संसारकै लोकप्रिय पर्यटन गन्तव्य बन्यो अमेरिका, पछ्याउँदै स्पेन, जापान र फ्रान्स
काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ) ले हालै ‘ट्राभल एन्ड टुरिज्म डेभलपमेन्ट इन्डेक्स’ (टीटीडीआई) सार्वजनिक गरेको छ । यो सूचकांकले यात्रा र पर्यटनका हिसाबले शीर्ष १० देशहरूलाई सूचीकृत गर्छ । यस सूचकांकमा सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा अमेरिका शीर्ष स्थानमा छ भने ‘पृथ्वीको स्वर्ग’ भनेर चिनिने युरोपेली देश स्विजरल्यान्ड १०औं स्थानमा छ । टीटीडीआई सूचकांकमा देशहरूको सूचीकरणले यात्रा र पर्यटन क्षेत्रमा दिगो विकासलाई बढावा दिने कारक र नीतिहरूलाई ध्यानमा राख्छ, जसले देशको विकासमा योगदान पुर्याउँछ । सन् २०२४ को लागि यस सूचकांकमा १ सय १९ देश समावेश गरिएको छ र विश्वका शीर्ष १० देशले सबैभन्दा बढी पर्यटक भित्र्याउने गरेका छन् । यी हुन् शीर्ष १० देश १. अमेरिका (स्कोर ५.२४) २. स्पेन (स्कोर (५.१८) ३. जापान (स्कोर ५.०९) ४. फ्रान्स (स्कोर ५.०७) ५. अस्ट्रेलिया (स्कोर ५.००) ६. जर्मनी (स्कोर ५.००) ७. बेलायत (स्कोर ४.९६) ८. चीन (स्कोर ४.९४) ९. इटाली (स्कोर ४.९०) १०. स्विजरल्यान्ड (स्कोर ४.८१) टीटीडीआई सूचकांकमा घुम्नैपर्ने शीर्ष पाँच देश अमेरिका अमेरिकामा स्ट्याच्यु अफ लिबर्टी, ग्रान क्यानन, ग्लेसियर नेसनल पार्क, येलोस्टोन नेसनल पार्क जस्ता ठाउँहरू घुम्नका लागि प्रसिद्ध छन् । यहाँ तपाईं सान फ्रान्सिस्को, लस एन्जलस, न्युयोर्क जस्ता सुन्दर सहरहरू पनि भ्रमण गर्न सक्नुहुन्छ । सन् २०२३ मा अमेरिकामा ८ करोड विदेशी पर्यटक आएका थिए, जसले देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा १८ खर्ब डलर योगदान पुगेको थियो । स्पेन आफ्नो विशेष वास्तुकलाका लागि प्रसिद्ध स्पेनमा तपाईं बार्सिलोना र ग्रानाडा जस्ता सहरहरू भ्रमण गर्न सक्नुहुन्छ । देशका समुद्र तटहरू धेरै सुन्दर छन् र यहाँका सबै चाडपर्वहरू पनि धेरै रंगीबिरंगी छन् । सन् २०२३ मा ७ करोड पर्यटक स्पेन घुम्न गएका थिए, जसबाट १ खर्ब ५० अर्ब डलर राजस्व संकलन भएको छ । जापान पर्यटकहरूलाई जापानका परम्परा र आधुनिक आविष्कारको अद्भुत संयोजन मनपर्छ । क्योटो सहरका मन्दिरहरू र टोकियो सहरका उज्यालो सडकहरू निकै प्रसिद्ध छन् । सन् २०२३ मा ३ करोड विदेशी पर्यटकले जापान घुमेका छन् । जसले देशको अर्थतन्त्रमा ३ खर्ब डलरको फाइदा पुगेको छ । फ्रान्स प्रतिष्ठित आइफेल टावरको देश फ्रान्स पर्यटकहरू माझ धेरै लोकप्रिय छ । यहाँको प्रोभेन्स क्षेत्रका गाउँहरू संसारको सबैभन्दा सुन्दर गाउँहरूमा गनिन्छन् । प्रत्येक वर्ष ८ करोड पर्यटकहरू फ्रान्स भ्रमण गर्छन् । जसबाट २ खर्ब डलर पर्यटन राजस्व संकलन हुन्छ । अस्ट्रेलिया प्राकृतिक सौन्दर्य र विभिन्न प्रकारका वन्यजन्तुहरूले भरिपूर्ण अस्ट्रेलियाले हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरूलाई आकर्षित गर्छ । सिड्नी, मेलबर्न जस्ता सहरहरूमा यात्रा गर्दा तपाईंले फरक र अनुपम अनुभव प्राप्त गर्न सक्नुहुनेछ । सन् २०२३ मा अस्ट्रेलियामा ८० लाख पर्यटक आएका थिए जसले देशको अर्थतन्त्रमा ६० अर्ब डलरको फाइदा पुगेको थियो ।
भानु जन्मस्थललाई सांस्कृतिक र पर्यटकीय गन्तव्य बनाइँदै, हालसम्म एक करोड ८० लाख खर्च
तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागएको हो । भानु नगरपालिकाको नेतृत्वमा यस ठाउँमा साहित्यिक उद्यान निर्माणको प्रक्रियाले गति लिएको छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकास गर्ने लक्ष्यसहित साहित्यिक उद्यान निर्माणलाई सुरु गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । विगतमा जग्गा अधिग्रहणको काम सुरु भए पनि कामले गति लिन नसकेको भन्दै चालु आर्थिक वर्षदेखि यो काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई सप्तधामका रूपमा विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौं ।’ सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अघि बढेका छौँ ।’ साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालिन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ । त्रिपाठीले भने, ‘भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका पमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्बद्र्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।’ रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्नु यसको उधेश्य रहेको त्रिपाठीको भनाइ छ । एक करोड ८० लाख खर्च भानु साहित्यिक उद्यानका लागि हालसम्म एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि गत र चालु आवमा गरी एक करोड ८० लाख ४१ हजार पाँच सय रुपैयाँ खर्च भएको हो । उद्यान निर्माणका लागि हालसम्म एक सय ३५ कित्ता जग्गा अधिग्रहण गरी लालपूर्जा नगरपालिकाको स्वामित्वमा आइसकेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । त्यस्तै ५३ कित्ताको लालपूर्जा बन्न बाँकी रहेको र ३२ कित्ताको जग्गा अधिग्रहणका लागि सिफारिसको तयारीमा रहेको पौडेलले बताए । ३२ कित्ताको जग्गा अधिग्रहणका लागि ५९ लाख रुपैयाँ मुआब्जा निर्धारण भएको छ । पौडेलका अनुसार चालु आर्थिक वर्षमा साहित्यिक उद्यान निर्माणका लागि सरकारबाट पाँच करोड रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये जग्गा अधिग्रहणबापत ७६ लाख ६७ हजार आठ सय ५१ सम्बन्धित लाभग्राहीको खातामा गइसकेको छ । त्यस्तै एक करोड २९ हजार भुक्तानीका लागि चेक बनिसकेको र बैंकमा पठाउने तयारी गरिएको उनको भनाइ छ । पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा ३८ कित्ताको ९८ लाख ७६ हजार चार सय ५७ भुक्तानी भइसकेको छ । यसैगरी चालु आर्थिक वर्षमा गुरुयोजना अवधारणासम्बन्धी विज्ञ बैठकका लागि तीन लाख खर्च भएको पौडेलले जानकारी दिए । पौडेलले साहित्यिक उद्यान निर्माणका लागि हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको बताए । साहित्यिक उद्यान निर्माणका लागि विसं २०७८ सालमा रु दुई करोड बजेट विनियोजन भएको थियो । विसं २०७९ जेठ १९ गते जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएको थियो । त्यतिबेला ३८ कित्ता जग्गाको रु ९८ लाख ७६ हजार चार सय ५७ भुक्तानी गरिएको थियो । चालु आर्थिक वर्षमा विसं २०८० माघ ३ गते पाँच करोड बजेट प्राप्त भएपछि माघ २३ गते बैठक बसी मुआब्जा निर्धारण गरिएको जनाइएको छ । यस आर्थिक वर्षमा ७१ रोपनी जग्गाका लागि मुआब्जा निर्धारण भइ दुई किस्तामा रकम पठाइएको पौडेलको भनाइ छ ।
नेपालका ६ ट्राभल र ५ कार्गो कम्पनीलाई क्याथेको सम्मान
काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपालका ट्राभल तथा हवाई कार्गो कम्पनीहरूलाई सम्मान गरेको छ । क्याथेले सन्२०२३ मा उसको व्यापारमा विशेष सहयागे पुर्याउने ती कम्पनीलाई सम्मान गरेको हो । क्याथेले गत बिहीबार राजधानीको होटल मेरिअटमा कार्यक्रम गरी ६ ट्राभल र ५ कार्गो कम्पनीलाई सम्मान गरेको हो । क्याथेले ओशो वर्ल्ड ट्राभल नेपाल, सुमेघ टुर्स एन्ड ट्राभल्स, बोन ट्राभल एन्ड टुर्स, रुपाकोट इन्टरनेसनल ट्राभल र प्रबास ट्राभल एन्ड टुर्स तथा भारत हुँदै उत्कृष्ट आम्दानी गराउन सफल सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सलाई सम्मान गरेको हो । त्यसैगरी कार्गो कम्पनीहरू पायोनियर कार्गो, हिमालयन ट्राभल एन्ड टुर्स, सांग्रिला इन्टरनेसनल फ्रेट, लिजेन्ड कार्गो र मुक्तिनाथ डे कार्गोलाई पनि क्याथेले सम्मान गरेको थियो । क्याथेको दक्षिण एसिया, मुध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राइकर, कस्टमर ट्राभलका क्षेत्रीय प्रमुख आनन्द येडेरी, कार्गो क्षेत्रीय प्रमुख राजेश मेनन, नेपाल प्रमुख जुनु मलेकु र क्याथेको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) अमरावती ट्राभल्सका सीईओ जुगेश श्रेष्ठले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए । ‘नेपालमा हाम्रो व्यापार विस्तारमा उल्लेख्य सहयोग गर्ने कम्पनीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,’ क्याथेका क्षेत्रीय महाप्रबन्धक राइकरले भने, ‘यात्रु तथा कार्गो सेवा अझै उत्कृष्ट बनाउँदै लाने योजनामा तपाईंहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ क्याथेका नेपाल प्रमुख मलेकुले ट्राभल तथा कार्गो साझेदार कम्पनी सधैं महत्त्वपूर्ण रहेको बताइन् । ‘हामी यात्रु र कार्गोलाई उत्कृष्ट सेवासहित गन्तव्य पुर्याउन सधैं मिहिनेत गरिरहेका छौं । यसमा हाम्रा साझेदार कम्पनीको सहयोग विशेष हुने गर्छ,’ उनले भनिन् । क्याथे प्यासिफिकले हाल नेपालका लागि सातामा पाँच उडान गर्दै आएको छ ।