बाहेक अन्य आर्थिक वर्ष भ्रमण आयको तुलनमा भ्रमण खर्च बढी रहेको छ । चालु आथिक वर्षको फागुनसम्म भ्रमण आयभन्दा भ्रमण खर्च १ अर्ब ४३ करोड रुपैयाँ बढी छ । गत आर्थिक वर्षको फागुनमा यस्तो अन्तर ४८ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । सन् २०२३ मा नेपाल भ्रमण गर्ने कूल पर्यटकमध्ये सबैभन्दा बढी ६२.५ प्रतिशत पर्यटकले बिदा/मनोरञ्जन/यात्राका लागि भ्रमण रहेका थिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी मुलुककै बढी भ्रमण गरिने गन्तव्यका रूपमा रहेको छ । सन् २०२३ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ५६ हजार, भारतीय दुई लाख ६ हजार र अन्य मुलुकका ८९ हजार गरी १० लाख ११ हजार रहेका छन् । सन् २०२३ मा आएका पर्यटकमध्ये भारतबाट ३१.५ प्रतिशत, अमेरिकाबाट ९.९ प्रतिशत, चीनबाट ६.० प्रतिशत, बेलायतबाट ५.२ प्रतिशत, अष्ट्रेलियाबाट ३.८ प्रतिशत, बङ्गलादेशबाट ३.६ प्रतिशत र अन्य मुलुकबाट ४०.० प्रतिशत रहेका छन् । सन् २०२३ मा ६ गुणा र दक्षिण कोरियाबाट आउने पर्यटकको सङ्ख्या करिब १० गुणाले वृद्धि भएको छ । पर्वतारोहण दल (हिमाल आरोहण) को सङ्ख्या सन् २०२३ मा १५.० प्रतिशतले बढेर दुई हजार दुई सय ५३ पुगेको छ । पर्वतारोहणको सङ्ख्या सन् २०२२ मा आठ हजार चार सय ६८ रहेकामा सन् २०२३ मा ११.० प्रतिशतले वृद्धि भई नौ हजार तीन सय ९८ पुगेको छ । पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी सन् २०२३ मा ४२.० प्रतिशतले वृद्धि भई ९९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । डिलक्ससहित पाँचतारे होटलको सङ्ख्या एक सय ८२ पुग्यो नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट हालसम्म २७ हजार तीन सय ४६ दक्ष जनशक्ति उत्पादन भएका छन् । नेपाल पर्वतीय पर्यटन प्रतिष्ठानबाट हालसम्म पाँच हजार आठ सय ५३ व्यक्तिले विभिन्न विधामा तालिम प्राप्त गरेका छन् । डिलक्ससहित पाँचतारे होटलको सङ्ख्या २०७९ पुससम्म एक सय ७३ रहेकामा २०८० पुससम्म एक सय ८२ पुगेको छ । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०७९ पुसम्म एक हजार दुई सय २८ रहेकामा २०८० पुसम्म एक हजार दुई सय ३४ पुगेको छ । होटलको शय्या ३७ हजार बढी तारेस्तरका होटलमा रहेका शय्याको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म सात सय ३८ थप भई हालसम्म १७ हजार ७३ पुगेको छ । यसैगरी, तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शय्याको सङ्ख्यामा चालु आर्थिक वर्षको पुससम्म दुई सय ४९ थप भई हालसम्म ३७ हजार दुई सय ९७ पुगेको छ । विसं २०८० पुससम्म क्यासिनो १३ र मिनिक्यासिनो १७ गरी ३० सञ्चालनमा रहेका छन् । २०८० असारसम्म यस्तो सङ्ख्या २८ पुगेको थियो । सन् २०२३ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको सङ्ख्या ३१ रहेको छ । त्यसैगरी, द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४१ पुगेको । दुईतर्फ हवाई सिट क्षमता सङ्ख्या वार्षिक ८७ लाख ५५ हजार रहेको छ । आन्तरिक उडान गर्ने वायुसेवाको सङ्ख्या २२ पुगेको छ । त्यस्तै, सञ्चालनमा रहेका कुल विमानस्थलको सङ्ख्या ३३ रहेको छभने सबै मौसममा सञ्चालन हुनसक्ने कालोपत्र भएका विमानस्थलको सङ्ख्या ४१ रहेको छ ।