नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता, वित्तीय परामर्श र व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ । नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा होटलका तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई हस्ताक्षर गरेका छन् । चितवनको सौराहामा २०६७ सालमा ५२ कट्ठा जग्गामा निर्मित दुई तारे सुविधा सम्पन्न होटल सेभेनमा ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हल रहेका छन् । चाँडै उक्त होटललाई पाँचतारेमा स्तरोन्नति गर्ने गरी तयारी भइरहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको र त्यसको लागि थप पुँजीको आवश्यकता पर्ने हुँदा सर्वसाधारणलाई सेयर जारी गर्ने होटलले योजना बनाएको अध्यक्ष पाठकले जानकारी दिए ।

म्याग्दीका पर्यटकीयस्थल जोड्न ९ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त १ करोड ५६ लाख बजेटबाट पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण योजनामा प्राप्त बजेटबाट सात किलोमिटर ४८ मिटर नयाँ ट्र्याक बनाउने, ढुंगाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिए । उनका अनुसार, एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुंगा छापेर पदमार्ग बनाइएको छ भने एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यू पोइन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सव–इन्जिनियर सुमन बोगटीले जानकारी दिए । ‘यस वर्ष जिल्लामा पर्यटन पूर्वाधार योजनामा प्राप्त सबै योजना सम्पन्न भएका छन्, कार्यालयको तर्फबाट अन्तिम अनुगमन र नापजाँच भएर अहिले धमाधम योजनाको भुक्तानी दिने काम भइरहेको छ, पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ,’ उनले भने । यस वर्ष सबैभन्दा धेरै २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका-५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०÷१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका-९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ । महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा  १०/१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ । त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगंगा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म आठ/आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका- १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे-भूवाने, भालश्री छापाछाङ औसी– खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ- चांगा जोड्ने बाटोमा पाँच/पाँच लाख रुपैयाँबजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।

भक्तपुरको ‘नलिञ्चोक हेलिपोर्ट’ सञ्चालनमा, एकैपटक ४ वटा उडान तथा अवतरण गर्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका-१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकप्टरको सख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिप्याड सान्दर्भिक छ,’ उनले भने, ‘विमानस्थल पूर्वाधारको सेवा विस्तार भइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुनेछ । यसको बहुआयामिक महत्व पनि छ ।’ पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए । उनले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रूपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गरे । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रूपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गरे । महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताए । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ । हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ । प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकैपटक ४ वटा हेलिकप्टर अवतरण गर्न सकिन्छ । आज हेलिप्याड उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकप्टर अवतरण गराइएको थियो । पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकप्टर कम्पनीका पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत नलिञ्चोक आएका थिए । करिब ११ करोड रुपैयाँको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकोप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकोप्टर छन् ।